नेपालको व्यापार र आर्थिक वृद्धि हाम्रा मुख्य प्राथमिकता हुन्: यूएसएआईडी निर्देशक केभानशाद « Khabarhub
Logo
१८ मंसिर २०७८, शनिबार

नेपालको व्यापार र आर्थिक वृद्धि हाम्रा मुख्य प्राथमिकता हुन्: यूएसएआईडी निर्देशक केभानशाद



काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालको सबैभन्दा पुरानो तथा ठूलो विकास साझेदारमध्ये एक हो । यूएसएआईडीले नेपालको स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, वन तथा वन्यजन्तु संरक्षण, लोकतन्त्र तथा सुशासन, खाद्य सुरक्षा, पूर्वाधार तथा संचार, शासकीय सुधार,  विपद् व्यवस्थापन, कोभिड–१९ महामारीसँग जुध्नदेखि भूकम्पपछिको पुनःनिर्माण लगायत नेपालका धेरै क्षेत्रमा सहायता गर्दै आएको छ ।

नेपालमा यूएसएआईडीले सरकारी निकायहरु, गैरसरकारी संस्थानहरु, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा सहायता गर्दै आएको छ ।

हाल यूएसएआईडी नेपालको मिसन निर्देशकका रुपमा सेपीदाह केभानशाद छिन् । निर्देशक केभानसादले अमेरिकी विदेश मन्त्रालयको राष्ट्रिय सुरक्षा परिषदमा रहेर र सन् २००० देखि यूएसएआईडी वैदेशिक सेवा अधिकारीलगायत विभिन्न सरकारी निकायमा रहेर सेवा दिएकी छिन् ।

उनले यूएसएआईडीमा आबद्ध भई अफगानिस्तान, एल साल्भाडोर, रुस र हाइटीलगायत राष्ट्रमा रहेर अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थासँगको सहकार्यमा काम गरेको अनुभव संगालेकी छिन् ।

उनै केभानशादसँग नेपाल–अमेरिका विकास साझेदारीता, अमेरिकी सहायता, यूएसएआईडी नेपालका अनुभव र प्राथमिकता लगायतका बिषयमा खबरहबका लागि स्ट्राटेजिक एडिटर डा.प्रमोद जयसवालले अंग्रेजीमा लिएको अन्तर्वार्ताको सम्पादित अंश  प्रस्तुत गरिएको छ:

यूएसएआईडीको अनुभव र भूमिकाबारे संक्षेपमा बताइदिनुस् न ?

हामी यसै महिना यूएसएआईडी अस्तित्वमा आएको ६० औँ वर्षगाँठ मनाइरहेका छौँ । ३ नोभेम्बर १९६१ मा यूएसएआईडीको स्थापना भएपछि यसले एकैपटक थुप्रै  वैदेशिक सहयोग संस्था र कार्यक्रमहरू ल्यायो । हामीले केनेडी र जोन्सन प्रशासनसँग यूएसएआईडी स्थापना गरेसँगै यसलाई विकासको शताब्दीको रूपमा हेर्न थालियो ।

त्यसपछिका दशकमा आवश्यकताका साथै संसारका राजनीतिक, आर्थिक र सामाजिक परिवेश अनुसार  अन्तर्राष्ट्रिय सहयोगहरू वितरण हुन थाल्यो । सन् १९७० को दशकमा नागरिकका आधारभूत आवश्यकतालाई सम्बोधन गरियो भने सन् १९८० को दशकमा खुला बजार अर्थतन्त्रको विकासमा सहयोग गरियो ।

यूएसएआईडीले सन् १९९० को दशकमा स्थायित्व र प्रजातन्त्रका लागि सहयोग गर्‍यो । त्यस्तै सन् २००० को दशकमा हिंसालाई न्यूनीकरण गर्न सहयोग गर्‍यो ।

हामीले सहकार्य गरेका देशहरूको विकासमा सहयोग गर्ने र  ती देशहरूको आफ्नै विकासको प्रक्षेपणलाई साथ दिने हाम्रो लक्ष्यमा हामी अडिग छौँ । अमेरिकाले सहयोग र सहकार्य गरेका देशसँग साथीकै रूपमा रहने हाम्रो लक्ष्य हो ।

अफगानिस्तान र पाकिस्तानमा विशेष विकास सल्लाहकार र अहिले नेपालका लागि मिसन निर्देशक भएर काम गरेको अनुभवका आधारमा दक्षिण एसियाको विकासमा प्रमुख साझा चुनौतीहरू के देख्नुहुन्छ ?

मैले दक्षिण एसिया विश्वकै विविधता भएको र गतिशील क्षेत्रको रूपमा बुझेकी छु । तपाईँले भनेजस्तै मैले अफगानिस्तानमा काम गरेँ । मेरो वृत्तिको एउटा हिस्सा पाकिस्तानमा काम गरेर बिताएँ र म अहिले नेपालमा रहेर काम गरिररहेकी छु । यी सबै भिन्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि र इतिहास भएका तथा  फरक चुनौती भएका देश हुन् । एसिया संसारमै तीव्र विकास भइरहेको क्षेत्र हो र रहिरहनेछ । तर यहाँका सरकार, नागरिक समूदाय, निजी क्षेत्र र नागरिकले निर्वाह गर्नुपर्ने केही दायित्व पनि छन् ।

अहिले दक्षिण एसिया, एसिया र सिङ्गो संसारले भोगिरहेको साझा चुनौती कोरोना भाइरसको महामारी हो । यसको अन्त्य गर्ने दायित्व र यसले पारेको प्रभावको सामना गर्नु नै हो । यो हामी सबैको साझा चुनौती हो ।

अर्को साझा चुनौती र संसारका नेताहरू पनि कोप२६ (जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन) का लागि सम्मिलित भएर छलफल गरिसकेको विषय जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने र कमजोर राष्ट्रमध्ये  नेपाल पनि एक हो । यीबाहेक अन्य चुनौती पनि छन्, ती चुनौतीलाई सामना गर्न दक्षिण एसियाली राष्ट्र एक ठाउँमा उभिएर समाधान निकाल्न आवश्यक छ ।

नेपालमा अमेरिकी सहायताको ७० वर्षलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मैले यूएसएआईडीको रूपमा अमेरिकी सरकारको नेपालमा रहेको ७० वर्षे आबद्धतालाई  एकदमै एकताबद्ध सहयोग, एक महत्त्वपूर्ण सहकार्य, मित्रवत् र मैले अघि नै उल्लेख गरेअनुसार संयुक्त उपलब्धिमूलक सहकार्यको ७० वर्षका रुपमा लिएकी छु ।

सन् १९५० को सुरुआतदेखि हामी दुई देशले सँगै काम गर्दै आइरहेका छौँ । यो बीचमा हामीले केही ठूला उपलब्धि पनि देखेका छौँ ।

हाम्रो सहकार्यको महत्त्वपूर्ण उपलब्धि स्वास्थ्य क्षेत्रमा पाएका छौँ । अमेरिकी सरकारले यूएसएआईडीमार्फत स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण श्रोत उपलब्ध गराएको छ । मलेरियाको अन्त्य हुनु, ५ वर्षमुनिका बालबालिकाको मृत्युदर घट्नु र संयुक्त प्रयासमा हेल्थ पोस्ट निर्माण हुनु यसका उदाहरण हुन् । कोभिड–१९ को महामारीका बेला पनि हामीले धरै सहयोग गरेका छौँ । यूएसएआईडीले स्वास्थ्य क्षेत्रमा मात्र सहयोग गरेको भने होइन ।

अर्को महत्त्वपूर्ण क्षेत्र शिक्षा हो । शिक्षाको क्षेत्रमा अहिले हामी प्राथमिक शिक्षामा सहयोग प्रदान गरिरहेका छौँ । हामीले शिक्षा क्षेत्रमा सुरुआतदेखि सहयोग गरिरहेका हौँ । नेपालसँगको यूएसएआईडीको अर्को महत्त्वपूर्ण साझेदारीको क्षेत्र कृषि पनि हो ।

नेपाल  पक्कै पनि कृषिप्रधान हो । नेपालको कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रमा आधारित छ । यस क्षेत्रको विकास गर्न र कृषिलाई बढी उत्पादनमूलक बनाउन उन्नत औजार, बीउ तथा मल उपलब्ध गराउनुका साथै ती क्षेत्रमा थप प्रविधि उपलब्ध गराउने कुरामा हाम्रो ध्यान केन्द्रित छ ।

अर्को कुरा यी सफलता र उपलब्धिहरू यूएसएआईडीको मात्र उपलब्धि होइन । हाम्रा उपलब्धिहरू हामीले सहकार्य गरेका देशको सरकारमा पनि निर्भर रहेको छ । यहाँका जनता, हामीले सँगै रहेर काम गर्ने तरिका, हाम्रो एकआपसमा  संलग्न हुने तरिका र नेपालको विकास प्रक्षेपणमा हामीले गरेका सहमतिमा पनि यो निर्भर छ ।

अहिले यूएसएआईडीका नेपालमा प्रमुख प्राथमिकताहरु के के हुन् ?

यो प्रश्नको जवाफ दिन अघिल्लो प्रश्नमा मेरो जवाफतर्फ फर्कन आवश्यक हुन्छ । यूएसएआईडी र अमेरिकी सरकारको प्राथमिकता नेपाल सरकारको आफ्नै प्राथमिकता पनि हो ।

नेपाल सरकार आफैले तय गरेका प्राथमिकताहरू नै हाम्रा प्राथमिकता हुन् । नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । नेपालले सन् २०५० सम्म ‘ग्रिन हाउस इमिसन’ को ‘नेट जिरो’ को लक्ष्य राखेको थियो । यो अहिले सन् २०४५ सम्म सरेको छ । अन्य लक्ष्यहरू नेपालीको जीवनस्तर उकास्नका लागि छन् ।

ती लक्ष्यहरू नेपाल आफैले तय गरेको हो । ती लक्ष्यलाई व्यापारिक र प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । आर्थिक बृद्धिदर हाम्रो मुख्य प्राथमिकता हो ।

यसका साथै नेपालीको जीवन सुधार्ने र नेपालीको स्वास्थ्य क्षेत्र अर्को प्राथमिकताको विषय हो । हामीले हाम्रो स्वास्थ्य र शिक्षाका कार्यक्रममार्फत यसलाई निरन्तरता दिइरहेका छौँ ।

नेपाल पर्यटन क्षेत्रमा पनि निर्भर छ । नेपालको पर्यटन क्षेत्र यसको वातावरणमा निर्भर रहेको छ । यो कोणबाट पनि हामीले नेपालमा काम गरिरहेका छौँ ।

हामीले यी सबै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुको उद्देश्य यो हो कि, यी सबै नेपालका पनि प्राथमिकताका विषय हुन् ।

नेपालमा कोभिड१९ को महामारी नियन्त्रणका लागि यूएसएआईडीले कसरी सहयोग गर्ने योजना बनाएको छ ?

हामीले यसका लागि नेपाल सरकारसँगको सहकार्यमा काम गरिरहेका छौँ साथै सम्बन्धित संस्थाहरूसँग पनि हामीले सहकार्य गरेका छौँ । सन् २०२० को सुरुमै नेपालमा कोरोना भाइरस महामारीको जोखिम बढ्दै गइरहेको थियो । त्यतिबेला हाम्रो ध्यान धेरैभन्दा धेरै संख्यामा ल्याबहरू निर्माण गर्ने, कन्ट्रयाक ट्रेसिङ बढाउने र नागरिकलाई सुरक्षित रहन सन्देशमूलक कार्यक्रमहरू निर्माण गर्नेमा थियो ।

त्यसपछि गत मे महिनामा कोभिड–१९ को दोस्रो लहरले थप संकटको स्थिति ल्याउँदा हामीले स्वास्थ्य क्षेत्रमा थप सहयोग जुटाएका थियौँ । त्यतिबेला हामीले भेन्टिलेटर, अक्सिजन सिस्टम, अक्सिजन ट्याङ्क, अक्सिजन सिलिन्डरसहितका सहयोगका साथै स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न साठी लाख (६ मिलियन) पीपीई सेट उपलब्ध गराएका थियौँ । यस्तै थप एन्टीजेन र पीसीआर टेस्टमा पनि सहयोग गरेका थियौँ ।

पछिल्लो चरणमा हामीले कोरोना भाइरसविरुद्धको खोप पनि सहयोग गरेका छौँ । गत जुलाई महिनामा १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएका थियौँ । भर्खरै मात्र हामीले थप १ लाख डोज फाइजरको कोरोना भाइरसविरुद्धको खोप ल्याएका छौँ । यो १ लाख डोज मात्र होइन, हामी कोभ्याक्स र हाम्रा साझेदार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनसँग नजिक रहेर पनि नेपालका लागि काम गरेका छौँ।

कोरोना भाइरसले निम्त्याएको संकटका बेला पनि हामीले स्वास्थ्य क्षेत्रमा मात्र सहयोग गरेका छैनौँ । बालबालिकाहरू विद्यालय जान वञ्चित भएका बेला हामीले दूरी कायम गर्दै अध्यापन गराउन शुरु गर्‍यौँ । नागरिकले रोजगारी गुमाउन थालेको स्थितिलाई मध्यनजर गर्दै जीवनयापन सहज बनाउने गरी विभिन्न आर्थिक सहयोग उपलब्ध गरायौँ ।

हामीले स्वास्थ्य क्षेत्रमा परेको प्रभावका साथसाथै कोरोना भाइरसको तेस्रो लहरले पार्न सक्ने प्रभावलाई कम गर्न पनि सहयोग प्रदान गरेका छौँ । तर,  दुर्भाग्य कोभिड–१९ अझै हाम्रो माझमा छ । महामारी सकिएको छैन र हामी आशावादी छौँ कि, नेपालमा यो भाइरसको अर्को लहर आउने छैन ।

यूएसएआईडीले सहयोग गरेका विकासका कार्यक्रममा समूदायको कस्तो संलग्नता पाउनुभएको छ ?

नागरिक समूदायको संलग्नताविना कुनै पनि देशको विकास असम्भव छ । नागरिक समूदाय त्यो हो, जसले देशलाई बनाउँछ र नागरिक समुदायले नै देशलाई एकत्रित गराउँछ ।

जस्तोसुकै विकास गर्नका लागि पनि समूदायसँगै रहेर काम गर्नुपर्ने हुन्छ । कुनै देशको सरकारसँग निकट रहेर काम गर्न पनि सो देशले समूदायमै रहेर काम गर्नुपर्छ ।

विकासको पथ र विकासको प्रक्षेपणका लागि कुनै पनि देशले त्यहाँको समूदायको आवश्यकताअनुसार नै गर्नुपर्छ । यदि नागरिक समूदाय र सरकारबीच खाडल बन्यो भने सरकार सफल हुन सक्दैन । तर, तपाईँहरू अस्थिर समूदाय निर्माण गरिरहनुभएको छ किनभने समूदायले चाहेको कुरा सरकारले आवश्यक ठानेको छैन ।

नागरिक समूदाय त्यो हो, जसले देश निर्माण गरिरहेको छ । नागरिक समूदाय र सरकारबीच संलग्नता भए मात्र स्थायित्व कायम गर्छ र देशका लागि दिगो विकास गर्न सकिन्छ ।

नेपालका अक्त र सीमान्तकृत समूदायमा पुगी यूएसएआईडीले कसरी काम गरिरहेको छ ?

यो काम धेरै देशमा अत्यन्त कठिन छ । असक्त र सीमान्तकृतको परिभाषा नै सामान्य निर्णय क्षमतामा कुनै भूमिका नभएको भन्ने हो । उनीहरू ती व्यक्ति हुन्, जसका लागि अरूले निर्णय गर्छन् र उनीहरूका आवाज सधैँ सुनिँदैन । उनीहरू कहाँ छन् ? के सोचिरहेका छन् र के गरिरहेका छन् भन्ने थाहा पाउँदैनौँ ।

खासगरी नेपालजस्तो देशमा कमजोर र सीमान्तकृत वर्गमा चासो दिन अति आवश्यक छ, किनकि उनीहरू पनि नागरिक समूदायको एउटा अङ्ग हुन् ।

हाम्रो प्राथमिकतामा सबैभन्दा पहिले अशक्त र सीमान्तकृतहरूको आवश्यकता र आवाजलाई समावेश गर्नुपर्छ ।

हामीले सबैभन्दा पहिले अशक्त र सीमान्तकृत वर्गको पहिचान गर्छौँ । यो पहिलो चरण हो । मैले यूएसएआईडीमा रहेर यही गरिरहेकी छु ।

अहिले हामीले यहाँ गरिरहेका वार्ता, कन्सेप्ट रिभ्यु र परियोजनालाई समावेशीकरणले जोड्ने गरेको छ । जब कुनै योजना कार्यान्वयनको चरणमा पुग्छ, यो हामीले आफैलाई सोध्ने गरेको प्रश्न पनि हो ।

हामी हाम्रो संलग्नता बढाउन र हाम्रो दायरा फराकिलो बनाउनतर्फ पनि लागिरहेका छौँ । यसले हामी धेरैभन्दा धेरै नागरिक समूदायसँग वार्ताको वातावरण बनाउन र फराकिलो क्षेत्र बनाउन मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।

यसमा सीमान्तकृत र समावेशी समूदाय पनि हुनेछन् । हामीले ती वर्गको आवाज सुन्नेछौँ, जसका लागि आजसम्म कुनै निर्णय भएका छैनन् ।

हामीले ती वर्गका मुद्दा र चुनौतीलाई स्वीकार्न सकेका छैनौँ तर हामीहरूले उक्त वर्गका लागि पनि स्थान दिएका छौँ । उनीहरू आफ्ना समस्या तथा चुनौतीहरू हटाउन हामीसँग सहकार्य पनि गर्न सक्नेछन् । हामीहरूले ती समूदायका आवश्यकतालाई मनन् गर्न सकेका छैनौँ । त्यस्ता समूदायलाई समावेश नगरी उनीहरूको पक्षमा निर्णय गर्न पनि सक्दैनौँ ।

मलाई थाहा छ, यो सजिलो काम होइन तर हामीले राखेको लक्ष्य हो । यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।

यूएसएआईडीले सामूदायि तथा निजी सहकार्यमा कसरी काम गरिरहेको छ, यसबाट नेपालले कस्तो लाभ लिन सक्छ ?

जब म २० वर्षअघि यूएसएआईडीमा आबद्ध भएँ, त्यतिबेलादेखि नै हामीले निजी क्षेत्रको भूमिका बुझेर त्यसमा केन्द्रित भएका थियौँ।

निजी क्षेत्र  आर्थिक वृद्धिको यन्त्र पनि हो । भलै ती साना व्यवसाय हुन सक्छन् । ठूला व्यवसाय पनि हुन सक्छन् । निजी क्षेत्रले देशको आर्थिक बृद्धिदर बढाउन भूमिका खेलेको हुन्छ ।

पछिल्ला दुई दशकमा निजी क्षेत्रसँग डिल गर्ने, कसरी उनीहरूलाई संलग्न गराउने र उनीहरूसँग कसरी काम गर्ने भन्ने विषयमा हामी बढी परिष्कृत भयौँ।

हामीले भन्ने गरेको सामूदायिक–निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप) बाटै हामीले सुरु गरेका थियौँ । सुरुआती दिनमा हामीले कार्यक्रमको प्रारुप विकास गर्न आवश्यक थियो । त्यसपछि निजी क्षेत्रमा गई संलग्न गराएर र यो उद्देश्यमा तपाईँ कसरी सहयोग गर्नुहुन्छ भनेर हामीले उहाँहरूलाई सोध्न आवश्यक थियो ।

अहिले के फेरिएको छ भने उहाँहरूलाई हामीले सुरुदेखि नै सहभागी गरकाएका छौँ । कतिपय विषयमा हामीले निजी क्षेत्रसँग मिलेर काम पनि गरिरहेका छौँ । अहिले निजी क्षेत्र हाम्रा सही साझेदार हुन् ।

यूएसएआईडीले निजी क्षेत्रसँग गरिरहेको काम नयाँ भने होइन, तर हामीले सम्बोधन गर्ने तरिका सुधारिएको छ । यो परिष्कृत शैलीको छ । यो संसारभर हामीले सामना गरेको नयाँ चुनौती र यी चुनौतीले फरक समूहका फरक व्यक्तिलाई कसरी प्रभाव पार्छ भन्ने महसुस भएसँगैको स्थानान्तरणको आंशिक प्रभाव पनि हो ।

यूएसएआईडीले नेपालको दिगो विकासका लागि दूतका रूपमा कसरी काम गर्न सक्छ ?

मलाई लाग्छ, यस प्रश्नको जवाफ दिन तपाईँले मलाई यूएसएआईडीको भूमिका, यसको विकास र हामीले सँगै गरेका कामका बारे सोधेको पहिलो प्रश्नमा नै फर्कनुपर्ने हुन्छ ।

देशका भिन्न जनसङ्ख्या या समूदायका भिन्न खण्डहरू कसरी एकत्रित हुन्छन् र त्यो देशले कुन बाटो अवलम्बन गर्छ, त्यो देशले भिन्न क्षेत्रका जनसङ्ख्याको बीचमा कस्तो सहमति कायम गर्छ भन्नेमै कति दिगो हुने भन्ने निर्भर रहन्छ ।

कति दिगो हुने भन्ने कुरा सो समूदाय कसरी एक ठाउँमा रहन्छ र  समूदायको साझा उद्देश्यमा कति समानता छर भन्नेमा पनि भर पर्छ । त्यस्तै समग्र समूदायले जान चाहेको गन्तव्यमा कत्तिको समानता छ र उनीहरू उद्देश्यमा कत्ति प्रस्ट छन्  भन्नेमा पनि भर पर्छ ।

किनभने यदि तपाईँसँग भिन्न कुरा गर्न चाहने समूदायको भिन्न अंश छ भने तपाईँ फरक बाटोमा हिँड्नुहुन्छ ।

यस कारण दिगो विकासको सवालमा हामीले सुरुमै भनेको विषयमा फर्कनुपर्ने हुन्छ । तसर्थ नेपालको दिगो विकास सहकार्य, समन्वय र सहमतिमा आधारित हुनेछ ।

भिडियो:


भर्खर

0