आखिर किन मानिसहरु आफन्तको हत्या गर्न अघि सर्छन् ! | Khabarhub Khabarhub

आखिर किन मानिसहरु आफन्तको हत्या गर्न अघि सर्छन् !



काठमाडौँ– गत जेठ ५ गते कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र, कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयको उपचारका क्रममा जेठ ११ गते शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई दुई वटा गोली लागेको थियो ।

कपिलवस्तु नगरपालिका–१ का बासिन्दा ३४ वर्र्षीय दीपकमाथि गोली प्रहार भएलगत्तै प्रहरीले अपरेशन ‘माइक ह्विस्की’ नाम दिएर अनुसन्धान शुरू गर्‍यो । प्रहरी २५ दिनपछि हत्याको मुख्य योजनाकारसम्म पुग्न सफल भयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दीपकको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीका अनुसार दीपककी श्रीमतीको योजनामै हत्या भएको हो । खबरहबसँग कुरा गर्दै एसपी अधिकारीले भने, ‘हामीले घटनास्थल र अपराधको प्रकृति हेरेर सूक्ष्मरूपमा अनुसन्धान अघि बढाएका थियौँ, घटनाको दुई दिनमै दीपकलाई गोली हान्ने ओमप्रकाश यादवलाई पक्राउ गर्‍यौँ, अन्ततः ओमप्रकाश र मृतककै श्रीमतीको योजनामा हत्या भएको तथ्य खुलेको छ ।’

एसपी अधिकारीका अनुसार ओमप्रकाश र महिमाबीचको अवैध सम्बन्धका कारण दीपकको हत्या भएको हो ।

तीन वर्षअघिदेखि योजना

एसपी अधिकारीका अनुसार करिब तीन वर्षअघिदेखि नै ओमप्रकाश र महिमा दीपकको हत्याको योजनामा थिए तर सफल हुन सकेको थिए । एसपी अधिकारीका अनुसार ओमप्रकाश र महिमाबीचको अवैध सम्बन्ध थियो । दीपकले यो कुरा थाहा पाएपछि हत्याको योजना बन्न थालेको हो ।

उनीहरूले दीपकको हत्याका लागि पेशेवर अपराधी पनि गुहारेका थिए । एसपी अधिकारीले खबरहबसँग भने, ‘ओपप्रकाश र महिमा मिलेर दीपकको हत्याका लागि पेशेवर अपराधीलाई पटक–पटक बैना रकम दिएको हाम्रो अनुसन्धानबाट देखिएको छ ।’

उनका अनुसार यसपटक पनि दुवै जना मिलेर हत्याको योजना बनाएका थिए । हतियार किन्ने र हत्याको समय मिलाउने काम ओमप्रकाशले गरेका थिए ।

घटना ११ जना संलग्न

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले दीपकको हत्यामा संलग्न भएको आरोपमा उनकी श्रीमतीसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले दीपकमाथि गोली प्रहार भएको दुई दिनमै कपिलवस्तु नगरपालिकाका ३९ वर्षीय ओमप्रकाश र साकिर अलि पाखियालाई पक्राउ गरेको थियो ।

त्यसपछि अनुसन्धानका क्रममा अन्य ९ जना पक्राउ परेका हुन् । एसपी अधिकारीका अनुसार पक्राउ परेका सबैको कुनै न कुनै रूपमा संलग्नता पुष्टि भएको छ । हतियार किन्ने, हत्याका लागि मोटरसाइकलमा लैजाने, दीपकको गतिविधि निगरानी गर्ने, संलग्नलाई घरमा संरक्षण जस्ता काममा उनीहरू संलग्न थिए ।

किन हुन्छ आफन्तबाटै हत्या !

प्रहरी प्रधान कार्यालयको विवरणअनुसार नेपालमा हत्याका घटनामध्ये करिब एक तिहाइ घटना आफन्तबाटै हुने गरेको देखिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो ५ वर्षमा देशभर ३ हजार ४ सय जनाको हत्य मध्ये १ हजारभन्दा बढी घटना आफन्तबाटै भएको देखिएको छ ।

कुँवर भन्छन्, ‘पछिल्लो ५ वर्षका हत्याका घटना विश्लेषण गर्दा ३१ प्रतिशत हत्या आफन्तबाटै भएको देखिएको छ ।’

उनका अनुसार घरपरिवार र नजिकका आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायसी कुरामा वादविवाद मुख्य कारण देखिएका छन् । कुँवर भन्छन्, ‘यस्ता हत्याको पछाडि यौन, सम्पत्तिको विवाद, घरझगडा जस्ता कारण मुख्य रहेका छन् ।’

उनका अनुसार पछिल्लो समय श्रीमान–श्रीमतीले एकअर्काको हत्या गर्ने क्रम पनि बढेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘श्रीमान् र श्रीमतीबीच आपसमा विश्वास गुम्दै जाँदा, परपुरुष या परस्त्री सम्बन्ध देखिँदा हत्याको घटना हुने गरेको पाइएको छ ।’
मल्लाका अनुसार नेपालमा पछिल्लो समय अभिभावकीय निगरानीको कमीका कारण सामाजिक मर्यादा र अनुशासन हराउँदै गएको छ । यसकारण पनि परिवारभित्रैका अर्थात नजिकका व्यक्ति मार्ने क्रम बढेको छ ।

सामाजिक सञ्जालको गलत प्रयोग पनि आपराधको कारण बन्दै गएको छ । पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको छ, त्यसमा गरिने देखासेखी र त्यसबाट हुने आत्मीयताका कारण अनैतिक सम्बन्ध हुने र हत्याका घटना हुने गरेको पाइएको छ ।’ डिजिटल प्लेटफर्ममा सरकारी निगरानी पुग्न नसक्दा पारिवारिक विचलन बढ्दै गएको छ । यही कारण हत्याका घटना हुने गरेको डीआईजी अधिकारीको तर्क छ ।

नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदी लेनदेन विवाद र अवैध सम्बन्ध नै हत्याको मुख्य कारण हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘तत्कालको रिस नियन्त्रण गर्न नसक्दा र अवैध सम्बन्ध लुकाउन हत्याका घटना हुने गरेको देखिएको छ ।’

अपराधशास्त्री माधव आचार्य आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षाका कारणले मानिसहरू बिस्तारै क्रुर हुँदै गएको विश्लेषण गर्छन् । उनी भन्छन्, ‘समाज विस्तारै क्रुर हुँदै छ । मानिसमा महत्वकाङ्क्षासँगै जिद्दी स्वभाव बढेको छ । सामान्य आवेगसमेत धान्न नसक्दा हत्या हुने गरेको छ ।’

समाजमा हत्याका घटना नियन्त्रणका लागि जनचेतना बढाउनु पर्ने विज्ञहरू बताउँछन् । पूर्वडआईजी मल्ल भन्छन्, ‘अपराधका घटना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनुपर्छ ।’
व्यक्तिहरूमा बदलाको भावनको साटो माफी दिने अभ्यास अभिवृद्धि गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ०८ बजे

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने