उडुस मार्दै रात काट्दै कैन्दीबन्दी | Khabarhub Khabarhub

उडुस मार्दै रात काट्दै कैन्दीबन्दी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो – जिल्ला कारागारको ।

मापदण्डअनुसारको यहाँको कारागारको संरचना छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१ कैदीबन्दी रहेका छन् ।

पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी गर्दै आएका कैदीबन्दीलाई चिन्ता र कष्टले सताइरहन्छ । उनीहरु यतिबेला चिसोको मारमा छन् ।

संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसोयाम होस् वा गर्मी याम । यहाँ उनीहरुलाई बाह्रै महिना दिनरात समस्या हुने गर्दा चिन्तामै हुने गरेका हुन् । चार वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका सुवास रानाभाटले भने, “पुस माघको समयमा हामीलाई सुत्न बस्नलाई नै समस्या भइरहेको छ । तल भुइँबाट सिमेन्टीको चिसो आउने गर्दछ । चिसो भुइँमा सुत्नुपर्छ ।”

धेरैजना भएकाले भुइँमा लमतन्न भित्र छिर्ने ढोकादेखि शौचालयसम्मै म्याट ओछ्याएर सुत्नुपर्दा विभिन्न समस्या भइरहेको उनको भनाइ छ ।

सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरेको उनले दुःखेसो पोखे ।

“यहाँ बढी केन्दीबन्दी हुँदा शौचालय जाने बाटोसम्मै सुत्ने गरेको छौँ । राति शौचालय जाने ठाउँ पनि पाइँदैन । बिहान पालो कुर्दाकुर्दै घण्टौँ बित्छ”, उनले भने । यस्तो समस्यामा दिनरात कटाउनुपर्दा निकै चिन्ता हुने गरेको छ । सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले भने, “हामीलाई सुत्ने, बस्ने ठाउँमा चिस्यान नै चिस्यान छ । समाधान छैन । यही चिसोका कारणले यहाँ दिनहुँ दुई चार जना रुघाखोकीको बिरामी हुने र निको हुने गरेको छ ।”

यति मात्र होइन कोभिडका बेला सामाजिक दूरी कायम गरी उनीहरु सुत्ने र बस्ने गरेका थिए । कोचिएर एउटै ठाउँमा खानुपर्दा कोरोनाको धेरै डर त्रास हुने गरेको थियो । अहिले कोभिडको जोखिम कम छ । चिसो मौसम सकिएर गर्मी मौसम शुरु हुनेबेला भएको छ ।

गर्मी मौसममा त झन् बढी समस्या हुने गरेको उनको भनाइ छ । गर्मीले उकुसमुकुस बनाउने, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडरमा कैदीबन्दी रहेका छन् ।

“गर्मीका बेला खुला हावा आउने हुनुपर्दछ । सबै एउटै ठाउँमा कोचिएर बस्नुपर्दा श्वास फेर्नसमेत कठिन हुने गर्दछ,” उनले भने । शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, अझै दुर्गन्धित भएकाले रोग लाग्ने बढी सम्भावना गर्मी याममा हुने गरेको छ ।

तीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भने, “राणाकालको आँखीझ्याल जस्तो हामी बस्ने ठाउँ छ । धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च रहेको छ । वर्षेनी गर्मीमा ओछ्यानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ । राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी शुरु हुन लाग्दा थप चिन्तामा छौ ।

चिसोको समयमा खानेपानी आउने गरे पनि गर्मीमा त खानेपानीको समस्या कारागारमा हुने गरेको छ । पानी कम हुँदा सरसफाइसमेत राम्रोसँग गर्न नपाउने समस्या यहाँका कैदीबन्दीको विगतदेखि कै हो । कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने कैन्दीबन्दीको भनाइ छ ।

यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँतहीँ जीवित छ । यस कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ । सङ्ख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकको भनाइ छ ।

कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनहुँ उनीहरुलाई विभिन्न समस्या हुने गरेको छ । खान, बस्न, सुत्नदेखि शौचालय जानसमेत उनीहरूलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ/हुँदैन भनेर अघिल्लो गत वर्ष माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको जिल्ला कारागारले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्षमताभन्दा बढी कैदीबन्दी र पुरानो संरचना हुँदा धेरै समस्या भए पनि समाधान हुन नसक्दा कानुनी मापदण्डअनुसारको हुन नसकेको बताए । नेपालकै पुरानो कारागारमध्ये एक भएको जनाउँदै उनले दिनहुँ दिन कैदीबन्दी थपिँदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको जानकारी दिए ।

यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोबलसमेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिएको भए पनि कायान्वयन हुन नसकेको उहाँको भनाइ छ । झण्डै ४९ वर्षअघि निर्माण भएको यस कारागार अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन ।

यसलाई थप व्यवस्थित र कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुँदा यस्ता समस्या देखिएको छ । यहाँ अब भने सरकारले भवन निर्माण गर्ने बताइएको छ ।

कारागार २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमता हो । हाल रहेको ९१ जना कैन्दीबन्दीमध्ये ८२ कैदीबन्दी पुरुष ८० र ११ कैदीबन्दी महिला रहेका छन् । यसैगरी ४७ कैदी र ४४ थुनुवा रहेका छन् । तीमध्ये ३९ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ ।

त्यस्तै ४१ जना पुरुष र तीन जना महिला थुनुवा (पुर्पक्षका लागि राखिएको) रहेका छन् । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका बढी छन् । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  २ : ४६ बजे

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा