प्रहरी अनुसन्धानको निष्कर्ष : बाटो उछिन्दै ढुकेर भागरथीको हत्या (भिडियोसहित) | Khabarhub Khabarhub

प्रहरी अनुसन्धानको निष्कर्ष : बाटो उछिन्दै ढुकेर भागरथीको हत्या (भिडियोसहित)



काठमाडौँ- घटना भएको दुई सातापछि प्रहरीले बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले भागरथी पढ्ने विद्यालयमै ११ कक्षामा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका ती किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिइएको हो । भागरथी र दिनेश चिनजानका मात्र होइनन्, नाताका पनि हुन् ।

डीआईजी सुवेदीले भने, ‘हत्या आरोपमा पक्राउ परेका व्यक्ति पहिलेदेखि नै हाम्रो उच्च निगरानीमा थिए । प्रमाण जुटाउन लागिरहेका थियौँ । केही प्रमाण हात परेपछि उनलाई समातेका हौँ । उनले बयानका क्रममा आफूले हत्या गरेको स्वीकारिसकेका छन् ।’

जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भागरथीको हत्यामा अहिलेसम्म दिनेशबाहेक अरू कोही संलग्न नदेखिएको बताए । उनले भने, ‘अनुसन्धानले ऊ एक्लै संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरू आएपछि हामी थप तथ्यहरू बाहिर ल्याउन सक्छौँ ।’

प्रहरी अनुसन्धानअनुसार पुरानो रिसिइबीका कारण दिनेशले माघ २१ भागरथीलाई सुरुमा धकेलेर लडाएर बोहोस भएपछि घाँटी थिचेर हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा दिनेशले घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेको बताएका छन् ।

तस्वीर- बैतडीका पत्रकार विनोद सिंह बिष्टको फेसबुकबाट

एक जना अनुसन्धान अधिकारीका अनुसार बयानमा दिनेशले भनेका छन्, ‘म पहिले नै भागरथी दिदी आउने बाटो कुरेर बसेको थिएँ । दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर हत्या गरेँ ।’

डीआईजी सुवेदीका अनुसार पारिवारिक रिसिइबीले गर्दा योजनाअनुसार नै घटना भएको देखिन्छ । दिनेश र भागरथीका घर करिब १५ मिनेटको पैदल दूरीमा छन् । दिनेश नातामा भागरथीका भाइ पर्छन् । दिनेशले दिदी भन्ने गरेका थिए । प्रहरीसँगको बयानमा पनि उनले दिदी नै भनेका छन् ।

माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो । त्यसको भोलिपल्ट साँझ घर नजिकैको जङ्गलमा उनी मृत फेला परेकी थिइन् ।

कुकुरको सहायतामा समातिए दिनेश

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा साढे दुई वर्ष बित्दा समेत दोषी पक्राउ गर्न नसकेर आलोचित बनेको प्रहरी भागरथीको घटनामा शुरूदेखि होसियार देखिएको थियो ।

सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी सुवेदी घटनाको तेस्रो दिन अर्थात माघ २३ गते शुक्रबार तालिमप्राप्त कुकुर र अनुसन्धान टोलीसहित घटनास्थल पुगेका थिए ।

संघीय प्रहरी एकाई कार्यालय, कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको टोली पनि घटनास्थलमा पुगेको थियो । संघीय प्रहरी कार्यालय, धनगढीका एसएसपी मुकेश सिंह र जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले समेत स्थलगत अनुसन्धान गरेको थियो ।

डीआईजी सुवेदीका अनुसार प्रहरीका अनुसन्धान अधिकारी र चिकित्सकसहितको टोलीले विभिन्न कोणबाट अनुसन्धान गरी प्रमाणहरू संकलन गरेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले खबरहबसँग भने, ‘घटनापछि अनुसन्धानमा खटाइएको तालिमप्राप्त कुकुरले नै मृतक भागरथीको मोबाइल शव भेटिएको ठाउँभन्दा केही पर फेला पारेको थियो । कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजारतर्फ संकेत गरेको थियो ।’

त्यही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले कुकुर डुलाउँदै विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरू भएको घटनास्थलमा पुर्‍याउने समयसम्म दिनेश गोरु चराउने निहुँ गरेर घरै बसेका थिए । त्यतिबेला उनीमाथि कसैको शंका थिएन । डीआईजी सुवेदीका अनुसार कुकुरले सुँघेर आफूलाई पत्ता लगाउन सक्छ भन्ने त्रासका कारण दिनेश घटनास्थल नगई गोठालो गएका थिए ।

अनेक कोणबाट अनुसन्धान गरिरहेको प्रहरी टोलीले उनको गतिविधि सूक्ष्मरूपमा नियालिरहेको थियो । शुरूमा दिनेशले अनुसन्धान अधिकृतसँग झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक हुने, चिढिने, झर्किने जस्ता व्यवहार देखाएका थिए ।

ती अनुसन्धान अधिकारीले भने, ‘दिनेश बिस्तारै गल्दै गए । अन्तत: उनको बयान र सबुत प्रमाणका आधारमा उनलाई पक्राउ गर्न सफल भयौँ ।’ प्रहरीले उनलाई फागुन ४ गते घरबाट नै पक्राउ गरेको हो ।

जुलुसमा जान्थे दिनेश

भागरथीको हत्यको घटनामा न्याय माग्दै हुने प्रदर्शनमा दिनेश पनि दैनिकजसो सहभागी हुने गरेका थिए । शंकास्पद गतिविधिका कारण प्रहरीले शुरूदेखि नै उनलाई निगरानीमा राखेको थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिन आवाज उठ्न थालेको थिए । जुलुसहरूमा ती किशोर पनि देखिन्थे तर उनी प्रहरी देख्दा डराउँथे, भागरथीलाई न्याय दे भनेर हुने जुलुसमा उनी पनि हात उठाउँथे ।’ अन्तत: तीनै किशोर पक्राउ परे ।

यसरी भएको थियो घटना
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते बिहान स्कुल गएकी थिइन् । साँझसम्म घर नफर्किएपछि परिवारजनले उनको खोजी गरेका थिए । रातभर खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्ने सकेन ।

भोलिपल्ट बेलुकीपख घरबाट करिब एक किलोमिटर टाढा लवलेक सामुदायिक वनमा उनको शव फेला पर्‍यो । घर र स्कूलको दूरी करिब तीन किलोमिटर छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी नाराणप्रसाद अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय, खोचलेक र विद्यालयबाट करिब दुई किलोमिटरको दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा उनको शव भेटिएको थियो ।

डिएसपी अधिकारीका अनुसार हराएको दिन भागरथी दिउँसो २ बजे विद्यालयबाट निस्किएकी थिइन् । उनका केही साथीहरू पनि सँगै निस्किएका थिए । उनीहरू करिब ५ मिनेट हिँडेर पुगिने खोचलेक बजार पुगे । त्यहाँ केटा साथीहरू कपाल काट्न रोकिए ।

भागरथी र उनका केही केटीसाथीहरू बजारबाट घरतर्फ लागे । केही साथी चप्पल सिलाउने भन्दै बीचैमा रोकिए । बाँकी रहेका भागरिथी र उनकी एक साथी घर पुग्ने बाटो फरक भएकाले केही बेरमा छुट्टिए ।

डिएसपी अधिकारीका अनुसार बजारमा कपाल काट्न लागेका केटाहरू समूहमा रहेका दिनेश हतार गर्दै एक्लै निस्किए । त्यसरी निस्किएका दिनेश छिटोछिटो हिँडेर भागरथी भन्दा अगाडि गएर लवलेक जङ्गलको खोँचमा पुगेर बाटो ढुकेर बसे ।

भागरथी त्यहाँ पुगेपछि दिनेशले अचानक आक्रमण गरे । बलियो र अग्लो दिनेशसँग भागरथीको प्रतिकार सफल भएन । अन्तत: दिनेशले करिब पौने तीन बजे भागरथीको हत्या गरे ।

प्रहरीका अनुसार दिनेशले अपराध स्वीकार गरेका छन् । भागरथीको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख गरिएको छ । दिनेशले हत्या स्वीकार गरे पनि बलात्कार अस्वीकार गरेको प्रहरीको भनाइ छ ।

आरोपी सार्वजनिक गर्दै प्रहरीले के भन्यो ? (हेरौँ भिडियो)

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ५२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द