यस्तो छ जनै पूर्णिमाको महत्व « Khabarhub
Logo
१० माघ २०७८, सोमबार

यस्तो छ जनै पूर्णिमाको महत्व



आज हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावण पूर्णीमा अर्थात जनैपूर्णिमा । यस दिन हिन्दुधर्मालम्बीहरुले अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाउने गरेका छन् । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि मानिन्छ ।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।

त्यसपछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।

जनैपूर्णिमाका तीनपक्ष रहेका छन्, यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांगऋषितर्पणी । हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिकालागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ।।

अर्थात् जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन (डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ । भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने को परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ ।

जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गरेको थियो । तर कोरोना कहरका कारण यस बर्ष ति मेलाहरु लागेनन् ।

नेवार समुदायमा आजको दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । नेवार समुदायका हिन्दू द्विज तागाधारी जाती राजोपाध्याय ब्राह्मण र क्षेत्री (छ–थरी) श्रेष्ठहरू ले संकल्प गरी नयाँ जनै लगाउने चलन छ भने सबैले आजकै दिन परम्परानुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

यसैगरी उपत्यकाका कृषक तथा ज्यापु जातीले यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ ।

आजैको दिन तराई क्षेत्रमा मनाइने रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । यो दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ ।


भर्खर

0