बाल मनोभावनाबाट टाढिँदैछन् आमाबाबु « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

बाल मनोभावनाबाट टाढिँदैछन् आमाबाबु



आमाबाबु भएर सन्तान जन्माउनुले मात्र काफी हुँदैन, बालमनोविज्ञान बुझेर उनीहरूको मनोभावअनुसार व्यवहार गर्न सक्नुपर्छ । यसरी बालबालिकाको विकास र मनोसामाजिक विकास गराउन सक्नु कुनै उच्च डिग्री लिनुभन्दा कमको काम होइन ।

नेपालमा इलेक्ट्रोनिक्स डिभाइसहरूको बढ्दो प्रयोगकर्ताको रूपमा बालबालिकाहरूपनि पर्दछन् । आमाबाबुको व्यस्तता बढेको छ । ती व्यस्त आमाबाबु पनि फुर्सदमा आआफ्ना इलेक्ट्रोनिक्स डिभाइसमा भुल्न थाल्छन् ।

यसो गर्दा आफ्ना बालबालिकाको गृहकार्यमा सघाउने, उनीहरूसँग व्यावहारिक विषयमा कुरा गर्ने र सम्झाउने समय कम पनि कम हुँदै गएको छ ।

आमाबाबुले दिने समय कम हुँदा बालबालिकाहरू इलेक्ट्रोनिक्स डिभाइसको भोगी बन्दै गएका छन् । आमाबाबुहरू जहिले पनि आफ्ना छोराछोरीका ग्रेड अरूको भन्दा धेरै आओस्, आफ्नो बच्चा सबैभन्दा सिपालु होस्, सबै कुरा बुझ्ने होस् भन्ने चाहना राख्छन् तर आफ्नो अपेक्षाअनुसार समय दिँदैनन् ।

विरुवा हुर्काउन मलजल र गोडमेल आवश्यक पर्छ । यसो नगरी त्यसले सप्रिने अवसर पाउँदैन । त्यसैगरी हाम्रा बालबालिकालाई पनि सही समयमा सही कुराको चेतना र व्यवहार सिकाउनमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ ।

स्कुलमा कस्तो पढाइ छ, मेरो बच्चालाई स्कुलको संस्कारले कुन बाटोमा डोर्‍याएको छ इत्यादि बुझ्ने फुर्सद हामीलाई छैन । हाम्रा बच्चाको सङ्गत कस्ता साथीहरूसँग छ भनेर बुझने फुर्सद हामीलाई छैन ।

हाम्रो समाजमा मुख्य समस्या अभिभावकको बुझाइ र बालमस्तिष्कको बुझ्ने क्षमताभित्र रहेको छ । त्यो बाल मस्तिष्क जसले भर्खर पालुवा फेर्दै छ, उसलाई अभिभावकले वर्षौंमा सिकेका र अनुभव गरेका कुरा उनीहरूमा लाद्न खोज्नु, उनीहरूबाट बढी अपेक्षा राख्नु गलत हुन्छ । अधिकांश अभिभावकहरूयस्तै अपेक्षा राख्छन् ।

अभिभावकहरू बच्चाले राम्रो पढेन, राम्रो अंक ल्याएन, इन्टरनेटमा अलमलियो इत्यादि भनेर गाली गर्नतरि उद्यत हुन्छन् । कतिले त पिट्छन् पनि । यसबाट बालमस्तिष्कमा भय सिर्जना गर्ने हुन्छ । उनीहरूमा नकारात्मक प्रभाव पर्छ । अधिकांश अभिभावकहरू यसतर्फ ध्यान दिँदैनन् । त्यही उमेरमा म के गर्थे, मेरो भावना कस्तो हुन्थ्यो भन्ने कुरामा ध्यान दिँदैनौँ ।

आफ्नो बाल्यकाल सम्झेर आफ्ना बालबालिकासँग रमाउने र आफ्ना बाल्यकालका अनुभव सुनाउने हो भने बालिकामा सकारात्मक प्रभाव पर्छ । छोराछोरीको बालापनबाट आफू पनि खुसी हुने मौका मिल्छ ।

अहिलेका बालबालिका इलेक्ट्रोनिक्स डिभाइसहरूका भोगी भएका छन् । यसो हुनुमा अभिभावकको पनि कमीकमजोरी छ कि भनेर विचार गर्नुपर्ने हुन्छ । हामी यति व्यस्त हुँदैछौँ कि आफ्ना बालबालिकाका लागि समय छैन, उनीहरूको गृहकार्यमा सघाउने फुर्सद नै छैन तर महँगो स्कुलको खोजी गर्दछौँ ।

स्कुलमा कस्तो पढाइ छ, मेरो बच्चालाई स्कुलको संस्कारले कुन बाटोमा डोर्‍याएको छ इत्यादि बुझ्ने फुर्सद हामीलाई छैन । हाम्रा बच्चाको सङ्गत कस्ता साथीहरूसँग छ भनेर बुझने फुर्सद हामीलाई छैन ।

बच्चाको उमेर एक महिनाको हुँदैदेखि आमाको न्यानो काख र दूध पाउन घण्टौँ, कुनुपर्ने हुन्छ । साँझ थकित मनस्थितिकी आमाले आफ्नो बच्चासँग हाँसेर रमाएर बस्ने फुर्सद हुँदैन । बेलुका घर फर्केपछि पनि आमा काममै व्यस्त हुन्छिन् । बाच्चालाई मोबाइल फोनमा र टेलिभिजनमा राखिदिएर घरको काममा लागिछन् । खाना खुवाउँदा पनि तिनै चिजामा भुलाउँछिन् ।

यसरी सानो उमेरबाटै हामी आफैँले आफ्ना बच्चालाई जानीनजानी वा बाध्यताले हाम्रो सामिप्यबाट टाढा राख्छौँ । उनीहरू घरको संस्कार र व्यवहारबाट टाढा हुन्छन् । अभिभावकलाई भने यस्तो कुरा महसुस भएकै हुँदैन, बच्चा आफनै धुनमा अलमलिएकोमा ढुक्क हुन्छौँ ।

आजका अभिभावक त त्यो बाल मस्तिष्कमा उत्पन्न हुने कुनै पनि सवाल सम्बोधन गर्न सक्ने अवस्थामा छैनन् । शिक्षित अभिभावकसँग आफ्ना बालबालिकालाई दिने समय नै कम छ ।

बच्चालाई आफ्बाट टाढै राख्न र भुलाउन इलेक्ट्रोनिक्स डिभाइसको सहारा लिन्छन् । यसरी बच्चा अलमल्याएर आफ्ना कामहरू सम्पन्न गर्नेतिर लाग्छन् । आजका बहुमत अभिभावकको अवस्था यस्तै छ । यस्तो अवस्थामा बच्चाबाट असल संस्कार र असरल सामाजिक व्यवहार अपेक्षा गर्नु व्यर्थ हुन्छ ।

अभिभावकहरुबाट अक्सर गुनासो सुनिन्छ– मेरो बच्चा खान मान्दैन, राम्ररी पढ्दैन, भनेको मान्दैन इत्यादि । हामीले त्यो गरिखाने भन्ने बुझेको कति भयो, केही राम्रो काम गर्नुपर्छ भन्ने बुझेको कति वर्ष भयो, अहिलेका मेरा छोराछोरीको उमेरमा म के गर्थें भन्ने कुरा विचार गर्दैनौँ ।

बालबालिकालाई बढीभन्दा बढी समय दिऔँ, हरेक दिन उनीहरूसँग रमाउने समय निकालौँ र संवाद गरौँ । जन्म दिएको आधारमा हैकममात्रै चलाउने र आफ्ना चाहना थोपर्ने काम नगरौँ ।

आमाबुबाका आँखा छलेर खोपी र गुच्चा खेलेको सम्झिन चाहन्नौँ । दिनभर घरबाट भागेर दहमा पौडी खेलेको कुरा जबर्जस्ती बिर्सिन खोज्छौँ । मेरा छोराछोरीका बाल्यकाल पनि मेरो जस्तै भन्ने बुझ्न चाहन्नौँ ।

आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने कुरा सिकाउनुको साटो पराश्रित बनाउँछौँ । हामी आफूले वर्षौं लगाएर सिकेका कुरा बच्चामा थोपर्न खोज्छौँ । आफूले गर्न नसकेका काम आफ्ना बालबालिकाले गरून् भन्ने चाहना राख्छौँ । हामीले आधा जीवन बिताएर सिकेको कुरा छोराछोरीले अहिले नै गरून् भन्ने चाहन्छौँ ।

हामी हाम्रा बच्चालाई कराउँछौँ, पिट्छौँ पनि, अरूका सामु आफ्ना बच्चाको कमीकमजारी बयान गर्न थाल्छौँ, अरूका छोराछोरीसँग तुलना गर्न थाल्छौँ । यति बेला आफ्नो जिम्मेवारी बिसिन्छौँ । बच्चालाई गाली गरेर, तर्साएर, भयमा राखेर वा पिटेर आफूले भनेको काम लगाऊँला अनि टाठोबाठो र व्यावहारिक बनाऊँला भन्ने सोचबाट अभिभावक टाढा रहनुपर्छ ।

हाल विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, चलचित्र लगायतले बालबालिकाको मनस्थिति यस्तो सुविधाको समयभन्दा फरक छ । आजका बालबालिकाले किताबी ज्ञानभन्दा बाहिरी संसारको ज्ञान धेरै लिन थालेका छन् । प्रविधिको प्रयोगले राम्रा कुरासँगै गलत कुरा पनि जान्न थालेका छन् । बालबलिकाले जानेका राम्रा कुराले अभिभावकलाई नतमस्तक बनाइदिन्छ ।

हामीलाई थाहा नभएका धेरै कुरा उनीहरूले सामाजिक सञ्जालबाट थाहा पाएका हुन्छन्, बुझेका हुन्छन् । धेरै अभिभावक इन्टरनेट र सामाजिक सञ्जालसम्बन्धी काम छोराछोरीबाटै सिक्छौँ ।

प्रविधिको प्रयोग गलत मात्र हुँदैन भन्ने कुराको प्रमाण हाम्रा बालकालिका नै हुन् । अभिभावकको सही निर्देश तथा सही नियमन भएको अवस्थामा प्रविधिले बालबालिकालाई सकारात्मक कुरा सिकाउँछ । उनीहरूलाई असल मार्गनिर्देश गर्छ ।

यसकारण, बालबालिकालाई बढीभन्दा बढी समय दिऔँ, हरेक दिन उनीहरूसँग रमाउने समय निकालौँ र संवाद गरौँ । जन्म दिएको आधारमा हैकममात्रै चलाउने र आफ्ना चाहना थोपर्ने काम नगरौँ । बालबालिकाको मनोभावना बुझेर उनीहरूको उमेरअनुसार व्यावहारिक कुरा सिकाउन सके असल बाटो समाउने छन् । के ठिक र के बेठिक भन्ने कुरा बुझ्दै जानेछन् ।

आमाबाबुले समय र परिवेश बुझेर आफ्नो जिम्मेवारी र कर्तव्य बुझ्ने हो भने आजका बालबालिका भोलिका असल नागरिक बन्नेछन् ।

(मुक्तिनाथ विकास बैक लि. मा कार्यरत लेखक अधिवक्ता हुन् ।)


भर्खर

0