आहा ! मौरी दम्पती | Khabarhub Khabarhub

आहा ! मौरी दम्पती



काठमाडौँ— ललितपुरको धापाखेलकी सरिता भट्टराई (श्रेष्ठ) एघार वर्षदेखि मौरीपालन व्यवसायमा छिन् ।

यतिबेला उनको मौरी उद्योगमा मौरी राख्ने घार बनाउन कामदारलाई भ्याईनभ्याई छ । सरिताले हालै चार रोपनी जग्गा भाडामा लिएकी छिन् । त्यहाँ २३० वटा घार राख्ने योजना छ ।

बिहानी घामको झुल्कोसँगै सरिता मौरीको हेरचाहमा लाग्छिन् । घारवरपर घुम्दा उनलाई अपार आनन्द हुन्छ ।

घारमा मौरीको अवस्था कस्तो छ, कुनकुन घरामा मह तयार भयो, मौरी भुइँमा झरे कि, रोग लाग्यो कि, घारमा रानी छ कि छैन, रेखदेखको मुख्य काम यही हो ।

मौरीको हेरचाहका लागि केही सहयोगी कामदारहरू छन् । बिहीबार दिउँसो सरिता र उनका श्रीमान् धर्मराज श्रेष्ठ हँसिलो मुहारमा घारको हेरचाह गर्दै गरेका भेटिए ।

‘हामी कारखाना र मौरीको घारमै समय बिताउछौँ,’ सरिताले भनिन्, ‘मौरीपालन व्यवसाय हाम्रो खुशीको आधार हो ।’

‘फूलमा मौरी डुल्ने बेलामा…’ बोलको लोक गीतले भनेझैँ मौरी डुल्न फूल नै चाहिन्छ । कर्मी मौरी फूलको रस खोज्दै धेरै टाढासम्म पुग्छन् अनि रस लिएर आफ्ना घारमा फर्किन्छन् ।

सरिता घार वरपर फूलहरू फुलाउने तयारीमा छिन् ।

करोडको आम्दानी

सरिता आफ्ना श्रीमान्को प्रेरणा र हौसलाले मौरीपालक व्यवसायी बनेकी हुन् । ‘श्रीमानको साथसहयोग र हौसला नपाएकी भए म आज उद्यमी सरिता हुदिनँ थिएँ’ उनी भन्छिन्, ‘जे छ हामी दुईको मिहिनेत र लगावले भएको हो ।’

सरिताले एघार वर्षअघि ललितपुरको कुपण्डोलमा ६५ वटा घार राखेर मौरीपालन शुरू गरेकी थिइन् । व्यवसाय फस्टाउँदै गएपछि उनी धापाखेल सरिन् ।

 

सरिताले २०७० मा ‘माउन्टेन बी कन्सर्न’ नामको कम्पनी दर्ता गरिन् । अहिले उनीसँग २३० घार मौरी छन् । उनको कारोबार करोडमाथिको छ ।

सरिताका अनुसार मह, महका अन्य उत्पादन, घार, कृत्रिम रानीलयातबाट वार्षिक करोडको आम्दानी हुन्छ ।

सरिताका श्रीमान् धर्मराज सानैदेखि मौरीसँगै खेल्दै हुर्किए । उनका बाआमाले केही घार मौरी पालेका थिए । बाआमाको मौरी पालनलाई धर्मराजले २०५० सालमा व्यावसायिक रूप दिए ।

उनले चितवनमा १० वटा घारबाट अघि बढाएको मौरीपालन फैलिएर गोर्खासम्म पुगेको छ । अहिले चितवनमा चार सय घार र गोरखामा सय घार मौरी छन् ।

धर्मराजका अरू दुई दाजुभाइ पनि मौरीपालनमै छन् ।

धर्मराजको आफ्नै कम्पनी छ ‘नेपाल बी कन्सर्न’ । धर्मराजको नेपाल बी कन्सर्न र सरिताको ‘माउन्टेन बी कन्सर्न’ दुवैबाट वार्षिक कुल ३० देखि ४० टन मह उत्पादन हुन्छ ।

घुमन्ते जीवन

सुने जति सजिलो छैन मौरी पाल्न । धेरै मिहिनत रेखदेख चाहिन्छ । टाढाटाढासम्म चराउन लैजानुपर्छ ।

जङ्गलमा फूल खोज्दै दाङ, सुर्खेत, रुपन्देही लगायतका जिल्लामा पुग्छन् सरिता र उनका सहयोगीहरू । यसरी वर्षको छ महिना त बाहिरै बित्छ ।

गत असोजमा मौरी लिएर दाङ पुगेका उनीहरू छ महिना उतै बसे । सरिताका अनुसार जङ्गलमा चिउरी फुलेका बेला दुई सातामा मौरीले घार भर्छ । आधुनिक मेसिनको मद्दतले बाल्टिनमा मह काढेर काठमाडौँ ल्याउँछन् र बेच्न तयार पार्छन् ।

देशविदेशमा ख्याति

माउन्टेन बी कर्न्सन र नेपाल बी कर्न्सनको  महले राष्ट्रिय—अन्तर्राष्ट्रिय ख्याति कमाएको छ । विदेशबाट महको माग आउँछ । सहउत्पादनका रूपमा साबुन, स्याम्पु अन्य केही वस्तु पनि उत्पादन हुन्छन् ।

सरिता र धर्मराज मौरीपालन व्यवसाय गर्न चाहनेलाई सल्लाहसँगै मौरी उपहार दिन्छन् ।

‘दुःख पाएका र स्वदेशमै काम गर्न चाहनेहरूलाई सल्लाहसँगै मौरी र घार उपहार पनि दिन्छु,’ सरिता भन्छिन्, ‘धेरैले त्यसलाई निरन्तरता दिएर व्यावसायिक रूपमा काम गरेका छन् ।’

मौरी चराउँदाको प्रेम

सरिता र धर्मराज दुवै जना चितवनका हुन् । धर्मराज मौरी चराउन जाँदा सरितासँग भेट हुन्थ्यो । सरितालाई मौरीका बारेमा जान्ने चाहना भयो ।

यस्तै भेटले बढेको आत्मीयता प्रेममा बदलियो । अन्ततः ब्राह्मणपुत्री सरिता र नेवारपुत्र धर्मराजको दाम्पत्य जीवन सुरु भयो ।

धर्मराजको पुख्र्यौली पेशा मौरीपालन नै थियो । सरिताले पनि यही व्यवसाय सिकिन् । उनीहरू दुवै जना आआफ्ना कम्पनीमार्फत मह उत्पादनमा सहकार्य गर्छन् र खुशीसुखी छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २७ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर