प्रदेश २ मा अक्सिजन अभाव, सरकारी अस्पतालका बिरामी जोखिममा | Khabarhub Khabarhub

प्रदेश २ मा अक्सिजन अभाव, सरकारी अस्पतालका बिरामी जोखिममा



जनकपुरधाम- प्रदेश २ का अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमण समुदाय स्तरम फैलिन थालेपछि अस्पताल भर्ना हुनेको संख्या बढ्दा अक्सिजनको अभाव देखिएको हो ।

अस्पतालको मागअनुसार उद्योगले अक्सिजन उत्पादन गर्न नसकेको व्यवसायीहरूको भनाइ छ । उता चिकित्सकहरू अक्सिजनको कालोबजारी भइरहेको आरोप लगाउँछन् ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले अक्सिजन अभाव रहेको पुष्टि गरेका छन् । ‘तीन दिनदेखि प्रदेश २ का अस्पतालहरूमा अक्सिजन अभाव देखिएको छ,’ उनले भने, ‘उद्योगबाटै अक्सिजन कम आइरहेको छ । आएको पनि उचित व्यवस्थापन गर्न नसक्दासमेत अभाव देखिएको छ ।’

अक्सिजन व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले अक्सिजन अभावले अस्पतालका बिरामी जोखिममा रहेको बताएका छन् । एक सातादेखि अस्पतालमा माग अनुसारको अक्सिजन नआएको भन्दै उनले सरकारी अस्पतालको लागि आएको अक्सिजन निजीमा जाने गरेको आरोप लगाए ।

उनका अनुसार प्रादेशिक अस्पतालमा दैनिक ४५ वटा अक्सिजन सिलिन्डर दिने भनिएको भए पनि दैनिक उपलव्ध छैन । दिनमा कम्तीमा एक सय सिलिन्डर आवश्यक रहेको डा. यादवले बताए ।

हाल प्रादेशिक अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जनाको अवस्था अति गम्भीर रहेको र अक्सिजनकै भरमा बाँचिरहेको उनको भनाइ छ । एक जनाको लागि दैनिक कम्तीमा दुई वटा अक्सिजन सिलिन्डर खपत भइरहेको उनले बताए । डा. यादवका अनुसार कारोना संक्रमित बाहेक अन्य केही बिरामी पनि असिक्सजन दिनुपर्ने अवस्थाका छन् ।

अस्पतालमा ६ वटा भेन्टिलेटर सञ्चालनमा छन् । दुई वटा भेन्टिलेटरमा बिरामीको उपचार भइरहेको छ । निजी अस्पतालमा बिरामीको अवस्था गम्भीर भएपछि मात्रै सरकारीमा रेफर गर्ने प्रवृत्ति रहेकोले पनि समस्या हुने गरेको उनको भनाइ छ ।

‘निजी अस्पतालहरूले बिरामीलाई अचानक सरकारी अस्पतालमा रेफर गर्दिन्छ,’ डा. यादवले भने, ‘त्यो प्रवृत्ति गलत हो । बिरामी समयमा पठाउनुपर्छ कि त पहिले नै अस्पताललाई जानकारी गराउनुपर्छ ।’

अक्सिजन आपूर्ति एवं व्यवस्थापन समितिका सदस्य तथा धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले अक्सिजन अभाव देखिए पनि सबै ठाउँमा आपूर्ति भइरहेको दाबी गरे । अक्सिजन ढुवानी गर्ने साधन सम्बन्धित अस्पतालले नपठाउँदा ढिलो भएको हुन सक्ने उनले बताए ।

‘निजी र सरकारी भनेर काखापखा भएको छैन्,’ उनले भने, ‘व्यवस्थापन राम्रो भइरहेको छ । अक्सिजन अभाव हुन नदिन सरोकार वालासँग छलफल भइरहेको छ ।’

एकद्वार प्रणालीबाट वितरण
मुख्यमन्त्री लालबाबु राउतले धनुषाका अक्सिजन उद्योग र कोभिड अस्पतालहरूको स्थलगत निरीक्षण गरेका छन् । आइतबार आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डीआइजी धीरजप्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजन वितरण एकद्वारा प्रणालीमार्फत मात्र गर्न निर्देशन दिए । अक्सिजनको वितरणमा आइतबारै एकद्वार प्रणाली लागु गरिएको जनाइएको छ ।

मुख्यमन्त्री राउतको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्ट समेत अवलोकन गर्यो । मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट सञ्चालन गरी संक्रमितहरूको ज्यानको रक्षामा सघाउन उद्योगका सञ्चालकलाई आग्रह गरे ।

बेलास्थित निर्माणधीन उद्योगले २४ घण्टामा ६ सय वटा सिलिन्डर रिफिल गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : २१ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन