दोस्रो बिहे किन गर्नुभएन बाहुनबा ? « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

दोस्रो बिहे किन गर्नुभएन बाहुनबा ?



ठूला मामाले एक दिन एउटा स्मरण सुनाए ।

मेरी ठूल्यामा, मामाकी माल्दिदीको तेह्र दिनको काम सकिएपछि ठूला मामाले अठार महिना उमेरको भान्जो मावली लगेर हुर्काउने विचार गरेछन् । मामाले मनमा थोरै भय राख्दै मसिनो स्वरमा आफ्ना भिनाजु, मेरा ठूलाबालाई भनेछन्- भिनाजु ! दिदी बितिहालिन् । साना भान्जालाई हामी लैजान्छौँ, मावलमा हजुरआमासँग हुर्किन्छ ।

परिणाम अनपेक्षित निस्क्यो । भिनाजु जङ्गिए- मेरो ज्यान हुँदाहुँदै यसो भन्ने आँट कसरी गरिस् ?
यसरी अस्वीकार होला भन्ने त सोचेकै थिएनन्, ठूला मामाको सातो गयो, जिल्लिनुसम्म जिल्लिए ।
अर्को एउटा प्रसङ्ग पनि मामाले सुनाएका थिए ।

दिदी बितेपछि ठूला मामा पिरोलिएका थिए । भिनाजु ५० वर्ष पनि नाघेका छैनन् । मामाले ठाने, बज्रपातै भए पनि घरव्यवहार समाल्नै पर्छ, भिनाजुले अवश्य अर्को बिहे गर्नेछन्, गर्नु पनि पर्छ ।
ठूला मामाले एउटी युवती फेला पारे, कुरा मिल्ने छाँट देखियो ।

वर्ष दिनको काम सकेपछि एक दिन ठूलाबा सुसुराली गए । बेलुकाको भन्सा भयो । अँगेनाका डिलमा सालाभेना बसे । भान्जो लैजान्छौँ भन्दा खप्की खाएका मामालाई कताबाट कुरा शुरू गरौँ भन्ने भयो । उनले बिस्तारै कुरा कोट्याए । भिनाजुले सालो अलिक लकपकिएको थाहा पाए तर आँ गर्दा अलङ्कार बुझिहाले ।

भिनाजुले आदेश जारी गरे- तैँले भन्न खोजेको कुरा के हो, सिधै भनिहाल् ।

सालाले मुख खोले- भिनाजु ! एउटी केटी हेरेको छु, सबैतिरबाट उपयुक्त छे । कसो गरौँ !
थाहा नपाएझैँ भिनाजुले सोधे- बिहे चाहिँ कसको ?
साला अलिक डराए तैपनि मुख फोरे- भिनाजु ! तपाईंका लागि ।
‘के भनिस् अरे ! मलाई यसो भन्ने आँट तैले कसरी गरिस् ?’
मामाले हाँस्दै सुनाए- यसो हेर्दा त भिनाजुका हातमा अगुल्टो पो छ गाँठे ! माफ पाऊँ भनेर झुकेपछि मात्रै भिनाजुले अगुल्टो राख्नुभो ।

ठूल्यामा बित्दा अन्तरे बाहुनबा ४८ वर्षका थिए । ठूल्यामा, मेरी आमाकी माल्दिदी; आमाका भिनाजुचाहिँ मेरा बाहुनबा । एकातिरबाट बाहुनबा अर्थात हजुरबाका भान्जा, अर्कातिरबाट ठूलाबा, आमाका भिनाजु ।

अठार महिना उमेरको कान्छो छोरो, ऊमाथिका तीन छोरा र दुई छोरीलाई यो लोकमा छाडेर ठूल्यामा परलोक गइन्, केही दिन लगातार आएको ज्वरोले उनलाई लगेको थियो ।

ठूल्यामासँग मेरो एउटामात्रै सम्झना छ । सतचालीस वर्षअघिको दशैँमा छ वर्षको उमेरमा म ठूल्यामाका घरमा पुगेको थिएँ । साँझमा टीका र जमरा लगाइदिएर ठूल्यामाले मलाई रोटेपिङको चित्र भएको एक रुपैयाँ दिएकी थिइन् । यसरी मेरा हातमा पहलोपटक एक रुपैयाँ परेको थियो ।

