वामपन्थी धरापमा नेपाली कांग्रेस « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

वामपन्थी धरापमा नेपाली कांग्रेस



नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिएपछि उनी सर्वत्र आलोचित हुनुपरेको छ । यहाँसम्म कि उनको आफ्नै पार्टी नेपाली कांग्रेसले पनि आत्म आलोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने भयो ।

कांग्रेस जस्तो प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल सिद्धान्त मान्ने पार्टीका कार्यकर्तामा यस प्रकारको अराजक चरित्र विकसित हुनु नेपालको राजनीतिक भविष्यका लागि हितकर मान्न सकिँदैन ।

यसबारे थप प्रतिक्रियाहरू आउँदै गर्लान् तर प्रजातान्त्रिक चरित्रबाट विकसित एउटा पार्टीको कार्यकर्तामा यति गम्भीर विचलन आउनुको कारण के हुनसक्छ ? यसको विश्लेषण गर्न २०४६ पछि नेपाली कांग्रेसको कार्यशैलीमा आएको क्रमिक परिवर्तन बुझ्नुपर्ने हुन्छ । बहुदलीय प्रजातन्त्रको पक्षमा अडिग यो पार्टीका शीर्ष नेताहरू जेल बसे, स्वनिर्वासनमा गए तर सैद्धान्तिक विचारमा कुनै सम्झौता गरेनन् ।

सर्वोच्च अदालतबाट ७६(५) कायम भई देउवा नै प्रधानमन्त्री भएको खण्डमा रक्षा, परराष्ट्र, अर्थ र गृहजस्ता राज्य सञ्चालनका महत्वपूर्ण मन्त्रालय भागबण्डामा पारिनेछन् । गठबन्धन बनाई चुनावमा जाने सहमतिसम्म पुग्दा कांग्रेसले धेरै कुरा गुमाउनेछ । अपमानित भई सत्ताबाट बहिर्गमन हुनुपर्ने पनि हुनसक्छ ।

बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि भएको पहिलो आम निर्वाचनदेखि नेपाली कांग्रेसभित्र गुटबन्दीले औपचारिकता पाएको हो । तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री र आफ्नै पार्टी अध्यक्ष सन्त नेता कृष्णप्रसाद भट्टराईलाई काठमाडौँ निर्वाचन क्षेत्रमा पराजित गराउने महाभुल कांग्रेसीहरूले आफैँ गरे । यहाँबाट भट्टराई गुट र गिरिजा गुटमा विभाजित भएको कांग्रेस त्यसपछि कहिले पनि एकीकृत हुन सकेन ।

आम निर्वाचनमा बहुमत प्राप्त भएर आफ्नो एकदलीय सरकार बनाउन सफल कांग्रेस पार्टीको गुटबन्दीको परिणामस्वरूप एकल बहुमतको सरकार ढल्यो । सांसदहरू चौहत्तरे र छत्तीसे समूहमा विभाजित भए । मुलुक मध्यावधि निर्वाचनमा होमिन बाध्य भयो ।

यसका साथै कांग्रेसभित्र भूमिका प्राप्त गर्न दलप्रतिको निष्ठा, सिद्धान्त र विचारप्रतिको समर्पण अर्थहीन बन्यो । व्यक्तिवादी तथा गुटगत सोच निर्णायक हुन पुग्यो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात गर्ने पहिलो राजनीतिक दलमा आएको यस्तो चारित्रिक विचलनको प्रभाव क्रमिक रूपमा सबै दलभित्र देखापर्नु स्वाभाविक थियो ।

गुटबन्दीबाट आजित भएर गणेशमान सिंहले पार्टी नै परित्याग गरे । चरम गुटबन्दीले कांग्रेसलाई विभाजित गरायो । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) जन्मियो । पछि भागबण्डा मिलाउँदै देउवा पुनः पुरानो पार्टीमा फर्किए । यसरी गुटबन्दी व्यवस्थापन गर्न भागबण्डाले औपचारिकता पायो । प्रतिशतका आधारमा भागबण्डा हुन थाल्यो ।

भागबण्डाले दिने एकमात्र परिणाम आन्तरिक किचलो हो । अहिले देशको न्यायपालिका, संवैधानिक निकाय, प्रशासन लगायत सबै ठाउँलाई भागबण्डाले गिजोलेको छ । माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सेनालाई राजनीतिक दाउपेचमा तान्ने कोशिस गरेका थिए तर असफल भए । अहिलेसम्म नेपाली सेनामात्र भागबण्डाबाट आफूलाई अलग राख्न सफल छ ।

राजा ज्ञानेन्द्रको सत्तारोहणपछि पहिलेदेखि सिद्धान्तहीन भइसकेको राजनीति झन व्यक्तिगत आक्षेप र अहङ्कार उन्मुख हँुदै जाँदा सैद्धान्तिक आवरणमा निजी रिस फेर्ने काम हुन थाल्यो । सात दल र माओवादीबीच भएको समझदारीले सशस्त्र द्वन्द्व अन्त्य गर्नु स्वागतयोग्य भए पनि बाह्र बुँदे समझदारी अहिले पनि विवादास्पद नै छ । त्यो समझदारी व्यवस्थित गर्ने नाममा सहमति र सहकार्यजस्ता अलंकारयुक्त पदावली प्रयोग गर्दै नेताहरूले सैद्धान्तिक राजनीति विसर्जन गरे ।

अबको वामपन्थी रणनीति अनुरूप ओली विरुद्धको गठबन्धन चुनावसम्म कायम राख्ने भन्दैछन् र त्यो गठबन्धन वामपन्थी बहुलताको हुनेछ । प्रतिस्पर्धामा अर्कातिर एमाले अर्थात वामपन्थी नै हुनेछ ।

प्रथम राष्ट्रपति बन्ने गिरिजाबाबुको चाहनालाई मूर्तरूप दिन बिलकुल फरक सैद्धान्तिक चरित्र भएका दलहरूबीच गठबन्धन सरकार बनाउने अभ्यास आरम्भ भयो । सबैले सबैसँग गठबन्धन सरकार बनाए । यसले गर्दा जनताको लागि सरकार परिवर्तनको कुनै औचित्य रहेन । हालसम्म यस्तै राजनीतिक विकृतिले नेपाललाई दिशाहीन बनाएको छ ।

राजनीतिक दलहरूका लागि जनादेश भनेको नैतिक परिधि हो । यस सीमाको उल्लंघन गर्न मिल्दैन । बितेको आम निर्वाचनमा एमाले र माओवादी केन्द्र पाँच वर्षका लागि स्थिर सरकार दिने र पार्टी एकीकरण गर्ने वाचासहित गठबन्धन बनएर चुनावमा गए । गठबन्धनले सफलता पनि पायो । कांग्रेसलाई प्रतिपक्ष र मधेस केन्द्रित दलहरूलाई आफ्नो क्षेत्रमा नेतृत्व दिन जनादेश भयो ।

भागबण्डाको किचलोले अन्ततः संसद विघटन र दलहरूबीच आन्तरिक तिक्तताबाहेक केही पनि बाँकी रहेन । एकीकृत भएर पनि विभाजित भएका दुवै वामपन्थी दल गम्भीर आरोप प्रत्यारोपमा छन् । एमालेका र मधेस केन्द्रित नेताहरू एकअर्कालाई लाञ्छनायुक्त प्रहार गरिरहेका छन् । कांग्रेसभित्र पनि मौकामा चौका हान्न विपरीत राजनीतिक सिद्धान्त र दर्शनका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाइहाल्ने अनौठो रहर जागेको छ ।

अहिले प्रधानमन्त्री ओलीलाई जसरी पनि विस्थापन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भरोसाका पात्र देखेका छन् । सर्वोच्च अदालतबाट ७६(५) कायम भई देउवा नै प्रधानमन्त्री भएको खण्डमा रक्षा, परराष्ट्र, अर्थ र गृहजस्ता राज्य सञ्चालनका महत्वपूर्ण मन्त्रालय भागबण्डामा पारिनेछन् । गठबन्धन बनाई चुनावमा जाने सहमतिसम्म पुग्दा कांग्रेसले धेरै कुरा गुमाउनेछ । अपमानित भई सत्ताबाट बहिर्गमन हुनुपर्ने पनि हुनसक्छ ।

पद्धति जोगाउन सकिएन भने संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ भन्ने पदावलीलाई वामपन्थी व्याख्या गरेर उत्तर कोरिया, भेनेजुएला वा क्युबातिर पुर्‍याउने निश्चित छ जहाँ नेपाली कांग्रेसको मूल सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई कुनै स्थान हुनेछैन ।

माधव नेपालले बृहत् वामपन्थी एकताको कुरा गर्दै आएका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादव विगतका माओवादी हुन् । प्रचण्डका बारे सबैलाई अवगत नै छ । पछिल्लो जनादेशमार्फत सरकार सञ्चालनको जिम्मा बामपन्थीहरूलाई थियो । नियन्त्रण गर्न प्रतिपक्षको रूपमा प्रजातान्त्रिक शक्ति थियो कांग्रेस ।

अबको वामपन्थी रणनीति अनुरूप ओली विरुद्धको गठबन्धन चुनावसम्म कायम राख्ने भन्दैछन् र त्यो गठबन्धन वामपन्थी बहुलताको हुनेछ । प्रतिस्पर्धामा अर्कातिर एमाले अर्थात वामपन्थी नै हुनेछ ।

जसले जे भने पनि अर्को चुनावबाट एमालेलाई पहिलो अथवा दोस्रो स्थान प्राप्त हुने नै छ । अर्को अर्थमा, वर्तमान राजनीतिक समीकरण कायम रहेमा अबको निर्वाचनपछि संसदमा सत्ता र प्रतिपक्ष दुवै स्थान वामपन्थी कब्जामा जानेछ । कांग्रेसका लागि प्रधानमन्त्री पद अथवा पद्धतिमध्ये कुनै एक रोज्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्नेछ । यस अवस्थामा पद्धतिलाई प्राथमिकता दिनु उचित हुनेछ ।

वर्तमान बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात नेपाली कांग्रेसले गरेको हुँदा यसको संरक्षण गर्ने प्रथम दायित्व पनि उसकै हो । पद्धति जोगाउन सकिएन भने संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ भन्ने पदावलीलाई वामपन्थी व्याख्या गरेर उत्तर कोरिया, भेनेजुएला वा क्युबातिर पुर्‍याउने निश्चित छ जहाँ नेपाली कांग्रेसको मूल सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई कुनै स्थान हुनेछैन ।

यसकारण धरापमा फस्दै गएको कांग्रेस समय छँदै सचेत हुन र वामपन्थी धरापको वैचारिक भ्रमबाट मुक्त हुन आवश्यक छ ।


भर्खर

0