भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना « Khabarhub
Logo
२६ बैशाख २०७८, आइतबार

भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना



काठमाडौँ— गत माघको अन्तिम साताको एक बिहान भक्तपुरको जगातीस्थित ‘ओके’ नामको इटा भट्टमा भेटिए दाङका किशोर दाजुभाइ सुदीप बुढामगर र राजन बुढामगर । सुदीप १६ वर्षका र राजन १३ वर्षका भए । उनीहरू निकै हतारमा इटा एक ठाउँबाट अर्को ठाउँमा ओसारिरहेका थिए ।

त्यहाँ करिब पन्ध्र जना कामदारहरू इटा बोक्ने काममा व्यस्त थिए । टाउकोमा इट्टाको भारी बोक्न सजिलोका लागि सबैले बाक्लो फेटा बाँधेका थिए । झट्ट हेर्दा सबै कामदार किशोर उमेरका जस्ता देखिन्थे । इटा बोक्ने जाँगर सबैको बराबर जस्तो देखिन्थ्यो । उनीहरू धेरै इट्टा बोक्ने प्रतिस्पर्धा गरिरहेका थिए ।

यी दाजुभाइ रहरले दाङबाट यहाँ आएका होइनन् । रहर त पढ्नको थियो तर पढाइ छाडेर काम गर्नु उनीहरूको बाध्यता हो । दुवै जनाले चार कक्षासम्म पढेका छन् । आफूलाई चाहिने कुरा पढ्न सक्छन् । गरिबीले उनीहरूलाई बाल्यकालमै कठिन श्रममा धकेलेको हो ।

निकै हतारमा इटा बोकिरहेका मध्ये एक जना एक छिन रोकिएर कुरा गर्न तयार भए । यी रहेछन् सुदीप । एक छिन रोकिँदा पनि उनलाई घाटा हुन्छ । जति धेरै इँटा बोक्यो उति धेरै पैसा हात लाग्छ । आरिख उनी पैसा कमाउनै त आएका हुन् !

उनीहरूले बस्न र खान पैसा तिर्नुपर्दैन । बस्नलाई इटा भट्टा परिसरमै एउटा छाप्रो छ । खाना सबैलाई एकै ठाउँमा पाक्छ । गत वर्ष दुई दाजुभाइले तीन लाख रुपैँया कमाइ गरे । सुदीपका अनुसार काम ठिकै लागेको छ, कमाइ पनि भएकै छ तर यहाँ धेरै जाडो रहेछ ।

सुदीपलाई स्कुल गएर पढ्न मन छ तर घर चलाउन पैसा नकमाई भएको छैन । उनी भन्छन्, ‘पढ्न मन छ तर काम नगरी खान पाइँदैन । स्कूल जाने फुर्सद हुँदैन ।’ उनीहरू गत वर्षको कमाइले लोभिएर यसपालि पनि इटा भट्टामै आएका हुन् । माघको सुरुमा आएका उनीहरू चैत लागेपछि घर फर्किनेछन् ।

यता इटा बोक्ने त तीन महिनामात्रै हो । तीन महिनाको कमाइ बोकेर गाउँ फर्किनु छ । उनीहरू आमाबुबालाई काम सघाउँछन् । गाउँमा पनि ज्यालादारीमा काम गर्छन् तर यताको जति कमाइ हुँदैन । सुदीप भन्छन्, ‘गाउँमा काम गर्छौं, ढुङ्गा बोक्छौँ, घर बनाएको ठाउँमा काम गर्छौं तर सधैँ पाइँदैन, कमाइ पनि धेरै हुँदैन ।’

दुई दाजुभाइले तीन महिनामा कमाएको पैसाले वर्षभरिलाई घरखर्च पुग्छ । यसपालि त उनीहरूले कोरोना भाइरसका कारणले गाउँमा धेरै दिन काम गर्न पनि पाएनन् । गाउँमा हुने अलिअलि कमाइ पनि ठप्पै भयो । सुदीपले भने, ‘लकडाउन भएपछि धेरै गाह्रो भयो, दुई पटक राहत पनि लियौँ तर त्यसले कति दिन पुग्थ्यो र !’

इटाको भारी ट्रकसम्म पुर्‍याउनु उनीहरूको काम हो । बिहान ६ बजेदेखि १० बजेसम्म काम गर्छन् र खाना खाएर चार घण्टा आराम गर्छन् । त्यसपछि फेरि चार घण्टा काम गर्छन् । कामदारहरू बीच धेरै इटा बोक्ने होडबाजी चल्छ । यसमै कुदाकुद हुन्छ ।

उनीहरू आफ्नो पारिश्रमिक घर जाने बेलामा एकैमुष्ठ लिन्छन् । सुदीप भन्छन्, ‘तीन महिनामा एक जनाको डेढ लाखसम्म पाउँछौँ दुई जनाकै गर्दा तीन लाख हुन्छ । पैसा लगेर आमाबुबालाई बुझाउँछौँ ।’

सुदीप पैसा कमाउन विदेश जाने विचारमा छन् । भाइ पनि विदेश जाने उमेरको भएपछि दुवै जना एकै पटक जाने सुदीपको विचार छ । उनले पढ्ने आशा मारिसकेका छन् । बरु विदेशमा पैसा कमाएर फर्किने र स्वदेशमा व्यवसाय गर्ने उनको सपना छ ।


भर्खर

0