पेन्टिङ कलाकारका लागि अवसर बनेको अनलाइन व्यापार | Khabarhub Khabarhub

पेन्टिङ कलाकारका लागि अवसर बनेको अनलाइन व्यापार


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोभिड–१९ महामारी नहुँदो हो त चित्रकार रागिनी उपाध्याय अमेरिका र चीनमा भएको चित्रकला प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किइसकेकी हुने थिइन् । अवस्था प्रतिकूल भए पनि उनले आफ्ना सिर्जनाहरू पाकिस्तानी दर्शकहरूलाई देखाउन पाइन्, अनलाइन माध्यमबाट ।

रागिनीले गत वर्ष अमेरिकाको रोहडे आइसल्यान्डस्थित स्काई ग्यालरीमा अप्रिल ४ देखि अप्रिल १९ सम्म र पाकिस्तानको इस्लामावादस्थित ग्यालरी सिक्समा गत डिसेम्बर १४ देखि २४ सम्म अनलाइनमै सोलो चित्रकला प्रदर्शनी गरिन् ।

रागिनी भन्छिन्, ‘कोभिडले आम मानिसमा अनलाइनको महत्व बढाइदियो । अनलाइनमा सामान्य अवस्थाको जस्तो धेरै दर्शकको सहभागिता हुँदैन तर पनि हाम्रा लागि यो नयाँ प्रयोग हो ।’

रागिनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्व कुलपति पनि हुन् ।

रागिनीले लकडाउनको समय सदुपयोग गर्दै एक्रोलिक रङको ३० वटा पेन्टिङ बनाइन् । उनका लागि यो संख्या सामान्य अवस्थाको भन्दा धेरै थियो । यही मौकामा उनले पुस्तक लेखन पनि अघि बढाइन् ।

उनले पाकिस्तानको एकल प्रदर्शनीमा केही पेन्टिङहरू बिक्री गरिन् । त्यहाँ रागिनीका १० लाख रुपैयाँसम्मको क्यानभासदेखि पाँच सय डलरसम्मका वाटर कलर, डिजिटल पेन्ट फ्लेभरका पेन्टिङ बिक्रीमा थिए ।

‘पाकिस्तानको ग्यालरीको वेबसाइटमा एक हजार नियमित ग्राहक छन् । उहाँहरूले अनलाइनमा राखेपछि केही ग्राहकले मेरो पेन्टिङ किन्ने चासो देखाउनुभएछ । त्यहाँका आयोजक र मेरो संयोजनमा केही पेन्टिङ बिक्री गरेँ,’ रागिनीले खुलासा गरिन् ।

राजधानी काठमाडौँको बौद्ध टुसालमा रहेको तारागाउँ म्यूजियमका सञ्चालक तथा चित्रकार रोशन मिश्रलाई कोभिड–१९ एक अवसर बन्यो । महामारीपछिको लकडाउनका कारण म्यूजियम बन्द भए पनि उनले यो मौकामा ‘नेपालीयनआर्टडटकम’ नामको अनलाइन सुरु गरे ।

उनी भन्छन्, ‘नेपाली ग्राहकले कोभिडको समयमा अनलाइनमार्फत आर्ट हेरेर किन्न सक्छन् भन्ने सोचेर अनलाइन शुरू गरेँ । अनलाइनमार्फत आफ्ना सिर्जनाको बजारीकरण गर्न सकिन्छ भन्ने लाग्यो ।’

अनलाइन शुरू गरेपछि आफूले बनाएको आर्टहरू सार्वजनिक गर्न र आर्ट बजार व्यवस्थित गर्न सजिलो भएको उनको अनुभव छ । उनका अनुसार अन्य ग्यालरी र चित्रकार साथीहरूले पनि अहिले अनलाइनलाई प्राथमिकतामा राखेका छन् । दर्शक र आर्टको पहुँच पुर्‍याउन सजिलो भएको छ ।

रोशनको म्युजियम एक वर्षयता पूर्णरूपमा बन्द छ । अहिले उनी म्युजियम खोल्न हतार पनि छैन । उनी भन्छन्, ‘काठमाडौँ उपत्यका बाहिरका दर्शकले पनि अनलाइनमार्फत सिर्जना हेर्न थालेका छन् । त्यहीकारण केही समय अनलाइनलाई नै महत्व दिने कुरा हो ।’

रागिनी र रोशनजस्तै सामान्य अवस्थामा आफ्नो सिर्जनासँगै अन्य काममा पनि व्यस्त रहने चित्रकारहरूले कोभिड महामारीको लकडाउनको समय सिर्जनामा उपयोग गरे । उनीहरू यी सिर्जना अनलाइनमार्फत प्रदर्शनी र बिक्री गर्दैछन् ।

कलाकार जीवन राजोपाध्यायले थाँती रहेका धेरै काम लकडाउनको समयमै पूरा गरे । यही बेला उनी केही अनलाइन प्रदर्शनीमा पति सहभागी भए तर उति सन्तुष्ट हुन सकेकनन् ।

उनी भन्छन्, ‘अनलाइनको प्रभावकारिता त्यति देखिएन । त्यसलाई हामीले लक्षित वर्गसम्म पुर्‍याउन सकेनौँ । साथीसाथीबीचमा मात्र सीमित भयो ।’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक सङ्गीता थापा पनि भौतिक उपस्थितिलाई नै बढी जोड दिन्छिन् । भन्छिन्, ‘अनलाइन प्रदर्शनी र बिक्री गर्नु एक किसिमको बाध्यता हो । म अनलाइन भन्दा पनि भौतिकरूपमै गर्नुपर्छ भनेर त्यो बाटोमा गइनँ । बरु कुर्छु, घाटामा जान्छु । ग्यालरी खोल्दा भौतिक उपस्थितिमै खोल्छु भनेर लागि परे ।’

कलाकार जया शर्माले कोभिड लकडाउनको समयमा अनलाइनबाट प्रदर्शनीको प्रस्ताव आए पनि उनी त्यसमा सहभागी भइनन् । उनले भनिन्, ‘पेन्टिङलाई अगाडि बसेर हेर्दा जुन मजा आउँछ, त्यो मजा अनलाइनमा आउँदैन । जहिले खुल्छ, त्यही समयमा ग्यालरीमै लाग्छु भन्ने भयो ।’

जीवित आशा

कोभिड महामारीपछि बिस्तारै अवस्था सामान्य भइरहँदा कलाकारमा पहिलेकै वातावरण बन्ने आशा जागेको छ । कोभिड पछिको माहोलमा नेपाल आर्ट काउन्सिलले यही फेब्रुअरी १ देखि फेब्रुअरी १७ सम्म ‘एन एक्जिबिसन फर पर्पस’ नामक प्रदर्शनी आयोजना गर्‍यो । यसमा नेपालका अग्रज कलाकारको सहभागिता थियो ।

‘प्रदर्शनीको उद्देश्य कोरोनालाई बिर्संदै सामान्य अवस्थामा आउनुपर्छ भन्ने थियो’, काउन्सिलका कार्यसमिति सदस्य जीवन भन्छन्, ‘सामान्य अवस्थाको तुलनामा दर्शकको उपस्थिति कम भए पनि उत्साहजनक भयो ।’

सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक सङ्गीताले गत डिसेम्बर ११ देखि ग्यालरी सञ्चालन गरेकी छन् । ‘अहिले कलाकार र विद्यार्थीमात्र आइरहेका छन् । कोभिड भ्याक्सिनपछि बाहिरी दर्शक आउनुहुन्छ भन्ने आशमा छु’, उनी भन्छिन्, ‘आगामी नोभेम्बर र डिसेम्बरसम्ममा दर्शकको उपस्थिति राम्रो हुनेमा आशावादी छु ।’

तारागाउँ म्युजियमका रोशनलाई केही महिनामा कला बजारको अवस्था फर्किने विश्वास छ । ‘हाम्रो बजार कूटनीतिज्ञ, विदेशी ग्राहक र एनजीओ आइएनजीओहरूसँग निर्भर छ । अहिलेका लागि यी ग्राहक नआउलान्,’ उनी भन्छन्, ‘काठमाडौँमा नेपाली क्रेता र कलेक्टरहरूको रुची बढेका कारण अलिकति सहज अवस्था छ ।’

कलाकार जया कोभिडअघिको जस्तो माहोल बन्ने निकै समय लाग्ने बताउँछिन् । ‘कोभिडपछि सामान्य अवस्थामा आए पनि मानिसहरू भेला हुन अझै डराइरहेका छन्,’ उनी भन्छिन्, ‘तुरुन्तै पहिलेको जस्तो अवस्था त नहोला । हामीले केही समय पर्खनै पर्छ तर माहोल परिवर्तन हुनेमा म आशावादी छु ।’

स्रष्टाका लागि आफ्नो भावना व्यक्त गर्ने माध्यम उसको सिर्जना नै हो । लामो समयदेखि चित्रकारितामा रमाइरहेका कलाकारका लागि कोभिड आफ्ना सिर्जना डिजिटलाइज गर्ने माध्यम बन्यो । यो माध्यमले निरन्तरता पाउला वा नपाउला तर तर एउटा अवसर भने बनेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : १४ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई