डेभ वाटमोर – नेपाली क्रिकेटको ‘जग’ र ‘भविष्य’ | Khabarhub Khabarhub

डेभ वाटमोर – नेपाली क्रिकेटको ‘जग’ र ‘भविष्य’



काठमाडौँ– अस्ट्रेलियन पूर्वक्रिकेटर डेभ वाटमोरले बिहीबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षकका रुपमा कार्यभार सम्हालेका छन् ।

नेपाली टोलीको मूख्य प्रशिक्षकका रुपमा एक वर्षे कार्यकाल लिएर उनी नेपाल आएका हुन् । नेपालको मूख्य प्रशिक्षकका रुपमा उनी रहँदा नेपाली क्रिकेटको आगामी भविष्य तय गर्नु उनको ठूलो चुनौती हो । नेपाललाई विश्वकप छनौटमा पुर्‍याउने अठोटका उनी नेपाल आएका छन् ।

क्यानले मूख्य प्रशिक्षकका रुपमा ल्याएका वाटमोरसँग मूख्य तीन कुराकाे जिम्मेवारी दिएको छ । पहिलो, मूख्य प्रशिक्षकको जिम्मेवारी, दोस्रो महिला खेलाडी र यु–१९ टोलीको सल्लाहकारको भूमिका र तेस्रो ग्रासरुट क्रिकेटको विकासमा सहायोगी भूमिका ।

यी तीन बुँदा क्यानले राखिरहँदा वाटमोरले सबैकुरामा साथ र सहयोग गर्न सकारात्मक भएको बताइसकेका छन् । त्यसो त, उनले आफुसँग भएको अनुभव सबै नेपाली क्रिकेटका लागि दिन तयार रहेको बताएका छन् ।

वाटमोर त्यस्ता प्रशिक्षक हुन् जसका लागि कुनै समय भारतले पनि मूख्य प्रशिक्षक बनाउन हानथाप गर्न खोजेको थियो । तर, विभिन्न कारणले त्यो सम्भव भएन ।

एसियाली माटोमा सफल वाटमोर पछिल्लो समय एसोसियट क्रिकेट राष्ट्रमा व्यस्त छन् । उनी नेपाल आउनु पछाडि एसोसियट राष्ट्रमा नेपाली क्रिकेट समर्थकको क्रेज, नेपालमा रहेको सम्भावना महत्वपूर्ण छन् ।

बोल्ड स्वभावका उनले यस क्षेत्रको क्रिकेट राजनीति राम्रो बुझेकाले पनि नेपाल आएको हुन सक्ने विश्लेषण भइरहेको छ । एसोसियट क्षेत्रमा उनको सम्बन्धले पनि नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

वाटमोर विश्व प्रसिद्ध प्रशिक्षक हुन् । उनको क्षमताका प्रशिक्षक नेपालमा अहिलेसम्म आएका पनि थिएनन् । उनलाई नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनबाट सशर्त फुकुवा भएकोदेखि नेपाली खेलाडीको क्षमता सबै जानकारी छ ।

त्यसैले उनले बिहीबारको कार्यक्रममा भनेका छन्, ‘नेपाली खेलाडी र यहाँको क्रिकेटबारे जानकार छु । सिंगापुरमा हुँदासमेत नेपालको खेल नियालेको थिए ।’

वाटमोर नेपाली क्रिकेटबारे जानकारमात्रै छैनन् । उनी क्षमता अनुसार चतुर पनि छन् । उनले बिहीबार पत्रकार सम्मेलनमा बोल्दा पनि धेरै ठाउँमा आफु जोगिएरै रणनीतिक जवाफ दिएका थिए ।

उनले नेपाल रोज्नुको कारणबारे धेरै बोलेनन्, तर, यत्ति भने, ‘पुरानो चिनजान प्रमुख कारण हो । नयाँ ठाउँमा गएर नयाँ खेलाडीसँग काम गर्नुभन्दा पहिले पुगिसकेको र चिनेका खेलाडीसँग काम गर्नु राम्रो हुन्छ ।’

अहिले नेपाली क्रिकेट रुपान्तरणको अवस्थामा छ । यहाँनेर अनुभवी खेलाडीहरु करियरको अन्त्य तिर छन् भने नयाँ खेलाडी खेल एक्स्पोजरको अभावमा छन् । वाटमोर आउने बित्तिकै रातो–दिन चमत्कार गर्ने होइनन् । तर, त्यसको बाटोमा क्यान अगाडि लाग्नपर्छ । वाटमोरको सहयोगको आवश्यकता क्यानलाई रहने क्रिकेट जानकारहरु बताउँछन् ।

वाटमोर आइसकेपछि खेलाडी छनोट प्रक्रिया नै बदलिन पर्ने विश्लेषण भइरहेको छ । सधैको जसरी २५ जना खेलाडी क्याम्पमा बोलाएर १४ जना छनोट गर्दा अब नेपालले हात पार्नु पर्ने सफलता हात नलाग्न उनीहरुको भनाइ छ ।

मूख्य प्रशिक्षक वाटमोरले अबको केही दिन काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट हेर्ने क्यानका सचिव असोकनाथ प्याकुरेलले बताए ।

त्यसपछि आफुले खेलाडी छनोट समितिसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

नेपाली क्रिकेट अहिले संक्रमण कालिन अवस्था खेलाडी छनोट चुनौतीपूर्ण हुन्छ भन्ने प्रश्नमा वाटमोरले रणनीतिक जवाफ दिए, ‘यो खेलाडी छनोट समितिका लागि पनि चुनौतीपूर्ण हुनेछ । टोलीमा अनुभवी र नयाँ दुवै प्रकारका खेलाडी हुनु राम्रो पक्ष हो ।’

वाटमोर नेपालको प्रशिक्षकमा आउँदा नै उनले यहाँको वस्तु स्थिति र क्रिकेट राजनीतिबारे जानकार भएर आएको क्यान स्रोत बताउँछ । स्रोतका अनुसार वाटमोर नेपालमा रहेसम्म नेपाली क्रिकेटको ताला चाबी नै उनको हातमा हुनेछ ।

‘वाटमोर जस्तो प्रशिक्षकसँग यहाँ डिल गर्न सक्ने मान्छे को छ ? खेलाडी छनोट समितिले एक–एक खेलाडीलाई लिएर उनीसँग आर्गुमेन्ट गर्न सक्छ ? अनि क्यान पदाधिकारीहरुले उनीसँग खेलाडीका विषयमा कुरा गर्न सक्छन् ? अहिलेको व्यवस्थापनले वाटमोरलाई सबै कुरा पुग्छ ?’ स्रोतले भन्यो ।

तर, वाटमोरले आफु नेपालमा रहँदा सबैसँग मिलेर काम गर्दै अगाडि बढ्ने बताएका छन् ।

लचिलो लक्ष्य

हुनत, एक वर्षको समय खेलकुदका लागि खासै ठूलो समय होइन । नेपालको मूख्य प्रशिक्षकमा आएका वाटमोरका लागि यो एक वर्ष ठूलो चुनौतीको सामना गर्नु पर्नेछ । उनको व्यक्तिगत ग्राफ हेर्दा अहिलेसम्म उनले प्रशिक्षण दिएका टोली कमजोर भएको निकै कम देख्न पाइन्छ ।

त्यो सन् १९९६ को श्रीलंकाको एकदिवसिय विजेता टोली होस् वा बंगलदेशको प्रशिक्षक हुँदा भारतलाई पराजित गरेका खेल हुन् । वा इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्समा रहँदा उनले टिमका लागि गरेको योगदान सम्झनलायक छन् ।

त्यसैले उनी नेपालमा पनि आफ्नो बसाइ सफल बनाउने योजनामा छन् । वाटमोरले नेपालले आफ्नो प्रशिक्षण कालमा के गर्छ भनेर ठ्याक्कै लक्ष्य सुनाएनन् । तर, उनले आफुले एकदिवसिय विश्व वरियता कायम राख्दै एकदिवसिय मान्यता रिटेन गर्नेसम्म सुनाएका छन् ।

एकदिवसिय मान्यता कायम राख्न नेपालले त्यति सजिलो छैन् तर, सक्दै नसक्ने पनि होइन । आईसीसी विश्वकप लिग–२ को शीर्ष चारमा पर्न सके नेपालले एकदिवसिय मान्यता थप हुनेछ ।

यदि त्यो भएन र हामी पछि परेर दोस्रो चरणको क्वालिफायरमा झर्‍यौँ भनेपनि क्वालिफायरमा राम्रो गर्दै एकदिवसिय मान्यता जोगाउन सकिन्छ ।

क्यानले खोज्यो ग्रासरुटमा वाटमोरको साथ

क्यानले वाटमोरलाई मूख्य प्रशिक्षक मात्रै भन्दा पनि नेपाली क्रिकेटको भविष्यको ‘जग’का रुपमा रहेको ग्रासरुटमा पनि साथ खोजेको छ । जसमा वाटमोरले आफुले सकेको सहयोग गर्ने बताइसकेका छन् ।

नेपाली क्रिकेटको अहिले ग्रासरुट संरचना केही पनि छैन । जुन अब वाटमोर आएपछि क्यानले सुरू गर्ने बताएको छ । आफ्ना सदस्य जिल्लाहरुसँग मिलेर ग्रासरुट कार्यक्रम अगाडि बढाउने लक्ष्य क्यानको छ ।

क्यानका सचिव असोकनाथ प्याकुरेलले उनले नेपालको ग्रासरुट क्रिकेटको विकासमा समेत सहयोग गर्नेबारे छलफल भएको बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  २ : ३० बजे

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक