प्रतापपुरबाट गैँडा गणना शुरू (फोटो फिचर) | Khabarhub Khabarhub

प्रतापपुरबाट गैँडा गणना शुरू (फोटो फिचर)


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर सोमबारदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् ।

गैँडा गणनाको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए । गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उनले भने, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।”

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यप्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले बोलेका थिए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए । सोही समयमा चोरी–शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ । बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन् । यसमध्ये चारवटा चोरी–शिकारीले मारेको उनले बताए ।

गणनाका लागि चितवनमा ४२, बर्दियामा नौ र शुक्लाफाँटामा पाँच गरी ५६ हात्ती र चितवनमा २००, बर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन् । व्यवस्थापन सहयोग एवं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् ।

कोशीमा दरबन्दी रहेर चितवनमा रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ । दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्नेछ । गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदैछ । चैत्र २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन