गङ्गा नदी झुट बोल्दिनन् « Khabarhub
Logo
१४ श्रावण २०७८, बिहीबार

गङ्गा नदी झुट बोल्दिनन्



गङ्गा भारतको पवित्र नदीमध्येको एक हो । यस नदीमा डुबुल्की लगाएमात्रै पनि पवित्र हुने विश्वास हिन्दु धर्मावलम्बीहरूमा छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरू हुँदै थियो त्यस बखतमा गङ्गा नदीमा नुहाउन आउने मानिसका कारण मोदी प्रशासनको असफलता प्रदर्शन भएको थियो ।

बिहारको उत्तरी राज्यमा अप्रिलदेखि मेसम्ममा निधन हुने मानिसको संख्यालाई हालै संशोधन गरेको छ । संशोधनअघि निधन हुने मानिसको संख्या ५ हजार ४२४ बताइएको थियो । संशोधनपछि ९ हजार ३७५ मानिसको निधन भएको जनाइएको छ । कुम्भ मेलामा कोरोना भाइरस परीक्षण गर्न खटाइएको निजी संस्थाले मेलामा सहभागी लाखौँ मानिसमध्ये कोरोनाका कारण एक लाखभन्दा बढीको निधन भएको जनाउँदै सरकारी तथ्यांकलाई गलत सावित गरेको छ । उक्त मेला भारतमा भाइरस संक्रमण फैलाउन सहायक रहेको बताइन्छ ।

दोस्रो लहरका कारण संक्रमण हुने मासिनको संख्या घट्दो क्रममा छ तर दोस्रो लहरमा परी कति मानिसको निधन भयो भन्ने यकिन गर्न सरकार संघर्षरत छ । कोभिडका कारण भारतमा करीब ३ लाख ८० हजार मानिसको निधन भयो जसमध्येमा अध्यधिक संख्या मार्च यताको हो । केन्द्र र स्थानीय सरकारले निधन भएका मानिसको संख्या यकिनरूपमा प्रस्तुत गरेका छैनन् तर,पवित्र गङ्गाले झुट बोल्दिनन् ।

मे १२ मा बिहारस्थित बक्सर जिल्लामा नदीमा तैरिएको क्षतविक्षत लास देखियो । जिल्लाको गाजिपुरमा करीब सय लास नदीबाट बाहिर निकालिए । स्थानीय एक वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारी अनुसार यी लास देशकै सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेशबाट आएका थिए ।

म राष्ट्रिय पत्रिका दैनिक भाष्करको सम्पादक हुँ । यो हिन्दी भाषाको पत्रिका हो र भारतभरमा दैनिक करिब ५५ लाखप्रति बिक्री हुन्छ । विशेष गरी भारतका साना शहर तथा गाउँमा यसका पाठकहरू रहेका छन् । महामारीले पुर्‍याएको क्षतिको यकिन दृश्य थाहा पाउन हामीले ३० जना पत्रकार र फोटो पत्रकारलाई उत्तर प्रदेशका प्रमुख शहर र जिल्लाको गङ्गा किनारमा पठाएका थियौँ ।

हाम्रा पत्रकारहरूले मे १२ र १३ मा गङ्गा नदीको ७ सय माइलको यात्रा गर्दा २ हजार लास देखेका थिए । ती लासहरू नदीमा तैरिरहेकाम मात्रै थिएनन् कुनै कुनै दिनमा ६५ देखि ७० वटा लास नदीको किनारसम्म आइपुगेका हुन्थे । सरकारी अधिकारीका अनुसार अप्रिल १ देखि मे १३ सम्म जम्मा ७ हजार ८२६ मानिसको कोभिडका कारण निधन भएको तथ्यांक छ ।

भगवान रामको नामसँग जोडिएका हुनाले उत्तर प्रदेशको दक्षिणमा रहेको शृंगवेरपुर भारतमा पवित्र स्थलका रूपमा लिइन्छ । उक्त स्थानको केदी नजिक मात्रै कयौँ लास जल्दै गरेको हाम्रा पत्रकारले देखेका छन् । यहाँ सयौँको संख्यामा रहेका लास पहेँलो कपडाले बेरेका देखिन्थे । आफ्नो प्रियजनलाई जलाउन दाउरा खरिद गर्न नसक्ने गाउँलेले पवित्र स्थानमा लास जलाएर मुक्ति दिन चाहन्थे ।

केही रिपोर्टिङपछि हामीले के अनुमान लगायौँ भने अप्रिलको मध्यबाट मेको मध्यसम्ममा करीब ४ हजार लास नदीको किनारमा एक माइलभन्दा कम दूरीमा जलाइएका थिए ।

हामीले यस प्रकारको त्रासदी योभन्दा अघि कहिल्यै सुनेका थिएनौँ । मेको शुरूवतादेखि नै भएको वर्षाका कारण नदीमा बढेको पानीको वहावसँगै लास नदीमाथि तैरिन थालेका छन् । बढेको नदीले किनारमा रहेको फोहर बगाएसँगै त्यहाँको वास्तविकता उजागर गरेको छ ।

पानीले सरकारको असफलता देखाएको छ । ग्रामीण भेगमा भ्याक्सिन वितरण र स्वास्थ्य सेवा सरकारले सबल बनाउन नसक्दा अथवा त्यसको जवाफदेयिता नलिँदा यस्तो समस्या आएको हो ।

महेन्द्रनाथ उपाध्याय कोभिडका कारण आफ्नो परिवारका तीन सदस्य गुमाएका व्यक्ति हुन् । उनले हाम्रा रिपोर्टरसँग भने, ‘हामी अत्यन्तै गरिब परिवारका मानिस हौँ, हामीलाई दुई छाक खानै मुश्किल छ, उपचार त परको कुरा ।’

उत्तर प्रदेशमा मार्च २०१७ देखि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीको सरकार छ । यहाँका मुख्यमन्त्री योगी आदित्यनाथ हुन् । अप्रिल महीनाभर नै उत्तर प्रदेशमा अक्सिजन सिलिन्डरको अभाव, अस्पतालमा भेन्टिलेटरेको अभाव, लास जलाउने स्थानको अभावदेखि अन्य खालका अभावको अवस्था थियो । त्यहाँ रहेको अप्ठेरो परिस्थिति मुख्यमन्त्री योगीले स्वीकार गर्न चहेनन् । अवस्था अप्ठेरो छ भनेर बयान दिनेहरूलाई उल्टै धम्क्याउने काम गरिएको थियो । मुख्यमन्त्री योगीले गलत अफवा फैलाउने व्यक्तिको सम्पति जफत गर्न र आतंककारी सम्बन्धी कानून लगाउन राज्यका अधिकारीलाई निर्देशन दिएका थिए ।

उत्तर प्रदेश सरकारले अस्पतालमा निधन भएका व्यक्तिको मात्रै लगत संकलन गरेको थियो । धेरै जस्तो ग्रामिण इलाका जहाँ अस्पतालको अभाव छ त्यहाँका मानिसको घरमा नै मृत्यु भएको थियो ।

मे महीनाको मध्यमा गाजिपुरको गाउँ रोतिपुर जहाँ ७० हजार मानिसको बसोबास छ त्यहाँका एकमात्र डाक्टरले हाम्रा रिपोर्टरलाई दिएको जानकारी अनुसार उक्त गाउँमा करिब ८५० जना व्यक्तिमा कोरोना सक्रमण देखिएको थियो । जसमध्यमा करिब २ सय जनाको अप्रिलमै नै निधन भएको थियो ।

‘हामी अत्यन्तै गरिब परिवारका मानिस हौँ,’ कोभिडका कारण आफ्नो परिवारका तीन सदस्य गुमाएका महेन्द्रनाथ उपाध्यायले हाम्रो रिपोर्टरसँग भने, ‘हामीलाई दुई छाक खान नै मुश्किल छ, स्वास्थ्य उपचार त परको कुरा ।’

ग्रामीण गरिबीले संक्रमणको दोस्रो लहरको प्रभाव बढाएको छ तर नयाँ संक्रमण दर बढ्नुमा मोदी सरकारको असफलताका मुख्य कारण हो । सरकारी अधिकारीहरूले कुम्भ मेलामा मानिसलाई जम्मा हुने अनुमति दियो । यो धार्मिक कार्यक्रम धेरै मानिस भेला हुनेमध्येको एक कार्यक्रम हो ।

यस्तै केही राज्यजस्तै उत्तर प्रदेशको निर्वाचनका कारण पनि संक्रमण फैलिने अवस्था सिर्जना भएको थियो ।

अहिले जब ३ दशमलव ४ प्रतिशत भारतीयले मात्रै दुई डोज खोप लगाएका अवस्थामा तेस्रो लहर योभन्दा खतरनाक हुन सक्नेमा सजग हुनुपर्छ ।

जब सन् २०१४ मा नरेन्द्र मोदीले प्रधानमन्त्री पदका लागि अभियान सञ्चालन गरेका थिए, उनले आफ्नो संसदीय क्षेत्रका रूपमा वाराणसीले चुनेका थिए, यो गङ्गा नदी रहेको पवित्र तिर्थस्थल हो जुन उत्तर प्रदेशमा अवस्थित छ । उनले त्यस बखत भनेका थिए, ‘मलाई लाग्छ गङ्गा माताले मलाई वाराणसीमा निम्ता दिएकी छन् ।’ वास्तवमा आज गङ्गाले मोदीलाई त्यहाँ बोलाउँदै छिन् ।

(ओम गौर भारतबाट प्रकाशित हुने पत्रिका दैनिक भाष्करका हिन्दी संस्करणका सम्पादक हुन् । १७ जुन २०२१ मा द न्यू योर्क टाइम्समा प्रकाशित उनको लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0