अलपत्र छन् राणाकालीन ऐतिहासिक धाराहरू | Khabarhub Khabarhub

अलपत्र छन् राणाकालीन ऐतिहासिक धाराहरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको न्युरोडबाट रञ्जना गल्लीतिर हिँड्ने जोसुकैको आँखामा पर्ने एउटा दृश्य हो, फलामे बारले घेरिएको एउटा पुरानो धाराको अवशेष । त्यसको माथिल्लो भागमा अक्षर कुँदेर ‘वीर धारा १८९०’  लेखिएको छ ।

यो अवशेष पानीको धाराको हो । तर त्यो  ‘वीर धारा’ बाट पानी आउँदैन । फलामको एउटा मोटो पाइप जमिनबाट करिब तीन फीट अग्लो छ ।  यो धारामा अंग्रेजी अक्षरमा ‘एल्ली एण्ड म्याक्लेन’ र ‘ग्ल्यास्को’ लेखिएको छ ।

न्युरोडकै पिपलबोटबाट मखनतर्फ जाँदा पनि यस्तै अर्को दृश्य देखापर्छ । सडक पेटीमा रञ्जना गल्लीको धाराकै शैलीको फलामे पाइप सडकबाट करिब एक फूट माथिसम्म देखिन्छ । यसमा पनि ‘वीर धारा’ कुँदिएको छ । धाराको यो अवशेषमा स्थानीयवासिन्दाले रातो माटो पोतेर पूजा गरेको देखिन्छ ।

इन्द्रचोकनजिकै सन्तानेश्वर महादेवको मन्दिर पछाडि फलामको पाइप आकारको संरचना जमिनबाट करिब चार फीट माथिसम्म छ ।

माथिल्लो भागमा गोलो आकार, त्यसको ठिक मुनि टुटीजस्तो संरचना छ । यो संरचनामा ‘त्रि—भीम धारा १९८८’ शब्द कुदिएको छ । यो राणाकालीन धारा थियो भने थाहा पाउने त्यही ‘त्रि—भीम धारा १९८८’ हो ।

धाराको वरिपरि मोटरसाइकल पार्किङ हुने गरेको छ ।

डिल्ली बजार पिपलबोटसँगै सडक पेटीबाट केही तल गहिरोमा अर्को एउटा फलामे संरचना देखापर्छ, ठ्याक्कै सन्तानेश्वर महादेव मन्दिरपछाडिको जस्तै । यहाँ हालै थपिएको धाराको एउटा टुटी पनि छ ।

यो पनि राणाकालीन धारा थियो भने थाहा पाउने त्यही ‘त्रि—भीम धारा १९८८’ हो । धाराको वरिपरि ढुङ्गा छापिएको छ तर जीर्ण अवस्थामा छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखाले यो धारामा नयाँ पाइपलाइनबाट हप्तामा एकपटक पानी आउने व्यवस्था मिलाएको छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले काठमाडौँका बासिन्दालाई पानी खुवाउन ठाउँठाउँमा धारा निर्माण गराएका थिए ।

महाराजगन्ज नजिक पोखरी बनाएर फलामका पाइपमातर्फत ती धारामा पानी पुर्‍याइएको थियो । त्यही पोखरी नै हालको ‘पानी पोखरी’ हो । पानी पोखरीमा शिवपुरीबाट फलामका ठूला पाइपमार्फत पानी ल्याइएको थियो ।

वीर शमशेरभन्दा ४४ वर्षपछि प्रधानमन्त्री भएका भीम शमशेरले वीर शमशेरले झैँ ‘त्रि—भीम’ धारा बनाए । ‘वीर धारा’ र ‘त्रि—भीम धारा’ काठमाडौँ उपत्यकामा कहाँकहाँ बनेका थिए र कति वटा थिए भन्ने प्रष्ट छैन । वीर शमशेरले शुरू गरेको कलधारा निर्माणलाई भीम शमशेरले निरन्तरता दिएका थिए ।

आधुनिकतासँगै घरघरमा खाने पानीको पाइप पुगेपछि राणाकालमा निर्माण गरिएका यस्ता धारा लोप हुँदै गएको काठमाडौँ महानगरपालिका वडा नं २० का बासिन्दा राजु प्रजापति बताउँछन् । इतिहास जोगाउन यस्ता संरचना पनि जोगाउनुपर्छ भन्ने उनको धारणा छ ।

उपत्यकामा सार्वजनिक धारा लोप हुँदै गएकोले ती धाराको इतिहास जोगाउन पानी आउने गरी पाइप जडान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखाका प्रमुख नारायण कर्णको भनाइ छ ।  यसरी पानी आउने चाहिँ डिल्ली बजारको ‘त्रि—भीम धारा’ मात्रै हो ।

कलधाराको इतिहास

इतिहासविद् रमेश ढुङ्गेलका अनुसार वि. सं. १९४५ मा प्रधानमन्त्री वीरशमशेरले काठमाडौँका विभिन्नि स्थानमा कलधारा निर्माण गर्ने योजना बनाएका थिए । सोहीअनुरूप १९४६ सालमा कलधारा निर्माणको काम शुरू भएको थियो ।

वीर शमशेरले भारतबाट ब्रिटिस इन्जिनियर झिकाएर पाइपलाइन विस्तार गराएका थिए । धारा बनेपछि तामाको पातामा ‘वीर धारा’ लेखेर टाँसियो । त्यसपछि ती कलधारालाई ‘वीर धारा’ भनिएको हो ।

रन्जना गल्लीको ‘वीर धारा’ मा अंग्रेजी अक्षरमा ‘एल्ली एण्ड म्याक्लेन’ र ‘ग्ल्यास्को’ लेखिएकोले धारा बेलायतमा बनाएर ल्याएको हुन सक्ने इतिहासविद् प्रकाशराज पाण्डे बताउँछन् ।

पाण्डेलाई ‘वीर धारा’ मा २०३२ सालसम्म पानी आएको सम्झना छ । उनी भन्छन्, ‘इन्द्रचोकका नौमुग टोलबासीले त्यसबेलासम्म वीरधाराको पानी खाने, नुहाउने, कपडा धुने गर्दै आएको म सम्झिँन्छु ।’ अव्यवस्थित शहरीकरणका कारण ती धाराका पाइपलाइन काटिएर पानी सुकेको पाण्डेको भनाइ छ ।

उनका अनुसार भीम शमशेरको पालामा केही ‘वीर धारा’ हटाइए । भीम शमशेरले आफ्नो शासनकालमा केही ‘वीर धारा’ उखेलेर ‘त्रि–भिम धारा’ राख्न लगाए ।

संस्कृतविद् सत्यमोहन जोशीका अनुसार शिवपुरीको फेदमा रहेको बुढानीलकण्ठबाट ल्याइएको पानी पानी पोखरी (हालको जापानी दूतावास नजिक) मा खसालेर वीरधारा मार्फत काठमाडौँ शहरबासीलाई वितरण गरिएको थियो ।

प्रमोद शमशेर राणाद्वारा लिखित ‘राणाशासनको वृत्तान्त’ नामक पुस्तकमा भारतबाट इन्जिनियर ल्याएर शिवपुरी पर्वतको फेदीमा एउटा विशाल पानी ट्याङ्की निर्माण गरी त्यहाँ जम्मा गरिएको स्वच्छ पानी ठूला–ठूला फलामका पाइपहरूद्वारा नगरसम्म पुर्‍याई कलधाराहरूमार्फत जनतालाई वितरण गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ५६ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का