विमानस्थलबाट फर्काइएका युवाको प्रश्न- हाम्रो पैसा कसले फिर्ता गर्छ ? (भिडियोसहित) | Khabarhub Khabarhub

विमानस्थलबाट फर्काइएका युवाको प्रश्न- हाम्रो पैसा कसले फिर्ता गर्छ ? (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आवश्यकताले मानिसलाई जोखिम मोल्न बाध्य बनाउँछ । त्यसैले त कोरोना कहरकै बीच बाध्यकारी रोजगारी खोल्दै विदेश जाने नेपालीको संख्या घटेको छैन ।

विदेश गएर कमाउने, परिवारलाई सुखी र सम्पन्न बनाउने मीठो सपना बोकेर वैदेशिक रोजगारीका लागि बाटो लागेका १३६ युवा अहिले ऋण खोजेको पैसा पनि फस्यो भन्ने चिन्तामा छन् ।

विदेशमा काम गरेर तिर्ने बाचासहित ऋण लिएर हिँडेका उनीहरु त्रिभुवन विमानस्थलबाट फिर्ता हुनुपरेको छ ।

घटना हो बुधवार मध्याह्नको । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको टर्मिनल सेन्टरमा निकै भीड थियो । हातमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित अन्य कागजात बोकेर एयरपोर्ट पुगेका थिए युवा ।

तर पीसीआर परीक्षणको रिपोर्ट नक्कली भएको भन्दै प्रहरीले विमानस्थलबाट १३६ जनालाई टर्मिनलबाटै फर्कायो ।

हेरौँ भिडियो 

तीनै पीडितमध्येका एक हुन रसुवाका रामप्रसाद पौडेल । उनले कतार जान १ लाख ३० हजार रुपैयाँ कलंकीस्थित ‘रक्की’ म्यानपावरलाई बुझाए ।

रसुवाकै एक अस्पतालबाट कोरोना परीक्षण गराउने र रिपोर्ट लिएर काठमाडौँ आउने प्रस्ताव म्यानपावरलाई गरे । तर म्यानपावरले सो प्रस्ताव अस्वीकार गरी आफूले तोकेकै ठाउँबाट पीसीआर परीक्षण गराउनपर्छ भन्यो । उनी वैशाख ५ गते काठमाडौँ आए ।

उनकाअनुसार म्यानपावरले आफ्नै कार्यालयमा सूर्या हेल्थ केयरलाई बोलाएर परीक्षण गराएको थियो । उनले वैशाख ६ गते २ हजार ६ सय रुपैयाँ तिरेर पीसीआर परीक्षण गराए । भोलिपल्ट साँझ परीक्षणको नेगेटिभ रिपोर्ट पाए । यो रिपोर्टले उनी खुसी भए ।

नक्कली रिपोर्ट भन्दै फिर्ता भएपछि…

राजधानीमा आफन्त कोही थिएनन् । नेपालटारस्थित एक होटलमा बसेका थिए उनी ।

४ दिनको बसाईपछि होटललाई ४ हजार रुपैयाँ तिरेर उनी ८ गते बिहान ११ बजेको फ्लाइटमा उड्न बिहान ७ बजे नै विमानस्थल पुगे ।

‘एउटै म्यानपावरबाट १८ जना हिँडेका थियोँ । विमानस्थलमा हामी उडानको प्रतिक्षामा थियौं,’ उनले भने, ‘तर विमानस्थलको टर्मिनल सेन्टरमा बसिरहँदा प्रहरीले कोरोना परीक्षणको रिपोर्ट नक्कली भन्यो । हामी छक्क पर्‍यौँ ।’ उनीहरुलाई विमानस्थलबाटै प्रहरीले फर्कायो ।

‘७ गते प्रहरीले छापा मार्ने क्रममा सूर्या हेल्थ केयरले कोरोना परीक्षणको नक्कली रिपोर्ट छापेको भन्दै केही कर्मचारीलाई नियन्त्रणमा लिएको रहेछ । त्यही भएर हामीलाई पनि प्रहरीले फिर्ता गरायो,’ उनले भने, ‘हामीले लिएको रिपोर्ट पनि सूर्या हेल्थ केयरकै रहेछ । यो रिपोर्ट नक्कली कि सक्कली चाहिँ हामीलाई थाहा भएन ।’

उनले गाउँबाट ऋण लिएर आएको पैसा म्यानपावरलाई बुझाइसकेका थिए । होटलमा बस्न खल्तीमा दाम थिएन । त्यसैले बिहीबार नै उनी घर रसुवा फर्किए ।

‘विमानस्थलबाट फर्किएपछि म्यानपावर पुगेँ र ५ सय रुपैयाँ मागेर रसुवा फर्किएँ अहिले गाडीमै छु’ उनले भने, ‘म्यानपावरले सम्बन्धित निकायसँग कुरा गरिरहेको र छिट्टै फ्लाइटको व्यवस्था गरिदिन्छु भनेको छ।’

सुनसरी इनरुवाका मोहमद जाबेद आलमको पीडा पनि उस्तै छ । उनले पनि ४ दिनअघि सिनामंगलस्थित सूर्या हेल्थ केयर सेन्टरमा कोरोनाको पीसीआर परीक्षण गराए ।

कोरोना परीक्षण रिपोर्ट नेटेगिभ आएको भन्दै सोही हेल्थ केयरले रिपोर्ट उनको हातमा थमाइदियो ।

खुसीहुँदै बुधवार बिहान ६ बजे नै एयरपोर्ट पुगे । ११ बजे कतार एयरवेजको फ्लाइट थियो उनको ।

तर प्रहरीले कोरोना परीक्षणको रिपोर्ट नक्कली हो भन्न थालेपछि उनी झसंग भए । ‘हेल्थ केयर सेन्टरमै गएर पीसीआर परीक्षण गराएको हो । कसरी नक्कली भयो’ शुरूमा त उनी आफै झस्किए ।

कोरोना परीक्षण गर्न आफूहरुले रकम तिरे पनि हेल्थ केयरले हेलचक्राइँ गर्दा उनीहरुको बुधवारको उडान रद्द भयो ।

‘नेपाल सरकारले सुर्या हेल्थ केयरलाई पीसीआर परीक्षणको अनुमति दिएपछि अनुगमन पनि सरकारले नै गर्नुपर्ने होइन र ?’ आलमसँगै रहेका अर्का युवाले आक्रोश पोखे ।

सरकारले अनुमति दिए पनि कडाईका साथ नियमित अनुगमन गर्न नसक्दा लाखौं रकमको क्षति भएको उनको गुनासो छ ।

‘हामीले त पीसीआर गरेकै हौं पैसा तिरेका छौं हाम्रो के दोष छ ?’ उनले भने, ‘अब होटल बुकदेखि पीसीआर परीक्षण र टिकटको समेत क्षतिपूर्ती कसले ब्यहोर्छ ।’

पुरानै रकममा पुनः कोरोनाको पीसीआर परीक्षण हुनुपर्ने र छिट्टोभन्दा छिट्टो टिकटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

हाम्रो गल्ती छैन : म्यानपावर

कोरोना परीक्षणको पीसीआर रिपोर्ट नक्कलीभन्दै श्रमिकहरु फिर्ता भएपछि रक्की म्यानपावरका एक कर्मचारी भन्छन्, ‘हाम्रो म्यानपावरमार्फत पीसीआर गरी कतार जाने क्रममा विमानस्थलबाट १८ जना श्रमिक फिर्ता भएका छन् यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सूर्या हेल्थ केयरले गरेको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नक्कली नभएको दावी उनको छ ।

‘अघिल्लो दिन हेल्थ केयर सील भयो, त्यहीबाट लिएको रिपोर्ट भएकाले भोलि पल्ट हामीले पठाएका मान्छेलाई रोकिदियो,’ उनले भने, ‘हाम्रो म्यानपावरबाट जाने सबै श्रमिकलाई हामी अर्को टिकट लिएर पठाउँछौँ । हामीले सरोकारवालासँग समन्वय गरेका छौँ ।’

यता महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलवार उक्त ल्यावमा छापा मारेर केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यस विषयमा महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले खबरहबसँग भने, ‘जनस्वास्थ्यको हिसाबले यो विषय ठूलो लापरबाही हो । ल्यावको मिलेमतोमा नक्कली एजेन्ट खडा गरी स्वाव नै नगरी नेगेटिभ रिपोर्ट तयार भएको पाए पछि ८ जनाले नियन्त्रणमा लिएका छौँ । उनीहरुको कानून अनुसार कारबाही हुन्छ ।’

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन