हामी प्रत्येक पल मरेका छौँ « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

हामी प्रत्येक पल मरेका छौँ



‘मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन
भागेर जाऊँ, कुन ठाउँ जाऊँ
मान्छे नमर्ने, शहर हुँदैन ।

000

गीतकार डा. कृष्णहरि बरालले रचना गरेको यो गीत २०६० सालमा रिलिज भएको फिल्म ‘नाइँ नभन्नू ल २’ मा छ । यसमा प्रेम परियारको स्वर तथा गैरे सुरेशको सङ्गीत छ ।

कोभिड महामारीले मान्छे मर्ने क्रम बढिरहेको छ । कोडिले मान्छे नमरेको प्रहर छैन र शहर पनि छैन । यो परिप्रक्ष र गीतका सन्दर्भमा गीतकार डा. बरालसँग नेमिष गौतमले गरेको संवाद प्रस्तुत गरिएको छ ।

निषेधाज्ञामा घर बसाइ कस्तो छ ?

मेरा लागि चिन्ता र उत्साह दुवै छ । चिन्ता यस अर्थमा कि केही दिनअघि साहित्य क्षेत्रबाट प्रेमध्वज प्रधान, चेतन कार्की बित्नुभयो । साहित्य क्षेत्रबाट राजेन्द्र सुवेदी बित्नुभयो । उहाँसँग मैले धेरै वर्ष केन्द्रीय विभागमा पढाएँ ।

उत्साहको कुरा गर्दा पहिलाको लकडाउनमा मैले लेखकका रूपमा काम गरेँ । सिर्जनशील मान्छेका लागि लकडाउन त्यति समस्या जस्तो लागेन । लेख्नका लागि एउटा टेबल, मेच, कापी, कलम र केही किताब भयो भने हुन्छ । यसपटकको निषेधाज्ञामा पनि त्यही कार्य जारी छ ।

निषेधाज्ञामा नयाँ सिर्जना गर्ने वातावरण छ ?

मेरो कुरा गर्दा अहिले मैले धेरै लेखिरहेको छु । पोहोरको लकडाउनमा दुई वटा किताब परिमार्जन गरेको थिएँ । मोहनराज शर्मासँग मिलेर लेखेको ‘भाषा विज्ञान र नेपाली भाषा’ किताब थियो । उहाँ बित्नुभएपछि त्यसलाई आफैँले अपग्रेड गराएर अक्सफोर्डबाट छाप्न लगाएँ ।

‘गीत कसरी लेख्ने ?’ भन्ने अर्को किताब एकेडेमीमा थियो । त्यसमा अलिकति थपेर बुझाइदिएँ । अहिलेको निषेधाज्ञामा चाहिँ पहिला अलिक सानो आकारको ‘कथा सिद्धान्त’ पुस्तक डबल पारेँ । ‘गीत सिद्धान्त र इतिहास’ भन्ने मेरो पुरानो किताब थियो । त्यसलाई अपग्रेड गर्दैछु । अर्को ‘गजल सिद्धान्त’ सिध्याउन बाँकी छ । यति सिध्याएपछि मात्र नयाँतिर लाग्छु ।

तपाईंले लेखेको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ अहिले पनि उत्तिकै सान्दर्भिक छ, यसको पृष्ठभूमि के थियो ?

म सन् २०११ मा ५,६ महिनाका लागि अमेरिका गएको थिएँ । हामी त्यहाँ कार दुर्घटनामा पर्‍र्यौ । म मरेर बाँचेको थिएँ । नौ दिनसम्म बेहोस थिएँ । नेपाल आइसकेपछि छोरी स्वीकृतिले ‘मृत्यु सम्बन्धी गीत लेख्नुहोस्’ भनिन् । अनि ‘मर्ने कसैलाई रहर हुँदैन’ लेखेँ ।

यो गीत मैले फिल्मका लागि लेखेको थिइनँ । यो गीत एउटा पत्रिकामा पनि छापियो । त्यो बेला सङ्गीतकार गैरे सुरेशले धुन हाल्नुभएको थियो । गीतमा अहिले हामीले सुनेको अन्तरा थिएन । मैले सामान्यीकरण गरेर लेखेको थिएँ । यसमा ‘मरिरहेछु म त घातले नै, मार्ने केवल यहाँ जहर हुँदैन’ भन्ने एउटा शेर पनि थियो ।

फिल्ममा कसरी आयो ?

मैले निर्देशक विकाशराज आचार्यको फिल्म ‘नाइ नभन्नू ल’ मा चारवटै गीत लेखेको थिएँ । सबै गीत लोकप्रिय भए । त्यसपछि उहाँकै फिल्म ‘रिदम’ मा ‘पागल म बन्न सक्छु’ सहित तीनवटा गीत लेखेँ । ती गीत पनि चले ।

त्यो फिल्मको प्रचारप्रसारका क्रममा मलाई विकाशले ‘अब आउने फिल्म चाहिँ बच्चासँग सम्बन्धित छ, फिल्ममा बच्चा मर्छ । दुईवटै फिल्मको गीत राम्रो भयो । अब आउने फिल्ममा पनि गीत चाहियो’ भन्नुभयो ।

मैले उहाँबाट कथा सुनें । त्यसपछि ‘मर्ने कसैलाई रहर हुँदैन’ को दुई लाइन सुनाएँ । त्यतिखेर उपचारका लागि कोही दिल्ली जाने, कोही बैंकक जाने, कोही कता जाने देखिरहेको थिएँ ।

कालै आएपछि त कहीँ पनि छोड्दो रहेनछ । फिल्ममा बच्चा सङ्गीत सिक्ने भएपछि यो दुई लाइन सुनाउँदा विकास सर खुशी हुनुभयो तर ‘घातले नै’ भन्ने अन्तरा सुट नहुने भयो । फिल्ममा त बच्चा घातले नभई रोगले मरेको हुन्छ ।

अनि मैले त्यहाँ ‘हुँदैन मान्छे मात्र नजाती, दैव पनि रहेछ पक्षपाती, कोपिला नै पनि त झर्छ कहिले, सधैँ सजिलो सफर हुँदैन’ थपेँ । अर्को अन्तरामा चाहिँ तिहारमा हामीले माटाको पालमा बाल्ने बत्तीको विम्ब दिमागमा आयो ।

बत्ती बालेर एक घण्टा पछि हेर्न जाँदा कुनैमा तेल पनि हुन्छ, बत्ती पनि हुन्छ । कुनैमा खरानीजस्तो मात्रै बालेको हुन्छ, पिलपिल बलिरहेको हुन्छ । कुनैमा तेल र बत्ती हुँदा पनि निभ्नु र कुनैमा तिपतिप भएर पनि बल्नु ।

अनि त्यो कुरो ल्याएर ‘जीवन किन यहाँ चल्दैन उस्तै, बत्ती दियोमा बल्दैन उस्तै, कस्तो खटन हो, यो नियतिको, कुन निभ्छ कहिले ठहर हुँदैन’ थपिदिएँ ।

यो गीत लेखिरहँदा आफूमा कस्तो भाव आएको थियो ?

यो गीत मैले एकै बसाइमा लेखेको हो । शरूमा दुई–तीन वटा अन्तरा थियो । फिल्मको गीत लेख्दा चाहिँ २५ प्रतिशत कन्टेन्ट फिल्म मेकरले नै दिनुहुन्छ । अब त्यो विषयलाई कसरी गीत बनाउने भन्ने कुरा गीतकारमा भर पर्छ ।

मेरो दिमागमा खेलिरहेको कुरा एक्कासी झ्वाट्टै आएपछि यो लेखेँ । गीत लेख्नु प्रसवपीडा जस्तै हो । बच्चा बाहिर निस्कन खोज्दाको पीडाजस्तै हुन्छ । जुन गीत हामी बिना प्रयास लेख्छौँ नि त्यही गीत राम्रो हुन्छ ।

गीत सार्वजनिक भएपछिको प्रतिक्रिया ?

यो गीत म बाहिर एलबममा पहिले रेकर्ड गर्न सक्थें । मैले त्यो सोच बनाएको थिएँ । विकास सरसँग भेट हुनु, उहाँको कथासँग मेल खानु, एउटा रेडिमेट लुगाजस्तो भयो । तर अलिकति अन्तरा मिलाउनुपर्‍यो । यो गीत चल्ला कि नचल्ला भन्ने दोधारमा थिएँ ।

गीतको एरेन्ज महाराज थापाले गर्नुभएको हो । एरेन्ज भइरहँदा ‘ए महाराज, यो हुन्छ के । कुनै मेलोडी पिस दिनुपर्छ कि के हो’ भनेर सोधेँ । उहाँले ‘यो गीतमा चाहिँ नचलाऊँ’ भन्नुभयो ।

म धेरै एरेन्जमा बस्दा आफ्नो पिस पनि हाल्छु । उहाँले ‘मैले सिङ्गल भ्वाइलेन राखेको छु, राम्रो हुन्छ’ भन्नुभयो । नभन्दै अचम्मै तरिकाले गीत चल्यो ।

बालबच्चादेखि वृद्धवृद्धालाई पनि यो गीतले यसरी पक्रिएला भन्ने मैले सोचेकै थिइनँ । यो गीत जबसम्म विज्ञानले मान्छेलाई अमर बनाउदैन, तबसम्म रहिरहने भयो ।

अहिलेको परिप्रेक्षमा यो गीत कतिको समयसापेक्ष जस्तो लाग्छ ?

एकदमै समयसापेक्ष छ । मान्छेलाई मर्ने रहर त हुँदैन । नत्र किन मान्छे घरमा थुनिएर बस्थे त । हामी प्रत्येक पल मरेका छौँ । अहिले भागेर कहाँ जानु, दिल्ली, अमेरिका जहाँ गए पनि अवस्था उस्तै छ । मान्छे नमरेको शहरै छैन । भागेर जाने ठाउँ पनि त छैन । यही कोभिडले बच्च पनि मरेका छन् । कोही सय वर्षका बाँचिरहेका छन् ।

तपाईंको बुझाइमा गीत र गजल के हो ?

गीत अलिक स्वतन्त्र हुन्छ । गीत र गजल गाउनकै लागि लेखिन्छ तर त्यसको बनोटले फरक पार्छ । मान्छे एकै भएर पनि अनुहार त बेग्लाबेग्लै हुन्छ ।

कविताकै अनुहार धेरै अनुहार भएरै उपविधा भयो नत्र कवितै भन्दा पनि हुन्थ्यो । गीत, कविता, मुक्तकको बेग्लै संरचना छ । कहीँ पंक्तिले डिसिजन गर्ने, कहिँ राइमिङले गर्ने, कहीँ छन्दले गर्ने । गजलमा चाहिँ अलिक बढी नियमितकर्ता छ ।

गीत चाहिँ गाउन मिल्ने गरी गद्यमा, छन्दमा, लोकछन्दमा लेखिदिए पनि हुन्छ । त्यसमा धेरै नियम छैन । अनि एकलाइनको मात्र स्थायी भए पनि हुन्छ । गजलमा दुई–दुई पंक्तिको शेर हुनैपर्छ । बराबरी लम्बाई भएको, एउटै छन्द भएको, दुईवटा पंक्ति भएको समूहलाई शेर भन्छ । त्यो चाहिँ आफैँमा पूरा हुनुपर्छ ।

व्याकरण र अर्थको दृष्टिले पूरा हुनुपर्छ ।

सबै भावका गीत, गजल लेख्नुहुन्छ, कुन भावमा लेखाइ सजिलो वा गाह्रो लाग्छ ?

त्यस्तो हुँदैन । मुख्य कुरो संरचना बौद्धिक कुरा भयो । त्यो पक्रिनका लागि बुद्धिले पढेर, लेखेर, यसो हेरेर दुई पंक्तिको शेर यस्तो किसिको काफिया भन्ने पढेर पनि जानिन्छ । क्रिएटिभिटी भनेको अन्तर आत्माबाट भावनात्मक अभिव्यक्तिको कुरा आयो ।

त्यो भावनात्मक अभिव्यक्तिलाई हामीले अलिक फ्री भएर गाउन मिल्ने गरी बनायौँ भने गीततिर जाने भयो, दुई दुई पंक्तिको शेरमा काफिया मिलाएर हामीले लिएर गयौँ भने त्यो गजलतिर जाने भयो ।


भर्खर

0