जिन्दगी बुझेका दिन म सकिन्छु दाइ ! « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

जिन्दगी बुझेका दिन म सकिन्छु दाइ !



नेपाली समुदायमा जिन्दगीबारे प्रचलित भनाइहरू छन्– जिन्दगी कर्कलाको पानी हो, जिन्दगी दुई दिनको रामछाया हो, जिन्दगी डाडाँमाथिको जूनघाम हो; इत्यादि ।

मैले उमेरले चालीस कटेर एकदुई वर्षमात्रै बिताएका घिमिरे युवराजलाई जिन्दगी के रहेछ भनेर सोध्नु अपरिपक्व कुरा थियो । गत साउन तेस्रो साताको एक अपराह्न शिल्पी थिएटर परिसरको कौसीमा भलाकुसारी गरिरहँदा ख्यालख्यालमै सोधेँ– जिन्दगी के रहेछ त भाइ ?

उनले उल्टै सोधे, ‘नाटक भनेको के रहेछ भनेर किन सोध्नुभएन दाइ ?’

दुई दशकभन्दा अघि चिनजान हुँदा दाइभाइ साइनो लागेको थियो । दाइ भइटोपल्न ऊ बेलादेखि नै तिमी भन्ने गरेको छु ।

‘तिमीलाई यो प्रश्न गर्दिनँ भनेर मैले घरमै सोचेको थिएँ ।’

‘ठिक गर्नुभो दाइ, यो क्लिशे प्रश्न हो, बनिबनाउ जवाफवाला ।’

मानिसको दिमाग अनेक प्रश्नहरूको खानी हो तैपनि यो प्रश्न मेरो रोजाइको होइन । चल्तीका यस्ता अरू पनि केही प्रश्न छन् जो मेरो रोजाइमा पर्दैनन् । गफको विषयमा पनि पर्दैनन् ।

युवराजले भनून् कि नभनून्, शिल्पी थिएटर उनको जिन्दगी हो, नाटक उनको जिन्दगी हो । नाटक नै उनको जिन्दगी हो भने मैले फेरि नाटक भनेको के रहेछ त भाइ भनेर किन जिस्क्याउनु !

युवराजका लागि शिल्पी थिएटरका टहराहरूका सामु वरिपरिका गगनचुम्बी महलहरू मूल्यहीन हुन् । शिल्पी थिएटर नै जिन्दगी हो भनेपछि मूल्य कसरी खेज्नु !

ब्रतबन्धमा किनिदिएको ढाकाको दौरासुरुवालले कक्षामा एउटा फरक व्यक्तित्व दिएको थियो, दुई कक्षामा पढ्दा । त्यही आधारमा शिक्षकले टेबलमा उभ्याएर पाठका कुरामा अभिनय गराउँथे । ‘झुटो बोल्यो कि पोल्यो’ भन्ने कथाको झुटो बोल्ने केटो भएर टेबलमा उभिएर ‘बाघ आयो ! बाघ आयो !’ भनेर कराउनुको मजा त आजकाल कहाँ पाउनु !

छ कक्षामा पढ्दा ‘भानुभक्त र घाँसी’ पाठमा शिक्षकले घाँसी बनाएर अभिनय गराए । त्यही घाँसीले नाटकमा अभिनयको चेत हालिदियो । नौ कक्षामा पढ्दा हिन्दी फिल्मी शैलीको एउटा नाटक, आमाको चिठी, आफैँ लेखे, अभिनय गरे, गराए । हिन्दी फिल्मबाहेक के नै देखेको थियो र ! नाटक भनेको त कक्षामा शिक्षकले गराएको भन्दा अर्को देखेको होइन ।

आज सम्झिँदा त्यो साँच्चै झुर नाटक थियो तर त्यतिबेला नाटक देखाइसक्दाको जति खुसी आजसम्म मिलेको छैन भन्दा पनि अतिशयोक्ति हुँदैन ।

एसएलसी परीक्षा उत्तीर्ण गरेर २०५३ सालमा काठमाडौँ आउँदा मनमा नाटक थिएन, थियो त केवल हिरो बन्ने एकोहोरो धुन । हिन्दी फिल्मको त्यो हिरो जो हावाजस्तो उडेर आउँछ, गुन्डाजति सबै सखाप पार्छ र हेरोइनसँग अँगालो मारेर फूलबारी वरिपरि पानीमा रुझ्दै नाच्छ ।

सन्तोष पन्तले ‘हिजोआजका कुरा’ का लागि हप्तामा एक दिन आफ्नै आँगनमा कलाकार छान्छन् भन्ने थाहा पाएपछि आफ्नो धुनले लय समात्ने आशा जागेको थियो । तीन साता धाउँदा पनि आँगनमा उत्रेको भिडमा युवराजमाथि सन्तोष पन्तको आँखा परेन ।

जसको मार्फत सन्तोष पन्तको घर पुगेका थिए, उसकै मार्फत राष्ट्रिय नाचघरमा तालिमका लागि फारम खुलेको छ भन्ने थाहा भयो । फारम भरे, अन्तर्वार्ताका लागि बोलाइए । नाम निस्किने हो कि होइन के थाहा ! सुनील पोखरेल थिए मुख्य प्रशिक्षक । अन्तर्वार्तापछि भानिजदाइको नाम लिएर सुनीललाई भटे । सोचेको जस्तो भएन । हेर केटा ! राम्रो गरेको छस् भने नाम निस्किन्छ नत्र निस्किँदैन पो भनिदिए ।

तँ सोच् म पुर्‍याउँछु भनेको जस्तो हो कि कुन्नि ! एक वर्षको तालिमका लागि अवसर मिल्यो । स्कुलको विद्यार्थी हुँदा नै अलिअलि लेख्न सिकेका थिए । काठमाडौँ आएपछि एउटा फिल्मी पत्रिका ‘मनकामना’ मा काम गरे । फिल्म सुटिङको स्थलगत रिपोर्टिङ गर्नुपर्थ्यो । हिरो बन्ने धुन झन गाढा भयो । हिरो भनेको यस्तो देखिनुपर्छ भन्ने हावाले डेरा जमाएको थियो । त्यसैअनुसार आफूलाई बनाउन खोज्ने धुनको बेग्लै कथा हुनसक्छ ।

अलिकपछि ‘अन्डरलाइन’ साप्ताहिकमा सरे । उता नाचघरमा तालिम शुरू भयो, तालिमे थिए पन्ध्र जना । प्रशिक्षक सुनील पोखरेल कम्ता कडा होइनन् । तालिमेको फुर्तीफार्ती देखेर हो कि किन हो, एक दिन अचानक पड्किए, ‘तिमीहरू हिरो बन्न आएका जस्ता छौ, कोही पनि हिरो हुँदैनौ, हिरो हुने रहर भए यहाँबाट बिदा भए हुन्छ ।’

नभन्दै एक जना त भोलिपल्टदेखि बेपत्ता भयो तर आजसम्म उसको नाम हिरोमा सुनिएको छैन । एक वर्षको तालिम सकिँदा हिरो बन्ने युवराजको धुन मन र मस्तिष्क दुवैतिरबाट सदाका लागि गायब भयो ।

काठमाडौँ आएपछि उनमा कविताको अर्को धुन चढेको थियो । केही दिन बेलुकातिर नयाँ बानेश्वर चोक पुगेर त्यहाँ फिँजाइएका जति सबै पत्रिकाको ठेगाना डायरीमा टिपे । भएजति सबै पत्रिकाका अफिसमा पुगेर कविता छाडे, कथा पनि छाड्थे, एक होइन अनेक पटक । अहँ, कहिल्यै छापिएन ।

छापिएन त छापिएन ! हार किन मान्नु ! एक दिन अपेक्षित परिणाम देखापर्‍यो । पत्रिकाका कार्यालयमा कविता पुर्‍याउन थालेको करिब दुई वर्षपछि २०५५ सालको हिउँदमा घर गएका बखत धरानमा कलेज पढ्दै गरेको साथीले ‘मुना’ मा कथा छापिएको समाचार सुनायो ।

युवराजको खुसीको सीमा रहेन तर साथीका सामु सामान्य देखिने प्रयास गरे, ‘ए !’ मात्रै भने, आफूलाई चल्तीको लेखक देखाउनु जो थियो । आज सम्झेर कति हाँस्नु !

काठमाडौँ आएर हेर्दा त बुबाले सुनाएको त्यो ‘लिँडे बाघको कथा’ बाघको रङ्गीन चित्रसहित दुई पेज भएर पो छापिएको रहेछ गाँठे ! मुनाले पारिश्रमिकमा साढे पाँचसय रूपैयाँ दियो । युवराजले एक बोरा चामल किने । त्यस दिन बुद्धनगरको डेरामा दाजुभाइबीच छाएको खुसीको बयान गर्ने शब्द आज कहाँ पाउनु !

मीनभवन क्याम्पसमा कविता प्रतियोगितामा दुई पटक पहिलो भएपछि जागिरे दाजुले भाइका लागि साहित्यिक कृतिहरू जुटाइदिन थाले । त्यही बेला हो उनले कुमार नगरकोटीको ‘मेटाफिजिक्स र माउसुली’ पढेको, आङ नै जिरिङ्ग भएको थियो ।

साहित्यिक पढाइ स्कुले हुँदै शुरू भएको थियो । आठ कक्षामा पढ्दा नै उनले विश्वेश्वरप्रसाद कोइरालाको ‘बाबु, आमा र छोरा’ पढे । मावलीतिरको प्रेरणा थियो । ध्रुव सापकोटाले लेखेको ‘फोहोरको खाल्डो’ कथालाई ‘गाईलाई खोले’ बनाएर मिलाएको कुरा युवराजले बिर्सेकै छैनन् । लेख्न यसै गरी सिकेका हुन् ।

मैले आफ्नो स्मरण सुनाएँ, ‘हो मैले पनि यसै गरेको थिएँ, हेडसरले कक्षामा सुनाएको एउटा कथा झन्डै जस्ताको तस्तै लेखेर साक्षरता दिवसको कथा प्रतियोगितामा दोस्रो भएर पुरस्कार पाएको थिएँ ।’

काठमाडौँमा युवराज कविता लेख्थे, सङ्गत ठिटा कविहरूसँग थियो । देवी नेपालले छन्द कविताको जग राखिदिए तर त्यसबाट घर चाहिँ बनेन, बन्न पाएन भनौँ ।

त्यो समय कस्तो थियो भने युवराज र ठाकुर बेलवासेजस्ता ठिटा कविहरू आपसमा परिचय गर्दा आफ्नो नाममा ‘कवि’ जोड्थे । ‘घिमिरे युवराज, कवि’ भनेर कसिला हात मिलाउने गरेका ती दिन सम्झिनुमा एउटा आनन्द छ । आज कवि नभए पनि कविताको चेत छ र त नाटकमा पोखिन पाएको छ !

युवराजको स्वर झन् गहकिलो सुनियो, ‘कविताजस्तै लयबद्ध नभए नाटक पनि कहाँ नाटक हुन्छ र दाइ !’

मैले झन्डै बीस वर्षअघि मीनभवन नजिकै सडकपेटीमा अनुमानका भरमा एउटा ठिटोलाई ‘तपाईं कवि ठाकुर बेलवासे हो ?’ भनेर सोधेको थिएँ । मेरो अलिक चर्को स्वरले छक्क परेझैँ देखिएको त्यो ठिटोले ‘हो’ मात्रै भन्न पायो ।

मैले उछिनेर भनेँ, ‘तपाईंको कविता पढेँ, केही पनि बुझिनँ तर मजा आयो ।’

ठाकुर झन चकित भए । के खालको मान्छे र’छ भन्ठाने हुनन् ।

मैले ठाकुरकृत ‘सागरको वरिपरि मनहरूको समारोह’ नामको कविता सङ्ग्रह भरखरै पढेको थिएँ ।

उनले यो प्रसङ्ग आफ्नो अर्को कविता कृतिमा समावेश गरेका छन् ।

दुई–तीन कक्षातिर पढ्दा टेबलमाथि उभिएर ‘झुटो बोल्यो कि पोल्यो’ कथाको केटोजस्तै कराएर अनि कक्षा छमा ‘भानुभक्त र घाँसी’ को घाँसी हुँदै कक्षा नौमा ‘आमाको चिठी’ सम्म पुगेर नाच घरमा एक वर्ष पूरा गर्दा युवराजको मन नाटकै नाटक भयो ।

आफ्ना गुरु सुनील पोखरेलले ‘आरोहण साँझ’ मा नाटक खेल्न प्रस्ताव गर्नु युवराजका लागि झन्डै अकल्पनीय भयो । प्रा. अभि सुवेदीकृत ‘आरुका फूलका सपना’ नाटकमा सुनील पोखरेलको निर्देशनमा काठमाडौँका दर्शकका सामुन्ने अभिनय गर्ने मौका मिल्यो । नाटक बुझेर गरेको पहिलो व्यावसायिक अभिनय नै यही थियो, २०५७ सालमा ।

पढाइ स्नातक तहमा पुग्यो । नाम चलेका लेखकहरूका नाटकमा अभिनय गर्न पाए । जागिरे हुन्छु भन्ने त मनको कुनै कुनामा पनि थिएन, नाटक बाहेक अर्को सोच नै भएन । पढाइ छोड्ने कुरा भएन ।

नाचघरमा वर्ष दिन नाटक अभिनयको प्रशिक्षण लिए पनि युवराजलाई नाटक सिकाएको चाहिँ आरोहण गुरुकुलले हो । सुनील पोखरेलको नेतृत्वमा रहेको गुरुकुलले उनको जीवनमा नाटक भरिदियो । गुरुकुलमै उनले देशीविदेशी प्रशिद्ध लेखकहरूका नाटक पढे, आफ्नो हैसियतअनुसार नाटक बुझे । गिरीश कर्नाड, विजय तेन्दुलकर, मोहन राकेश र बादल सरकारका नाटक गुरुकुलमै पढे । यी नाटककारको प्रभाव यति गहिरो भयो कि नाटबाहेक अरू केही सोच्नै दिएन ।

मोरङबाट मनमा लिएर आएको हिरोको ‘स्टारडम’ गुरुकुलले जरैदेखि उखेलेर फ्याँकिदियो । अब स्टारडमले होइन, नाटकको कथानक र चरित्रले तान्न थाल्यो । नाटक महोत्सवमा प्रस्तुत भएका विदेशी नाटकहरूले सोचाइको दायरा फराकिलो बनाउँदै लग्यो । सङ्गत यसरी फैलियो कि नाटक खेल्न अनेक देश जाने अवसर मिल्यो ।

क्षितिज झन् झन् फराकिलो हुँदै गयो । एक पटकको महोत्सवमा बीस वटासम्म देशका नाटक हेर्न पाइन्थ्यो । एउटा उत्साही सिकारुका लागि योभन्दा उत्तम अवसर के नै हुन्थ्यो र ! त्यति वेलाको युवराजका लागि त्यो उपलव्धि अकल्पनीय थियो, किन लुकाउनु !

नाचघरको तालिम र गुरुकुल युवराजको जीवनको दिशा निर्देश गर्ने प्रारम्भिक दुईवटा कोशेढुङ्गा साबित भए । अर्को कोशेढुङ्गा हो शिल्पी थिएटर ।

नाटकमा अभिनयका अतिरिक्त चाँडै थप काम गर्ने हुटहुटी र अधैर्यको परिणाम थियो शिल्पी । लेख्नु र निर्देशन गर्नुको हुटहुटी पूरा गर्न आफ्नै मर्जीले मात्रै सम्भव थियो । गरुकुलमा आफ्नो मर्जी चल्ने बेला भएको थिएन ।

भाग्य भनौँ भने कर्म बिर्सेको जस्तो होला तर भाग्यकै लेखा पो थियो कि ! ‘आरोहण साँझ’ र ‘आरोहण गुरुकुल’ हुँदै शिल्पी थिएटरमा आइपुग्दासम्ममा हन्डर र ठक्करको रास नै लाग्यो तर निराश कहिल्यै हुनु परेन, ठक्कर लागे पनि लड्नु परेन ।

आज ढाकाको त्यो दौरासुरुवाल छैन तर त्यसैले हालिदिएको नाटकको चेत झाङ्गिएर वृक्ष भएको छ । हिरो हुने अल्लारे धुन हराउँदै जाँदा नाटक खेल्ने धुनको जरो गहिरो हुँदै गयो र शिल्पी थिएटरका रूपमा झाङ्गियो ।

शिल्पीबाट दुई वर्ष लगातार देशव्यापी ‘नाटक यात्रा’ चल्यो । आफ्नै हातले नाटक लेखिए, आफैँबाट निर्देशन गरिए । रहरको एउटा उचाइ पूरा भएझैँ भयो तर धित मरेको छैन ।

आफ्नो ल्याकतले गर्ने यति नै हो, जति वर्ष गरे पनि दायरा यति नै हो भन्ने अनुभूति र असन्तुष्टि हुन थाल्यो ।

यही असन्तुष्टिले उनलाई डेनमार्कको कोपनहेगनस्थित कमेडिया स्कूल पुर्‍यायो । ५० प्रतिशत छात्रवृत्ति पाए तर बाँकी शुल्क तिरेर पढ्न कहाँ सक्नु !

उनले प्रा. अभि सुवेदीको सिफारिससमेत राखेर अङ्ग्रेजी भाषामा अलिक राम्रो दख्खल भएको एक जना साथीको सहयोगमा अनुनययुक्त इमेल पठाए । त्यसले काम गर्‍यो, सबै शुल्क मिनाहा गरेर बोलायो, खाने बस्ने जिम्मा आफ्नै ।

दुई जनाको ज्यान पाल्नु थियो । पढाइसँगै आर्जनका लागि दुवै जनाले सकेसम्म बढी काम गरे । तीन वर्षमा ‘ब्याचलर इन थिएटर’ पढाइ पूरा भयो । काम गरेर ज्यान पालियो, अलिअलि वचत पनि भयो ।

किन नेपाल फर्किने भनेर हौस्याउने साथीहरू धेरै थिए । यता नेपालका पनि धेरैले फर्केला भन्ने ठानेका थिएनन् तर युवराज नेपाली तनमन बोकेर गएका थिए । फर्किने अठोटबाट दायाँबायाँ हुने कुरै थिएन ।

फर्किन त फर्के, २०६६ सालमा । शिल्पी थियो तर थिएटर थिएन । थिएटर बनाइहाल्ने हैसियत पनि थिएन । त्यो समयमा मार्टिन चौतारीले गर्नुसम्म सहयोग गर्‍यो । सत्यमोहन जोशीले लेखेको ‘मजिपा लाखे’ त्यहीँ अभ्यास गरेर कोलकाता महोत्सवमा देखाए । मार्टिन चौतारीको सहयोग अविस्मरणीय छ ।

युवराजले आफ्नो प्रयासले शिल्पीका नाममा गैरसरकारी संस्थाहरूबाट जनचेतनामूलक सडक नाटकका लागि थेगिनसक्नु काम पाए । नाम थियो ‘कचहरी नाटक’, खुला ठाउँमा देखाउँदै हिँड्नुपर्ने । त्यही अनुसार दाम पाए । लगातार दुई वर्ष चल्यो । त्यही पैसाको परिणाम हो पुरानो वानेश्वरमा आजको शिल्पी थिएटर, गोठाले नाटक घर ।

बिरालाले बच्चा सारेको जस्तो नियति अन्त्य भयो, २०७० सालमा । भाडाकै जमिन सही, भौतिक संरचना सबै आफ्नै सिर्जना हो ।

‘त्यसो भए अब फिलिम चाहिँ कहिल्यै खेलिन्न हैन त ?’

‘होइन, खेल्न सकिन्छ दाइ !’

‘के ? हिरो ?’

‘मैले भनेँ नि ! हिरो त कहाँ गयो गयो, कुनै गहन विषयको गम्भीर चरित्र हुनसक्छ ।’

युवराजका अनुसार नाटकले ‘ट्राइ टु बी अग्ली’ अर्थात ‘कुरूप बन्न कोशिस गर’ भन्छ । यसो किनभने सौन्दर्य त छँदैछ, समाजमा मानिस भित्रबाट जति कुरूप छ, नाटकमा त्यति नै देखिनुपर्छ । यहाँ कुरूपको अर्थ ‘जस्तो छ त्यस्तै’ भन्ने हो अर्थात कालो, गोरो, पुड्को, होचो, अग्लो, ख्याउटे जे छ त्यै हुनुपर्छ, समाजले निर्धारण गरेको सौन्दर्यशास्त्रको मान्यताभन्दा फरक ।

आज कसैले म दुब्लो, पातलो, ख्याउटे थिएँ भन्छ भने नजानीकनै पनि उसको सौन्दर्यशास्त्रले दुब्लो, पातलो, ख्याउटे मान्छेप्रति उसमा हेयदृष्टि रहेको सङ्केत गर्छ ।

नाटक यस्तो सौन्दर्यशास्त्रको विपरीत हुन्छ । नाटकमा मान्छे जस्तो छ त्यस्तै देखिनुपर्छ । नाटकका लागि प्रत्येक व्यक्ति एउटा चरित्र हो, फिलिममा यस्तो हुँदैन । फिलिमले सामाजिक सौन्दर्यशास्त्र अवलम्बन गर्छ । फुलेको कपालमा कालो लगाउन त्यही सामाजिक सौन्दर्यशास्त्रले सिकाएको हो ।

मौका मिल्यो भने युवराजले नाटकले खोज्ने सौन्दर्यशास्त्रको मान्यताअनुसार फिलिम खेल्नेछन् ।

‘म शिल्पी थिएटरमा माधवी नाटक हेर्न आएको थिएँ, कलाकार बिहिनी भूषिता वशिष्ठले कपाल खौरेकी थिइन्, एक जना कुनै हेरोइनले पनि कपाल खौरेको जस्तो लाग्छ, कति राम्रो कपाल थियो होला ! आखिर किन कुनै कलाकार यसो गर्छ ?’

‘कपाल खौरिने हिरोइन सुरक्षा पन्त हुन्, आमा फिलिममा । तपाईंले भनेको राम्रो कपाल चाहिँ समाजको नजरअनुसार, प्रचलित सौन्दर्यशास्त्र अनुसार हो दाइ !’

‘अनि तिमीलाई कहिले दाह्रीकपाल खौरेको देख्छु, कहिले यस्तो झ्याप्ले देख्छु । यो चाहिँ नाटकको भूमिकाअनुसार हुन्छ कि के ?’

‘दाइ ! तपाईंलाई चुरोटले अप्ठ्यारो पार्छ ?’

‘पार्छ तर आज पार्दैन ।’

‘सल्काएँ है, कस्तो मजा हुन्छ !’

म मुस्कुराएँ, युवराज पनि मुस्कुराए ।

मेरो सामुन्ने कुर्सीमा बसेका युवराजको शिरपाउ नियालेँ । उनले भनेको ठिकै लाग्यो, म सामाजिक सौन्दर्यशास्त्र अनुसारको थिएँ, उनी नाटकको सौन्दर्यशास्त्रअनुसारका थिए ।

‘युवराज ! म तिम्रै निम्तोमा एउटा नाटक हेर्न आएको थिएँ । त्यसमा निःशब्द शमशेर राणा नामको पात्रमा नीर शाह हुनुहुन्थ्यो । कथा र अभिनय आफ्नो ठाउँमा छ, जवान कलाकारहरू आफ्ना ठाउँमा छन् तर नीर शाहलाई मेरो आसनको चार–पाँच फीट पर प्रत्यक्ष अभिनयमा देख्न पाउँदा आँखाबाट हर्षको आँसु झर्‍यो, मैले आफूलाई असीम भाग्यमानी ठानेँ, नीर शाहलाई यसै गरी फेरि कहिले देखूँला र जस्तो भयो, मेरी श्रीमती अझै कुरा गर्दैछिन् ।’

‘दाइ ! कुमार नगरकोटीले लेखेको बाथ टब नामको नाटक थियो त्यो, भूषिताले त्यसैमा हो कपाल खौरेको, उनी अनिद्रा थिइन् ।’

‘शायद म नाटक हेरेर यति गौरवान्वित र हर्षित कहिल्यै भएको थिइनँ, मेरो स्थिति थोरै फरक हो तर एउटा दर्शकलाई नाटक हेर्न केले आकर्षित गर्दोरहेछ ?’

‘परिपक्व अभिनयको कुरा हो, तपाईंले नीर शाहलाई एउटा कफी हाउसमा कफी खाँदै गरेका बेला देखेको भए के हुन्थ्यो ! केही न केही ! ए, नीर शाह रहेछन् भन्नुहुन्थ्यो । नाटकमा हर्षको आँसु उनको अभिनयले झारेको हो, स्टारडमले होइन, तपाईंलाई उनको अभिनय मन नपरेको भए उनैसँग तपाईं असन्तुष्ट बन्नुहुन्थ्यो । नीर शाह पनि यति झुर भन्नुहुन्थ्यो ।’

‘एउटा कलाकार, घिमिरे युवराज नाटक खेल्दा खेल्दै कुन बिन्दुमा निर्देशक हुँदोरहेछ ?’

‘निर्देशकको अभावले पनि निर्देशक बनाउँछ तर मुख्य कुरा, अन्यथा नमानियोस्, नाटक खेल्नेमध्ये जसले बढी नाटक पढ्छ र हेर्छ उही निर्देशक बन्छ । नाटक पढ्ने विद्यार्थी हुँदा पनि निर्देशन सिकाइएको हुन्छ ।’

‘साहित्य र कलाका अनेक विधा छन्, राजनीति छ, जागिर छ, व्यवसाय छ, पैसा छ, अनेक छ तर नाटक खेल्नमा त्यस्तो के मजा छ जसका लागि तिमीले अरू सबै छाड्यौ, मालामाल पैसा छ कि, ठूलो इज्जतप्रतिष्ठा छ कि, केमा मजा छ ? मैले बुझेको छैन !’

‘मैले पनि बुझेको छैन, तपाईंलाई कसरी ढाँटूँ दाइ ! पछि मर्ने बेलासम्ममा बुझिन्छ कि, नबुझी मरिन्छ कि !’

हामी दुवै जना दिल खोलेर हाँस्यौँ ।

युवराज बोल्दै गए, ‘तर केही न केही गरिरहेको छु भन्ने सन्तुष्टि हुन्छ दाइ ! टुक्राटुक्रामा भन्दा मनोरञ्जन होला, जनचेतना होला, अनेक पाटा होलान् ।’

‘यसबाहेक पनि म केही खोज्दैछु युवराज !’

‘तपाईँले खोजेको चाहिँ विरेचन हो, कथासिस ! किसानले झरी, हिलोकादो, गर्मीजाडो इत्यादिमा खेतमा काम गर्नु सजिलो छ र ! तर गर्छ । काम सकेका दिनको आनन्द वर्णनातीत हुन्छ । अझै सकिँदैन । झार उम्रिन्छ, कीरा लाग्छ, रोग लाग्छ, हावाहुरी आउँछ । यो सबैबाट पार लगाएर बाली थन्क्याएका दिन के हुन्छ दाइ ! सम्झिनुस् त !’

‘नाटक र त्यो किसान कहाँनेर जोडिन्छ त ?’

‘प्रक्रिया उही हो नि ! धानको बोटमा बाला लाग्नु र नाटक देखाउनु एउटै हो । धान ढुकुटीमा हालेको दिन किसान जति खुसी हुन्छ, नाटक देखाइसकेर पर्दा बन्द हुँदा कलाकारहरू त्यति नै खुसी हुन्छन् । दर्शकले मन पराए कि पराएनन् भन्ने फेरि अर्कै पाटो हो ।’

‘निर्देशकलाई र कलाकारलाई पनि सबै पक्षले राम्रो लागेको नाटक तर दर्शकले उति मन नपराएको, यस्तो अनुभव पनि होला । जस्तो कि म आफूले साह्रै उत्कृष्ट ठानेको शौचालय शीर्षकको मेरो लेखमा अक्सर नकारात्मक प्रतिक्रिया आएको थियो ।’

‘त्यस्तो हुन्छ तर त्यसले हामीलाई विचलित बनाउँदैन । संसारमा कुनै यस्तो सूत्र छैन जसले सिर्जनालाई सबैले मन पराउने उत्कृष्ट बनाओस् । हुन्थ्यो भने त सबैले त्यही सूत्र प्रयोग गर्थे, सबै सिर्जना उत्कृष्ट ठहरिने थिए । यसो हुन सम्भव छैन, शतप्रतिशत केही पनि हुँदैन । तपाईंले त्यो लेख लेख्नै पर्थ्यो, लेख्नुभयो । मैले नाटक खेल्नै पर्छ, खेल्छु ।’

‘चल्दै चलेन रे, अनि !’

‘नाटक खेल्नु र देखाउनु व्यापार होइन, चल्छ कि चल्दैन भन्ने थाहा हुँदैन । आफ्नो सिप अधिकतम प्रयोग गर्ने हो, दर्शकका सामु परीक्षणका लागि नै राख्ने हो ।’

‘नाटकको जस्तै दर्शकको पनि गुणस्तर हुन्छ ?’

‘हुन्छ, कस्तो नाटकमा कस्ता दर्शक आए भन्ने कुराले केही अनुमान गर्न सकिन्छ, सिर्जनाको गुणस्तरले पनि दर्शकको गुणस्तर निर्धारण गर्छ । गुणस्तरीय नाटक गुणस्तरीय दर्शक ! यो दोहोरो हुन्छ । नाटक हेर्नेमा बौद्धिक अभ्यासमा संलग्नहरू बढी हुन्छन् ।’

‘मनोरञ्जन चाहिँ कहाँनेर हुन्छ ?’

‘नाटक भनेको मनोरञ्जनमात्रै होइन, संस्कृति हो । मनोरञ्जन चाहिँ त्यसका अवयवहरूमध्येको एक हो । नाटक समाजलाई परिस्कृत बनाउने एउटा अनिवार्य तत्व हो ।’

‘नाटकको समग्र सन्देश पनि हुन्छ होला नि !’

‘नाटकको सन्देश भन्ने कुरासँग मेरो विमति छ । सन्देश भनेको डरलाग्दो कुरा हो । कुनै सन्देशका लागि काम गर्दैछु भन्ने हो भने गलत ठाउँमा पुगिन्छ, कसैलाई केही सिकाउन नाटक देखाउने होइन । हो भने पनि अल्पकालीन होला । संस्कृति भएपछि त जीवनबाट अभिन्न हुनेभइगयो ।’

‘तर म नाटकका दर्शकहरू साह्रै सीमित, थोरै संख्यामा देख्छु ।’

‘नाटक एउटा परिस्कृत संस्कृति हो, दर्शकहरूलाई अनकूल हुनेगरी हरेक शहरमा नाटकघरहरू हुनुपर्छ ।’

‘सम्भवतः नाटक साह्रै पुरानो, मानव सभ्यताको विकासक्रमसँगैको परम्परा हो, संसारभर नै प्रचिलत छ, विश्व परिवेशमा नेपाल कहाँ छ ?’

‘नाटकका अनेक विधा छन् । हाम्रा घोडेजात्रा, विस्केट जात्रा, धाननाच, बालुन, घाटु, मारुनी, सोरठी इत्यादि सांस्कृतिक रङ्गमञ्चहरू हुन्, यसमा नेपाल धेरै बलियो छ । दाइले भनेको चाहिँ आधुनिक रङ्गमञ्चको कुरा हो । यसमा त हाम्रो देशको अवस्था दयनीय छ, सीमित ठाउँमा मात्रै नाटक हुन्छ ।’

‘त्यसो भए निराशाजनक नै छ !’

‘होइन, एउटा धेरै राम्रो झिल्को छ, नेपाली नाटकहरू विश्वरङ्गमञ्चमा देखाउन लायक भएका छन्, देशको इज्जत धानेका छन् ।’

‘युवराज ! अब के नाटकमै जिउने, नाटकमै मर्ने हो ? नाटकबाहिर तिम्रा लागि केही छैन ?’

‘नाटक नै हो । नाटक मियो हो, त्यसैको वरिपर घुम्छु । मियोमा बाँधेको मालदाम्लो जहाँसम्म लम्ब्याउन मिल्छ त्यहाँसम्म जोड्दै जान्छु । नाटकको मियो छाडेर मेरो अर्को व्यवसाय खडा हुँदैन ।’

‘थिएटरमा देखाउनेबाहेक पनि त नाटकमा काम होला नि !’

‘छ नि ! धेरै छ । अनुसन्धान, लेखन, समीक्षा अनेक पाटाहरू छन् । शिल्पीमा छुट्टै प्रकाशन विभाग छ ।’

म यो आलेखको आरम्भतिर फर्किन्छु ।

आखिर मैले सोधिहालेँ– जिन्दगी के रहेछ त भाइ ?

उनले केही न केही भन्नै पर्ने भयो ।

भने, ‘दाइ ! तपाईंलाई इमानदारीसाथ भनेको, यो डरलाग्दो प्रश्न हो । जिन्दगी के रहेछ भनेर बुझ्न चाहन्नँ, जिन्दगी बुझेका दिन म सकिन्छु ।’

वाफ रे वाफ युवराज ! जिन्दगीबारे तिम्रो यति गहिरो दर्शन ! धन्य ! मैले तिमीलाई सोधेछु । पुरातनदेखि अधुनातनसम्मका दार्शनिकहरू किन चाहियो ! नाटक भनेको के रहेछ भनेर सोधिनँ, सोध्नै पर्थ्यो भन्ने थाहा पाएँ । कुनै दिन फेरि कुनै बार्दलीमा कसो नबसिएला त !


0