नेपालमा फिनल्यान्डका धेरै आयोजनाहरू पाइपलाइनमा छन् | Khabarhub Khabarhub

नेपालमा फिनल्यान्डका धेरै आयोजनाहरू पाइपलाइनमा छन्



नेपालका लागि फिनल्यान्डका राजदूत पर्टि अन्टिनेन तीन वर्षदेखि नेपालमा छन् । उनलाई भ्रमणका लागि नेपाल एक विशिष्ट गन्तव्य मुलुक हो भन्ने लागेको छ । उनका अनुसार फिनल्यान्ड नेपालको विकास र दुई पक्षीय व्यापारमा अझ बढी साझेदारी गर्न चाहन्छ । कोरोना महामारी नियन्त्रणमा नेपालले गरेको कामप्रति राजदूत अन्टिनेनले सन्तोष प्रकट गरे । नेपालफिनल्यान्ड सम्बन्धका आयामहरू र भविष्यका सम्भावनाहरूको सेरोफेरोमा खबरहका ईश्वरदेव खनाल र कविता श्रेष्ठले राजदूत अन्टिनेनसँग कुरा गरेका छन् ।

नेपाल र फिनल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४६ वर्ष भइसकेको छ । यी दुई देशको सम्बन्ध तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

नेपाल र फिनल्यान्ड सम्बन्धको इतिहास लामो छ । सन् १९८० को दशकबाट हामी विकासमा साझेदारीमा छौँ । फिनल्यान्डले नेपालमा सन् १९९२ मा आफ्नो दूतावास स्थापना गर्‍यो । फिनल्यान्ड नेपालको लामो समयदेखिको विकास साझेदार देश हो । हामी नेपाली जनताको भविष्य उकास्ने विषयमा प्रतिबद्ध छौँ ।

हामी नेपाललाई सहयोग गर्न चाहन्छौँ । यसका लागि हामी सरोकारवाला निकाय नेपाल सरकार, नागरिक समाज र अन्य समुदायसँग सहकार्य गर्न चाहन्छौँ ।

नेपालमा फिनल्यान्डका प्राथमिकताहरू के के हुन् ?

फिनल्यान्डको प्राथमिकता भनेकै नेपाललाई सहयोग गर्नु हो । द्वन्द्वकालमा हामी नेपाली जनतासँगै थियौँ । हामीले शान्ति प्रक्रियामा सहयोग गर्‍यौँ । नेपालको संविधान निर्माण प्रक्रियामा हाम्रो सहयोग रह्यो । हामीले नेपालको विगत र आगतका धेरै क्षेत्रमा सहयोग गरिरहेका छौँ ।

हामी नेपालसँग व्यावसायिक साझेदारी गर्न चाहन्छौँ । हामी फिनल्यान्डका सामग्री नेपाली बजारमा देख्न चाहन्छौँ । हामी नेपालसँग मिलेर व्यापार गर्न तयार छौँ । अझ भन्नुपर्दा हाम्रो व्यापारिक समुदाय नेपालमा आउन र यहाँको बढ्दो बजारमा सहकार्य गर्न इच्छुक छ ।

कोभिड–१९ का कारण केही मुश्किल भए पनि यो समस्या समाधान उन्मुख छ । कोभिड–१९ महामारीको करिब एक वर्ष भएको छ । यस क्रममा यात्रा गर्न असहज थियो । हामीले हाम्रा विकास तथा व्यापारमन्त्रीलाई गत अप्रिलमा नेपालको भ्रमण गराउने तयारी गरेका थियौँ तर कोरोना महामारीका कारण स्थगित भयो । यस्तो भ्रमणले दुई पक्षीय सम्बन्ध बढाउन थप मद्दत गर्नेछ ।

हाम्रा धेरै योजना पाइपलाइनमा छन् । हामीले गत वर्षको अप्रिलमा नेपालले आयोजना गर्ने भनेको सगरमाथा समिटमा हाम्रो व्यापार नेपालमा परिचित गराउने सोचेका थियौँ । फिनल्यान्डका व्यापारिक समुदायका व्यक्तिहरू आगामी वर्ष नेपालमा आउने अपेक्षा गर्न सक्छौँ । हामी कोरोना महामारीका विरुद्ध सफलतापूर्वक लड्न सकेकोमा खुशी छौँ ।

पानी र सरसफाइसँग सम्बन्धित १६ मिलियन अमेरिकी डलर बराबरको हाम्रो आयोजना सुदूरपश्चिम प्रदेशमा यो अवधिमा सञ्चालनमा रह्यो । त्यहाँको निर्माण कार्य राम्रोसँग सञ्चालन भइरहेको छ । त्यहाँका स्थानीय प्रशासन र सरोकारवाला निकायसँग राम्रोसँग सहकार्य भएको छ । हामी हाम्रो लक्ष्यबाट अघि बढेका छौँ ।

युरोपेली युनियनको पनि सहयोग रहेको यो आयोजनाले करिब ३ लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष फाइदा हुन्छ । हामीले त्यसका अतिरिक्त २ दशमलव ५ मिलियन युरोपियन डलर बराबर शिक्षा क्षेत्रमा लगानी गरेका छौँ । हामी सबैलाई थाहा छ, स्कूल र विद्यार्थीले यो अवधिमा निकै झन्झट व्यर्होनु पर्‍यो । यो लगानीले शिक्षा क्षेत्रमा केही सहयोग पुग्नेछ ।

राम्रै संख्यामा फिनिस संस्थाहरू नेपालमा कार्यरत छन् । तिनीहरूको योगदानको मापन कसरी गर्नुभएको छ ?

फिनिस नागरिक समाज र संस्थाहरूले नेपालमा काम गर्न थालेको लामो इतिहास छ । नेपालका स्थानीय साझेदारसँगको सहकार्यमा फिनल्यान्डका १७ वटा गैरसरकारी संस्था नेपालमा कार्यरत छन् । उनीहरू नेपाल सरकारको सहयोगीका रूपमा देखिएका छन् । सरकारले सामाजिक क्षेत्र, सामाजिक सेवा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने काम यस्ता संस्थाहरूले गरिदिएका छन् । हामी नागरिक समाज सहयोगी भएको र समस्या समाधानका लागि काम गरेको हेर्न चाहन्छौँ ।

फिनल्यान्डको आर्थिक सहयोगमा निकट भविष्यमा कुनै नयाँ कार्यक्रम सञ्चालन भएको हामीले देख्न सक्छौँ ?

हिजो हामीले फिनल्यान्डका विकास तथा वैदेशिक व्यापारमन्त्रीसँग भर्चुअल संवाद गरेका थियौँ । त्यस अवसरमा नेपालमा लागु गर्न तयार भएर अन्तिम अवस्थामा रहेका कार्यक्रमका विषयमा कुराकानी भएको थियो ।

नेपालमा हाम्रो चार वटा कार्यक्रम छ : पानी तथा सरसफाइ, जीविकोपार्जन, जलवायु परिवर्तन र शिक्षा । मलाई लाग्छ शिक्षा क्षेत्रको लगानी नेपाल र फिनल्यान्ड दुवै देशका लागि सफलताको एउटा आधार हुनेछ ।

हामी लैङ्गिक समानताका क्षेत्रमा पनि काम गर्न चाहन्छौँ । लैङ्गिक समानता नेपालका लागि आवश्यक विषय हो । समाज विकासमा पुरुषको जस्तै महिलाको पनि उत्तिकै महत्वपूर्ण हात हुन्छ । राजनीति, व्यापार, सामाजिक सबै क्षेत्रमा महिलाको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

हाम्रो अनुभव के छ भने समाज विकासका लागि सामाजिक कार्यमा महिलाको सहभागिता निकै आवश्यक हुन्छ । फिनल्यान्डमा अहिले महिला प्रधानमन्त्री हुनुहुन्छ । महिलाले नेतृत्व गरेको सरकार छ । फिनल्यान्डले यिनै क्षेत्रमा काम गर्नेछ ।

फिनल्यान्डले नेपालसँग साझेदारी गरेका कार्यक्रमका विषयमा केही भनिदिनुहुन्छ कि ?

हामीले दुई देशबीचको आपसी समझदारीमा काम गरिरहेका छौँ । हामीले सरकारसँग र कार्यक्रम कार्यान्वयन गर्ने संस्था र सरोकारवाला निकायसँगको सहकार्यमा काम गरिरहेका छौँ । यसका लागि हामीले केही निश्चित आर्थिक उपकरणको प्रयोग गरेका छौँ ।

फिनल्यान्डले निजी क्षेत्रका व्यापारीसँगको सम्बन्धमा पनि जोड दिएको छ । त्यसैले, हामी पूर्णतया सरकारसँग मात्रै समन्वय गरिरहेका छैनौँ कि निजी क्षेत्रका व्यापरीसँग पनि सहकार्य गरिरहेका छौँ ।

उदाहरणका लागि कुनै फिनिस कम्पनी नेपालमा आएर लगानी गर्न चाह्यो भने उसले निजी क्षेत्रमा जोसँग सहकार्य गर्न सकिन्छ त्यसको पहिचान गरी यहाँ लगानी गर्न सक्छ । यसलाई साझेदारीमा आधारित वित्तीय सहकार्य भन्न सकिन्छ । जसका माध्यमबाट बजार अध्ययन जस्ता कठिनाइको समाधान गर्नु पर्दैन । यस्ता पाइलट आयोजनाले नेपाली व्यापारिक समुदायलाई पनि फाइदा गर्छ ।

अहिले हाम्रा ६ वटा कार्यक्रम कार्यान्वयनको चरणमा छन् । म यहाँ के भन्न चाहन्छु भने नेपाल निर्यातमा आधारित व्यवसाय गर्न एक उपयुक्त स्थान हो ।

कोरोना महामारीअघि नेपालका केही चिया र कफी कम्पनी आफ्नो सामग्री फिनल्यान्डको बजारमा निर्यात गर्न इच्छुक देखिएका थिए । फिनल्यान्ड नेपालको उत्पादन विकसित देशमा निर्यात गर्न आवश्यक पर्ने वातावरण बनाउन सहयोग गर्नेछ ।

फिनल्यान्डले युरोपेली युनियनसँगको सहकार्यमा नेपाललाई सहयोग गर्दैछ । यो विषयमा थप प्रकाश पार्नु हुन्छ कि !

आर्थिक सहायताका हिसाबले युरोपेली युनियन नेपालको विकासमा एक प्रमुख साझेदार हो । युनियनले नेपाल सरकार र निजी क्षेत्रको समन्वयनमा काम गरिरहेको छ । यसलाई हामी उच्चस्तरको सहकार्यका रूपमा बुझ्छौँ । जहाँसम्म फिनल्यान्डको सहयोगको कुरा छ, हामीले सुदूरपश्चिम प्रदेशमा उच्चस्तरको सहकार्य गरेका छौँ । यो हाम्रो लागि नयाँ खालको सहकार्य पनि हो ।

हामीसँग सहकार्यको राम्रो अनुभव छ । ठूलो लगानी प्रभावकारीरूपमा अघि बढाउन संयुक्तरूपमा काम गर्नु राम्रो पनि हुन्छ । युरोपेली युनियनले नीतिगतरूपमा त्यही गर्न खोजेको हो ।

युरोपियन युनियनले टिम युरोप इनिसियटिभ अघि बढाएको छ । यसबाट समस्याहरू संयुक्तरूपमा समाधान गर्न सहयोग पुग्छ ।

नेपालको विकास विविधतालाई कसरी हेर्नु भएको छ ?

म नेपालमा राजदूतका हैसियतमा काम गरेको तीन वर्ष भयो । त्यसैले, नेपालको लामो अवधिको विकास सम्बन्धी धारणा बनाइहाल्न अहिले नै उचित हुँदैन । मलाई नेपालले विकास गर्दैछ भन्ने लाग्छ ।

नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण विकास भनेको आन्तरिक द्वन्द्वको अवस्थाबाट बाहिर आउनु हो । द्वन्द्व र राजनीतिक अस्थिरता त्यो जहाँ सुकै भए पनि त्यसले विकासका काममा असर पार्छ । द्वन्द्वबाट शान्तिपूर्ण अवस्थामा फर्किन नेपाललाई दश वर्ष लाग्यो ।

जब सन् २०१५ मा नेपालमा नयाँ संविधान घोषणा भयो, अन्तर्राष्ट्रिय समुदाय निकै हर्षित थियो । त्यो निकै ठूलो उपलब्धि थियो । कोरोना महामारीअघि नेपालको आर्थिक वृद्धिदर ६–७ प्रतिशत थियो, जुन राम्रो हो ।

विप्रेषणकै कारणले भए पनि नेपालमा नयाँ पूर्वाधार संरचना, नयाँ भवनको निर्माण हुँदैछ । नेपालमा विकास भइरहेको छ । अहिलेको अवस्थामा यो महत्वपूर्ण हो । बाहिरबाट हेर्दा नेपाललाई अझै धेरै व्यवसायको आवश्यकता छ । दीर्घकालीन लगानीको आवश्यकता छ । लगानी गर्ने वातावरण सहज र लगानीमैत्री हुनुपर्छ ।

यो प्रतिस्पर्धात्मक विश्वमा कसैले पनि तपाईंलाई सित्तैमा केही दिँदैन । आन्तरिक रूपमा पनि आफूले केही तयारी गर्नुपर्छ । लगानीमैत्री वातावरण र उपयुक्त नियम बनाउने नेपालले नै हो । उत्पादित सामग्रीको निर्यात गर्ने उचित वातावरण बनाउनुपर्छ । यो महत्वपूर्ण पक्ष हो ।

तपाईंहरूले उत्पादन गरेको सामग्री कोटा व्यवस्था नभएको, ड्युटी फ्री युरोपियन बजारमा निर्यात गर्नुपर्छ ।

तपाई नेपाल र फिनल्यान्डका जनताबीचको सम्बन्ध कसरी व्याख्या गर्नुहुन्छ ?

विशिष्ट ! नेपाल र फिनल्यान्डका जनताबीचको सम्बन्ध विशिष्ट किसिमको छ । हामीबीचको सम्बन्ध निकै लामो छ । वर्षहरू बित्दै जाँदा पहिलाको तुलनामा फिनल्यान्डले नेपाललाई अझ राम्रोसँग बुझ्ने अवसर पाएको छ ।

नेपालका विषयमा फिनल्यान्डमा राम्रो छवि छ । फिनल्यान्डमा नेपाली विद्यार्थीको संख्या पनि बढ्दो छ । यस मामिलामा फिनल्यान्ड उदार पनि छ । हामीले सबैलाई निःशुल्क शिक्षाको अवसर दिएका छौँ । पछिल्लो समय नगन्य मात्रामा शुल्क लिन थालेको जस्तो लाग्छ । निकै कम खर्चमा फिनल्यान्डमा उच्च शिक्षा आर्जन गर्न सकिन्छ ।

उच्च शिक्षाका लागि खर्च व्यहोर्न नसक्नेका लागि हामीले हाम्रो देश खुला राखेका छौँ । हामी नेपालका विद्यार्थीलाई पनि स्वागत गर्न चाहन्छौँ । प्रत्येक वर्ष धेरैभन्दा धेरै विद्यार्थी फिनल्यान्ड अध्ययनका लागि गइरहेका छन् । कोरोना भाइसरका कारण नेपाली विद्यार्थीहरू रेस्टुरेन्ट, होटल र व्यवसाय लगायतका अन्य क्षेत्रमा संलग्न भएका छन् ।

भ्रमणका लागि नेपाल एक उपयुक्त गन्तव्य हो । फिनल्यान्डबाट नेपाल फर्किएका मानिसले नेपाल र फिनल्यान्डबीच व्यावसायिक सम्बन्ध विस्तारमा काम गरिरहेका छन् । अनुसन्धानमा सहकार्य गरिरहेका छन् । अन्य सम्भावित क्षेत्रको पहिचान गर्ने क्रम जारी छ ।

तपाईंले नेपालको राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?

नेपालमा अहिले प्रतिनिधिसभा छैन । निर्वाचनको चर्चा छ । प्रतिनिधिसभा विघटनका विरुद्ध परेका रिटमा सर्वोच्च अदालत आफ्नो निर्णयसहित आउँदैछ । मैले मात्रै होइन सबै अन्तर्राष्ट्रिय समुदायले अहिले त्यही निर्णयको प्रतिक्षा गरिरहेको छ । हेरौँ के हुन्छ !

अहिलेको अवस्थामा अगाडि जानु महत्वपूर्ण हो । सबै किसिमका मतमतान्तरलाई शान्तिपूर्ण हिसाबले नै समाधान गर्दा उचित हुन्छ । शान्तिपूर्ण वार्ता, सबै राजनीतिक दलले शान्तिपूर्ण तरिकाले नै विद्यमान समस्याको निकर्ष निकाल्दा राम्रो हुन्छ । हामी अहिलेको गतिरोध चाँडै समाधान हुने आशा गरौँ ।

हेरौँ भिडियो अन्तरवार्ता

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ०२ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार