विकासको बाधक संरक्षित क्षेत्र | Khabarhub Khabarhub

विकासको बाधक संरक्षित क्षेत्र


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रदेशभित्रका १९ स्थानीय तह प्राकृतिक स्रोत उपभोगमार्फत आम्दानी गर्नबाट बञ्चित छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने १६ पालिका, मनाश्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका, ढोरपाटन शिकार आरक्ष र चितवन राष्ट्रिय निकुञ्जको दायराभित्रका पालिकालाई आफैँ स्रोत खोजी गर्न र उपभोग गर्न समस्या परेको हो ।

त्यहाँबाट हुने सबै आम्दानी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जम्मा हुन्छ । पालिकाहरू केन्द्र र प्रदेशको अनुदानको भरमा बाँच्नुपरेको छ ।संविधानअनुसार देशमा तीन तहको सरकार छ । सबैलाई आफ्नो हैसियत अनुसारको अधिकार बाँडफाँट गरिएको छ । सोहीअनुसार जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । सबै आफ्नो सरकार मज्जासँग चलाइरहेका छन् ।

संविधानले संघीय व्यवस्था परिकल्पना गरेको छ । अहिले केन्द्र, प्रदेश र स्थानीय तहसहित सात सय ६१ सरकार देशमा छ । तर, सबै स्रोत संघको मातहतमा छ । संघले अनुदान दिन्छ, अनुदानलाई प्रदेश र स्थानीय तहले आवश्यक्ताअनुसार वितरण गर्छन् । त्यसैबाट वर्षभरीको कार्यक्रम तय हुन्छ र कार्यान्वयन गरिन्छ । तल्ला सरकारलाई वित्तीय आत्मनिर्भर बनाउन संघले खासै राम्रो भूमिका नखेलेको उनीहरूको आरोप छ ।

अहिले अधिकांश स्थानीय तहको रोजीरोटी ढुंगा, गिट्टी बालुवामै केन्द्रित छ । सबैजसो पालिकाले टेण्डरमार्फत नदीजन्य सामग्री उत्खनन् गर्छन् । नियमानुसार स्थानीय तहले यसरी गिट्टी, बालुवा बेचेर कमाएको पैसाको ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्छ । धेरै पालिकाले पठाएका छैनन् ।

आर्थिक वर्ष २०७७-७८ मा ४१ स्थानीय तहहरूले प्रदेशलाई आफूले उठाएको राजश्वको ४० प्रतिशत पठाएका हुन् । एकै वर्ष २२ करोड ३८ लाख रुपैयाँ राजश्व स्थानीय तहबाट प्रदेश विभाज्य कोषमा दाखिला भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ४४ स्थानीय तहले भने तोकिएको राजश्व बुझाएका छैनन् । अन्य स्रोतहरूमा भने पालिकाले हस्तक्षेप गर्न सकेका छैनन् ।

धेरै स्रोतहरू तीन तहका सरकारको साझा अधिकार सूचीमा पर्ने भएकोले परिचालनमा समस्या परेको छ । गण्डकीका नगरपालिकाहरूले आवश्यक ऐन कानुन बनाएर स्रोत उपभोग गर्ने बाटो फुकाइदिन आग्रह गरेका छन् । उनीहरूले साझा अधिकार सूचीका कानुन बनाउन र आवश्यक सहजीकरणका लागि प्रदेशको साथ खोजेका हुन् ।

‘स्थानीय तहको काम प्रत्यक्ष प्रदेशसँग जोडिन्छ । केही महत्वपूर्ण कानुनहरू बन्न बाँकी छन्, जुन बनेपछि आन्तरिक स्रोत बढाउन सहयोग पुग्छ,’ नगरपालिका संघ गण्डकीका अध्यक्ष दीपकबाबु कँडेलले भने, ‘स्रोतहरूमा संघ सरकार नै हावी छ । त्यो अब तल्लो तहमा झार्नुपर्छ ।’ उनले संघबाट हुने अड्चनविरुद्ध एकजुट हुनुपर्ने अवस्था आएको बताए ।

अहिले पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज, पानी तथा अन्य स्रोतबाट आम्दानी हुन्छ । यी सबै स्रोतमा संघको मात्रै पहुँच छ । संघले ७० प्रतिशत आफूलाई राखेर तल्ला सरकारलाई दामासायी रूपमा ३० प्रतिशत मात्रै वितरण गर्छ । उनीहरूले वित्तीय संघीयताका लागि पुनः एकपटक संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन् ।

संरक्षित क्षेत्रहरूले एकातिर स्रोत चलाउन दिँदैन भने अर्कोतिर विकास निर्माणका काममा समेत अवरोध गरिरहेका छन् । केन्द्रीय मानसिकता नफेरिँदासम्म स्रोतमाथि पहुँच नपुग्ने गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताउँछन् ।

‘प्राकृतिक स्रोतको दोहन होइन, परिचालन गर्ने हो । संरक्षण गर्ने कुरामा हाम्रो विमति छैन,’ उनले भने, ‘विकासका काम गर्दा सानो रुख काटियो भने पनि मुद्दा लाग्ने । वनजंगल छुनै नहुने प्रावधान अब सच्याउनुपर्छ ।’

उनले राजनीतिक रूपमा संघीयता सफल भए पनि देशमा वित्तीय संघीयता आउन नसकेको तर्क गरे । ‘राजनीतिक रूपमा सफल भइसकेका छौं । संविधानले अधिकार निर्दिष्ट गरेको छ । तर साधनस्रोतको बाँडफाँट र वित्तीय संघीयता आउन सकेको छैन,’ उनले भने, ‘एउटा रुख कटान गर्नुपर्‍यो भने सिंहदरवारबाटै आदेश लिनुपर्छ । वन प्रदेश सरकारकै क्षेत्राधिकारभित्र छ । तर माथिको सचिवज्यूको ‘बक्स’ ९आदेश० नभएसम्म काट्न पाइँदैन । यस्ता कमजोरी सच्याइएन भने सफलता हासिल गर्न गाह्रो छ ।’ संरक्षित क्षेत्रले समयमा इआइए गर्न नदिएका कारण गण्डकीका अधिकांश पालिकामा विकासको काम ठप्प भएको छ ।

न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १ : ३५ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक