तराई-मधेश द्रुतमार्ग : १६ प्रतिशत काम सकियो, तीन वर्षमा पूरा गर्ने लक्ष्य | Khabarhub Khabarhub

तराई-मधेश द्रुतमार्ग : १६ प्रतिशत काम सकियो, तीन वर्षमा पूरा गर्ने लक्ष्य

लेखा समितिको निर्देशनबारे जङ्गी अड्डा मौन



काठमाडौँ– काठमाडौँलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले हालसम्म कुल कामको १६ दशमलव १० प्रतिशत पूरा भएको जनाएको छ ।

उक्त प्रगति आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको हो । कुल कामको १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिएकोमा दशमलव ११ प्रतिशत कम उपलव्धि हासिल भएको हो ।

ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बारा जिल्लाको निजगढसम्म निर्माणाधीन साढे ७२ किलोमिटर सडक द्रुत मार्ग हो । नेपाली सेनाले यसलाई ‘एक्सप्रेस वे’ भनेको छ ।

२०७४ सालमा शुरू गरिएको यस आयोजनाको काम आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ । बाँकी ८४ प्रतिशत काम तीन वर्षमा पूरा गर्नु पर्नेछ ।

सैनिक प्रवक्ता साहायक रथी सन्तोष बल्लभ पौडेलले भने, ‘गएका वर्षमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रियामा समय लाग्यो, सुरुङमार्गको ठेक्का सम्झौतामा केही ढिलाइ भयो । आगामी दिनमा कुनै समस्या देखिएन भने तोकिएकै समयमा सम्पन्न हुन्छ ।’

सडकको कुल लम्बाइको ६ दशमलव ४१ प्रतिशत सुरुङ बनाउनु पर्नेछ । सुरुङ निर्माणका लागि ६ महिना अध्ययन र ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता जनाइएको छ ।

सुरुङमार्गको पहिलो प्याकेज चाइना स्टेट र दोस्रो प्याकेज पोली चाङ्दाले पाएका हुन् । सुरुङ्ग मार्ग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुँदैछ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट यी कम्पनी छनोट भएका हुन् ।

सार्वजनिक लेखा समितिले सुरुङ र विशेष डिजाइनका पुल निर्माण सम्बन्धी ठेकेदार कम्पनी छनौटमा अनियमिता भएको ठहर गरी ठेक्का प्रक्रिया रद्द गर्न दिएको निर्देशनबारे जङ्गी अड्डा मौन रहेको छ ।

जङ्गी अड्डाले सार्वजनिक गरेको प्रगति विवरणमा ‘अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई मिति २०७८ जेठ ३१ गतेबाट दुवै सुरुङ ठेक्का प्याकेजहरूको कमेन्समेन्ट भई मोबिलाइजेसन सहित कार्य प्रारम्भ गरिएको छ’ उल्लेख गरिएको छ ।

सार्वजनिक लेखा समितिले दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न रक्षा मन्त्रालयमार्फत सेनालाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनबारे जानकारी भए पनि रक्षा मन्त्रालयबाट कुनै निर्देशन नआएको सैनिक प्रवक्ताले बताए ।

यस्तो छ अहिलेसम्मको काम

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेना काम थालेको हो ।

जङ्गी अड्डाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आयोजनामा १४ वटा बेलीब्रिज जडान गर्नुपर्नेमा हालसम्म ८ वटा जडान भई सञ्चालनमा आएका छन् । सुरुङ र पुल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण कार्य जारी छ ।

पाँच ठाउँमा बेसिक ल्याब इक्विपमेन्ट जडान गरी गुणस्तर परीक्षण गर्ने काम भइरहेको छ । परामर्शदाताको परामर्शअनुसार एड्भान्स ल्याब इक्विपमेन्ट समेत थपिएको छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार बीचमा कुनै समस्या नआए आगामी साढे तीन वर्षभित्र निर्माण कार्य पूरा हुनेछ । जग्गा अधिग्रहण तथा मुआब्जा वितरणसम्बन्धी काम पनि सकिने क्रममा छ । हालसम्म ९१.५ काम सकिएको जनाइएको छ ।

खोकना–बुङमती क्षेत्रमा ४२७ रोपनी जग्गा अधिग्रहण हुन सकेको छैन । सैनिक प्रवक्ता पौडेलका अनुसार आयोजनाका लागि कुल ५ हजार १७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा ४२७ रोपनीमा काम शुरू हुन सकेको छैन ।

खोकना–बुङमती क्षेत्रमा जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति मार्फत पहल भइरहेको उनले बताए ।

रूख कटान र व्यवस्थापन सम्बन्धी काम सकिएको छ । काटिएको एउटा रूखको साटो २५ वटा नयाँ विरुवा रोप्ने नीतिगत व्यवस्थाअनुसार असार मसान्तसम्म २ लाख ४९ हजार १६६ वटा रूख रोपिएको जनाइएको छ ।

यस वर्ष ८ अर्ब ८४ करोड बजेट

आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ८ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको बजेट ८ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ थियो । यसमध्ये ९७.३४ प्रतिशत खर्च भएको छ ।

तस्वीरहरू: नेपाली सेना

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ३ : ५२ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा