नेपाल-अमेरिका सम्बन्धमा उल्लास मनाउनुपर्ने विषय धेरै छन् | Khabarhub Khabarhub

नेपाल-अमेरिका सम्बन्धमा उल्लास मनाउनुपर्ने विषय धेरै छन्



नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीलाई राजदूतका रूपमा नेपाल बसाइ सुखद लागेको छ । उनलाई काठमाडौँ उपत्यका बाहिरको नेपाल घुम्न र नेपाली संस्कृति बुझन् मन लाग्छ । उनलाई नेपाली खानाका परिकार औधी मन पर्छ । उनलाई सेलरोटी पकाउन सिक्न मन लागेको छ । उनी एउटा यात्रीका रूपमा नेपाल आएका थिए, दूतावासको उपप्रमुखका रूपमा पनि आए । अहिले राजदूतका रूपमा नेपालमा छन् ।

राजदूत बेरीको नेपाल अनुभव बारे खबरहबका लागि ईश्वरदेव खनालले उनीसँग कुरा गरेका छन् ।

राजदूतको हैसियतमा तपाईँ नेपाल आउनुभएको दुई वर्ष भयो । कस्तो लागेको छ ?

नेपालमा अमेरिकी राजदूतको हैसियतमा काम गर्न पाउनु मेरो जीवनकै सम्मानको विषय भएको छ । नेपालमा रहँदा मैले आजसम्म नराम्रो दिन देख्नुपरेको छैन । यो देश, यसको इतिहास, यहाँका मानिस, यहाँको स्वादिष्ट खाना र यहाँको विविधतायुक्त संस्कृति ज्यादै नै आकर्षक छ ।

आफ्नो देश अमेरिका बाहेक विश्वको अन्य देशमध्ये सबैभन्दा लामो समय नेपालमा बिताएको छु भन्दा मलाई गर्व लाग्छ । विगत एक वर्षदेखि कोरोना भाइरसका कारण मैले काठमाडौँ बाहिरको नेपाल देख्न पाएको छैन । यो साह्रै दुःख लाग्दो कुरा हो मेरो लागि ।

नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धको ७२ वर्ष पुगेको छ । म यो अवधिलाई सम्बन्धको कोसेढुङ्गा भन्न चाहन्छु । यस विषयमा तपाईं कस्तो महसुस गर्नुहुन्छ र आगामी दिन कसरी अघि बढ्ने योजना छ ?

नेपाल र अमेरिकाबीचको सम्बन्धमा उल्लास मनाउनुपर्ने विषय धेरै छन् । चाहे त्यो मलरिया उन्मूलन कार्यक्रमदेखि भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमसम्म होओस्, अथवा नेपाली कृषकलाई गरिएको सहयोगको कार्यक्रम होओस् । विद्यालय निर्माण, युएसएड मार्फत सञ्चालित मातृ स्वास्थ्य कार्यक्रम, ५० वर्षको अवधिमा अमेरिकी पिस कोर स्वंयसेवीले नेपालमा गरेको काम नै किन नहोस्; हामीबीचको सहयोगको केन्द्रमा हाम्रो मित्रता रहेको छ ।

हामी के विश्वास गर्छौं भने अमेरिका तब मात्रै बलियो हुन्छ जब नेपाल बलियो हुन्छ । अमेरिकाको समृद्धि तब मात्रै सम्भव हुन्छ जब नेपाल समृद्ध हुन्छ । यही मिशनमा हामी रात दिन लागिपरेका छौँ । म हामीबीचको आगामी सम्बन्ध र नेपालको भविष्यका विषयमा आशावादी छु ।

जब पहिलो पटक नेपाल आउनुभयो त्यस बेला तपाईंको अनुभव कस्तो थियो ?

म अन्य युवा यात्रीजस्तै पहिलो पटक नेपालमा के के छ भनेर उत्सुक हुँदै भ्रमणमा आएको थिएँ । म यहाँ आउनासाथ अमेरिकीहरूले नेपाललाई त्यति धेरै माया किन गर्छन् भन्ने थाहा पाएँ ।

म नेपालको विविधता देखेर अवाक भएको थिएँ जुन आजको दिनसम्म पनि कायम छ । तराई, पहाड, अतुलनीय वन्यजन्तु, हिमालय, विविधतायुक्त जनजाति समूह र १२९ भन्दा बढी भाषाभाषी । यस पृष्ठभूमिबीच एक खालको निरन्तरता थियो, म जहाँसुकै जाऊँ वा जोसुकैसँग कुरा गरूँ, मैले नेपालीहरूको हार्दिक आतिथ्य पाए ।

मैले प्रायः भन्ने गरेको छु, हिमाल र प्राकृतिक सौन्दर्यले भ्रमणकारीलाई पहिलो पटक नेपाल ल्याउँछ तर उनीहरूलाई निरन्तर नेपाल आउन मन लाग्ने कारण भने यहाँको मानिस, संस्कृति र आतिथ्य नै हो ।

तपाईंले कुन कुन ठाउँ भ्रमण गर्नुभयो र कुन कुन खानाको स्वाद लिनुभयो ?

म यो देश घुम्ने अवसर प्राप्त गर्दा ज्यादै खुशी हुन्छु । यदि तपाईं धेरै समय काठमाडौँमा मात्रै बस्नुभयो भने तपाईँले नेपाल बुझ्न सक्नुहुन्न ।

जब म पहिलो पटक नेपाल भ्रमणमा आएको थिएँ, त्यस बखत मैले काठमाडौँका प्रायः सबै सांस्कृतिक धरोहरको भ्रमण गरेको थिएँ । केही समय मैले पोखरामा बिताएँ । त्यसपछि देशका अन्य भागमा जाने अवसर पाएँ । मेरा केही अविस्मरणीय यात्राहरूमा जनकपुरमा मैथिली भाषा सिक्दा, पोखराबाट हिमाल हेर्दा र मुस्ताङको विविधतायुक्त ठाउँ र संस्कृतिको अवलोकन रहेका छन् ।

काम गर्ने हिसाबमा तपाईं नेपालमा कहिले आउनुभयो ? नेपाल तपाईंले रोजेको ठाउँ थियो वा कार्यालयले तपाईंका लागि रोजेको ठाउँ थियो ?

म दूतावासको उपप्रमुखको रूपमा सन् २००७ मा नेपाल आएको थिएँ । यो मैले रोजेको ठाउँ थियो । किनभने यो देशका मानिस, इतिहास र भूगोल साह्रै आकर्षक छन् ।

म नेपालमा द्वन्द्वपछिको अवस्थामा आएको थिएँ । यो समय नेपालका लागि निकै महत्त्वपूर्ण थियो । मलाई यहाँका प्रजातान्त्रिक संस्था, मानव अधिकार र समानताका क्षेत्रमा अमेरिकाको तर्फबाट काम गर्ने इच्छा भएर आएको थिएँ ।

एक युवा पर्यटकका रूपमा नेपाल आउँदा र पछि अमेरिकी राजदूतका रूपमा आउँदा तपाईंले नेपालमा केही महत्त्वपूर्ण परिवर्तन पनि पाउनुभयो कि ?

परिवर्तन धेरै भएका छन् र ती प्रशंसायोग्य छन् । नेपालले छोटो समयमा जे प्राप्त गर्न सक्यो, त्यो महत्त्वपूर्ण छ । म यहाँ १० वर्षअघि बसेको थिएँ, जुन बेला यहाँ बृहत् शान्ति सम्झौता कार्यान्वयनको चरणमा थियो । नेपाल एक दशकमा नै ठूलो राजनीतिक परिवर्तनको अवस्थाबाट गुज्रिएको छ, जुन अवस्था पार गर्न अन्य देशलाई शताब्दीऔँ लाग्न सक्छ ।

म यो देशका धेरै ठाउँ घुमेको छ । म आफैँले संघीयताले पारेको प्रभाव देखेको छु । आगामी दिनमा पनि पार्ने नै छ । प्रदेशदेखि सानो समुदायसम्म नेपालीहरूले आगामी दिनका लागि आफ्नो भविष्य निर्माण गर्दैछन् ।

यो दशैँमा खसीको मासु पकाउँदै गरेको तपाईँको भिडियो गज्जबको थियो । तपाईंलाई मासु पकाउन केले प्रेरित गर्‍यो ? के तपाईँ अन्य नेपाली खानाको परिकार पनि पकाउनु हुन्छ ?

धन्यवाद ! मैले त्यो परिकार पकाउने प्रयास गरेको नै पहिलो पटक हो । त्यस बेला बिदा थियो, त्यसैले पकाउने सोच बनाएको हो । एउटा कूटनीतिज्ञका हिसाबमा तपाईंले काम गर्दै गरेको देशको संस्कृति बुझ्नु आवश्यक हुन्छ । संस्कृति बुझ्न त्यस देशको खानाको परिकार पकाउन सिक्नुभन्दा राम्रो उपाय के होला र !

मैले नेपाली खानाको परिकार बनाउन अझै धेरै सिक्नु छ । अलिकति अप्ठेरो देखिए पनि मलाई सेलरोटी पकाउन सिक्न मन छ ।

बौद्धबाहेक छोटो यात्राका लागि काठमाडौँको अन्य कुन ठाउँ जानुहुन्छ ?

कोभिड–१९ ले यात्रालाई निश्चिय पनि रोकिदिएको छ । म काठमाडौँ उपत्यकाभन्दा बाहिर गुम्न मन पराउँछु । काठमाडौँमै पनि मलाई मन पर्ने ठाउँ छन्; हनुमानढोका, पाटन र भक्तपुरका ऐतिहासिक स्थानहरू । ती सबैको पुनः आनन्द लिन म धेरै प्रतीक्षा गर्न सक्दिनँ ।

नेपालमा एक सामान्य मानिसको रूपमा तपाईं कहिल्यै कतै हिँड्नुभएको छ ?

म असामान्य पेशा भएको सामान्य मानिस हुँ । मेरो पेशाले मलाई दुई देशबीचको सम्बन्धलाई हार्दिक बनाइराख्ने दायित्व दिएको छ, यो कुरालाई म अगाध माया गर्छु । म एउटा यस्तो भाग्यमानी मान्छे हुँ जसले सगौरव आफ्नो सपना पछ्याएको दाबी गर्नसक्छ ।

अमेरिकी राजदूतको हैसियतमा कुनै देशमा प्रतिनिधित्व गर्नु एक अमेरिकी कूटनीतिज्ञका लागि गर्वको विषय हो । मैले नेपालमा हिँडडुल गर्न र यहाँका अविश्वसनीय महिला तथा पुरुषसँग अन्तक्रिया गर्न पाएँ भन्नु, यो यस्तो कुरा हो जसलाई म मेरो जीवनको अन्त्यसम्म पनि माया गर्नेछु ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ४० बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,