व्यावसायिक च्याउखेतीमा युवाहरू | Khabarhub Khabarhub

व्यावसायिक च्याउखेतीमा युवाहरू


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।

उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् ।

पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ ।

बजारीकरणको समस्याकै बीच स्थानीय युवाहरुमा व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने घटेको छैन । पाण्डेयले रेसुङ्गा–८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रोफार्ममार्फत संयुक्तरूपमा छुट्टै च्याउखेती पनि गरिरहेका छन् ।

दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बीउ राख्ने र बजारीकरणको काम भइरहेको छ ।

संयुक्त फार्मबाट वार्षिक रु २० देखि २५ लाखसम्म च्याउको कारोवार भइरहेको छ । यस वर्षदेखि पाण्डेय र श्रेष्ठले करिब रु ३५ लाख लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन शुरु गरेका छन् ।

उनीहरूले छुट्टै ब्लकमा गत वर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहेका छन् । अहिले नयाँ जात र बजार मागका आधारमा तीन हजार ५०० मुढामा सिताके च्याउ उत्पादन थालेका छन् ।

अहिले नयाँ ब्लकमा सिताके जातको च्याउ राख्ने काम गरिरहेको र अबको छ महिनापछिबाट उत्पादन दिन शुरु गर्ने श्रेष्ठको भनाइ छ । त्यसका साथै अहिले गरिरहेको व्यवसायलाई थप आधुनिकीकरणतर्फ लैजाने पनि श्रेष्ठले बताए ।

पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँनयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषिकर्ममा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ भने उत्पादन पनि सोहीअनुसार भइरहेको छ ।

यद्यपि च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन, सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या भएको छ ।

अहिले कन्या च्याउको प्रतिकिलो बजार मूल्य रु ३०० र सिताके च्याउको मूल्य रु छ देखि सात सयसम्म छ । तर बजार ग्यारेण्टी नभएका कारण बिक्री नहुँदा कम मूल्यमा दिनुपर्ने बाध्यतामा च्याउ किसान छन् ।

च्याउ किसानको लागतका आधारमा रेसुङ्गा नगरपालिकाले मूल्य नदिँदा उनीहरुको च्याउ नगरपालिकाले सञ्चालन गरेको हाटबजारमा बिक्री हुनसकेको छैन ।

नगरपालिकाले कृषकको सबै उत्पादनको बजारीकरणका लागि गत वर्षदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्था पनि भइरहेको छ ।

नगरले नेपाल सरकारकै नीतिअनुसार च्याउका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या