प्रेरक प्रसंग : जो दृष्टिबिहीन भएरै आविष्कार गरे ब्रेललिप « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

प्रेरक प्रसंग : जो दृष्टिबिहीन भएरै आविष्कार गरे ब्रेललिप



काठमाडौँ- आज संसारभरिका हजारौँ दृष्टिविहीनहरुले स्कूलदेखि विश्वविद्यालयसम्मको पढाई सफलतापूर्वक छिचोलेर डिप्लोमा, डिग्री र पिएचडी सम्मका उपाधिहरु हात पारिसकेका छन् ।

यसरी दृष्टिविहीन अन्धाहरुको निम्ति छुट्टै लिपी र पुस्तकको आविष्कार गर्ने व्यक्ति लुई ब्रेल हुन् । लुई ब्रेल आफू स्वयम् अन्धा थिए । एउटा अन्धो मानिसले संसारको निम्ति यति महान् काम गर्न सक्छ भन्ने कुरा कसैले सोचेका थिएनन् ।

उनकै नामबाट ब्रेललिपी नाम रहन गएको हो । जुन लिपीको माध्यमबाट संसारभरिका अन्धा अपाङ्हरुले अध्ययन गर्न पाइरहेका छन् यसै लिपीले आज लाखौँ अन्धाहरुलाई अक्षरको उज्यालो दुनियाँमा ल्याइदिएको छ र उनीहरु शिक्षित बनेका छन् । स्वावलम्बी बनेका छन्, आत्मनिर्भर बनेका छन् ।

यिनी सार्कीका छोरा थिए । यिनको जन्म सन् १८०९ मा फ्रान्समा भएको थियो । यिनका बाबु छालाको काम गर्थे । घोडाको जिलकाँठी र लगाम बनाउने काम गर्थे । सुरुमा यिनी जिद्दी नै थिए ।

दुर्भाग्यवस एकदिन यिनी बाउका औजारहरु खेलाउँदै थिए, छालाको काम गर्न प्रयोग गरिने त्यस्ता औजाहरुहरु चलाउँदा चलाउँदै एउटा घातक सियो उछिट्टिएर यिनको आँखामा पस्यो । सियोले यिनका आँखाका नानीहरु क्षतविक्षत पारिदियो ।

यिनको उज्यालो संसार एकाएक कालो अन्धकारमा परिणत भयो । एक्कासी अन्धा बनेपछि यिनी दुःखीत बने तर हिम्मत र आत्मबल भने गुमाएनन् ।

यिनका बाबुले पनि यिनलाई असाध्यै माया गर्थे । आफ्नो छोरालाई साङ्गहरुको झैँ सक्षम र सबल बनाउन चाहन्थे । आफूले बाहिरी संसार नदेखे पनि यिनी असाध्यै मेहनती थिए । साङ्ग मानिसहरुको झैँ छालामा पालिस लगाउँथे ।

झुम्का बुन्थे, खानाखाने टेबुल मिलाउँथे, आफ्ना सामान ठीकठीक ठाउँमा तह लाएर राख्थे, पानी लिन जान्थे, आँखा नदेखे पनि स्पर्शबाट, घ्राण शक्तिबाट, ध्वनिबाट धेरै कुरा थाहा पाउँथे ।

यिनलाई सुरुमा एक पादरीकोमा पढाउन थालियो । उनले त्यहाँ इतिहास, विज्ञान र कथाहरु पढे । पछि उनलाई द रोयल इन्स्टिच्युट अफ ब्लाइन्ड यूथमा पढ्नको लागि पठाइयो । त्यहाँ इतिहास, भूगोल, व्याकरण, गणित र सङ्गीतको शिक्षा हासिल गरे । अक्षरलाई छामेर पढ्थे तर बिर्सिहाल्थे । पढ्ने कुरा ज्यादै कठिन भयो यिनलाई । तर पनि यिनले हरेस खाएनन् ।

एक दिन यिनले नयाँ कुरा थाहा पाए, जसले गर्दा जीवनमा सफलताको ठूलो द्वार खुल्यो । एउटा सेनाको कप्तानले अक्षरको साटो थोप्लाको प्रयोग गरेर सङ्केत भाषामा गोप्य सूचनाहरु आदानप्रदान गर्थ्यो । त्यसरी सङ्केत या प्रतीकको माध्यमबाट (सोनोग्राफी) को माध्यमबाट सूचना आदानप्रदान गर्नु लुई ब्रेलको निम्ती प्रेरणाको श्रोत बन्यो ।

अब उनी स्कुलबाट घर पर्किएपछि अन्धाहरुका निम्ति छामेर पढ्न सकिने थोप्ले अक्षरहरु तयार गर्न थाले । यो काममा लागेपछि भोक बिर्से । प्यास बिर्से, सुत्न बिर्से । यति तन्मयताका साथ अक्षरहरु तयार गरे । जुन कालान्तरमा ब्रेललिपिको वर्णमालाको रुपमा दुनियाँसामु आयो ।

१५ वर्षको यो अद्भुत कामलाई सुरुमा कसैले पत्याएनन् । यिनको आविष्कारलाई रद्दीको टोकरीमा फ्याँक्ने प्रयास पनि गरियो ।

उनको स्कुलको निर्देशकले त ब्रेललिपिलाई खिसीट्यूरीमात्र गरेनन्, यसको प्रयोगमा प्रतिबन्ध समेत लगाए । तर असल र वैज्ञानिक कामलाई प्रतिबन्ध लाएर कहाँ रोक्न सकिन्थ्यो र ?

उनको ब्रेल लिपिमा किताबहरु बने । ब्रेल पुस्तकको छापाखाना बन्यो र संसारभरिका अन्धाहरुले सुगमताका साथ लेखपढ गर्न पाए । उनी ३५ वर्ष भएपछि रोगको कारण थला परे । तर यिनको आविष्कार संसारभरि फैलिँदै गयो । सन् १८५२ मा ४३ वर्षको उमेरमा यिनको निधन भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट


भर्खर

0