बाहुनबाले दुई भाइ छोरालाई वृन्दावन पठाएका थिए, पढ्न । पढ्नुपर्छ भन्ने एकोहोरो ध्याउन्न थियो बाहुनबाको । आफू संस्कृत भाषा, व्याकरण, साहित्य र पुराणइतिहासका ज्ञाता थिए ।

पढ्नु एक किसिमले उनको लत थियो । कालीदासकृत रघुवंश महाकाव्य कष्ठस्थ झैँ थियो, अष्टम सर्ग त जिभ्रोको टुप्पोमै । बुबाले बाम्बार भनेका अष्टम सर्गका धेरै श्लोक साँल्दाइमा पनि ताजै छन् ।

बाहुनबा छोराहरू विद्वान भएको हेर्न चाहन्थे । विद्वान हुनलाई पढ्नै पर्थ्यो । सुदूरपूर्वी पहाड ताप्लेजुङको फूलबारीमा जन्मेहुर्केका बाहुनबालाई पनि उनका बुबाले असम र वृन्दावन पठाएर पढाएका थिए ।

साँच्चै, बाहुनबाको चाहना जस्ताको तस्तै पूरा भयो ।

पढाइ पूरा गरेर फर्केपछि बाहुनबाले गाउँको पाटीदेखि हाइस्कुलसम्ममा पढाए । उनले पढाएका ठिटाहरू कोही राजनीतिक नेता भए त कोही सरकारको उच्च पदमा पुगे ।

बाहुनबा पन्ध्र वर्ष शिक्षण पेसामा रहे । पण्डित हरिप्रसाद निरौला भनेर डाँडावारिपारि उनको ख्याति थियो । श्रीमद्भागवत् पुराण र कथावाचन उनको मुख्य काम थियो ।

एक दिन मैले सोधेँ- बाहुनबा ! कति जति पुराण भन्नुभयो ?
बाहुनबा एकछिन मौन बसे अनि भने- हिसाब छैन, दुई हजार जति भने हुँला ।

अन्तरे बाहुनबाको मिजास अलिक खरो थियो रे ! मैले प्रत्यक्ष अनुभव गर्न पाइनँ । उनको खरो व्यवहारका अनेक कहानीहरू बनिसकेका थिए, मान्छेहरूले आपसमा सुन्ने र सुनाउने । अन्तरे पण्डितले यसो भने अरे, उसो भने अरे भन्दाभन्दै अरे अरेका कहानी सुनाउँथे मान्छेहरू ।

मेरी आमा पनि आफ्ना माइला भिनाजुका खरो स्वभावका कहानी हामीलाई सुनाउँथिन्, प्रसङ्ग पर्दा अझै पनि सुनाउँछिन् ।

हाम्रो घरमा आएका बेला एकपटक मैले सोधेँ- बाहुनबा ! कति वर्षको हुनुभयो ?
‘किन सोधिस् नानी ?’
‘जान्न मन लाग्यो बाहुनबा !’
‘म ? म छपन्न वर्षको भएँ ।’

यो संवाद भएको भरखरै हो जस्तो लाग्दैछ, बयान्नबे वर्ष टेकेको महिना दिनमा बाहुनबा गएको चैत अन्तिममा परलोक प्रस्थान गरे ।

अन्तरे बाहुनबा गीताध्यायी थिए । श्रीमद्भगवद्गीताका श्लोकहरू अविराम व्याख्या गर्न सक्थे ।

श्रीमद्भगवद्गीता जीवन र जगतको परिपूर्ण दर्शन हो भन्थे । मर्म बुझेर श्रीमद्भगवद्गीता अध्ययन गर्ने मान्छे कहिल्यै दुःखी हुँदैन भन्ने उनको विश्वास थियो । साँच्चै, यो विश्वास उनको जीवनमा जस्ताको तस्तै भल्किन्थ्यो ।

दोस्रो अध्यायको सतचालीसौँ श्लोक ‘कमण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’ को दुरुपयोग भयो, अपव्याख्या भयो भनेर चिन्ता प्रकट गर्थे बाहुनबा ।

ठूल्यामा परलोक जाँदा साँल्दाइको ब्रतबन्ध भएको एक महिना भएको थियो । ठूल्दाइ र माल्दाइ पढाइका लागि वृन्दावनमा थिए ।

साढे चार दशक अघिको कुरा, खबर पठाउने माध्यम चिठीमात्रै थियो, या त मान्छे नै पुग्नुपथ्र्यो । उता छोराहरू परीक्षाको तयारीमा थिए । घरमा एउटा छोरो भएपछि काजकिरिया रोकिने भएन । लिन जाँदा पनि पुगेर आउन पन्ध्र दिन जति लाग्थ्यो । बाहुनबाले वृन्दावनमा भएका छोरा बोलाएनन् ।

बाहुनबाको हिसाब सिधा थियो, आखिर पन्ध्र दिनपछि आएर फेरि अर्को तेह्र दिन छुट्टै किरिया गर्नुपर्छ भने अहिले नै नबोलाई नहुने के छ र ! नभन्दै उनीहरू पैँतालीस दिनपछि आए अनि जो संस्कार गर्नुपर्थ्यो  गरे ।

अन्तरे बाहुनबाको आत्मबल कति बलियो भने एक हिसाबले अनौठो नै थियो । ठूल्यामाको मृत शरीर आँगनमा छ । गाउँभरिका मान्छे भेला भएका छन् । ट्वाल्ल परेको साहिँलो छोरालाई उनले सुटुक्क घरभित्र बोलाए । अनि भने- हेर छोरा ! आमा मरिहाली, अब जति रोएर पनि फर्केर आउने होइन । तँ नरुनू, तँ रोइस् भने म पनि रुन्छु, तँ रोइनस् भने म पनि रुन्नँ, हामी दुवै जना नरुने, कुरा बुझिस् नि !

छोराले बुबाको कुरा माने । बुबाले पनि वचन पूरा गरे । घाटबाट फर्किने बेलामा के सम्झेर हो कुन्नि बुबा आफ्नो वचनमा अलिकति चुके तर छोरा आदेश पालनामा चुकेनन् ।

अन्तरे बाहुनबा आफ्नी श्रीमतीको मृत्युका कारणले घरमा कुनै पनि निराशा झल्किने व्यवहार आफूबाट नहोस् भन्ने कुरामा सचेत थिए । छोराछोरी पनि निराशाबाट मुक्त रहून् भन्ने चाहन्थे । सोहीअनुसार उनले घरव्यवहार समालेर राखे ।

छरछिमेकी र आफन्तजनहरू यस्तो व्यवहारलाई उनको कठोरता ठान्थे तर बाहिर जति कठोर प्रतीत हुन्थे, भित्र उति नै मुलायम थिए अन्तरे बाहुनबा ।

ठूल्यामा बित्दा पचास वर्ष पनि पूरा नभएका अन्तरे बाहुनबाले अर्को बिहे गरेनन् ।

ठूल्दाइको बिहे भएपछि भाउजुले घर समालिन् । बिहे गरेको दिनदेखि अन्तिम श्वास चल्दासम्म बाहुनबाका साथमा रहिन् ठूली भाउजु, चालीस वर्ष ।

सत्तरीअसी वर्षका वृद्धले दोस्रीतेस्री पत्नीका रूपमा यौवना भित्र्याएर सन्तान जन्माएका कति कथा बाहुनबाले सुनेका थिए, पढेका थिए, देखका पनि थिए र कैयनलाई सुनाएका थिए होला ।

तर अन्तरे बाहुनबाले अर्को बिहे गरेनन् । किन गरेनन् भन्ने कुरा मेरो मनमा बारम्बार उब्जिन्थ्यो । मलाई सोध्न मन थियो- बाहुनबा ! तपाईंले किन दोस्रो बिहे गर्नुभएन ?
मैले कहिल्यै सोधिनँ ।

शायद अन्तरे बाहुनबाभित्रको पितृवात्सल्य यति जागृत थियो कि उनले आफ्ना छ जना छोराछोरीका लागि कान्छीआमा कल्पना नै गरेनन् । यस्तो कल्पनालाई उनले अपराधै ठाने हुनन् नत्र सालालाई किन अगुल्टो उझ्याउँथे र !

सोधेको भए अन्तरे बाहुनबाले के भन्ने थिए होला ! नसोधेकोमा अहिले मलाई पछुतो लागेको छ ।

मैले ठूल्दाइलाई सोधेँ- आमा बितेको कुरा तपाईंहरूले कहिले थाहा पाउनुभयो ?
‘घर पुग्न यस्तै पन्ध्र मिनेट जतिको बाटो बाँकी हुँदा ।’
छोराहरूको पढाइ ध्यानमा राखेर अन्तरे बाहुनबाले यस्तो कदम चालेका थिए ।

बाहुनबालाई भेट्न जाँदा म अक्सर संस्कृतको कुनै न कुनै नीति श्लोकको तयारी गरेर जान्थेँ । संस्कृतका सयौँ श्लोक कण्ठस्थ थिए बाहुनबालाई । कुरा कोट्याउनु मात्रै पर्थ्यो , बाहुनबा त्यसका अनेक सन्दर्भहरू जोडेर श्लोकहरू सुनाउँथे र त्यसको बयान गर्थे ।

अन्तरे बाहुनबा हक्की थिए, प्रष्टवक्ता उनको सोझो परिचय थियो । उनको मनमा डर थिएन ।
सुगठित र अग्लो शरीर भएका बाहुनबाको व्यक्तित्व प्रभावकारी थियो, शारीरिक र आत्मिक सौन्दर्यको आभा सूर्योदयको किरणझैँ टलक्क थियो ।

सामाजिक प्रतिष्ठा सधैँ उचो । विद्वान पण्डितको मानमर्यादा राख्ने जमाना जो थियो ।

अन्तरे बाहुनबा जति खरो मिजासका थिए, उति नै लचक पनि थिए । आफू वैष्णव थिए तर घरमा माछामासु पाके पनि उनलाई आपत्ति थिएन । छोराहरूलाई ‘बाँच्ने खानू, नाच्ने नखानू’ भन्थे । बाहुनबा धोती फेरेर खानुपर्छ भन्नेमा कट्टर थिएनन् । कन्याकुमारीलाई शुद्ध ठान्थे र नातिनीहरूले पकाएको खान मन पराउँथे ।

बाहुनबालाई भेट्न जाँदा म अक्सर संस्कृतको कुनै न कुनै नीति श्लोकको तयारी गरेर जान्थेँ । संस्कृतका सयौँ श्लोक कण्ठस्थ थिए बाहुनबालाई । कुरा कोट्याउनु मात्रै पर्थ्यो, बाहुनबा त्यसका अनेक सन्दर्भहरू जोडेर श्लोकहरू सुनाउँथे र त्यसको बयान गर्थे ।

श्रीमद्भगवद्गीताका अनेक श्लोकमा मेरा जिज्ञासा शान्त पार्थे । बाहुनबा गीताको बयान गर्न हौसिन्थे ।

करिब साढे दुई महिना ओछ्यान परेर बाहुनबाले ९२ वर्षको उमेरमा महाप्रस्थान रोजे । शरीर गल्दै गएको भए पनि आवाज लक्का जवानको जस्तो प्रष्ट, जिभ्रो कतै नलटपटिई संस्कृतका शब्द उच्चारण गर्थ्यो । स्मरणशक्ति कति बलियो भने ओछ्यान पर्नुअघिसम्म कुनै श्लोक सम्झिन दिमागको कुनै कसरत आवश्यक थिएन ।

अनिशम् बहुयत्न साधनै परितः पन्ति कलेवरम् जनः ।
तदपि स्वबसेन तिष्ठति किमिवान्यत् मनासोऽनुवर्तताम् ।

बाहुनबाका धेरै प्रिय श्लोकहरूमध्ये यो एक थियो । यो श्लोकको मजबुन हो- बाँच्नका लागि जतिसुकै प्रयत्न गरे पनि समय आएपछि मान्छे जीवित रहन सक्दैन ।

यस्तै आध्यात्मिक चिन्तत तथा जीवन र जगतप्रतिको उदार दृष्टिले अन्तरे बाहुनबा आफ्नो समयका कष्टहरू झेल्न समर्थ भए । दुर्गम पहाडमा दुई तिहाइ जीवन धानेर इलाम हुँदै आखिरमा देवादिदेव महादेव पशुपतिनाथको पाउमा हेर्दाहेर्दै धुवाँ बनेर पञ्चमहाभूतमा विलीन भयो अन्तरे बाहुनबाको शरीर ।

न जायते म्रियते वा कदाचि–
न्नाऽयं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।

हार्दिक श्रद्धाञ्जलि आदरणीय अन्तरे बाहुनबा ! दिवङ्गत आत्माको चिरशान्तिको कामना ! सधैँ सम्झिरहने छु ।


भर्खर

0