दुर्गममा सेवा पुर्‍याउँदै टेलिकम | Khabarhub Khabarhub

दुर्गममा सेवा पुर्‍याउँदै टेलिकम


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ ।

सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबार रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो ।

यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो ।

पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् । विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो ।

घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो । अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ ।

वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पुर्‍याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए ।

बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उनको भनाइ छ । माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन् ।

धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ । धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन् ।

सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए ।

धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि रु डेढ लाख सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताए ।

गाउँपालिकाभर गुणस्तरीय सञ्चार सेवा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले दङ्ग परेको बताए ।

“भिस्याट हुँदा मोबाइलले राम्रोसँग काम गर्दैनथ्यो, सीमित व्यक्तिमात्र कुराकानी गर्न मिल्थ्यो”, उनले भने, “अहिले सबैतिर सजिलै फोन लाग्छ, थ्रिजी सेवाले इन्टरनेट सेवा पनि भरपर्दो भएको छ ।”

टेलिकमले पुरानो भिस्याट प्रविधिमार्फत मोबाइल सेवा सञ्चालनमा रहेका दुर्गम ठाउँमा माइक्रोवेभ रेडियो लिङ्क विस्तारलाई तीव्रता दिएको छ ।

जसका कारण मोबाइल प्रयोगकर्ताले ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ५० बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