नेपाली काँग्रेस र नयाँ नेतृत्वका चुनौतीहरू « Khabarhub

नेपाली काँग्रेस र नयाँ नेतृत्वका चुनौतीहरू



सत्ताधारी नेपाली काँग्रेसको सभापति पदमा दोस्रोपटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा कर्म र भाग्यमा विश्वास राख्ने सफल नेपाली राजनीतिज्ञ हुन् । उनको राजनीतिक यात्रा पनि कम संघर्षपूर्ण छैन । परिश्रमकै भरमा उनले दुईपटक पार्टी सभापति र पाँचपटक देशको प्रधानमन्त्री बन्ने अवसर पाइसकेका छन् ।

सत्ताधारी नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा एकातिर राजनीतिक विरासत बोकेका उनकै पूर्वसहयोगी नेताहरू चुनावमा थिए भने अर्कोतर्फ ‘नेपाली काँग्रेस भनेको कोइराला परिवार र कोइराला परिवार भनेकै नेपाली काँग्रेस’ को मान्यता बोकेको कोइराला परिवारका नेता शेखर कोइरालासँग उनको प्रतिस्पर्धा थियो ।

दोस्रो चरणमा प्रकाशमान सिंह र बिमलेन्द्र निधिको समर्थनका कारण उनी पुनः काँग्रेस सभापति भएका छन् । नेपाली काँग्रेसमा सधै विधिको शासन खोज्ने देउवासामु अब स्वयं नै पार्टी संगठनमा विधिको शासन स्थापित गर्नुपर्ने चुनौती थपिएको छ ।

चौधौँ महाधिवेशनमा डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल, डा. चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य, विजय कुमार गच्छदार, डा. प्रकाशशरण महत लगायतका नेताहरूको पराजय र धनराज गुरुङ, गगन कुमार थापा एवं विश्वप्रकाश शर्माहरूको विजयले उनलाई अपेक्षाकृत बढी नै संयमित र सन्तुलित भएर पार्टी संगठन चलाउनु पर्ने चुनौती थपेको छ ।

पार्टी विधि र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने एकताको सन्देश प्रवाह गर्ने र महाधिवेशनमा उठेका रुपान्तरणको आवाजलाई सम्बोधन गर्ने दायित्व पनि उनी माथि थपिएको छ ।

एक वर्षभित्रै स्थानीय तह प्रादेशिक सभाहरू एवं संघीय संसदको निर्वाचनमा समेत पार्टीलाई देशको सबैभन्दा ठूलो दल बनाउने तथा बहुमतसहित सत्तामा पुर्‍याउने चुनौती पनि उनको काँधमा छ ।

यो महाधिवेशनले स्पष्ट सन्देश दिएको छ कि, खासगरी नेपाली काँग्रेसको नेतृत्व लिन विरासतमात्रै प्रयाप्त हुन सक्दैन ।

सत्ताको गणितमा पनि विश्वास हुनुपर्ने र आवश्यकता अनुसार आफूलाई सम्झौतावादी बनाउन पनि तयार रहनुपर्छ । काँग्रेसभित्र कायम शक्ति समूहहरूबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती पनि पार्टी नेतृत्वसामु रहेको छ ।

१३ औँ महाधिवेशनले पार्टीमा पार्टी सभापति सभापति देउवासहित रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई नेतात्रयको रुपमा स्थापित गरेको थियो ।

शेरबहादुर देउवाले दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, बाह्रौँमा सुशील कोइराला र तेह्रौं महाधिवेशनमा रामचन्द्र पौडेलसँग सभापतिमा उम्मेदवारी दिँदै प्रतिस्पर्धामा उत्रेका थिए । यसपालि आफूभन्दा कनिष्ठ प्रकाशमान सिंह र बिमलेन्द्र निधिसँग उनले प्रतिस्पर्धा गर्नुपर्‍यो । शेखर कोइरालाले पनि सक्रिय राजनीतिमा धेरै लामो समय बिताएका छैनन् ।

चौधौँ महाधिवेशनमा रामचन्द्र पौडेलको मौनता र सिटौलाले देउवालाई नै समर्थन गरेका कारण ती पुराना नेताहरूको भावना र चाहनालाई सम्बोधन गर्नुका साथै नवोदित नेतात्रयको संरचनामा डा. शेखर कोइराला र प्रकाशमान सिंह पनि थपिएका छन् । बिमलेन्द्र निधिले पनि अन्तिम चरणमा सहयोग गरेका कारण झण्डै आधा दर्जन शक्ति समूहबीच सन्तुलन कायम गर्दे अगाडि बढनु पनि चुनौती देउवालाई छ ।

शेरबहादुर देउवाबाट परिवर्तन हुन सक्दैन भने मान्यतालाई पनि गलत साबित गर्नुपर्ने अवस्था रहेको छ । नेपाली काँग्रेसभित्र यसलाई विपक्षी दलहरूले हराउन सक्दैनन् र हराउनुपर्दैन भन्ने खालको धारणा पनि कायम रहेको छ । पार्टीका नेता र कार्यकर्ताहरू यसका निम्ति यथेष्ट भूमिकाको निर्वाह गर्दछन् । पार्टीमा गुट र भागबण्डाको अन्त्य गरी एकजुटताको सन्देश प्रवाहित गर्नुपर्ने चुनौती पनि पार्टीभित्र रहेको छ ।

शेरबहादुर देउवाले दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, बाह्रौँमा सुशील कोइराला र तेह्रौं महाधिवेशनमा रामचन्द्र पौडेलसँग सभापतिमा उम्मेदवारी दिँदै प्रतिस्पर्धामा उत्रेका थिए । यसपालि आफूभन्दा कनिष्ठ प्रकाशमान सिंह र बिमलेन्द्र निधिसँग उनले प्रतिस्पर्धा गर्नुपर्‍यो । शेखर कोइरालाले पनि सक्रिय राजनीतिमा धेरै लामो समय बिताएका छैनन् ।

यस महाधिवेशनले युवाहरूलाई पनि संगठनको महत्वपूर्ण जिम्मेवारीमा आउन जनादेश दिएका कारण आगामी महाधिवेशनमा धनराज गुरुङ, गगन थापा र विश्व प्रकाश शर्माको उम्मेदवारी पार्टी सभापति पदमा आएमा आश्चर्य मान्नुपर्ने कारण रहने छैन । किनभने विजय कुमार गच्छदार, मीनेन्द्र रिजाल तथा प्रकाशशरण महतजस्ता आफ्नो पकड जमाएका र लामो समय सक्रिय राजनीतिमा बिताएका शीर्ष नेतालाई पराजित गरेर महाधिवेशन प्रतिनिधिहरूले संकेत गरिसकेका छन् कि कार्यकर्ताले अब पुराना अनुहारमा विश्वास राख्दैनन् ।

विरासतका आधारमा राजनीति गर्न खोज्नेहरूलाई पनि पार्टीका कार्यकर्ताहरूले मन पराएनन् । पार्टी सभापतिमा शेखर कोइराला, उपाध्यक्षमा महेश आचार्य एवं सुजाता कोइरालाको पराजयले नेपालको राजनीतिमा कोइराला परिवारप्रतिको आकर्षणमा कमी आएको संकेत गर्दछ ।

पुर्खाको नाम र धनसम्पतिमा सन्तानको स्वभाविक हक तथा उत्तराधिकार हुने गर्दछ तर लोकतन्त्रमा नेतृत्वको हस्तानान्तर जनता एवं पार्टी कार्यकर्ताहरूको विश्वास जितेर नै सम्भव हुन सक्दछ । प्रकाशमान सिंह एवं बिमलेन्द्र निधि विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन् । डा. शशांक कोइराला, सुजाता कोइराला, महेश आचार्य तथा शेखर कोइरालाजस्ता नेताहरू धेरैपछि मात्रै राजनीतिमा आएका हुन् ।

कोभिड–१९ का कारण प्रकाशमान सिंह लगायत नेताहरूले अपेक्षित जनसम्पर्क कायम गर्न सकेनन् । संवादहीनताका कारण पनि महाधिवेशनमा उनीहरूको राम्रो परिणाम नआएको आँकलन गर्न सकिने प्रशस्त आधार छन् ।

बिमलेन्द्र निधिले सम्भवतः आफूलाई नेता ठानिसकेका थिए । हिमाल, पहाड र मधेस सबै क्षेत्रबाट आफ्नो पक्षमा समर्थन जुटने अपेक्षा गरेका थिए । तर, प्रदेश नं. २ मा रहेका करीब ८ सय महाधिवेशन प्रतिनिधिमध्ये एक चौथाइले मात्रै उनको पक्षमा समर्थन जनाए । सम्भवतः भोलिका दिनमा उनका समर्थकहरू पनि पार्टी सभापति देउवा समूहमा लाग्न सक्दछन् ।

अब उनले प्रदेश नं. २ को राजनीतिलाई आफ्नो प्रभावमा राख्न सम्भवतः आफू अनुकूलका व्यक्तिलाई प्रादेसिक समितिको सभापति बनाउने प्रयास गर्नेछन् र संस्थापन पक्षकै उम्मेदवार घोषित गराउने प्रयास गर्नेछन् । उनले प्रदेश नं. २ मा आफ्नो वर्चस्वलाई कायम राख्ने प्रत्येक सम्भव उपाय उनी गर्नेछन् ।

विगत चार वर्षमा डा. कोइरालाले व्यक्तिगत रुपमा केही सक्रियता अवश्य पनि देखाए पनि त्यो सीमित थियो । सर्वप्रथम उनले कोइराला परिवारभित्र नै सहमति जुटाउन सक्नुपर्थ्यो ।

राजनीतिमा परिवारवाद शक्ति र कमजोरी दुवै हुने गर्दछ ।

परिवारका सदस्यहरूलाई मिलाएर अगाडि बढन सक्ने, दबाब बनाएर भए पनि सबैमाथि नियन्त्रण कायम गर्न खोज्ने र विद्रोहको सम्भावना हुने बितिकै त्यसलाई मत्थर पार्ने क्षमता भएका नेताले परिवारवादलाई पनि ताकत बनाउनु सक्दछ । तर, व्यापक स्वीकार्यता एवं श्रेष्ठताको अभाव र बढदो अहंकार एवं महत्वकांक्षाको प्रतिस्पर्धा भएमा परिवारवाद नै पतनको कारण हुन्छ ।

वि.सं. २०१० साल देखि लिएर २०१५ सालसम्म मातृका प्रसाद कोइराला र बी.पी. कोइरालाबीचको विवादका कारण दुवै दाजुभाइमध्ये कोही पनि राजाबाट मनोनित प्रधानमन्त्री बन्न सकेनन् । जबकि वि.सं. २०४८ साल देखि २०७२ सालसम्म कोइराला परिवारले नेपाली काँग्रेस तथा पटक–पटक देशको नेतृत्व गर्नुको मुख्य कारण परिवारिक एकजुटता नै थियो ।

यसपटक कोइरला परिवारभित्र परिवारिक एकजुटता देखिएन र स्व. गिरिजा प्रसाद कोइरालाका खास सहयोगी एवं भतिजा डा. शेखर कोइराला क्षमता र योग्यता हुँदाहुँदै पनि पराजय भोग्नुपर्ने अवस्था आयो ।

सबैभन्दा लज्जास्पद पराजय गिरिजा बाबुकी सुपुत्री सुजाता कोइराला र अर्थशास्त्री महेश आचार्यको हुन पुग्यो । विरासतमा पुर्खाको थर र धन–सम्पत्ति मात्रै पाउन सकिन्छ ।

लोकतान्त्रिक शासनमा नेता बन्न परिश्रम आफै गर्नुपर्दछ । प्रधानमन्त्री शेर बहादुर देउवा पुनः सभापतिमा निर्वाचित भएपछि उनको काँधमा जिम्मेवारीको भार पनि थपिएको छ । वर्तमान अवस्थामा उनी नै नेपाली काँग्रेसमा सर्वाधिक लोकप्रिय नेता छन् भन्ने कुराको पुष्टि त निर्वाचन परिणामबाट नै भएको छ । त्यसो त पार्टीको सांगठनिक निर्वाचनका बेला केही ठाउँमा अशोभनीय घटना पनि भएका थिए ।

नेपाली काँग्रेस विपक्षी अथवा प्रतिस्पर्धी राजनीतिक दलहरूको प्रहारभन्दा पनि आफ्नै अन्तर कलहका कारण चुनावमा बढी ठाँउमा पराजित हुने गर्दछ । महाधिवेशन परिणामले नेपाली काँग्रेसभित्र मनोमालिन्यता र कटुतालाई अवश्य पनि बढाएको छ । अब पार्टी सभापति भएका नाताले अविभावकत्वको भूमिकाको निर्वाह देउवाले गर्न सक्नुपर्छ ।

पार्टी सभापति पदमा उनका प्रतिद्वन्दी डा. शेखर कोइरालाको सुझाव र सल्लाह पनि देउवाले अवश्य नै लिन खोज्नेछन् । त्यसै गरी आफूलाई विजयी बनाउन दोस्रो पटकको निर्वाचनमा सहयोग गरेका प्रकाशमान सिंह र बिमलेन्द्र निधिको विश्वास र समर्थन हासिल गर्दै अगाडि बढ्ने प्रयास पनि उनले गर्नेछन् ।

यस महाधिवेशननले नेपाली काँग्रेसमा फेरि नेतृत्वत्रयलाई निरन्तरता प्रदान गरेको छ । शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह अब पार्टीको नेतृत्व पंक्तिमा हुनेछन् ।

बिमलेन्द्र निधिको भूमिकालाई पनि पार्टीले नजर अन्दाज गर्ने छैन । प्रकाशमान सिंह र बिमलेन्द्र निधिले अन्तिम समयमा शेरबहादुर देउवालाई समर्थन गर्नुको कारण खोतल्नु आवश्यक छ । गिरिजा बाबुले धेरै राम्रा काम पनि गरेका छन् तर पार्टी संगठन हाँक्ने उनको शैलीकै कारण आज कोइराला परिवारका सदस्यहरूको यस्तो दुःखद पराजय भएको छ ।

चौधौँ महाधिवेशनको परिणामले पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई अवश्य नै उत्साही बनाएको हुनुपर्छ । स्थानीय तह एवं प्रादेसिक सभा तथा संघीय संसदको निर्वाचन पनि एकै साथ गराउने उनको चाहना हुन सक्दछ । निर्वाचनमा नेपाली काँग्रेस भरसक एक्लै नै जानेछ किनभने महाधिवेशनको सफलताले पार्टीका नेता कार्यकर्ताहरूको उत्साहलाई बढाएको छ । गठबन्धन सरकारका सहयोगी दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एवं जनता समाजवादी पार्टी भन्ने अवश्य पनि अहिले निर्वाचनको पक्षमा उभिन तयार हुने छैन ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारहरूको पहिलो रोजाइ नेपाली काँग्रेस नै हुनेछ । चुनाव जति छिटो भयो, त्यति नै नेपाली काँग्रेसको हितमा हुनेछ । तर, ढिलो भएमा सत्ताविरोधी आक्रोशको परिणाम पनि नेपाली काँग्रेसले नै भोग्नुपर्नेछ ।

नेपाली काँग्रेस विपक्षी अथवा प्रतिस्पर्धी राजनीतिक दलहरूको प्रहारभन्दा पनि आफ्नै अन्तर कलहका कारण चुनावमा बढी ठाँउमा पराजित हुने गर्दछ । महाधिवेशन परिणामले नेपाली काँग्रेसभित्र मनोमालिन्यता र कटुतालाई अवश्य पनि बढाएको छ । अब पार्टी सभापति भएका नाताले अविभावकत्वको भूमिकाको निर्वाह देउवाले गर्न सक्नुपर्छ ।

महाधिवेशनताका नै राजधानीमा एउटा विषयले व्यापक चर्चा पाएको थियो । कतै महाधिवेशपछिको नेतृत्वमा पूर्वाग्रही मानसिकता देखिन्छ र पार्टीभित्र आन्तरिक विवादले चर्को रुप पो लिन्छ कि भन्ने आम कार्यकर्तामा शंका उत्पन्न भएको थियो । तर पार्टी सभापति देउवा स्वयं पनि निकै अनुभवी नेता हुन् र विगत सात वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । तसर्थ यस्ता आशंकाहरू गर्नुपर्ने ठाउँहरू छैनन् ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : १५ बजे

माइक्रोको ठक्करबाट निवर्तमान गाउँपालिका अध्यक्ष गम्भीर घाइते

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबार

माछा मार्न जाँदा करेन्ट लागेर बाबु-छोराको मृत्यु, एक घाइते

तनहुँ- विद्युतीय तारको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा

शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार

बाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट