अनि तिनलाई गाली नगरेर कसलाई गर्नु ! | Khabarhub Khabarhub

अनि तिनलाई गाली नगरेर कसलाई गर्नु !



सिन्धुपाल्चोक जिल्ला भएर बग्ने मेलम्ची खोलाको बाढीले पुर्‍याएको क्षतिका तस्वीरहरू निकै अनौठो मानेर पटकपटक हेरिरहेँ । बाढीले ल्याएको लेदोले घरहरू एक तला र त्योभन्दा माथिसम्म पुरिएका छन् । किनारमै टाँसिएका घरको त कुरै गर्नु परेन, निकै परका जस्ता देखिने घरहरूका पनि आधा भाग छोपिएका छन् । कति घर त यति परसम्म त जस्तै बाढीले पनि भेट्दैन भन्ठानेर बनाइएका थिए होलान् ।

नदीखोलाहरूसँग मानव सभ्यता र संस्कृति गाँसिएको हुन्छ । धेरै ठाउँको मानव सभ्यता नदीकिनारहरूमा विकास भएको भन्ने इतिहास छ, पुरातात्विक प्रमाणहरू छन् । नदीखोलाहरू मानवको जीवनका स्रोतहरू हुन्; संस्कृति, सिँचाइ, खानेपानी, आधुनिक विज्ञानले विकास गरेको जलविद्युत, जल यातायात, प्राकृतिक सौन्दर्य आदिइत्यादि । मानवबस्ती भएर बग्ने खोला मानव संस्कृतिसँग जोडिँदैन भने मानिसका लागि त्यसको काम छैन ।

काठमाडौँका खोलाहरूले पनि कहिलेकाहीँ रौद्ररूप देखाउँछन् । यी खोलाका पनि धेरै ठाउँमा घरको भित्तो छोएर नौ महिना शहरको ढल र तीन महिना ढलमिश्रित पानी बग्छ । धेरै टाढा जानु पर्दैन । धोबी खोला भनिने रुद्रमतीका केही पुल हेरे पुग्छ ।

पर्खालले छेकेको खोलो के काम ! काठमाडौँमा वाग्मती, रुद्रमती र विष्णुमतीले के काम दिएका छन् र शहरभित्र ! अँ, शहरभरिको ढल खसाउन चाहिँ मनग्ये काम लागेका छन् । राज्यले शहरी ढल प्रशोधनमा अतिरिक्त खर्च गर्नुपरेको छैन, खोलासम्म पुर्‍याइदिए भइगयो । ढल व्यवस्थापन र प्रशोधनमा हुने अतिरिक्त खर्च भ्यू टावरहरू बनाउन काम लागेको छ, जनप्रतिधिहरूको कीर्ति बनेको छ ।

म स्कुले विद्यार्थी हुँदा देखेका निकै फराकिला खोलाहरू साँघुर्‍याएर अलिक ठूलो कुलो जस्तो बनाइएका छन् । विर्तामोड र इटहरी डुबान भएको खबर आउँदा मैले चालीस वर्षअघि देखेका अदुवा खोलो र टेङ्ग्रा खोलो सम्झिन्छु । खोलैबाट पर्खाल उठाएर घर बनाइएका छन् । घरको भित्तो छोएर पानी बग्छ । पानी पनि के भन्नु ! खोलो के भन्नु ! ढल भने हुन्छ । असारसाउनमा तिनको उग्रता हेरेर त्यहाँका बासिन्दाहरू भौँतारिन्छन् । अर्को कुनै उपाय छैन । सानोतिनो हानी यसै सहन्छन् । अलिक ठूलो क्षति भए सरकारलाई गाली गर्छन् ।

काठमाडौँका खोलाहरूले पनि कहिलेकाहीँ रौद्ररूप देखाउँछन् । यी खोलाका पनि धेरै ठाउँमा घरको भित्तो छोएर नौ महिना शहरको ढल र तीन महिना ढलमिश्रित पानी बग्छ । धेरै टाढा जानु पर्दैन । धोबी खोला भनिने रुद्रमतीका केही पुल हेरे पुग्छ । डिल्लीबजारबाट मैतीदेवी चोक हुँदै सोझै पुरानो वानेश्वरतिर जाँदा भेटिने ‘सेतो’ पुलको र हनुमानस्थानबाट नयाँ वानेश्वर जाँदा भेटिने ‘सिम्रिक’ पुलको लम्बाइ बराबरजसो होला । यी दुई पुलका बीचमा रहेका अरू पुल हेरेर हाम्रा शहरी योजनाविदहरूको बुद्धिलाई के भन्नु ! म साधारण नागरिक, अचम्म लागेको कुरो लेखेकोमात्रै हुँ ।

हनुमानस्थान नजिकको पुलबाट दक्षिणतर्फका ठूला पुल हेर्दैमा आँखा तिरमिराउँछन् । यी लामा पुलका मुनिबाट ‘धोबीखोला कोरिडर’ सडक बन्दैछ । धोबीखोलो सधैँसधैँ यतिमै अटाओस् भनेर प्रार्थना गर्नुबाहेक अर्को उपाय के छ र !

अनौठो त मलाई तब लाग्छ जब म बर्खामा खहरेजस्तो उर्लिने खोलामा पानीसँगै पिलर हालेर महल ठड्याएको देख्छु । यस्ता केही होटलहरूमा खोलाको दृश्यको आनन्द लिँदै कति पटक खाना खाएको छु ।

उत्तरका अग्ला हिमशृङ्खलाहरूबाट पहाड छिचोल्दै बगेर दक्षिणको तराईमा पुग्छन् हाम्रा नदीखोलाहरू । साँघुरो चौडाइमा पूर्व–पश्चिम फैलिएको हाम्रो नेपालमा पूर्व–पश्चिम राजमार्ग/सडकहरूले उत्तर–दक्षिण बग्ने नदीखोलाहरूलाई ठाउँठाउँमा साँघुरो पारेका छन् । पहाडी भूभागमा धेरै ठाउँमा गड्तिरै गड्तिर सडक बनेका छन्, राजधानी काठमाडौँबाट मुङ्लिन, नारायणगढ जाऔँ कि बनेपा–धुलीखेल हुँदै बाह्रबिसे जाऔँ ।

सडकले विकासको बहार ल्याउँदो रहेछ । मानिसको आवतजात सडकमै हुन्छ । व्यापारव्यवसाय सडक किनारामै चल्छ अनि मानिसहरूको बसोबास सडक किनाराहरूमै केन्दीकृत हुँदो रहेछ । यसमा के अनौठो मान्नु छ र ! अनौठो त मलाई तब लाग्छ जब म बर्खामा खहरेजस्तो उर्लिने खोलामा पानीसँगै पिलर हालेर महल ठड्याएको देख्छु । यस्ता केही होटलहरूमा खोलाको दृश्यको आनन्द लिँदै कति पटक खाना खाएको छु ।

सिन्धुपाल्चोकको जुरेमा खोलो थुनिएका बेला खोला किनारका बजारहरूमा फैलिएको उदासीनता साँच्चै टिठलाग्दो थियो । मैले केही पटक खोलाको सौन्दर्यमा मस्त हुँदै खाना खाएका होटलहरू बन्द थिए, एक गिलास पानी पनि उपलव्ध थिएन ।

जुरेमा बनेको ताल देखेपछि तल्लो तटका बजारहरू सम्झेर आङ जिरिङ्ग भएको थियो । मानिसहरू जुरेमा पहाड खसेको पहिरोले बनेको बाँध फुटेर किनाराका आफ्ना पक्कीघर बगाउने टिठलाग्दो प्रतिक्षामा थिए । धन्य ! बाँध अलिअलि गर्दै आफैँ खोलियो, तल्लो तटका घरबजार बगाउने भेल आएन ।

मानिस प्रकृतिसँग पौठेजोरी खेल्दै हुर्केको प्राणी हो । मानिसले प्रविधिको जति विकास गर्दै गयो उति नै प्रकृतिलाई हाँक दिन थाल्यो । प्रकृति मानिसलाई हाँक दिँदैन, ऊ केवल परिणाम दिन्छ । मानवेत्तर प्राणीहरू प्रकृतिसँग प्रतिस्पर्धा गर्दैनन्, पञ्जा लडाउँदैनन् । त्यसैले कम क्षतिमा पर्छन् । मैले आधा शताब्दीको जीवनकालमा गरेको अनुभूति यही हो ।

मैले माथि लेखेँ– अलिक ठूलै क्षति भए सरकारलाई गाली गर्छन् ।

किनभने सरकार भनेको राज्यको सबैभन्दा सशक्त अङ्ग हो । सकारसँग शहर विकासको ठोस योजना छैन । नक्सा पास गराएरमात्र घर बनाउनुपर्छ भन्ने नियम छ । हाम्रा नगरपालिकाहरू घर बनिसकेपछि बोलाएर नक्सा पास गराउँछन् । खोलाको भाग कति हो भन्ने कुनै नापो छैन, जसले जति चेपे पनि हुन्छ । काठमाडौँ उपत्यकामा र पूर्व–पश्चिम राजमार्गमा विकसित भएका शहरहरू हेरे पुग्छ, खोलाहरू कति चेपिएका छन् ।

भक्तपुरको ठिमीबाट सल्लाघारी बीचको बस्तीमा दुई–तीन वर्षयता बर्खाको भेलले मच्चाउन थालेको आतङ्क दूरदर्शी राज्याधिकारीहरूका लागि पर्याप्त दृष्टान्त हो ।

अनि सरकारलाई गाली गर्ने हक प्राप्त हुन्छ नै ।

पैसा भएपछि सबथोक आउँछ; खाना, नाना र विलासितामात्रै होइन; इज्जतप्रतिष्ठा र शक्ति पनि किन्न पाइन्छ ।

पूर्व–पश्चिम फैलिएर गाउँगाउँमा बनेका सडकहरू बर्खाको भेल रोक्ने बाँध जस्ता भएका छन् । भेलको प्राकृतिक वहाव अवरुद्ध हुन थालेको छ । परिणामस्वरूप भित्री गाउँहरू पनि डुबानमा पर्न थालेका छन् । भेल निकासको उचित प्रबन्ध सोच्दै नसोचेको हो कि जस्तो लाग्छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाले यसपटक रौद्र रूप देखायो । माथि शिरतिर के भयो कुन्नि ! कतै खोलाको भित्तो गर्लम्मै ढलेर पानी थुन्यो र पछि फुट्यो कि ! अझ माथिको कुनै हिमताल नै पो फुट्यो कि ! यति धेरै त नरिसाउनुपर्ने ! बिस्तारै थाहा हुँदै जाला ।

केही वर्षयता बाढीपहिरो सिन्धुपाल्चोकको नियति बनेर खडा भएको छ ।

उहिले उर्वर भूमि मानिने खोला किनारहरू अहिले व्यापारिक क्षेत्र भएका छन् । खोला किनारहरूमा ठूला शहर बस्न थालेका छन् । खोलो जति चेपे पनि भयो, रोक्न कोही आँदैन । चिनजान र भनसुन लागिहाल्छ । घर बनाइसकेपछि अलिकति जरिवाना तिरेर नक्सा पास गराउँदा भइजान्छ । भएन भने अर्को एउटा उपाय पनि लाग्छ ।

आकाश र खोलो रिसाएपछि खोलासँग जति नै पुरानो भए पनि चिनजान काम लाग्दैन, भनसुनले पनि हुँदैन । अर्को उपाय त चल्दै चल्दैन । हाम्रा पूर्वजहरूले यो सत्य थाहा पाएका थिए । अलिक माथि भित्तामा घर बनाउँथे र खोलाफाँटमा खेती गर्थे । यसो गर्दा क्षति कम हुन्थ्यो, खाने अन्न पर्याप्त हुन्थ्यो । अहिले खोलाफाँटहरूमा धान फल्दैन, सिधै पैसा फल्छ ।

राज्यले त खोला किनारमा घर बनाउनेको दोष देखाएर खुच्चिङ गर्न बेर छैन । मेरो मनमा प्रश्न उठ्छराज्य किन खोलाले परम्परादेखि चर्चेको जमिन जोगाउँदैन ? देखिएकै छ नि, खोलाले मुद्दा हाल्दैन, सोझै दण्ड दिन्छ ।

 

पैसा भएपछि सबथोक आउँछ; खाना, नाना र विलासितामात्रै होइन; इज्जतप्रतिष्ठा र शक्ति पनि किन्न पाइन्छ ।

धेरै वर्षअघि कतै पढेको थिएँ, लेखकले हिन्दीको भनाइ भनेर लेखेका थिए– अन्तिम खोलो र अन्तिम रूख सुकेपछि तिमीसँग भएको पैसाले केही पनि किन्दैन ।

राजधानी काठमाडौँ शहरबाट भक्तपुर हुँदै बनेपातिर जाँदा सडकको दायाँ-बायाँका भित्ताहरू हेर्छु । पूर्वजहरूले बनाएका पुराना घर मौजुद छन् । फाँटका महलहरू त बीस–पच्चीस वर्षयता बनेका हुन् । यसरी मासिन थालेका फाँटहरू देशभरमा कति छन् कति ! मैले यहाँ थोरै दृष्टान्तमात्रै पेश गरेको हुँ ।

किन्नको लागि कहीँ न कहीँ कसै न कसैले उत्पादन गर्नै पर्छ । कोही न कोही हिलो र धुलोमा खेल्नै पर्छ । जमिन रहे न हुने हो उत्पादन !

मेलम्ची खोलाको उपद्रो यस वर्षको सबैभन्दा नयाँ घटना हो । बाढीले पुरेका अघिकांश घरहरू तस्वीरमा हेर्दा फेरि कहिल्यै काम नलाग्ने जस्ता देखिन्छन् । पानीमात्रै पसेको भए त त्यसले छोडेका दिन फर्किन हुन्थ्यो, लेदोले तलातलै छोपिदिएपछि के गर्नु र ! साँच्चै, सामान्य सोचाइभन्दा बढी क्षति भयो । पीडितहरूले ‘जिउभन्दा अर्थोक केही रहेन’ भनेको समाचार पढ्दा हृदय चिरिएको जस्तो अनुभूति भयो ।

राज्यले त खोला किनारमा घर बनाउनेको दोष देखाएर खुच्चिङ गर्न बेर छैन ।

मेरो मनमा प्रश्न उठ्छ– राज्य किन खोलाले परम्परादेखि चर्चेको जमिन जोगाउँदैन ? नगरपालिका के ठानेर नक्सा पास गर्छ ?

देखिएकै छ नि, खोलाले मुद्दा हाल्दैन, सोझै दण्ड दिन्छ ।

मेलम्ची खोलाको यो उपद्रोबाट हाम्रा सरकारहरूले के शिक्षा लिन्छन्, निकट भविष्यमा देखिँदै जाला । खोलाको दोष छैन, दोष तिनको पनि छैन जो पुस्तौदेखि वारिपारि बसेका थिए । दोष तिनको पनि छैन जसले खोलो चेपेर पिलरका महल बनाए । दोष तिनको छ जो खोलो चेपेर महल बन्दासम्म आँखा चिम्लेर, कानमा तेल हालेर बसे । दोषी राज्यका अङ्गहरू हुन् ।

कसले के गर्नु र ! दण्ड गर्ने ठाउँमा आफैँ बसेका छन् ।

अनि तिनलाई गाली नगरेर कसलाई गर्नु !

साँच्चै शिक्षा लिएछ भने खोलाकिनारमा सुरक्षित बस्ती विकासको नीति बनाउला, अझ एक कदम अघि बढेर कानून बनाउला र कडाइका साथ कार्यान्वयन गर्ला । खेतीको उर्वर जमिन जोगाउला । प्रदेश र स्थानीय सरकारहरूले पनि आआफ्ना अधिकार प्रयोग गर्लान् ।

होइन भने राज्यको अधिकार प्रयोग गर्नेहरूले यति राहत बाँढ्यौँ, नयाँ घर बनाउन यति पैसा दियौँ भन्दै भाका हालेर गीत गाउलान्, गाउलान् र गाइरहलान् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ०१ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न