भूमण्डलीकरणले नेपाललाई धेरै अवसर दिएको छ, नेपाली युवाहरू धेरै प्रतिभाशाली छन् « Khabarhub
Logo
११ माघ २०७८, मंगलबार

भूमण्डलीकरणले नेपाललाई धेरै अवसर दिएको छ, नेपाली युवाहरू धेरै प्रतिभाशाली छन्



नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वा जाभिय लेजे सन् २०१८ को सेप्टेम्बरमा नेपाल आएका हुन् । उनी नेपालमा आफ्नो कार्यकार पूरा गरेर अर्को जिम्मेवारीका लागि स्वदेश फर्कन लागेका छन् । उनले खबरहबका स्ट्राटेजिक एफेयर्स सम्पादक डा. प्रमोद जायसवालसँगको संवादमा नेपालमा आफ्नो आफ्नो बसाइ अत्यन्तै रोमाञ्चक रहेको र नेपाली जनजीवन बुझ्न पाएको बताए । नेपाली युवाहरू प्रतिभाशाली रहेको र उनीहरूले आफ्नो प्रतिभा चिन्नुपर्ने राजदूत लेजेको भनाइ छ । डा. जायसवालले राजदूत लेजेसँग नेपाल–फ्रान्स सम्बन्ध र अन्य समसामयिक विषयमा गरेको संवाद पाठकहरूसामु प्रस्तुत गरेका छौँ ।

बितेका वर्षहरूमा नेपाल र फ्रान्सबीचको सम्बन्ध कसरी विकसित भयो ?

सर्वप्रथम त यो निमन्त्रणाका लागि धन्यवाद ! आज आमन्त्रित हुन पाउँदा मैले गर्व महसुस गरेको छु । सबै श्रोता र दर्शकलाई शुभसन्ध्या भन्न चाहन्छु ।

म गएका तीन वर्षदेखि यहाँ छु । यहाँ मेरो कार्यकाल समाप्त हुँदैछ र यो कुरामा भाग्यमानी ठानेको छु कि फ्रान्स र नेपाल बीचको द्विपक्षीय सम्बन्धको ७०औँ वर्ष गाँठको समयमा म यही थिएँ । सम्बन्धका ७० वर्षको सम्झनामात्र होइन, यसलाई उत्सवको रूपमा मनाउनु र अर्को ७० वर्षका लागि मार्ग तय गर्नु यो ठूलो अवसर हो ।

विगतमा जे गरिए; त्यसको संग्रह गर्ने यो ठूलो अवसर थियो र द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पक्षबाट जोड दिनुपर्ने थुप्रै कुरा थिए; खास गरी पर्वतारोहणको क्षेत्रमा; उदाहरणका लागि, आर्थिक क्षेत्रमा र जनशक्ति आदान प्रदानका सम्बन्धमा ।

फ्रान्स र नेपालले थुप्रै समानताहरू साझा गरेको तथ्यमा सबैलाई आकर्षित गर्ने यो एउटा राम्रो अवसर पनि थियो । हामी उही मूल्य अङ्गीकार गर्छौं; प्रजातन्त्र, मानव अधिकार र बहुपक्षवादमा विश्वास गर्छौं जुन द्वन्द्वपछिको शान्तिपूर्ण समाधान हो ।

यस कारण, अन्तर्राष्ट्रिय स्तरमा हामी थुप्रै कुरा अङ्गीकार गर्छौँ र हामी धेरै कुरा सहयोग गर्छौं । यसरी यो वार्षिकोत्सवले हामीलाई यो कुरा प्रकाश गर्न र अघि बढेर सहयोगका नयाँ अवसरहरू सिर्जना गर्ने अवसर प्रदान गरेको थियो ।

दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० वर्षलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

फ्रान्स र नेपाल ती समानताका बारे धेरै सचेत हुन सक्छन् र धेरै द्विपक्षीय वार्ताको विकास गर्न सक्छन् । तीन वर्षअघि हामीले द्विपक्षीय संवैधानिक संयन्त्रलाई विदेश मन्त्रालय, विदेश सचिव र सहसचिवको स्तरमा संस्थागत गरेका थियौँ । त्यसैले अहिले, हाम्रो वार्षिक रूपमा परामर्श भइरहेको छ, म भन्न सक्छु कि यो पर्याप्त थियो र धेरै रोमाञ्चक पनि ।

मैले आर्थिक सम्बन्धको क्षेत्रमा पनि महसुस गरेको छु कि व्यापार विस्तार हुन्छ र धेरै फ्रेन्च कम्पनीहरू नेपालमा इच्छुक हुन्छन् । नेपालमा व्यवसायको अवसर हेर्न र नेपाली व्यवसायीहरूसँग कुरा गर्न आउनेछन्, यहाँ केही व्यवसाय गर्ने प्रयास गर्नेछन् । फ्रेन्च र नेपाली निजी क्षेत्रलाई पारस्परिक फाइदाजनक हुनसक्छ ।

मेरो केही फ्रेन्च कम्पनीसँग सम्बन्ध छ र यो धेरै उत्साहप्रद पनि । भविष्यमा यसो हुनेमा म विश्वस्त छु । नेपालको राजनीतिक स्थायित्व र सरकारको लगानीमैत्री अवस्थाका लागि धन्यवाद दिनै पर्छ । हामी भविष्यमा थप विकास गर्ने गरी व्यवस्थापन गर्नेछौँ ।

जी सेभेनको प्रमुख सदस्य फ्रान्स संसारको दश ठूलो अर्थतन्त्र भएका देशमध्ये एक हो, सधैँ अन्तर्राष्ट्रिय अर्थतन्त्रको सक्रिय पनि छ । यो सन्दर्भमा, कसरी नेपाल र फ्रान्सले आर्थिक साझेदारी अगाडि बढाउने छन् ?

युरोपेली युनियनका सदस्य अन्य राष्ट्रजस्तै फ्रान्स पनि नेपालमा औद्योगिक विकास र आर्थिक समन्वयका लागि सहयोग गर्न तयार रहेको छ । नेपालको विकासका लागि केही रणनीतिक र महत्वपूर्ण क्षेत्र; खास गरेर भौतिक संरचना, दूरसञ्चार र प्रविधि जसले काठमाडौँ र ग्रामीण भेगको बीचको डिजिटल खाडल पुर्न सक्छ, यस्ता कुरामा सहयोग हुने छ ।

यी सबै फ्रान्सेली प्रविधिले पक्कै पनि यो देशको विकासमा धेरै गर्न सहयोग गर्नेछ । मलाई लाग्छ, कोभिडको समयबाहेक नेपालको आर्थिक वृद्धिदर उच्च, ६ देखि ७ प्रतिशत,  छ । नेपालका मुख्य नेतृत्वदायी कम्पनी तथा समूहहरू धेरै सक्रिय छन् । ती कम्पनी तथा समूहहरूले फ्रान्ससँग सम्बन्ध बढाउन सक्छन् ।

मलाई लाग्छ, यदि धेरै कम्पनी र प्राइभेट सेक्टरले एक आपसलाई राम्रोसँग बुझ्ने हो भने यसले व्यवसायी सम्बन्धको विकास गर्न धेरै अवसर प्राप्त हुनेछ ।

पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । यसैले नेपाल र फ्रान्स नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन गर्न कसरी सहकार्य गर्न सक्छन् ?

साधरणतया ३० हजारभन्दा बढी पर्यटक नेपाल आइरहेका छन् । यसका पछाडि महत्वपूर्ण कुरा के हो भने यथार्थमै फ्रान्स र नेपालले आर्थिक गतिविधि र विकासमा पर्यटनको भूमिकामा बढी महत्व दिनुपर्छ ।

जुन समय नेपाल वार्षिक २० लाख पर्यटकको लक्ष्य राखेको थियो, फ्रान्समा हामीले वार्षिक १० करोड पर्यटकको लक्ष्य राखेका थियौँ । यस कारण, हामी दुवैको हकमा यो सत्य हो कि रणनीतिक क्षेत्रले अझ बढी समन्वय, पर्यटनका लागि छलफल, विशेष गरी धेरै व्यापारिक तरिकाले गर्न हामीलाई सँगै ल्याउन सक्छन् ।

दुवै देशका बीचमा कसरी पर्यटन विविधताको विकास कसरी गर्न सकिन्छ, कसरी धेरै पर्यटक ल्याउन सकिन्छ, अघि बढ्नमा के के बाधा आइलाग्छन्, कुन खालको समस्या र गल्तीबाट टाढा हुन सक्छौँ, जलवायु परिवर्तन र यसले पर्यटनमा पार्ने प्रभाव कसरी सामना गर्ने भनेर छलफल हुन सक्छ ।

फ्रेन्च एल्प्सका लागि यो धेरै महत्वपूर्ण छ । यसरी, पर्यटकीय वातावरणको कसरी हेरविचार गर्ने भन्नेमा केन्द्रित हुन सक्छौँ ।

मलाई लाग्छ, यस्ता पक्षहरूमा हामीले धेरै छलफल गर्नुपर्छ । हरेक समय जब मैले नेपालमा पर्यटन क्षेत्रका पेसाकर्मीहरूसँग भेटेँ, चाहे त्यो पर्यटन मन्त्रालय वा नेपाल पर्यटन बोर्ड होस्, मैले उहाँहरूलाई फ्रान्स भ्रमण गर्न निम्ता गरेँ, उहाँहरूको समकक्षीसँग कुरा गर्न र उनीहरूले के गरेका छन् हेर्न । यसबाट नेपालमा पर्यटन विकास गर्न केही प्रेरणा पाउनु हुनेछ ।

यसका लागि सधैँ ढोका खुला छ र यसले साकार रूप लिने सम्भावना पनि छ ।

महामहिम ! तपाईंले ध्यान दिएअनुसार, नेपालमा फ्रान्सका राष्ट्रपतिको भ्रमण १९८३ मा भएको थियो । त्यसपछि नेपालसँगै जोडिएको भारतमा सात पटक भ्रमण भइसक्यो । फ्रान्सको विदेश नीतिमा नेपाल कहाँ रहेको छ ? तपाईंले निकट भविष्यमा उच्च तहको भ्रमणको अपेक्षा गर्नुभएको छ ?

यो धेरै राम्रो प्रश्न हो, तपाईंलाई धेरै धन्यवाद । हो, नेपालमा १९८३ मा अन्तिम पटक फ्रेन्च राष्ट्रपतिको भ्रमण भएको थियो । यदि तपाईंले त्यो भ्रमणको उपलब्धि हेर्नुभयो भने त्यो रोमाञ्चक र महत्वपूर्ण थियो । त्यो समयमा थुप्रै सम्झौतामा हस्ताक्षर भएका थिए । उदाहरणको लागि, संस्कृति र प्राविधिक समन्वयको क्षेत्रमा लगानी सुरक्षित गर्ने र विकास गर्ने थियो ।

यसकारण त्यस भ्रमणपछिका थुप्रै परियोजना देख्न सकिन्छ । यसैले फ्रान्सका लागि केही क्षेत्रमा नेपाल महत्वपूर्ण हो; उदाहरणका संयुक्त राष्ट्र संघको पिस किपिङ अपरेसनमा नेपाल दोस्रो सहयोगी देश भएपछिको केही सातामा नेपाली सञ्चारमा यो कुरा उल्लेख भएको थियो ।

विभिन्न चुनौतीमा संसारको विभिन्न भागमा, धेरै डरलाग्दो ठाउँमा पनि नेपाली सेना र फ्रान्सेली सेना कुममा कुम मिलाएर उभिएका छन् ।

नेपाल र फ्रान्स बहुपक्षवादको एउटै मान्यता अङ्गीकार गर्छौं, यसको यो बलियो उदाहरण बनेको छ । यसकारण हामीले राजनीतिक संवादलाई विकास गर्नुपर्छ । मेरो तर्फबाट उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणका लागि वकालत गरिरहेको छु ।

दुर्भाग्यवश, कोभिड–१९ संकटका कारण ७०औँ वर्षगाँठमा यो सम्भव भएन र यसको नतिजा स्वरूप मैले मेरो आकांक्षा त्यागेँ । म विश्वस्त छु, परिस्थिति सहज भएपछि केही फ्रान्सेली अधिकारीबाट नेपाल भ्रमण हुनेछ ।

फ्रान्सले कोभिड१९ महामारीको कसरी सामना गरिरहेको छ ? फ्रान्सले नेपाललाई यो महामारीसँग लड्न कसरी सहयोग गर्न सक्छ ?

पहिलो कुरा, सबै देश र सबै सरकारका लागि यो महामारी पहिलो हो । यसकारण महामारीको सामना यसरी गर्ने भनेर कुनै देशले कसैलाई पनि शिक्षा दिन सक्दैन । फ्रान्समा योसँग लड्न हामीले सम्भव भएसम्म उत्कृष्ट प्रयास गरेका हौँ । फ्रान्स पहिलो, दोस्रो र तेस्रो लहरपछि चौथो लहरमा प्रवेश गरिरहेको छ । मैले आज बिहानमात्र डाटा हेर्दा ३० हजार नयाँ संक्रमित थपिएका छन् । यो ठूलो संख्या हो ।

यसकारण हामी सामाजिक दूरी, रोग लाग्न नदिने उपाय, रोगीलाई उपचार र भ्याक्सिनेसनका विषयमा हाम्रो तर्फबाट उत्कृष्ट गरिरहेका छौँ यद्यपि यो त्यति सहज होइन । हामीले हाम्रो तर्फबाट उत्कृष्ट गरे पनि धेरै फ्रान्सेली नागरिक चौथो लहरबाट प्रभावित छन् ।

नेपाललाई सहयोग गर्ने विषयमा कोभ्याक्स सुविधाको फ्रान्स एउटा संस्थापक सदस्य हो । यसरी हामीले संसारभर वितरण गर्ने भ्याक्सिन कोभ्याक्समार्फत कमन बास्केटको रूपमा एउटा च्यानल बनाएका छौँ ।

यस आधारमा भन्दा हामीले प्रष्ट द्विपक्षीय बाटोमा केही गरेका छैनौँ । अगस्टको अन्त्य तथा सेप्टेम्बरको शुरूवातसम्म कोभ्याक्समा सुविधाका थप भ्याक्सिनका डोज नेपाल आइपुग्नेछ ।

तपाईं अमेरिका, जापानजस्ता देशका बारे पनि जानकार हुनुहुन्छ, जसले जुलाई महिनामा नै कोभ्याक्स सुविधा अन्तर्गत भ्याक्सिन उपलब्ध गराए । हामीले अहिले यसरी नै गरिरहेका छौँ ।

हामीले नेपालमा जुन महिनामा नै औषधि, स्वास्थ्य सामग्री, र उपकरण गरी सात टन सामग्री नेपालमा ल्याएका थियौँ । निकट भविष्यमा काठमाडौँ मात्र होइन, प्रदेशलाई समेत अक्सिजन प्लान्टका केही पार्टपूर्जा र किटहरू ल्याउँदै छौँ । आगामी साता या महिना तेस्रो लहर आएर अस्पतालमा अक्सिजन अभावका कारण आउने समस्यामा यसले सहयोग गर्ने कुरामा मलाई विश्वास छ ।

गएका वर्षहरूमा नेपाली विद्यार्थीका लागि फ्रान्स प्राथमिकताको गन्तव्य थियो । तपाईं पहिलो पटक फ्रान्स पुग्ने नेपाली विद्यार्थीका सामु कस्तो चुनौती देख्नुहुन्छ ? फ्रान्समा अध्ययन गर्ने योजना बनाएर अघि बढेका विद्यार्थीलाई तपाईं के सुझाव दिनुहुन्छ ?

सर्वप्रथम त नेपाली विद्यार्थीहरू कुनै विशेष क्षेत्रमा अध्ययनका फ्रान्स आउँछन् । विशेष गरेर व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, हस्पिटालिटी, खाद्य विज्ञान, साहित्य र विज्ञान पनि ।

धेरैजसो विद्यार्थीहरूले फ्रान्समा महँगो जीवन सामना गर्नुपर्छ । फ्रान्सको महँगो जीवन देखेर उनीहरू केही अचम्मित पनि हुन्छन् । यस कारण फ्रान्स जान चाहने नेपाली विद्यार्थीहरूलाई के सल्लाह दिन चाहन्छु भने पहिला सावधान बनौँ र आफूसँग बसोबास खाना र शुल्क लगायत दैनिक खर्चका लागि मनग्ये पैसा छ भन्ने पक्क गरौँ ।

अन्यथा, उनीहरूले कठिनाइ भोग्न सक्छन् । केही विद्यार्थीहरूले कुनै रेस्टुरेन्टमा काम गर्ने योजना बनाएका हुन्छन्, त्यो त्यति सहज छैन । यसले केही सहयोग गर्न सक्छ तर कमसेकम उनीहरूले प्रत्येक दिन खर्च गर्न पैसा छ भन्ने पक्का गर्न आफ्नै खर्चको हिसाब गर्नुपर्छ ।

अर्को कुरा भाषा हो । पक्कै पनि फ्रान्स जानु भन्दा पहिले नै फ्रेन्च सिक्नु राम्रो हुनेछ । म के तथ्य कुरा उठाउन चाहन्छु भने यहाँ काठमाडौँमा कुनै फ्रेन्च निकायसँग गठबन्धन छ जसले फ्रेन्च भाषाको ज्ञान उपलब्ध गराउन सक्छ । कोभिडका कारण तिनीहरूले अनलाइनबाटै कक्षा सञ्चालन गरेका छन् । तिनीहरू प्रभावकारी छन् र सहयोग गर्नुका साथै फ्रान्स जान चाहने नेपाली विद्यार्थीलाई केही प्रारम्भिक ज्ञान दिन्छन् ।

महामहिम ! नेपालमा तीन वर्षका बिताएपछि यहाँ बसाइको क्रममा तपाईंका केही अविस्मरणीय क्षण होलान् । तपाईं राजदूतको कार्यकालका आफ्ना ती अनुभवहरू सुनाउनुहुन्छ ?

हो, वास्तवमा नेपालमा मेरा साँच्चै मन पर्ने स्मरणहरू छन् । पहिलो, म नेपाल आएर राष्ट्रपतिका सामु ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपति निवाससम्म पुग्न हामी घोडाको रथमा गयौँ । मेरा लागि यो साँच्चै आश्चर्यजनक र अचम्मको अनुभव थियो ।

अर्को एउटा छुट्टै अनुभव छ, गत वर्षको फेब्रुअरीमा भिजिट नेपाल, २०२० ले आयोजना गरेको कार्यक्रममा म गोक्यो ताल पुगेको थिएँ । गोक्यो तालमा आइस स्केटरमा सहभागी भएको थिएँ र त्यो महोत्सव पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको थियो । समग्र अनुभव छक्क पर्दो र आश्चर्यजनक थियो ।

अर्को, प्रधानमन्त्री केपी ओलीको फ्रान्स भ्रमणको समयमा पनि हो । फ्रान्स भ्रमणको क्रममा उहाँले फ्रेन्च प्रधानमन्त्री एडुवार्ड फिलिपलाई भेट्नुभएको थियो, त्यो भेट समारोहमा म पनि थिएँ । हामीले बिताएको त्यहाँको समयका केही मन पर्ने स्मरणहरू छन् र मैले साँच्चै त्यो भ्रमणको मजा लिएँ ।

त्यो राष्ट्रिय स्तरको भ्रमण थियो, २००१ पछि पहिलो पटक नेपाली प्रधानमन्त्रीको भ्रमण । र, अन्त्यमा तर कम चाहिँ होइन; मेरो व्यक्तिगत तवरका केही, काठमाडौँ उपत्यका र उपत्यका वरपर भ्रमण गरेँ र केही साइक्लिङ पनि गरेँ । मैले त्यहाँ कसरी मानिसहरूले दैनिक जीवन बिताइरहेका छन् भनेर हेर्न पाएँ र दैनिक रूपमा काठमाडौँको प्रकृति र दृश्यहरूको अवलोकन गरेँ ।

समग्रमा मेरा लागि यो साँच्चै ठूलो अनुभव थियो ।

छुट्टिनुअघि, नेपाली जनताका लागि तपाईंका केही सन्देश छन् ? बिदा भइरहेको राजदूतको रूपमा नयाँ राजदूतलाई केही छाड्न चाहनुहुन्छ ?

नेपाली जनतालाई म धन्यवाद भन्न चाहन्छु । तीन वर्षमा न्यानो स्वागत र आतिथ्यका लागि म कृतज्ञता व्यक्त गर्दछु । तीन वर्षमा मैले नेपाली जनताको गुणस्तर र प्रतिभा महसुस गर्न पाए । मैले उनीहरू लचिलो, सधैँ सकारात्मक सोचाइ राख्दै दुःखको समयमा पनि बलियो हुने गरेको पाएँ । यो कुरा मेरा लागि शिक्षा हो ।

मलाई विश्वास छ, फ्रेन्च नागरिकले नेपालीबाट सिक्नु पर्ने विषय पनि हो ।

मलाई थाहा छ, केही विद्यार्थी बिहान ६ बजेदेखि नौ बजेसम्म पढेर ट्युसन फीका लागि काममा जान्छन्, जुन साँच्चै महान् हो । भूमण्डलीकरण र विश्वव्यापी अर्थतन्त्रका कारण उनीहरूसँग धेरै प्रतिभा छ । यहाँका युवाहरू साँच्चै स्मार्ट र प्रतिभाशाली छन् । उनीहरू सधैँ सकारात्मक रहनुपर्छ र उनीहरूमा प्रशस्त प्रतिभा रहेको कुरा स्वीकार गर्नुपर्छ ।

मेरा उत्तराधिकारीका लागि केही सिफारिस गर्नु मेरा लागि साँच्चै कठिन हो । जे होस्, म उहाँलाई यहाँ आएर सकारात्मक हुन, यहाँका मानिसहरूलाई भेट्न, सडकमा हिँड्न र सडकका व्यक्तिहरूसँग कुरा गर्न भन्न चाहन्छु ।

मानिसहरू कसरी बाँचेका छन् भन्ने महसुस गर्न काठमाडौँ छाडेर प्रदेश जाऔँ । यहाँका मान्छेको संस्कृति र उनीहरूको बाँच्ने तरिकाका साथै सामाजिक जटिलता गहिरोसँग बुझ्ने प्रयास गरौँ, जुन धेरै चाखलाग्दा छन् ।

मलाई लाग्छ, संस्कृति, धर्म, परम्पराको सवालमा मात्र होइन, विश्वव्यापी संक्रमणको सवालमा पनि नेपाल र नेपालीबाट धेरै कुरा सिक्न सक्छौँ । म यही भन्नेछु ।


भर्खर

0