सत्ती भन्सार : नौ महिनामै दोब्बर राजश्व सङ्कलन | Khabarhub Khabarhub

सत्ती भन्सार : नौ महिनामै दोब्बर राजश्व सङ्कलन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो ।

त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

चैत मसान्तसम्म रु नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा रु १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए ।

“पहिलो चार महिनामै लक्ष्य पूरा गरेपछि सरकारले पछिल्लोपटक थप लक्ष्य लिएको छ । त्यो पनि पूरा भएको छ । वैशाख महिनामै वार्षिक लक्ष्य पूरा हुनेछ”, भन्सार प्रमुख शाहले भने, “कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि सबै सामान भन्सारमार्फत आउँदा सहज भएको हो । यसले राजश्व सङ्कलनमा सघाएको छ ।”

पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।

“खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्”, उनले भने, “यससँगै भारततर्फको सडक राम्रो भएको भए अझ सामान आयात बढ्ने थियो । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयातनिर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने देखिन्छ ।”

उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

साउनदेखि चैत मसान्तसम्म रु पाँच अर्ब ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु छ अर्ब ९२ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।

“कैलाली भन्सार कार्यालयबाट यस अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्यवस्तुको आयात धेरै भएको छ”, भन्सार अधिकृत खतिवडाले भने, “यहाँबाट बढी खाद्यान्न आउने गर्दछ । खाद्यान्नसँगै अन्य सामानसमेत आयात हुन्छ ।”

सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।

“कैलालीमा सीमा नाका सुरक्षित छैनन्, तस्करहरूले चोरी बाटोबाट सामान आयात गर्ने कारणले राजश्वमा असर पार्छ”, स्थानीयवासी रुपक बुढाले भने, “सीमामा कडाइ गर्न सकिए र आवश्यक कार्यालय र पूर्वाधारको व्यवस्था गरेमा राजश्व सङ्कलन बढ्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।”

कैलालीको टीकापुरमा सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको पशु क्वारेन्टिन अहिलेसम्म पुनःस्थापना हुनसकेको छैन । पशु क्वारेन्टिन नभएकै कारण यहाँबाट मासु तथा मासुजन्य सामान आयात हुनसकेको छैन । स्थानीयवासी शेरबहादुर साउद पशु क्वारेन्टिन स्थापनाका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउँछन् ।

“शान्ति स्थापना भएको वर्षौँ बिते पनि क्वारेन्टिन स्थापना हुनसकेको छैन । यसले राजश्व मात्र होइन, यहाँको व्यापार र विकासमा समेत असर पारेको छ”, उनले भने, “पुनःस्थापना गर्न सबैको पहल आवश्यक छ ।”

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ०१ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्