शपथ ग्रहणमा बेथिति किन ! | Khabarhub Khabarhub

शपथ ग्रहणमा बेथिति किन !



काठमाडौँ- ‘नेपाल प्रज्ञा-प्रतिष्ठान’ द्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ मा ‘शपथ’ शब्दको अर्थ दुई किसिमले दिइएको छ :

१. कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा ।

२. संविधान अनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा ।

‘शपथ ग्रहण’ शब्दावलीको अर्थ पनि दिइएको छ-

संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमानदार रही वचनबद्ध हुने तथा प्रतिज्ञा गर्ने काम ।

उपर्युक्त अर्थहरू अनुसार ‘शपथ ग्रहण’ गर्नु भनेको ‘प्रतिज्ञा’ गर्नु हो ।
हाम्रा प्रधामनमन्त्री तथा मन्त्रीहरूको शपथपत्र हेरौँ–

म ……. मुलुक र जनताप्रति बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु; ईश्वर/देश र जनाताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही प्रधानमन्त्री पदको कामकाज प्रचलित कानूनको अधीनमा रही, मलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जनुसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट प्रकट वा सङ्केत गर्ने छैन ।

‘शपथ’ शब्द वा ‘शपथ ग्रहण’ शब्दावलीको अर्थका दृष्टिले उक्त शपथपत्रमा प्रयुक्त ‘प्रतिज्ञा’ शब्द ‘शपथ’ कै पुनरुक्ति हो । ‘शपथ लिन्छु’ भनेपछि ‘प्रतिज्ञा गर्छु’ भनिरहनु परेन ।

शपथपत्रमा नाम र पूर्णविराम बाहेक ८७ शब्दको एउटै वाक्य छ । यति धेरै शब्दको एउटै वाक्य पदङ्गति र अर्थसङ्गतिका साथ लेख्नु कठिन काम हो ।

एउटै वाक्यमा उस्तै अर्थ लाग्ने शब्द प्रयोग गर्नु लेखनशिल्पका दृष्टिले अज्ञानता हो । एउटा उदाहरण हेरौँ– काँडे भ्याकुर केवल नेपालमा मात्र पाइन्छ । यो वाक्यमा ‘केवल’ वा ‘मात्र’ मध्ये एउटा प्रयोग गर्नुपर्छ । दुवै प्रयोग गर्नु आपसमा दुवै शब्दको पुनरुक्ति हो ।

प्रधानमन्त्री र मन्त्रीहरूको शपथपत्रमा प्रयुक्त ‘प्रतिज्ञा’ र ‘शपथ’ अनावश्यक पुनरुक्ति हो ।

त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न अस्वीकार गर्नु र राष्ट्रपतिले दोहोर्‍याएर उच्चारण गर्दा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्नु ठिकै थियो ?
होइन, गलत थियो । गलत हुनाका कारण तीन वटा छन् ।

एक : प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गराउनेले एक सासमा सकिने गरी शब्दावलीको लय मिलाएर गरेको उच्चारण शपथ ग्रहण गर्नेले जस्ताको तस्तै दोहोर्‍याउनु पर्छ । यसो गर्दा उच्चारण जसले बिगार्छ उसकै गल्ती मान्नुपर्छ । शपथ ग्रहण गर्ने व्यक्ति गराउनेभन्दा बाहिर जानु शपथ ग्रहणको मान्यता र परम्परा विपरीत हो ।

दुई : अर्थका दृष्टिले शब्दको पुनरुक्ति भइहाल्यो भने पनि सामान्यतया गलत अर्थ लागिहाल्ने होइन । ‘प्रतिज्ञा गर्छु’ पछि अल्पविराम वा अर्धविराम चिह्न ( , वा ; ) प्रयोग गरेको भए प्रतिज्ञा गर्छु अनि शपथ पनि गर्छु भन्ने अर्थ लाग्छ । यस्तो चिह्न प्रयोग भएको छैन भने अशोभनीय ढङ्गको पुनरुक्ति देखिन्छ ।

तीन : शपथपत्र त शपथ ग्रहण गर्ने पदाधिकारीले अग्रिम हेरेको–पढेको हुनुपर्ने हो । यसो नहुनु प्रक्रियागत त्रुटी हो । शपथपत्र शपथ गराउनेको राजीखुसीले तत्कालै लेखिने होइन । यो पूर्वनिर्धारित लिखत हो । प्रधानमन्त्री ओलीले हेरेका–पढेका भए पहिले नै सम्पादन गर्न सकिने थियो होला ।

शपथपत्रमा प्रयुक्त शब्द ‘इमानदारिता’ संरचनाका दृष्टिले गलत छ । ‘इमानदार’ विशेषण हो । ‘इमानदार’ मा ‘ई’ प्रत्यय लागेर ‘इमानदारी’ नाम शब्द बनेको हो । सामान्यतया ‘ता’ उपसर्ग विशेषण शब्दलाई नाम शब्द बनाउन प्रयोग हुन्छ; जस्तै : नवीन (विशेषण) र नवीनता (नाम), सुन्दर (विशेषण) र सुन्दरता नाम ।

यसै गरी सामान्यतया ‘ई’ प्रत्यय नाम शब्दलाई विशेषण शब्द बनाउन प्रयोग हुन्छ; जस्तै : ‘नेपाल’ बाट नेपाली, ‘हिमाल’ बाट हिमाली इत्यादि ।

‘इमानदार’ मा ‘ई’ लागेर बनेको ‘इमानदारी’ नाम शब्द हो । यसमा फेरि ‘ता’ जोडेर ‘इमानदारिता’ बनाउनु शब्द संरचनाको ज्ञानको स्तर शून्य हुनु हो ।

राष्ट्रपति कार्यालयजस्तो देशको सर्वोच्च निकायबाट सम्पादन गरिने काममा भाषाको शुद्धता उच्च प्राथमिकतामा पर्नुपर्छ । नपर्नु भनेको आफ्नो भाषाप्रतिको उपेक्षा हो ।

यही उपेक्षाको परिणाम हो शुक्रबार प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा देखिएको र सुनिएको लज्जास्पद दृश्य र आवाज ।

राष्ट्रपति भण्डारीले गरेको ‘बहाल’ शब्दको उच्चारण ‘बाहाल’ सुनिएको छ । प्रधानमन्त्री ओलीले ‘बहाल’ उच्चारण गरेको सुनिन्छ ।

प्रश्न उठ्छ : प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेको र राष्ट्रपतिबाट सुनिएको निरीह ‘हिँहिँ’ शपथ ग्रहणको अंश हो कि होइन ?

अर्को उदेकलाग्दो कुरा के छ भने प्रधानमन्त्रीले उच्चारण गर्न अस्वीकार गरेको र ‘त्यो पर्दैन’ भनेको शब्दावली ‘प्रतिज्ञा गर्छु’ भनेरै राष्ट्रपतिले मन्त्रीहरूलाई शपथ ग्रहण गराइन् । मन्त्रीहरूले त्यही उच्चारण गरे ।

अझ उदेकलाग्दो र हास्यस्पद त के छ भने प्रधानमन्त्री आफूले अस्वीकार गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दावली नै उच्चारण गरेर राष्ट्रपतिकै सामुन्ने तीन जना राज्यमन्त्रीलाई ‘शपथ ग्रहण’ गराए ।

यो भन्दा मनपरी केलाई मान्नु र !

अझ गम्भीर कुरा यो हो कि प्रधानमन्त्री ओलीले किन आफ्नो शपथ ग्रहणमा मात्रै ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरे !

दनियाँलाई थाहा भएको कुरा हो, अमेरिकाका राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको शपथ ग्रहणमा ‘फेइथफुल्ली’ शब्दको स्थान फरक परेर ओबामा अलमलिँदा उनले दोहोर्‍याएर शपथ गरेका थिए ।

दोहोर्‍याउनुको कारण थियो- वाक्य संरचना र शब्द उच्चारणमा स्पष्ट हुनु ।

यसको अर्थ हो- शपथ ग्रहणमा प्रयुक्त शब्द र वाक्य व्याकरणका दृष्टिले शुद्ध हुनुपर्छ, उच्चारण शुद्ध र प्रष्ट हुनुपर्छ ।
अमेरिकामा राष्ट्रपतिको शपथ ग्रहणमा प्रधानन्यायाधीशका पछिपछि राष्ट्रपतिले शब्दावली उच्चारण गर्नुपर्छ ।

भारतमा राष्ट्रपतिले प्रधानमन्त्री र निकै ठूलो मन्त्रिपरिषदका सबै मन्त्रीहरूलाई एकएक जना गरेर शपथ ग्रहण गराउने चलन छ । राष्ट्रपतिले उच्चारण शुरू गरिदिएपछि शपथ ग्रहण गर्नेले एक्लै पढ्ने चलन छ । कतै गल्ती भएको अवस्थामा राष्ट्रपतिले तुरुन्तै दोहोर्‍याउन लगाएको दृश्य देखिएको छ ।

नेपालमा प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र मन्त्रीहरूलाई अलगअलग शपथ गराउने चलन छ, एकभन्दा बढी उपप्रधानमन्त्री भए एकसाथ हुन्छ ।

मन्त्रीहरू जति जना भए पनि समूहमा एकसाथ शपथ ग्रहण गर्छन् । यसरी धेरै जना एकसाथ बोल्दा कसले कसरी उच्चारण गर्‍यो, के भन्यो, केही पनि थाहा हुँदैन । यस्तो शपथ ग्रहण र खोलाको गीतमा केही फरक देखिँदैन ।
अपेक्षा गरौँ गल्तीबाट राष्ट्रपति कार्यालय र सम्बद्ध सबैले शिक्षा लिनेछन् र बेथिति सच्याउनेछन् ।

(शपथपत्रको लिखत विद्युतीय माध्यममा उपलब्ध अडियोबाट उतारिएको हो ।)

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : २५ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस