‘पानीफोटो’ मा आफूलाई हेर्न व्यग्र मलिका | Khabarhub Khabarhub

‘पानीफोटो’ मा आफूलाई हेर्न व्यग्र मलिका


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–

फूलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको
कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो

गायक मार्मिक लामाको यो गीत यति बेला खुबै रुचाइएको छ । बाह्र वर्षअघि सार्वजनिक भएको यो गीतको शब्द र सङ्गीत रजनराज शिवाकोटीको हो ।

टिकटक प्रयोगकर्ताले यो गीतको सानो क्लिपमा भिडियो बनाउन थालेपछि गीत अचानक चर्चामा आएको हो । टिकटकमा हिट भएपछि मार्मिकले यसलाई परिर्माजनसहित पुनः रेकर्ड गराएका थिए । यो पनि उत्तिकै रुचाइयो ।

मार्मिकको गीत लोकप्रिय भएपछि मिलन नेवारको स्वरमा यसको फिमेल भर्सन पनि तयार पारियो । गीतको भिडियोमा कलाकार पल शाह र मलिका महत छन् । फिमेल भर्सन पनि रुचाइएको छ ।

गीतको भिडियो सार्वजनिक भएको १८ दिनमै एक करोड भ्युज पुग्यो । नेपालमा प्रायः म्युजिक भिडियोलाई एक करोड भ्युज पाउन महिनौँ लाग्छ । धेरै गीत त करोड क्लबमा पुग्दै पुग्दैनन् ।

गीतको फिमेल भर्सन रिलिज हुनासाथ भाइरल भयो । गीत हिट भएपछि म्युजिक भिडियोमा लजालु युवती बनेर अभिनय गरेकी मलिका महतको चर्चा पनि एकाएक चुलियो ।

मुसुक्क हाँस्ने र कम बोल्ने मलिका यो गीत हिट भएपछि मख्ख छिन् । उनलाई गीत हिट हुन्छ भन्ने लागेको थियो तर सोचेभन्दा बढी नै भयो ।

पल र मलिकाको ‘रिल जोडी’ लाई दर्शकले खुब रुचाएका छन् । मलिका भन्छिन्, ‘यो गीत हिट हुन्छ भन्ने त लागेको थियो तर यति धेरै होला भन्ने सोचेकी थिइनँ ।’

भिडियोका लागि निर्माण टिमले पर्यटकीय स्थल कालिञ्चोक रोजेको थियो, जहाँ हिउँदमा निकै चिसो हुन्छ । कालिञ्चोकको मुटु छुने चिसोमा मलिकालाई गर्मीको आउटफिटमा ‘फूलबुट्टे सारी’ को भिडियोमा अभिनय गर्न सजिलो थिएन । हातखुट्टा कठ्याङ्ग्रिएका थिए । ओठमुख पनि नचलेको जस्तो लागिरहेको थियो ।

‘यो गीत त हिट थियो नै, भिडियो पनि राम्रो बनोस् भन्नेमा म होसियार थिएँ,’ मलिका भन्छिन्, ‘शूटिङका बेला मेरो आउटफिट गर्मीमा लगाउने खालको थियो, चिसोले गर्दा हातमुख राम्रोसँग चलाउन पनि मिलेको थिएन ।’

‘फूलबुट्टे सारी’ को एक दृश्यमा मलिका महत ।

त्यतिबेला राम्रो अभिनय गरिनँ कि भन्ने लागेको भए पनि पछि मलिका ढुक्क भइन् । ‘चिसोले कठ्याङ्ग्रिएर अनुहारमा फिल ल्याउन सकिनँ कि भन्ने डर लागेको थियो, पछि भिडियो हेरेपछि राम्रै गरेछु भन्ने लाग्यो,’ उनी भन्छिन् । भिडियो रिलिज भएपछिको चर्चा र प्राप्त प्रतिक्रियाबाट उनी खुसी छिन् ।

मलिकालाई ‘फूलबुट्टे सारी’ रिलिजपछि सबै कुरा एकदमै छिटो भयो कि झैँ लाग्छ । यति छिटो यति धेरै प्रतिक्रिया आउला भन्ने नलागेको उनी बताउँछिन् । यो भिडियोले आफूलाई धेरै दर्शकमाझ चिनायो भन्ने उनलाई लागेको छ ।

मलिकालाई आफू अन्तर्मुखी स्वभावकी छु भन्ने लाग्छ । उनी भन्छिन्, ‘शुरूमा नयाँ मानिससँग बोल्न अप्ठेरो लाग्छ । यो स्वभावलाई कतिले मेरो घमण्ड समेत भन्छन् ।’

मलिकाले अभिनय गरेको एउटा फिल्म ‘यात्रा’ प्रदर्शनमा आएको छ । यो फिल्ममा मलिकालाई एक दृष्टिविहीन युवतीको भूमिकामा देख्न सकिन्छ । उक्त भूमिकाका लागि उनले केही दिन आँखा चिम्लेर अभिनय अभ्यास गरेकी थिइन् ।

फिल्म टिमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई ‘यात्रा’ फिल्ममा प्रस्ताव गरेको मलिका बताउँछिन् । शुरूमा त उनलाई विश्वास नै लागेन । उनी भन्छिन्, ‘मलाई विश्वास त लागेको थिएन तर सबै सम्पर्क नम्बर दिइएको थियो, त्यसपछि फोन गरेँ, उहाँहरूले अडिसनमा बोलाउनुभयो ।’

मलिका फिल्ममा अनुबन्ध भइन् । उनलाई अभिनय कस्तो गर्न सकूँला भन्ने चिन्ता हुन थाल्यो । उनी भन्छिन्, ‘पहिलो दिन नै सलोन (बस्नेत) दाइले मलाई हात समाएर आँखा चिम्लेर गाइड गर्नुभयो, त्यसपछि चाहिँ मलाई क्यारेक्टरमा डुब्न सहज भयो ।’

फिल्ममा सलोन बस्नेत र मलिका मिल्ने साथीको भूमिकामा छन् । शूटिङका क्रममा पनि सलोन उस्तै सहयोगी पाएको मलिका बताउँछिन् । समूहका सबै सदस्य सहयोगी र मिलनसार थिए ।

आफ्नो पहिलो फिल्म भएकाले पनि हुनसक्छ, मलिकालाई ‘यात्रा’ फिल्मको यात्रा खुबै रमाइलो लाग्छ । छायांकनका लागि निर्माण टिम सोलुखुम्बु पुगेको थियो । उनी भन्छिन्, ‘यो फिल्ममा काम गर्दाको अनुभव शब्दमा बयान नै गर्न सक्दिनँ, पहिलो फिल्म भएर पो हो कि ! यो फिल्म गर्दाको अनुभव निकै महत्वपूर्ण छ ।’

भलै, यो फिल्म मलिकाले सोचेअनुसार चलेन तर उनलाई प्लेटफर्म दियो । यो फिल्मपछि उनलाई म्युजिक भिडियो र अन्य फिल्मबाट अफर आउन थालेको छ । ‘यात्रा’ पछि मलिकाले खगेन्द्र लामिछाने निर्देशक रहेको फिल्म ‘पानीफोटो’ मा अभिनय गरेकी छिन् । यसको शूटिङ हालै सकिएको छ ।

छायांकनका लागि मलिका काठमाडौंबाट स्याङ्जा पुगिन् । यो फिल्ममा काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको मलिका बताउँछिन् ।

‘खगेन्द्र (लामिछाने) दाइसँग काम गर्ने इच्छा थियो, उहाँको सिम्पल लिभिङ हाइ थिङ्किङ व्यक्तित्व मलाई मन परेको थियो, भेट्दा पनि उहाँ त्यस्तै लाग्यो,’ मलिका भन्छिन्, ‘यो फिल्मको काम योजनाअनुसार भएको थियो, फ्लोरमा जानुअघि सबै तयारी भएको थियो ।

योजनाबद्धरूपमा गरिएको कामले मलाई धेरै प्रभाव पार्‍यो ।’

अडिसन दिएर फिल्ममा अनुबन्ध भएको दुई दिनमै छायांकनका लागि स्याङ्जा जानुपर्ने थियो । फिल्ममा स्याङ्जाली लवजमा बोल्नुपर्ने थियो । खबरहबसँग मलिकाले भनिन्, ‘स्याङ्जाको लबजले शुरूमा थोरै असहज भएको थियो, पछि सजिलो भयो ।’

मलिकाका अनुसार फिल्मको सेटमै अडियो पनि डबिङ गर्नुपर्ने थियो । फिल्मको भाषामा यसलाई ‘सिङ्क साउण्ड’ भन्छन् । यसकारण पनि लवजमा बढी ध्यान दिनुपर्ने थियो । धेरैजसोमा पहिले फिल्म खिचिन्छ र पछि डबिङ गरेर आवाज मिलाइन्छ ।

‘पानीफोटो’ मा काम गर्दा प्रत्यक्ष र अप्रत्यक्षरूपमा धेरै कुरा सिक्ने मौका पाएको मलिका बताउँछिन् । उनी यो फिल्मबाट धेरै आशावादी छिन् । उनलाई चाँडै आफ्नो अभिनय हेर्न मन छ । अहिले उनलाई केही फिल्मबाट प्रस्ताव आएको छ । मलिका भन्छिन्, ‘फिल्म होस् कि म्युजिक भिडियो, मलाई मन परेमात्र अभिनय गर्छु ।’

मलिका अभिनयका लागि अभिनयभन्दा पनि राम्रो काम देखाउने कुरामा ध्यान दिन्छिन् । यसैअनुसार आफूले निर्णय गर्ने गरेको उनको भनाइ छ ।

मल्टिमिडिया:

तस्वीरहरू– अर्घेलो थापा/आर्यन बिमली ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : २८ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्