मिथिलाञ्चलमा राखी पर्वको रौनक- बज्न थाले माङ्गलिक धुन | Khabarhub Khabarhub

मिथिलाञ्चलमा राखी पर्वको रौनक- बज्न थाले माङ्गलिक धुन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ ।मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रष्ठिान हउन कि चलचित्र घर..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका छन् । चारैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ ।

मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक धुन गुञ्जिरहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै राखीको तयारीसँग सम्बन्धित हुने गरेको छ ।

“दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”,सीतापुर (भङ्गाहा–५) बजारमा भेटिएकी २२ वर्षीया हेमकला महतोले भने, “म त रमाइलो मनाउन माइत आइसकेँ ।” बर्दिवास नगरपालिका–७ प्रेमनगर माइतघर भएकी उनले भारतको मद्रासमा रहेको भाइलाई पर्वमा आउन निम्ता गरिसकेको जानकारी दिए । विवाह भएर गएका चेली (दिदीबहिनी)हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइकहाँ छन् ? पत्ता लगाएर राखी बाँध्न आउने निम्ता दिन अहिले व्यस्त छन् । गत वर्ष र यसपालि पनि कोभिड–१९ महामारीले आवागमन सहज नहुँदा टाढाबाट दाजुभाइले घर पुग्न नसकिने बताउँदा मन कुँडिने गरेको उनको गुनासो छ ।

यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिनमा तल्लिन रहेका देखिँदो छ । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न बर्दिवासबजार पुगेकी बर्दिबास–१२ की बिन्दु कुशवाहाको भनाइ छ । यही आउने भदौ ६ गते आइतबारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ ।

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्व यो क्षेत्रको सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल ह्वात्तै बढेको बर्दिवासस्थित जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमा घरहरुले पर्व विशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिनपहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सद मिलाउन लागेका देखिँदो छ । घरबाट काम विशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् । “दाजु राखी पर्वका लागि पञ्जावबाट आउने कुरा निश्चित भयो बर्दिवास–९ पशुपतिनगरकी १७ वर्षीया किशोरी पविता रामले प्रशन्न भावमा भने, “अब राखी किन्ने छु ।”

पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिँदा छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ । पर्वका लागि अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुर बजारमा राखी बिक्री गर्दै आएका रामप्रताप साहले बताए ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका कथन छ । सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे/भए पनि दिदी बहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको जलेश्वर नगरपालिका सुगाभवानीपट्टीका ८६ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ ।

पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यस पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन पर्वको तयारीमा लागिपरेका छन् ।

पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर राखी बाँध्ने चलन बढ्न थालेको छ । यस पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको रामगोपालपुर नगरपालिकाको बिसबिट्टी बस्तीका सामाजिक एवं राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी ५० वर्षीय कादिर हुसैन बताउँछन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ५१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन