भ्याक्सिन लगाउँदैमा सकिँदैन कोरोना संक्रमण « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

भ्याक्सिन लगाउँदैमा सकिँदैन कोरोना संक्रमण



काठमाडौँ– भारतको नियामक नियकाले पहिलोपटक कोरोना भाइरस नियन्त्रणका लागि डीएनए भ्याक्सिनलाई आपतकालीन अनुमति दिएको छ । फर्मा कम्पनी ‘जाइडस क्याडिला’ बनाएको ‘जाइकोभ डी’ लाई अनुमति दिइएको हो । यो भ्याक्सिन तीन डोजको हो । यो कम्पनीले वार्षिक १२ करोड डोज भ्याक्सिन तयार गर्ने जनाएको छ । भारतमा यसअघि अनुमति पाएका कोभ्याक्सिन, कोभिसिल्ड र स्पुतनिक भी गरी कुल ५७ करोड डोज भ्याक्सिन प्रदान गरिएको छ ।

भारत १३ प्रतिशत वयस्क पूर्ण इम्युन भएका छन् भने ४७ प्रतिशतले एक डोज भ्याक्सिन लगाएका छन् ।

क्याडिलाले ५० स्थानमा २८ हजारको क्लिनिकल परीक्षण गरेको जनाएको छ । भारतमा पहिलोपटक युवाहरूमा पनि परीक्षण भएको छ । यो भ्याक्सिन १२ वर्षदेखि १८ वर्ष उमेर समूहका १ हजार जनामा परीक्षण भएको थियो ।

भारतमा महामारीको दोस्रो लहर उच्च बिन्दुमा भइरहेको समयमा ‘जाइकोभ डी’ को तेस्रो चरणको परीक्षण चलेका कारण यो भ्याक्सिन म्युटेसनका बाबजुद प्रभावकारी रहने विश्वास गरिएको छ । साथै डेल्टा भेरिएन्टका लागि पनि प्रभावकारी रहने अपेक्षा छ ।

भारतका चीर परिचित भाइरोलोजिस्ट साहिद जामेलले यसलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । सबैले समान प्रयास गरेमात्र भ्याक्सिन सहज उपलब्ध हुने पनि उनको भनाइ छ । अन्य भ्याक्सिनको तुलनामा यसका केही भिन्नताहरू छन् । खासमा डीएनए भ्याक्सिन जनावरका लागि प्रयोग हुने गरेको छ । घोडामा लाग्ने विभिन्न रोग तथा कुकुरलाई छालाको क्यान्सरबाट बचाउन डीएनए भ्याक्सिन प्रयोग गर्ने चलन छ ।

अहिले विभिन्न रोगका लागि १६० डीएनए भ्याक्सिन क्लिनिकल परीक्षणमा छन् । धेरै भ्याक्सिन क्यान्सर उपचार तथा एक तिहाइ डीएनए भ्याक्सिनको क्लिनिकल परीक्षण एचआइभीको उपचारका लागि गरिएको छ ।

‘जाइकोभ डी’ निडल फ्री भ्याक्सिन पनि हो । भाइरोलोजिस्ट डा. गगनदीप काङले मान्छेमा डीएनए भ्याक्सिनको प्रयोग महत्वपूर्ण उपलब्धि हुने बताए ।

जनावरमा विभिन्न रोगका लागि उपयोगी साबित भए पनि मानिसमा डीएनए भ्याक्सिन विगतमा असफल भएका थिए । यो भ्याक्सिन माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ, २५ डिग्री सेल्सियसमा पनि तीन महिना राख्न सकिन्छ । भण्डार गर्न सहज हुने भएकाले गरिब देशका लागि यो उपयोगी साबित हुनेछ । अठार वर्षमुनिकामा समेत परीक्षण भएका कारण भारतले यसलाई कम उमेर समूहमा प्रयोग गर्न सक्ने छ ।

कम उत्पादन यसको प्रमुख समस्या रहेको छ । यो भ्याक्सिन अहिले तीन डोजको भए पनि दुई डोजले कति फाइदा पुग्छ भन्ने पनि अध्ययन भइरहेको छ ।

भारतमा किशोर उमेरका लागि उपयोगी ‘जाइकोभ डी’ ले अनुमति पाएसँगै अमेरिकामा पनि किशोरका लागि थप भ्याक्सिनले अनुमति पाउने भएको छ । यसका लागि जोन्सन एन्ड जोन्सनले ‘सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ समक्ष निवेदन दिएको छ । एकदमै छिटो अनुमति पाउने विश्वास पनि व्यक्त गरेको छ ।

किशोरहरूका बीचमा गरिएको परीक्षणमा प्रशस्त एन्टी बडीको विकास भएको र सुरक्षित पनि पाइएको उक्त कम्पनीले जनाएको छ ।

अमेरिकाले जोन्सन एन्ड जोन्सनलाई अनुमति दिए भारतमा र दक्षिण एसियाली देशहरूमा समेत यसको व्यापक वितरण हुने सम्भावना छ । बजार प्रवर्द्धनका लागि जोन्सनको भारतीय कम्पनी ‘बायलोजिकल ई’ सँग सम्झौता भएको छ । तेस्रो चरणको परीक्षणमा जोन्सन एन्ड जोन्सन गम्भीर लक्षण रोक्नमा ८५ प्रतिशत प्रभावकारी पाइएको छ ।

अगस्टको सुरुवातमा यो कम्पनीले आपतकालीन अनुमतिका लागि भारतमा निवेदन दिएको थियो । यो कम्पनीको दाबीअनुसार गम्भीर लक्षणमा ८५ प्रतिशत प्रभावकारी तथा भ्याक्सिन लगाएको २८ दिनपछि मृत्युको जोखिम शून्य प्रतिशत रहेको जनाएको छ ।

कोरोना भाइरसले अत्यन्त प्रभावित देश दक्षिण अफ्रिका भने भ्याक्सिनका कारण उत्साहित बनेको छ । यो देशले बिस्तारै सबै कुरा खुला गर्दै जाने योजना बनाएको छ । त्यहाँका स्वास्थ्यमन्त्री जोए पहालाले वयस्कमध्येको ७५ प्रतिशतलाई भ्याक्सिन दिँदा यो लगभग हर्ड इम्युनिटीको अवस्थामा पुग्ने र सबै खुला गर्न सकिने जनाएका छन् ।

दक्षिण अफ्रिकाले १८ वर्ष पुगेका सबैलाई भ्याक्सिन दिने निर्णय गरेपछि सबै युवाहरू लामबद्ध बनेका छन् । दक्षिण अफ्रिकामा तीव्र भ्याक्सिन दिइए पनि केही प्रान्तको अवस्था अत्यन्त खराब रहेका कारण संक्रमण दर घट्न सकेको छैन । केही सातामा यो क्रम न्यून हुने र जनजीवन सहज हुँदै जाने दक्षिण अफ्रिकाको अनुमान छ ।

भ्याक्सिनसम्बन्धी केही दुःखद समाचार पनि बाहिर आएको छ । भ्याक्सिनले जीवन सहज बनाइहाल्ने छ भन्ने जुन पूर्वअनुमान थियो, भाइरसको म्युटेसन हुँदै र समय बित्दै जाँदा घट्ने एन्टीबडीका कारण त्यो अनुसार हुन सकेको छैन ।

यसै कारण, अमेरिकामा भने मोडर्ना र फाइजरको बुस्टर डोज प्रदान गरिने भएको छ । शुरूवाती दुई डोज लगाएको आठ महिना पूरा भएकालाई फाइजर र मोडर्नाको अर्को भ्याक्सिन दिन लागिएको हो । यो बुस्टर डोज दिने क्रम नर्सिङ होमबाट शुरू हुनेछ । यसपछि स्वास्थ्यकर्मी र अति आवश्यक सेवामा आबद्धका बुस्टर डोज दिइनेछ ।

केही समयपछि जोन्सन एन्ड जोन्सको दोस्रो डोज पनि प्रदान गरिने सम्भावना छ । जोन्सन एन्ड जोन्सन कम्पनी दुई डोज भर्सनको क्लिनिकल ट्रायलको नतिजा पर्खेर बसेको छ । फाइजर र मोडर्नाले बुस्टर डोजको डाटा बुझाएपछि अनुमति दिइएको हो ।

पछिल्लो समय डेल्टा भेरिअन्ट बढी संक्रामक भए पनि जोन्सन एन्ड जोन्सनको भ्याक्सिनले मृत्युदर घटाएको छ तर संक्रमण दरमा गरेन । यसकारण बुस्टर डोजका लागि परीक्षण शुरू भएको हो । संसारमा धेरै भ्याक्सिन दिइएको देशमा पनि अहिले फेरि कोरोनाको लहर देखिएका कारण बुस्टर डोजका लागि सबै हतारिएका हुन् ।

बुस्टर डोजका बारे शक्ति राष्ट्र र विश्व स्वास्थ्य सङ्गठनको बीचमा तनाव पनि शुरू भएको छ । शक्ति राष्ट्र आफ्ना सबै नागरिकलाई बुस्टर डोज दिन चाहन्छन्, विश्व स्वास्थ्य सङ्गठनले संसारका सबै देशलाई भ्याक्सिन वितरण गर्नुपर्ने भएकाले अति कमजोरलाई मात्रै बुस्टर डोज दिन सल्लाह दिएको छ ।

पछिल्लो समयको अध्ययनले अर्को एउटा नयाँ कुरा पनि पत्ता लगाएको छ । मानिसको शरीरमा रहेको एन्टीबडीको मात्रा परीक्षण गरेर प्रभावकारिताको मात्रा पनि भिन्नै परीक्षण गर्न सकिनेछ । दुई डोज भ्याक्सिन लगाए पनि केही समयको अन्तरालमा बिस्तारै एन्टीबडी कम हुन शुरू हुन्छ र यो सँगै संक्रमणको सम्भावना पनि बढ्दै जान्छ ।

एन्टीबडी शून्यमा पुगेपछि त संक्रमणबाट बचाउन यसले कुनै काम गर्ने नै भएन । घटेर कति बाँकी रहँदा संक्रमित हुने र गम्भीर बिरामी हुने अथवा ज्यान नै जाने सम्भावना कति हुन्छ भन्ने अध्ययन हुन लागेको छ ।

अस्ट्राजेनेका लगाउनेमा चार वा पाँच महिनामा एन्टीबडी घट्न शुरू हुन्छ भनने अध्ययनले देखाएको छ । नेपालमा यसैको फर्मुलेसनमा बनेको कोभिसिल्डको भ्याक्सिन शुरूवातमै लगाइएको हो । योभन्दा फाइजरको भ्याक्सिनले बन्ने एन्टीबडी छिटो गतिमा घट्ने अध्ययनले देखाएको छ ।

त्यसो त यसभन्दा अघिका भ्याक्सिनको तुलनामा कोरोना भाइरसको भ्याक्सिन छिटो समयमा तयार भएको हो । कतिसम्म भने अमेरिकामा फाइजर, मोडर्ना र जोन्सनका भ्याक्सिन एक वर्षभन्दा कम समयमा तयार गरेर वितरण गर्न थालिएको थियो । महामारी तीव्र रूपमा बढेको समयमा तत्काल भ्याक्सिन आवश्यक भए पनि दीर्घकालीन रूपमा धेरै अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूको मत छ ।

यही हतारोमा बजारका आएका भ्याक्सिनसँग सम्बन्धित एउटा रिपोर्ट त अझ सुखद मान्न सकिन्न । शुरूवातमा भ्याक्सिन लगाउनेमा गम्भीर बिरामी हुने सम्भावना जति अनुमान गरिएको थियो, अहिले त्योभन्दा बढी देखिएको छ । यसै कारण संसारका धेरै देशले भ्याक्सिन लगाए पनि मास्क अनिवार्य गरेका छन् ।

भ्याक्सिन लगाइसकेका धेरैमा अझै चिन्ताको विषय के हो भने कुन समयमा बुस्टर डोज नलगाई हुँदैन भन्ने नै हो । अमेरिकाको एउटा घटनाले धेरैलाई आश्चर्यमा पारेको छ । जुलाईको अन्त्यमा आयोजित एउटा पार्टीमा हजारौँ उपस्थित भए । त्यहाँ उपस्थितमध्ये कसैले भ्याक्सिन लगाएका थिए भने कसैले थिएनन् । पार्टीको केही दिनपछि नै त्यहाँ उपस्थित भएका ४६९ जना संक्रमित भए । यी संक्रमितमध्ये दुई तिहाइले भ्याक्सिन लगाएका थिए ।

त्यसो त अमेरिकी वैज्ञानिकको मत के छ भने गत साता भएको वर्षाको कारण पनि संक्रमण दर बढेको हो । धेरै जना घरभित्र नै रहेका कारण एक अर्काबाट संक्रमण धेरै बढेको हो ।

मे महिना यताको तथ्यांकका आधारमा डेल्टा भेरिएन्टको उपस्थिति तथा खुकुलो सुरक्षा मापदण्डका कारण यसको भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ ।

अहिले पनि वैज्ञानिकहरूको मत के हो भने भ्याक्सिन लगाएकै कारण कोरोना सकिएको भन्ने सोच्नु गलत हुन सक्छ ।

–एजेन्सीहरूको सहयोगमा

 


0