विश्वव्यापीकरणसँगै संकटमा मातृभाषा « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

विश्वव्यापीकरणसँगै संकटमा मातृभाषा



तत्कालीन पूर्वी पाकिस्तानमा उर्दु भाषा लादेको विरोधमा २१ फेब्रुअरी १९५२ मा भाषा आन्दोलन शुरू भयो । पूर्वी पाकिस्तानमा उर्दु भाषा लागु गर्नुलाई बङ्गलादेश स्थापनाको एक कारणका रूपमा पनि लिइन्छ । कालान्तरमा उक्त दिनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता प्राप्त गर्‍यो ।

युनेस्कोले २१ फेबु्रअरीलाई मातृभाषा दिवसको रूपमा मनाउन सन् १९९९ मा निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषणा गर्नुको प्रमुख उद्देश्य मातृभाषाको सम्वद्र्धन गर्दै विश्वमा मातृभाषाको महत्व कायम राख्न सकियोस् भन्ने थियो । के साँच्चै त्यस्तो भएको छ त ?

भूमण्डलीकरणका कारण विश्व रोजगार बजार बढेको छ भने अर्थतन्त्र र बजार पनि वैश्विक भएको छ । यसले गर्दा हाम्रो स्वदेशी भाषा देशभित्रैकै जनजातीय भाषाहरू जस्तै खुम्चिनु पर्ने अवस्था सिर्जना भएको छ । विश्व नै एउटा गाउँको रूपमा रूपान्तरित हुँदा हाम्रा स्थानीय भाषा पछाडि पर्दै गएका छन् ।

युनेस्कोको एक अध्ययनले के देखाउँछ भने विश्वभर नै जनजातिका १५ सय भाषा दैनिक जस्तो लोप हुँदै गएका छन् । ती भाषाको स्थान अन्तर्राष्ट्रिय भाषाले लिएको छ । व्यापार, व्यवसाय र अर्थतन्त्रका हिसाबमा पनि अन्तर्राष्ट्रिय भाषाको ज्ञान हुन आवश्यक हुँदा स्थानीय र जनजातिका भाषाको प्रयोग विस्तारै कम हुँदै गएको छ ।

आफ्नो मातृभाषाको गहन ज्ञानले विदेशी भाषा र संस्कृतिको अध्ययन सहज बनाउँछ । यसै कुरालाई ध्यानमा राखेर नर्डिक देशहरूले प्राथमिक तहबाट दुई वटा भाषाको पढाइ गर्न अनिवार्य गरेका छन् । लामो समयको परीक्षण र विश्लेषणपछि उनीहरू यो निष्कर्षमा पुगेका हुन् । प्राथमिक तहका विद्यार्थीले बसोबास गर्ने स्थानको भाषाका साथै मातृभाषाको पनि अध्ययन गर्न अनिवार्य छ ।

स्वीडेन र नर्वेजस्ता देशको ग्रामीण तह जहाँ धेरैजसो जनजातिको बसोबास छ (प्रायःजसो आप्रवासीको बासोबास छ), यहाँ मातृभाषाको अध्ययन गराउन अनिवार्य छ ।

स्वीडेन, नर्वे र फिनल्यान्डको उपनगर क्षेत्रका विद्यालयले बङ्गाली भाषाको अध्ययन गराएको मैले आफैँ देखेको छु । त्यहाँ अध्ययन गर्ने विद्यार्थी धेरैजसो प्राथमिक तहका छन् जसका अभिभावक राजनीतिक कारणले बसाइँसराइ गरेर त्यहाँ आएका छन् । यहाँ अध्यापन गर्ने शिक्षक बङ्गलादेशबाटै छन् जसमध्ये केही पश्चिम बङ्गालबाट आएका हुन् ।

पछिल्लो समय जर्मनीका धेरै राज्यमा यस्तो व्यवस्था लागु गरिएको छ । खास गरी टर्किस जनताको आग्रहमा त्यस्तो व्यवस्था गरिएको हो ।

सन् २०१५ बाट उसले खाडी देशका शरणार्थीलाई ठाउँ दिएको छ । बङ्गाल, हिन्दी, उर्दु र तामिल भाषाका विद्यार्थी र राम्रोसँग पढाउन सक्ने शिक्षकको अभावले यी भाषाले स्थान पाएका छैनन् । अर्को कारण के पनि हो भने उपमहाद्वीपबाट त्यहाँ आउने शरणार्थीको संख्या बढ्दै छ । कडा कानूनका कारण शरणार्थीको बाढी आउन नपाएको मात्रै हो ।

युनेस्कोको एक अध्ययनले के देखाउँछ भने विश्वभर नै जनजातिका १५ सय भाषा दैनिक जस्तो लोप हुँदै गएका छन् । ती भाषाको स्थान अन्तर्राष्ट्रिय भाषाले लिएको छ ।

बेलायतमा भने वर्षौंदेखि बङ्गालीहरूको बसोबास रहँदै आएको छ । बङ्गलादेश मूल भएका धेरै सांसद बेलायती संसदमा छन्, जो हाल बेलायती नागरिक भइसके । कम्तीमा चारवटा बङ्गाली साप्ताहिक लण्डनमा प्रकाशित हुन्छन् । चार वटा टीभी च्यानल र ६ रेडियो स्टेशन बङ्गाली भाषामा सञ्चालन हुन्छन् ।

बेलायतपछि बङ्गाली धेरै रहेको देशमा इटाली दोस्रो स्थानमा आउँछ । त्यहाँ पनि बङ्गाली समाचारपत्र, टीभी र रेडियो निकै चर्चित छन् । पोर्चुगल, ग्रीस, बेनेलेक्स (बेलजियम–नेदरल्यान्ड–लक्जम्बर्ग) मा करीब २० हजार बङ्गलादेशी र पश्चिम बङ्गालका मानिस बस्छन् ।

उत्तर अमेरिका यो मामिलामा निकै अगाडि छ । न्यूर्योकबाट मात्रै करिब आधा दर्जन बङ्गाली साप्ताहिक प्रकाशित हुन्छन् । रेडियो, टीभी मात्रै होइन बङ्गला पुस्तक सम्मेलन पनि निकै चर्चित छ त्यहाँ । क्यानेडाको अवस्था पनि यस्तै छ ।

बङ्गालीहरूको उपस्थिति विश्वभर नै छ तर के उनीहरूको भाषाको विषयमा पनि यस्तै भन्न सकिन्छ ? के आफ्नो सीमाभन्दा बाहिर पनि बङ्गाली भाषाको सम्वर्द्धन  भइरहेको छ ? छैन ।

दुईवटा बङ्गाललाई जोड्ने हो भने बङ्गाली भाषा बोल्ने मानिसको संख्या विश्वकै सातौँ ठूलो जनसंख्या हुन्छ । तर, बङ्गाली भाषाको त्यस्तो कुनै ठूलो हैसियत छैन ।

जर्मनीको हेडलबर्ग विश्वविद्यालयको एसियन विभागले बङ्गाली भाषा पढाउँछ तर बङ्गाली भाषा पढ्ने विद्यार्थीको संख्या १० जना पनि छैन । बर्लिनको खुला विश्वविद्यालयमा बङ्गाली कक्षा हुँदैन, जुन पहिला हुने गर्थ्यो । कारण ? विद्यार्थीको अभाव ।

बङ्गाली भाषा जानेकै कारण विदेशमा रोजगारीको अवसर सिर्जना हुने कुनै निश्चित हुँदैन । न त युवाहरूमा बङ्गाली साहित्यप्रति कुनै रुचि छ । जर्मनीमा बङ्गाली भाषा पढ्नेहरूले शायदै बङ्गाली भाषाका कवि अथवा लेखकलाई कुनै सम्मान गर्छन् । उनीहरूको रुचि रवीन्द्रनाथ टेगोरमा नै सकिएको छ ।

पश्चिम बङ्गालमा बङ्गला भाषालाई बङ्गलादेशको भाषाका रूपमा लिइन्छ । हिन्दीलाई पश्चिम बङ्गाल र भारतको भाषाका रूपमा लिइन्छ । यस्तो दाबी प्रस्तुत गर्नुअघि कोलकतामा करिब ५३ प्रतिशत मानिसले मात्रै हिन्दी भाषा बोल्छन् भन्ने थाहा हुनुपर्छ ।

बङ्गलादेश र पश्चिम बङ्गालका अभिभावकले आफ्ना सन्तानलाई अंग्रेजी माध्यममा पढ्न पठाउँछन् । के उनीहरू साँच्चै आफ्ना सन्तानलाई बङ्गला भाषा र साहित्यको शिक्षा दिन इच्छुक छन् ?

२१ फेब्रुअरी बलिदान र शोकको दिन हो । आफ्नो मातृ भाषाका लागि बलिदानको दिन हो । बङ्गलादेश स्वतन्त्र भएपछि यो दिनलाई एउटा दिवसका रूपमा मात्रै मनाउने गरिएको छ । यो दिनको महत्वका विषयमा खासै कसैलाई मतलब छैन । तर, हामी यसको दोष कसैलाई दिन सक्दैनौँ ।

यहाँ धेरै कवि गोष्ठी आयोजना हुन्छ, साहित्यकारको पनि ठूलै भेला हुन्छ, महिनौँ लामो पुस्तक सम्मेलन आयोजना हुन्छ, विश्वमै सबैभन्दा लामो अवधिको पुस्तक सम्मेलन पनि यही आयोजना हुन्छ, पुस्तक पसल युवाहरूले भरिन्छन् । पुस्तक सम्मेलनको यहाँ विकास भएको छ । एउटै संस्कृतिको विकास भएन । त्यो हो पुस्तक किन्ने संस्कृति । प्रदर्शनी त हामी आफू सन्तुष्ट हुन आयोजना गरिएको भिडमात्रै हो ।

२१ फेब्रुअरी मातृभाषा दिवसमात्रै होइन । यसले बङ्गलादेश स्वतन्त्रताको उद्घोष गर्‍यो । यो दिनले हामीमा एक प्रकारको उल्लास भरिदिएको थियो । यो दिनले हामीमा यति हर्षोउल्लास भरिदिएको छ कि यही दिन म जन्मिएको कुरा पनि म बिर्सिन्छु ।

मेरो जन्मदिनमा मेरा केही साथी आएर सोध्छन्, ‘आज हामी खुशी मनाउने कि दुःख मनाउने ?’ उनीहरू म २१ फेबु्रअरी १९५२ मा जन्मिएको सम्झन्छन् । ‘तँ जन्मिएको दिन बङ्गाली भाषा जन्मिएको थियो’, उनीहरू भन्छन् । म यी वाक्य पुनसंरचना गर्छु र भन्छु, ‘म मेरो भाषामा जीवित छु, मेरो भाषा ममा जीवित छ ।’

(दाउद हैदर बङ्गलादेशी कवि हुन् । लामो समय राजनीतिक शरणार्थीका रूपमा कोलकत्तामा बसेका उनी हाल बर्लिनमा छन् । २० फेबु्रअरी २०२१ मा द इन्डियन एक्सप्रेसमा प्रकाशित यो लेखको मूलरूप बङ्गाली भाषामा प्रकाशित थियो, जसलाई स्वाति घोषले अंग्रेजीमा भावानुवाद गरिन् । खबरहबका लागि पुरुषोत्तम पौडेलले अंग्रेजीबाट नेपालीमा भावानुवाद गरेका हुन् ।)


भर्खर

0