स्पेनबाट गाउँ बनाउन आउँछन् अक्कल | Khabarhub Khabarhub

स्पेनबाट गाउँ बनाउन आउँछन् अक्कल


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगालीका लागि अहिले अक्कल बोहोरा अब्बल समाजसेवीको रूपमा परिचित छन् । मुगुको छायानाथ नगरपालिकाको‍ थार्पगाउँमा आफूले बाल्यकालमा भोगेका दुःख सम्झेर अहिले उनी स्पेनबाट गाउँ बनाउन आउँछन् ।

पूर्वराष्ट्रिय धावक बोहोरा हाल युरोपेली मुलुक स्पेनमा रेस्टुरेन्ट व्यवसाय गरेर बसेका छन् । उनी सशस्त्र प्रहरी बलमा आठ वर्ष सेवा गरेर विदेशिएका थिए ।

तत्कालीन माओवादी सशस्त्र युद्धका बेला नेपालमा छुट्टै सुरक्षा बलको रूपमा २०५७ सालमा स्थापना गरिएको सशस्त्र प्रहरी बल (एपीएफ) को पहिलो ब्याचमा भर्ती भएका अक्कल थुप्रै ठाउँमा माओवादी लडाकुसँग लडे ।

सशस्त्र प्रहरीमा सेवाकै क्रममा उनी खेलकुदमा लागेका थिए । यस क्रममा सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुदमा उनी दौड प्रतियोगितामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा उनले उपाधि हासिल गर्न नसके पनि दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिताको उपाधि उनको नाममा छ ।

सन् २००६ नोभेम्बरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय खुला काठमाडौँ म्याराथनको उपाधि विजेता अक्कलले सन् २००५ मा चौथो पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका थिए । तत्कालीन अवस्थामा उनी सर्वाधिक राशीको प्रतियोगिताको उपाधि जित्ने खेलाडीमा पर्छन् । सन् २००४ मा उनी एभरेस्ट म्याराथनको उपविजेता बनेका थिए ।

काठमाडौँ म्याराथनको उपाधि जितेपछि उनले पेरिस म्याराथनमा सहभागी हुने अवसर पाएका थिए । सोही सिलसिलामा उनी पेरिस पुगेका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । पेरिसबाट बेल्जियम हुँदै उनी स्पेन पुगेका थिए । स्पेनमा उनले स्थानीय क्लबबाट दौडने अवसर पाए । त्यहीँबाट उनको स्पेन बसाइको लम्बिएको थियो, जुन आजसम्म कायमै छ । पछिल्लो समय भने खेलकुद क्षेत्रबाट टाढिएर उनी रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन् ।

विदेशमा बसे पनि उनले कम दुःख गरेका छैनन् । ‘फोहोरमा फालिएको खाना पनि टिपेर खानुपर्ने अवस्था थियो मेरो । फोहोरको खाना टिपेर खाएको पेरिसको त्यही आइफेल टावरमा पछिल्लो समय दुई पटक पुगेँ,’ उनले भने, ‘विगत सम्झेर मेहनत गरे । हिम्मत नहारी काम गरे सबैको दिन आउँदो रहेछ भन्ने लागेको छ ।

पहिलोपटक पेरिस पुग्दा उनले फोहोरको खाना खाएर हप्ता दिन आइफेल टावरको आसपासको सडकमा रात गुजारे । पेरिस म्याराथुन प्रतियोगितामा सहभागी नभई भागेका कारण उनले त्यस्तो कष्ट खेप्नु परेको थियो । उनी आफ्नो आर्थिक अवस्था सुधार्न विदेशमै बस्न चाहन्थे । आफूले गरिबीका कारणले गलत बाटो लिएर विदेश बस्ने निर्णय गरेको उनको जिकिर छ ।

अक्कलले खेलकुद भनेको दौड मात्रै हो भन्ने बुझेका थिए । त्यसैले उनले एपीएफमा सेवाका क्रममा दौड रोजे । अन्य खेलबारे त्यस बेलासम्म उनलाई जानकारी थिएन । ‘गाउँघरमा सानै उमेरदेखि दौडिन्थेँ । फौजमा जागिर खान पनि दौडिनै पर्छ भन्ने बुझेको थिएँ,’ उनी भन्छन्, ‘त्यही बुझाइले दौडमात्रै खेलकुद हो भन्ने लाग्थ्यो ।’

दौडमा अब्बल अक्कल अहिले भने विदेशमा आफूले परिश्रम गरेर कमाएको पैसाले समाज सेवामा लागेका छन् । आफू हुर्केको दुर्गम गाउँमा पक्की पैदल बाटो, खानेपानीको धारा तथा ट्यांकी निर्माण, मसान घाट निर्माणलगायतका काम उनले गरेका छन् ।

यसपटक स्वदेश आएका उनले दलित बस्ती रहेको रुगा गाउँमा दुई किलोमिटर लामो पक्की पैदल बाटो बनाएका छन् । बाटो बनाउन उनी आफैँ हप्तौँ खटिए । उनलाई स्थानीयवासीले पनि सहयोग गरे । मुगु जिल्लामा एउटा मात्रै नगरपालिका रहेको छ ।

‘स्थानीयतहले गरेको भए करोडौँ खर्च देखाउँथे होला तर मैले केही लाख खर्च गरेर त्योभन्दा राम्रो काम गरेँ,’ अक्कल भन्छन्, ‘समाज सेवाको आनन्द नै फरक हुने रहेछ । मनभित्रैबाट सन्तुष्टि मिलेको छ ।’

वर्षौंदेखि खोलाको किनारमा जथाभावी ढङ्गले शवदाह गर्दै आएका थार्प गाउँका बासिन्दा लागि उनले यसपटक स्थायी शवदाह स्थल निर्माण गरिदिएका छन् । यसका लागि करिब १० लाख रुपैयाँ खर्च लागेको उनले बताए ।

शवदाह स्थल निर्माणका क्रममा खोला किनारमा ढुङ्गामै खाना पस्केर खानु पर्दा पनि उनले दुःख महसुस गरेनन् । समाज सेवाको कामले अनेक दुःख पनि सन्तुष्टिमा परिणत भएको उनको उनको भनाइ छ ।

यस्तै, वर्षौंदेखि खानेपानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यतामा रहेका गाउँलेका लागि उनले धारा पनि निर्माण गरिदिएका छन् । यसबाट डेढ सय घर परिवार लाभान्वित भएका छन् ।

कोरोना महामारीका कारण अहिले स्पेनमा बन्दाबन्दी छ । व्यापार व्यवसाय पनि उति राम्रो छैन । त्यसैले यही समयको सदुपयोग गर्दै उनी यसपटक नेपाल आएका हुन् ।

दुई वर्षअघि नेपाल आउँदा पनि उनले लाहापु गाउँमा बाटो निर्माण लगायतका सामाजिक काम गरेका थिए । करिब २२ लाख रुपैयाँको लागतमा दुई सय मिटर लामो बाटो ढलान गरेर बनाइएको छ । बाटो ढलानका लागि घोडा र खच्चडलाई सिमेन्ट बोकाएर गाउँ पुर्‍याइएको उनले बताए ।

उनले दुःख पाएका गाउँलेहरूलाई आर्थिक सहयोग पनि गर्दै आएका छन् । समाज सेवामा सक्रिय अक्कलको लगाव देखेर स्थानीयवासीले राजनीतिमा आउन पनि आग्रह गर्ने गरेका छन् । अहिले नै उनी राजनीतिमा होमिने सोचमा छैनन् । स्वदेश फर्किएपछि भने राजनीतिमा लाग्ने सोचमा छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ०५ बजे

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने