विपद् व्यवस्थापनमा यस्तो छ सुरक्षा निकायहरूको तयारी | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा यस्तो छ सुरक्षा निकायहरूको तयारी



काठमाडौँ– पछिल्लो एक सातामा नेपाली सेनाले बाढीपहिरो पीडित १२१ जनाको हेलिकोप्टरबाट गरेको छ ।

मनसुन शुरूपछिको बाढी पहिरोमा परेका मध्ये मनाङमा ११६ जना सिन्धुपाल्चोकमा ४ जना र म्याग्दीमा १ जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तीन वटै निकायका प्रवक्ताहरूका अनुसार गत वर्षको तुलनामा यस वर्ष विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले सोहीअनुसार व्यवस्थापनका लागि तयारी भएको छ ।

तीन वटै सुरक्षा निकाय र राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले आआफ्नो तयारी गरेका छन् ।

नेपाली सेनामा हवाई उद्धार तैनाथ

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलका अनुसार विभिन्न ठाउँमा गएको बाढीपहिरोमा तत्काल उद्धार र राहतको लागि सेनाले हेलिकप्टर सञ्चालन गरेको छ । विगत वर्षहरूमा भएका कतिपय घटनाका आधारमा पनि विपद् आइपर्ने सम्भावित ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्ति तयार राखिएको सहायकरथी पौडेलले खबरहबलाई बताए ।

विपद् व्यवस्थापनमा नेपाली सेना परिचालन हुन छुट्दै आदेश आदेश आवश्यक पर्दैन ।

‘सतहत्तर वटै जिल्लामा रहेका गण र गुल्महरूबाट एक तिहाइ फौज विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको छ’ उपरथी पौडेलले भने, ‘खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोतसाधनसहित दक्ष जनशक्ति परिचालन हुने गरेकोछ ।’

उनका अनुसार विपद व्यवस्थापनका लागि नेपाली सेनासँग चितवनको कसौली र काठमाडौँको सुन्दरीजलमा तालिमप्राप्त दुई वटा विशेष युनिट छन् । यी युनिटहरूबाट मनसुन शुरू हुनुअगावै दक्ष जनशक्ति आवश्यक उपकरणसहित तैनाथ गरिएको छ ।

जलसम्बन्धी उद्धारका लागि तराई र पहाडी जिल्लाहरूका लागि छुट्टाछुट्टै करिब दुई सयवटा बोट (डुङ्गा) तयारी अवस्थामा राखिएका छन् ।

विपद्को समयका लागि अत्यावश्यक सामग्री ओसारपसार तथा उद्धारका लागि पश्चिममा सुर्खेत, पूर्वमा इटहरी र मध्यमा काठमाडौँमा हवाई साधन तयारी अवस्थामा रहेको सैनिक प्रवक्ता पौडेलले बताए ।

सशस्त्र प्रहरीमा गोताखोरसहितको जनशक्ति

सशस्त्र प्रहरी बल विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।

सात वटै प्रदेशमा तालिमप्राप्त प्रहरीहरू तीस जनाका दरले सात वटा टोली तैनाथ रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले खबरहबलाई बताए ।

उनका अनुसार खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो सोहीअनुरूप जनशक्ति परिचालन हुने गरेको छ ।
‘सशस्त्रमा विपद् व्यवस्थापनको तालिम लिएका १ हजार ९१८ जना छन् । यो जनशक्तिलाई प्रत्येक प्रदेशमा एकएक समूह बनाएर विभाजन गरेका छौँ,’ प्रवक्ता अर्यालले भने, ‘उपत्यकामा दुई वटा र विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुई वटा गरी उपकरणसहित १० वटा समूह परिचालन गरिएको छ ।’

सतहत्तर वटै जिल्लामा बाहिनी, गण, गुल्म, बिओपी स्तर र अन्य बेसहरूमा पनि विपद व्यवस्थापनको लागि विपदको खबर प्राप्त भएको पाँच मिनेटमा हिँड्ने गरी तयारी अवस्थामा रहेको अर्यालले जानकारी दिए ।

उनले भने, ‘हामीसँग १३ वटा हेभी इक्युप्मेन्ट (डोजर, क्रेन) छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा, घर डुबानमा हुँदा र रेस्क्यु गर्नुपर्दा ठाउँठाउँमा हाम्रो जनशक्ति तयारी अवस्थामा छ ।’

उपत्यकासहित विभिन्न ६ स्थानमा तालिमप्राप्त ३७ जना गोताखोर (पानीमुनि गएर खोजी गर्ने) तैनाथ राखिएको पनि उनले बताए ।
नेपाल प्रहरी केन्द्रदेखि स्थानीय तहसम्म सक्रिय

विपद् प्रतिकार्यका लागि केन्द्रदेखि स्थानीय तहसम्मको संरचना सक्रिय रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नेपाल प्रहरीले केन्द्रका र स्थानीय तहका विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम गर्ने गरेको छ ।

‘यो वर्षको मनसुन शुरू भएसगै नेपाल प्रहरीले र सम्बन्धित निकायसँगको सहकार्यमा ३ हजार २५८ घरपरिवार सुरक्षित स्थानमा स्थानान्तरण गराएका छौँ,’ प्रवक्ता कुँवरले भने, ‘अविरल वर्षाले गएको बाढीका कारण १४७ घर परिवारलाई उद्धार र सुरक्षित स्थानमा सारिएको छ ।’

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीपहिरोका पीडितको उद्धार तथा राहतका लागि केन्द्रदेखि स्थानीय तहसम्मका निकायहरू सक्रिय छन् ।

‘जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तहमा पालिकास्तरको विपद् व्यवस्थापन समिति रहेको छ, प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापन परिषद छ,’ केन्द्रका प्रमुख दिलकुमार तामाङले भने, ‘उद्धारका लागि सेना प्रहरी र सशस्त्र प्रहरीसँगै अन्य संघसंस्थाहरू खटेका छन् ।’

ठाउँठाउँमा सामग्री भण्डारण

सतहत्तर वटै जिल्लामा जिल्ला विपद् राहत कोष सञ्चालनमा रहेको र आवश्यकता अनुसार केन्द्रीय विपद व्यवस्थापन कोषबाट गृह मन्त्रालयमार्फत रकम निकासा हुने गरेको उनले बताए ।

प्रदेश सरकार र स्थानीय सरकारको कोषमा जम्मा भएको रकम खोज तथा उद्धार र राहतको कार्यमा खर्च हुने गरेको उनको भनाइ छ । उनका अनुसार विभिन्न जिल्लामा रहेका मानवीय सहयता स्थलमा त्रिपाल, खाद्यान्न लगायतका सामग्री भण्डारण गरिएको छ । इनरुवा, हेटौँडा, बुटवल, पोखरा लगायतका स्थानमा प्रादेशिक गोदामहरू छन् ।

सरकारी निकायहरूसँगै मानवीय सहयता क्षेत्रमा क्रियाशील जनशक्ति, रेडक्रस लगायतका संघसंस्थाहरूको स्वयंसेवक पनि उद्धार तथा राहतमा खट्ने गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ३० बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने