कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार « Khabarhub
Logo
१६ मंसिर २०७८, बिहीबार

कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार



कांग्रेसमा को–को बन्लान सभापतिको उम्मेद्वार
उम्मेद्वारी दिन प्रदेशको मत कुर्दै देउवा र पौडेल
देउवा र पौडेलले दोस्रो पुस्तालाई अवसर देलान् ?
जित्नै पर्ने दबाबमा देउवा र पौडेल

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति आउन अब तीन साता मात्रै बाँकी छ । त्यो मितिमा पनि महाधिवेशन हुन्छ वा हुन्न भन्ने दोधार अझै हट्न सकेको छैन ।

गत आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन तयारी गर्न विभिन्न समितिका संयोजक निर्धाण गरेपछि निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना प्रति कार्यकर्तामा विश्वास बढेको देखिन्छ । तर महाधिवेशन अघि सम्पन्न गर्नुपर्ने कार्यसूचि अझै धेरै छन् ।

कांग्रेस महाधिवेशनको अबको मुख्य मुख्य खुड्किलो भनेको मंसिर ३ गतेलाई तय गरिएको प्रदेश क्षेत्रीय अधिवेशन हो । त्यो खुडिकलो पार भयो भने अधिवेशनको पूर्वतयारी सम्बन्धि विवादहरू खासै बाँकी रहँदैनन् ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ६ गतेलाई तय गरिएको छ । महाधिवेशन प्रतिनिधि चयन गर्ने भनेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले हो । महाधिवेशन प्रतिनिधि चयनको काम सम्पन्न भएपछि बाँकी भनेका प्राविधिक तथा व्यवस्थापकीय काम मात्रै हुन् । यस्ता काम गर्दा विवादको सम्भावना रहन्न ।

मंसिर ४ गतेदेखि १८ गतेसम्म करिव दुई साताको समय नेपाली कांग्रेसको राजनीति ज्यादै रोचक ढंगबाट अघि बढ्नेछ । सभापतिका उमेद्वार को–को बन्छन् ? सभापतिका उमेद्वारमध्ये कति जनाले पुरै टिम निर्माण गर्न सक्छन् ?

कसको टिममा को–को रहन्छन् ? परम्परागत गुट तथा उपगुट जीवित रहन्छन् कि भत्कन्छन् ? भन्ने प्रश्नको छिनोफानो यही दुई साताको अवधीमा हुन्छ ।

मंसिर ४ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनको परिणाम आइसक्छ । यसैगरी मंसिर १८ गते बेलुकासम्ममा प्रदेश अधिवेशनको परिणाम पनि आइसक्छ । सभापतिका उमेद्वारमध्ये कसको हैसियत कति छ ? भन्ने प्रारम्भिक टुंगो प्रदेश अधिवेशन पछि करिब करिब लाग्न सक्छ ।

हुन त प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिहरू फरक फरक हुन् । तर कुन प्यानलले कुन प्रदेशमा कति मत प्राप्त गर्‍यो ? भन्ने विश्लेषण गरेर सहजै पूर्वानुमान लगाउन सकिन्छ ।

महाधिवेशनमा कति प्यानल खडा होलान ? भन्ने अनुमान पनि प्रदेश अधिवेशनका क्रममा गर्न सकिन्छ । प्रदेश अधिवेशनमा प्यानलसहित उमेद्वार खडा गर्न केन्द्रीय सभापति पदका कुन कुन दावेदारले सक्लान ? भन्ने प्रश्न पनि कम महत्वपूर्ण छैन । तर जसरी तल्ला अधिवेशनहरूमा विभिन्न समुह उपसमुहबीच तालमेल गरियो, त्यसरी नै प्रदेश अधिवेशनमा पनि तालमेल गरिने सम्भावना नभएको होइन ।

काठमाडौँ जिल्लाका वडा अधिवेशनमा सिटौला समूहका दुई जना हस्ती गगन थापा र भीमसेनदास प्रधानले अपनाएको राणनीतिलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।

भीमसेनदासले आफ्नो निर्वाचन क्षेत्रभित्रका वडामा देउवा प्यानलसँग समीकरण बनाएर उल्लेख्य उपलव्धी हासिल गरे । गगन थापाले आफ्नो निर्वाचन क्षेत्रभित्रका वडाहरूमा प्रकाशमान सिंहको प्यानलसँग समीकरण बनाएर उल्लेख्य उपलव्धी हासिल गरे । यो रणनीति नअपनाएको भए प्रधान र थापा आँफैलाई पनि महाधिवेशन प्रतिनिधि जित्न धौ धौ पर्नसक्थ्यो होला ।

आ–आफ्नो अनुकुलको समीकरण बनाएर थप दुई चार जना महाधिवेशन प्रतिनिधि ल्याउन दुवै जना सफल भएका छन् । काडमाडौँ जिल्लामा मात्रै होइन आफ्नो अस्तित्व भएका प्रायः सबै जिल्लामा यस्तै रणनीति अपनाएर सिटौला समूहले डेढ–दुई सय महाधिवेशन प्रतिनिधि ल्याउन लागेको विश्लेषण कांग्रेस वृत्तमा छ ।

अहिले कांग्रेसजनमा प्रश्न छ– सभापतिका उमेद्वार को–को बन्छन् ? उमेद्वारमध्ये कति जनाले पुरै टिम निर्माण गर्न सक्छन् ? कसको टिममा को–को रहन्छन् ? परम्परागत गुट/उपगुट जीवित रहन्छन् कि भत्कन्छन् ?

प्रदेश अधिवेशनमा पनि कमजोर समूहले बलियो समुहसँग यसरी नै तालमेल गर्ने सम्भावना जीवितै छ । त्यसैले प्रदेश अधिवेशन सम्पन्न भए पछि तस्वीर छर्लंग हुन्छ भन्न सकिने अवस्था पनि छैन ।

संस्थापन या इतर पक्षमध्ये जुन क्षेत्रमा जोसँग तालमेल गर्दा फाइदा हुन्छ उसैसँग तालमेल गर्न सिटौला समूहलाई जति सजिलो छ त्यति अन्य समूहलाई छैन । उदाहरणका लागि डा.शेखर कोइरालालाई देउवा समूहसँग तालमेल गर्न सजिलो छैन । विमलेन्द्र निधिलाई पौडेल समुहसँग तालमेल गर्न सजिलो छैन ।

अहिलेसम्मका स्थानीय अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षमै ध्रुवीकरण भएको देखिएको छ ।

अहिलेसम्म संस्थापन पक्षका विमलेन्द्र निधि र इतर पक्षका डा.शेखर कोइरालाले मात्रै औपचारिक रुपमा उमेद्वारी घोषणा गरेका छन् । देउवा, पौडेल र सिंहले उमेद्वारी घोषणाको साइत कहिलेलाई पर्खेका छन् ? र किन पर्खेका छन् ? त्यसको टुंगो छैन ।

इतर पक्षका पौडेल र सिंह दुवै मैदानमा उत्रने हुन् या आपसी सहमतिमा एक जना अघि बढ्छन् ? भन्ने अनुमान पनि अझै गर्न सकिने अवस्था छैन ।

जसरी एक मात्रै उमेद्वार अघि सार्ने सन्दर्भमा इतरपक्षमा घनिभूत छलफल चलिरहेको छ, त्यही स्तरको छलफल भने संस्थापन पक्षमा चल्न सकेको देखिँदैन । सभापति देउवा र उपसभापति निधि समानान्तर रुपमा अघि बढिरहेका छन् । संस्थापन पक्षबाट देउवा र निधि दुवै जना मैदानमा उत्रने अन्तिम टुंगो भइसकेको अवस्था भने होइन ।

गत साता आफ्नो उमेद्वारीबारे छलफल गर्न सभापति देउवाले आयोजना गरेको बैठकमा उपसभापति निधिलाई पनि आमन्त्रण गरिएको थियो।

विगतका छलफलको तुलनामा यो छलफलमा देउवा निधि प्रति धेरै नै लचक रुपमा प्रस्तुत भए । अघिका यस्तै छलफलमा देउवाले निधिलाई ‘हिम्मत देखाउन’ चुनौति दिने गर्थे । तर पछिल्लो छलफलमा भने ‘शुभकामना’ दिए ।

मतदानको सुर र ताल प्रदेश अधिवेशनले मात्रै छिनोफानो गर्छ । सात मध्ये चार प्रदेश आफ्नो पक्षले जितेन भने देउवा सभापति पदमा चुनाव नलड्न पनि सक्छन् । त्यसमा पनि सुदुरपश्चिम, कर्णाली र गण्डकी भनेका थोरै भोट हुने जिल्ला हुन् । प्रदेश–१, प्रदेश–२, बाग्मती र लुम्बिनी प्रदेशको परिणाम निकै महत्वपूर्ण हुन्छ ।

हुन त देउवाले तत्काल आफ्नो भनाइ संशोधन गर्दै ‘१४ महाधिवेशनका लागि होइन १५ औं महाधिवेशनका लागि शुभकाना दिएको हो है’ भनेका थिए ।

अलग्गै सम्पर्क कार्यालय खोलेर चुनावी अभियानमा होमिएका उपसभापति निधिलाई देउवाले आफ्नो उमेद्वारीबारे छलफल गर्न आयोजित बैठकमा आमन्त्रण गरेको घटनालाई नजरअन्दाज गर्न मिल्दैन ।

किनकी निधिका बाध्यता र देउवाका बाध्यता अलग अलग छन् । आफ्नो राजनीति सुरक्षित गर्न पनि निधिलाई कुनै हालतमा सभापति पदमा उमेद्वार हुनै पर्ने वाध्यता छ ।

सक्रिय राजनीतिबाट रिटार्यड हुने उमेर वा परिस्थिति निधिको छैन । यता देउवालाई सभापतिको उमेद्वार हुनै पर्ने वाध्यता छैन, तर उमेद्वार बने पछि भने कुनै पनि हालतमा जित्नै पर्ने बाध्यता छ । उमेद्वार नबन्दा देउवाको राजनीति सकिँदैन । उमेद्वार नबन्दा देउवाको उचाईमा त्यागको अर्को खिताब समेत थपिन्छ । तर उमेद्वार बनेर पराजित भए भने देउवाको उचाई समाप्त हुन्छ । यो कुरा देउवा आफैँले बुझेका छन्।

देउवाले आफ्नो उमेद्वारी औपचारिक रुपमा घोषणा गर्न प्रदेश अधिवेशनको नतिजा पर्खेका हुनसक्छन् । हुन त मंसिर ६ गते नै सम्पन्न हुने भनिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनले नै कसका महाधिवेशन प्रतिनिधि कति आए ? भन्ने प्रारम्भिक छिनोफानो गर्छ । तर गोप्यमतदान हुने भएकोले ढुक्क हुने अवस्था रहन्न ।

मतदानको सुर र ताल प्रदेश अधिवेशनले मात्रै छिनोफानो गर्छ । सात मध्ये चार प्रदेश आफ्नो पक्षले जितेन भने देउवा सभापति पदमा चुनाव नलड्न पनि सक्छन् । त्यसमा पनि सुदुरपश्चिम, कर्णाली र गण्डकी भनेका थोरै भोट हुने जिल्ला हुन् । प्रदेश–१, प्रदेश–२, बाग्मती र लुम्बिनी प्रदेशको परिणाम निकै महत्वपूर्ण हुन्छ ।

यी चारमध्ये कम्तिमा दुईवटा प्रदेशमा बहुमत भोट नभएको उमेद्वारले सभापति पदमा ५० प्रतिशत मत कटाउने हैसियत राख्दैन । चुनाव हार्ने अवस्थामा देउवा सभापतिको उमेद्वार बन्दैनन् । उपसभापति निधिलाई साथ दिनु देउवाको वाध्यता हुन्छ ।

देउवाको साथ सहयोगमा निधि उमेद्वार बन्ने परिस्थिति बन्यो भने वरिष्ठ नेता पौडेल पनि पछि हट्नु पर्ने परिस्थिति बन्छ । किनकी यस्तो अवस्थामा प्रकाशमान सिंह पछि हट्न मिल्दैन ।

इतर पक्षबाटै डा.शेखर र प्रकाशमान उमेद्वार भइससकेको अवस्थामा पौडेललाई उमेद्वार बन्न सहज छैन । पौडेल पनि करिव करिव देउवाको जस्तै परिस्थितिमा छन् । देउवालाई जस्तो हार्ने छुट पौडेललाई नभएको होइन, तर शेखर र प्रकाशमानले भन्दा थोरै भोट ल्याउने छुट पौडेललाई छैन । सके जित्नै पर्छ, नसके दोस्रो हुनैपर्छ । तेस्रो या चौथो भएको अवस्थामा पौडेलको राजनीति समाप्त हुन्छ ।


भर्खर

0