काठमाडौँ महानगरको पार्क अभियान सुस्त | Khabarhub Khabarhub

काठमाडौँ महानगरको पार्क अभियान सुस्त


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूलाई रमणीय र घुम्न योग्य पार्क बनाउन आर्थिक सहयोग गर्दै आएको छ ।

महानगरले पार्क निर्माणका लागि २०७५ साल माघ २७ गते काठमाडौँ जिल्लाका १० वटा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकालाई एक करोड रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।

कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरिमा ‘मदन भण्डारी स्मारक पार्क’, नार्गजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गोकर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बुढानीलकण्ठमा ‘बुढानीलकण्ठ धाम’ र कागेश्वरीमा ‘कागेश्वरीमा धाम’ निर्माण गर्न महानगरले उक्त रकम दिएको थियो ।

महानगरले सहयोग गरेअनुसार पार्क बने कि बनेनन् र यस विषयमा नागरपालिकाहरू के गर्दै छन् भन्ने विषयमा खबरहबले केही महिनाअघि रिपोर्टिङ गर्दा तीन वटा नगरले काम शुरू नगरेको सूचना प्राप्त भएको थियो ।

महानगरले काम शुरू नगर्ने नगरपालिकालाई अनुदान रकम फिर्ता गर्न ताकेता पनि गरेको थियो । काम शुरू नै नगरेको दक्षिणकाली नगरले हालै गोरखनाथ पार्क बनाउन डीपीआरको काम सकिएको भन्दै खर्च विवरण पठाएको महानगरले जनाएको छ ।

महानगरले सो रकम दिएको दुई वर्ष बितिसकेको छ तर गोकर्णेश्वर र शंकरापुर नगरले भने अझैँ खर्च विवरण नबुझाएको महानगरको शहरी पूर्वाधार विभाग प्रमुख राम थापाले खबरहबलाई जानकारी दिए । उनले केही नगरपालिकाले रकम दुरुपयोग गरेको आरोप लगाए ।

थापाले भने, ‘हामीले नगरभित्रका विभिन्न स्थानमा पार्क बनाउन रकम दिएका थियौँ तर केही नगरपालिकाले पार्कबाहेक अन्य काममा रकम दुरुपयोग गरेको खबर प्राप्त भएको छ ।’ उनका अनुसार बुढानीलकण्ठ नगरपालिकाले महानगरबाट पाएको रकम कार्यालय भवन बनाउन खर्च गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले पनि पार्क बनाउन दिएको रकम सडकमा खर्च गरेको थापाले बताए । महानगरले पार्क निर्माणकै लागि मात्र नगरपालिकाहरूसँग सम्झौता गरेको थियो ।

रमणीय पार्क निर्माणका लागि दिएको रकम सम्झौता विपरीत खर्च भएकोमा महानगरले कस्तो कदम चाल्छ ? यस विषयमा थापा भन्छन्, ‘पार्क निर्माण गरेर देखाउनुपर्छ नत्र रकम फिर्ता गराउँछौँ । यो वर्ष नगर साझेदारीअनुसार जाने रकम दिदैनौँ ।’

बुढानीलकण्ठका मेयर अनभिज्ञ

महानगरसँग पार्क बनाउन सम्झौता गरेर लिएको रकम कार्यालय भवन निर्माणमा खर्च गरेको भन्ने विषयमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले अनभिज्ञता प्रकट गरे ।

सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली बढाउने सम्झौता गरेको स्वीकार गर्दै उनले भने, ‘नगरपालिका क्षेत्रमा राम्रो वगैँचा बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि हामीले २५ रोपनी जग्गा संरक्षण गरेका छौँ ।’

महानगरले दिएको रकम कार्यालय भवन निर्माणमा खर्च भएको विषयमा विषयमा आफूलाई जानकारी नभएको बताए ।

कागेश्वरी मनोहरामा बाटोमा खर्च

कागेश्वरी मनोहरा नगरपालिकाले अनुदान रकमबाट पार्कसम्म पुग्ने बाटो निर्माण गरेको जनाएको छ । नगर प्रमुख कृष्णहरि थापाले पार्क पुग्ने बाटो बनाउनु पनि पार्ककै काम भएको बताए ।

‘कागेश्वरी धाम जाने बाटोमा ढुङ्गा छापेर रेलिङ बनाएर बनाएका छौँ,’ नगर प्रमुख थापा भन्छन्, ‘पाँच करोड लगानीमा धाम बनाउन लागेका हौँ । महानगरले दिएको रमक त्यसकै लागि खर्च भएको हो ।’

यस्तो छ खर्च

हालसम्म तारकेश्वरले ६४ लाख, कीर्तिपुरले १ करोड, मध्यपुर ठिमीले १ करोड, कागेश्वरीले १ करोड, चन्द्रगिरिले १ करोड, बुढानीलकण्ठ नगरले १ करोड, टोखा नगरले १ करोड, दक्षिणकाली नगरले ९७ लाख रुपैयाँ खर्च गरेको महानगरका विभागीय प्रमुख थापाले खबरहबलाई बताए ।

उनका अनुसार गोकर्णेश्वर र शंकरापुरले काम र खर्चको विवरण पठाएका छैनन् ।

थपिए पाँच नगरपालिका

काठमाडौँ महानगरले यस वर्ष काठमाडौँ उपत्यकाबाहिर भगिनी सम्बन्ध स्थापना गरिएका रामनगर, चन्द्रनाथ, पाख्रिवास र मेलम्ची नगरलाई पनि पार्क निर्माणका लागि डेढ करोड रुपैयाँका दरले अनुदान गर्ने भएको छ ।

चालु आर्थिक वर्षको बजेटबाटै चाँगुनारायण नगरलाई पनि महानगरले पार्क बनाउन रकम दिने सहमति गरेको छ ।

‘भगिनी सम्बन्ध कायम भएका नगरलाई डेढ करोड रुपैयाँ दिने तयारीमा छौँ, ‘थापाले खबरहबसँगको कुराकानीमा भने, ‘चाँगुनारायण नगरलाई एक करोड दिन्छौँ । यसअघिका ११ वटा नगरलाई पनि काम हरेर यस वर्ष पनि रकम दिन्छौँ ।’

यसरी दिएको रकमबाट पाँच वर्षभित्र सबै नगरमा पार्क निर्माण भइसक्ने थापाको भनाइ छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले