'नेपाल र श्रीलंकाको सम्बन्ध पर्यटन र आर्थिक क्षेत्रले प्रगाढ बनाउँछ' | Khabarhub Khabarhub

‘नेपाल र श्रीलंकाको सम्बन्ध पर्यटन र आर्थिक क्षेत्रले प्रगाढ बनाउँछ’



सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र श्रीलंकाबीचको सम्बन्ध कूटनीतिक क्षेत्रका अतिरिक्त अन्य बहुआयामिक क्षेत्रमा पनि उस्तै प्रगाढ रहेको छ । धर्म र संस्कृति दुई देशबीचको सम्बन्धको मुख्य आधार हो भन्दा फरक पर्दैन । नेपाली र सिंहालीबीचको सम्बन्धले इतिहासदेखि नै निरन्तरता पाउँदै आएको छ । यी दुई देशबीचको सम्बन्धको धरातल आपसी विश्वास र मित्रताको जगमा अडिएको छ । यस किसिमको मित्रता थप प्रगाढ बनाउन दुवैतर्फको मिहिनेत पनि उत्तिकै छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकासँग खबरहबका ईश्वरदेव खनाल र कविता श्रेष्ठले दुई देशको सम्बन्ध, पर्यटन लगायतका विभिन्न विषयमा कुराकानी गरेका छन् ।

 

तपाईंको नेपाल बसाइ कस्तो भइरहेको छ ?

म एक बुद्धिस्ट भएका नाताले पनि नेपाल आउन पाउँदा आफूलाई निकै भाग्यमानी सम्झन्छु । बुद्धिस्टहरूका लागि नेपाल एक महत्वपूर्ण स्थान हो । त्यसैले नेपालका लागि श्रीलंकाको राजदूत हुन पाउनु मेरो लागि गर्वको विषय हो ।

सन् १९९८ मा विदेश सेवामा प्रवेश गरेपछि तपाईंले विभिन्न ओहोदामा रहेर धेरै देशमा आफ्नो देशको कूटनीतिक सम्बन्ध विस्तार गर्ने काम गर्नुभएको छ । लामो समय कूटनीतिक अनुभवका आधारमा तपाईंले दक्षिण एसियालाई कसरी हेर्नुभएको छ ?

राष्ट्रसेवक कर्मचारीका रूपमा कूटनीतिक सेवामा प्रवेश गरेपछि सरकारले खटाएको जुनसुकै ठाउँमा जानुपर्छ । श्रीलंकाको विदेश मन्त्रालयले विभिन्न शाखाको जिम्मेवारी दिँदा त्यो वहन गर्ने प्रयास गरेकी छु । यसअघि म दक्षिण एसिया बाहिर रहेर देशको कूटनीतिक सम्बन्धका लागि काम गरिरहेकी थिएँ ।

आफ्नै क्षेत्रमा काम गर्न पाएको यो मेरो पहिलो अवसर हो । यो अवसरलाई म धेरै महत्व दिन्छु । मैले अघि पनि भनेँ, यो मेरा लागि गौरवको विशेष अवसर हो ।

युरोप वा अस्ट्रेलियामा काम गर्दा र यो क्षेत्र खासगरी नेपालमा काम गर्दा कस्तो भिन्नता पाउनुभयो ?

पहिलो कुरा साँस्कृतिक समानता हो । दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का प्रायः सबै देशको संस्कृतिमा समानता छ । यसअघि मेरो कार्यक्षेत्र युरोप थियो । त्योभन्दा अघि म अस्ट्रेलियामा थिएँ ।

ती देशमा पनि सिंहाली समुदाय त थियो, तर देशलाई नै समग्ररूपमा हेर्दा नेपालीहरू सिंहाली मानिसजस्तै लाग्छन् । नेपालका मानिसमा धेरै सहयोगी भाव छ । मलाई नेपालमा बस्दा श्रीलंकाभन्दा बाहिर छु जस्तो अनुभव नै भएको छैन ।

नेपाल र श्रीलंकाबीचको सम्बन्ध इतिहासदेखिको हो । यी दुई देशबीचको आगामी दिनको सम्बन्ध कस्तो देख्नुहुन्छ ?

हामी देशबीचको सम्बन्ध इतिहासदेखिको हो । त्यसैले हाम्रो सम्बन्धमा एक किसिमको प्रगाढता छ । हामी दुई देशबीच समान खालका चुनौती र अवसर रहेकाले राजनीतिक हिसाबमा हाम्रो सम्बन्ध सक्रिय नै छ । जनताबीचको सम्बन्ध पनि प्रगाढ र मित्रवत किसिमको छ ।

हामीले प्रगाढ बनाउन नसकेको क्षेत्र आर्थिक र व्यापारिक हो । दुई पक्षीय सम्बन्धको भविष्य म यसैमा देख्छु । आर्थिक सम्बन्धले नै दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउँछ । यसले दुई पक्षीय सम्बन्धमा दीर्घकालीन फाइदा पुग्ने अवस्था सिर्जना गर्छ । त्यसले दुवै देशलाई आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्नु आवश्यक छ ।

यसका लागि महत्वपूर्ण चरण भनेको बुद्ध धर्म हो । साँस्कृतिक सम्बन्धलाई जोड्ने कडी हो बुद्ध धर्म । बुद्धिज्मको पुनर्उत्थानका लागि श्रीलंकाका भिक्षुहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हामीबीच संस्कृति र बुद्धिज्मको निकट सम्बन्ध छ ।

कृपया, सम्बन्धका यी आयामलाई भिन्दाभिन्दै व्याख्या गरिदिनुहुन्छ कि ?

मैले अघि भनेँ, हाम्रो सम्बन्ध इतिहासदेखिको हो । वर्तमानमा हाम्रो सम्बन्धको एउटा विशेष आयाम लुम्बिनी हो, जहाँ राजकुमार सिद्धार्थको जन्म भएको थियो । बुद्धिज्मसँगको सम्बन्ध त्यहाँबाट आउँछ ।

श्रीलंकाको प्रत्येक सरकारले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता निरन्तर व्यक्त गरेका छन् ।

लुम्बिनी क्षेत्र अन्तर्गत श्रीलंकाले निर्माण गरेको महावीर स्तुप एउटा उदाहरण हो, जसका माध्यमबाट श्रीलंकाले लुम्बिनीको विकासमा चासो दिएको सन्देश दिन्छ । नेपालमा भूकम्पपछि हामीले काठमाडौँका दुईवटा मन्दिर पुनर्निर्माण ग¥यौँ । आनन्दकुटी विहार, जसको श्रीलंकासँग प्रगाढ सम्बन्ध गाँसिएको छ, सन् २०१९ मा नै पुनर्निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेका छौँ । सम्पदा सूचीमा रहेको रातो मछिन्द्रनाथ पुनर्निर्माणको चरणमा छ ।

श्रीलंका सन् १९४८ स्वतन्त्र भएको थियो । त्यसबखत नेपालमा पनि नयाँ किसिमको राजनीतिक परिर्वतन आएको थियो । सन् १९५७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि हाम्रो सम्बन्धमा निकै बदलाव आएको छ ।

हाम्राबीच धेरै विषयमा छलफल भएको छ । धेरै विषयमा सम्झौता पनि भएको छ । आर्थिक, व्यापारिक र शैक्षिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि धेरै काम भएको छ । दुई देशले नै देखिने हिसाबमा सम्बन्ध अघि बढाइरहेका छौँ ।

श्रीलंकाका लागि नेपालका राजदूतका हैसियतमा श्रीलंकाबाट नेपालको लुम्बिनी भ्रमणमा आउने पर्यटक बढाउन तपाईंका तर्फबाट केही विशेष कार्यक्रम आउँछ कि ?

लुम्बिनी आउने पर्यटनको आँकडा हेर्ने हो भने श्रीलंका प्रमुख पाँच देशमध्ये पर्छ । यदि म गलत छैन भने सन् २०१८ मा लुम्बिनी आउने पर्यटनमा सिंहाली जनता सबैभन्दा धेरै थिए, जुन ७० हजारको असपास थियो ।

म सन् २०२० अघिको कुरा गर्दैछु । नेपाल भ्रमणमा आउने सिंहालीहरूले लुम्बिनी बाहेकको अन्य स्थानलाई पनि प्राथमिकतामा राख्नुपर्छ । नेपालमा यस्ता धेरै स्थान छन्, जुन हेर्न आउनुपर्छ । पर्यटन क्षेत्रका मानिससँग छलफल गर्दा मैले रामग्राम र कपिलवस्तु जस्ता क्षेत्रको पनि प्रवर्द्धन गर्नुपर्ने बताएकी छु ।

नेपालबाट श्रीलंका जाने पर्यटकको संख्या निकै सानो छ । औसतमा प्रतिवर्ष करिब ५ हजार ३ सय नेपाली मात्रै श्रीलंका भ्रमणमा जान्छन् । हामी दूतावासका तर्फबाट नेपालमा श्रीलंकाको पर्यटन क्षेत्र प्रवद्र्धन गर्ने उपाय खोजिरहेका छौँ । तुलनात्मकरूपमा नेपालबाट श्रीलंका जाने पर्यटकको संख्या त बढेको छ तर श्रीलंकाबाट नेपाल आउने संख्याको तुलनामा सानो छ ।

कोरोना महामारीपछि श्रीलंकाले आफ्नो पर्यटन व्यवसाय खुला गरिसकेको छ । श्रीलंकाको पर्यटन बोर्डको वेबसाइटमा अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड उल्लेख गरिएको छ । उक्त मापदण्ड पूरा गर्ने सबैलाई श्रीलंकाको पर्यटन क्षेत्र खुला छ, विशेषगरी नेपालीका लागि ।

टापु देश भएका कारण हामीले हाम्रा पर्यटनमा नौलो किसिमको अनुभवको व्यवस्था गरेका छौँ । भगवान बुद्धसँग सम्बन्धित ठाउँ र रामायण पदमार्गले निश्चिय पनि नेपालीलाई आकर्षित गर्नेछ ।

हामी कहाँ हेर्नका लागि वन्यजन्तु र सामुद्रिक जन्तु पनि छन् । श्रीलंका पृथ्वीकै सबैभन्दा ठूलो स्तनधारी प्राणी हात्ती र ब्लु ह्वेलको प्रमुख बासस्थान हो ।

श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटनको संख्या उल्लेख्य भए पनि दुई देशबीचको हवाई सम्बन्ध भने खासै राम्रो छैन । के तपाईंसँग सिधा हवाई सेवा स्थापित गर्ने कुनै योजना छ ?

यसका लागि सन् २०१९ पछि हामीले निकै गहनताका साथ काम गरिरहेका छौँ । यस विषयमा श्रीलंकाको हवाई सेवाबाट सकारात्मक समाचार पनि आएको थियो । विडम्बना ! कोभिडका कारण सबै योजना पर सरेको अवस्था छ ।

तपाईलाई थाहा नै छ होला, सन् २०१६ मा हिमालयन एयरलाइन्सले कोलम्बो उडान सुरु गरेको थियो । उनीहरू त्यसलाई सुचारु गर्न इच्छुक छन् । म के अपेक्षा गर्छु भने आगामी दिनमा यी दुईमध्ये कुनै एक अथवा दुवै एयरलाइन्सले दुई देशबीच सिधा हवाई सेवा सुरु गर्नेछन् ।

सिधा हवाई सम्पर्क स्थापित हुँदा दुई देशका पर्यटकका लागि मात्रै होइन, व्यवसायी र विद्यार्थीका लागि पनि सहज हुन्छ । हामी निकट भविष्यमै यो चुनौतीको सामना गर्दै सिधा हवाई सेवा सुरु गर्नेछौँ भन्नेमा म विश्वस्त छु ।

उच्चस्तरीय भ्रमण गराउने र पर्यटक बढाउने विषयमा तपाईंसँग कुनै निश्चित योजना छ कि !

नेपाल र श्रीलंकाबीच संयुक्त आयोग छ । हामीले यहाँको परराष्ट्र मन्त्रालयलाई संयुक्त आयोगको बैठक आयोजना गर्ने विषयमा आग्रह गरिरहेका छौँ । यो परराष्ट्र मन्त्रालय तहको विषय भयो । यसको फैसला पनि उसैले गर्नुपर्छ ।

संयुक्त आयोगको बैठक बस्न सकेको अवस्थामा हामी निकट भविष्यमा नै नेपालका परराष्ट्र मन्त्रीलाई श्रीलंकामा स्वागत गर्न सक्नेछौँ । त्यसो हुँदा दुई पक्षीय सम्बन्धको वृहत् विषयमा छलफल गर्न सकिने थियो ।

मैले अघि भनेँ, श्रीलंका नेपालमा पर्यटक आउने प्रमुख पाँचमध्ये एक हो । धार्मिक पर्यटनका लागि मात्रै आउने सिंहालीहरूको भ्रमणको क्षेत्र भने फराकिलो बनाउनु पर्छ ।

दूतावासका तर्फबाट हामीले नेपाली पर्यटकलाई श्रीलंकामा भित्र्याउन आवश्यक पर्ने काम आक्रामक हिसाबमा गर्नेछौँ । हामी धेरैभन्दा धेरै नेपाली विद्यार्थीले श्रीलंकालाई आफ्नो उच्च शिक्षा अध्ययनको केन्द्र बनाउन् भन्ने चाहन्छौँ र आवश्यक काम पनि गछौँ । समान खालको संस्कृति भएको देशमा उच्च शिक्षा अध्ययन गर्दा त्यसले फरक किसिमको अनुभव पनि दिन्छ ।

दूरी र खर्चका हिसाबले पनि श्रीलंका उच्च शिक्षाका लागि एक उत्तम विकल्प हो । हाम्रो शिक्षा क्षेत्र विकसित क्षेत्रकै स्तरमा पुगिसकेको छ । हाम्रो देशका शैक्षिक संस्थाले उच्च गुणस्तारको शिक्षा प्रदान गर्न सक्छन् । हाम्रा शैक्षिक संस्थामा विषयको विविधता विकसित देशकै जस्तो छ । हामी यो क्षेत्रमा आदानप्रदान बढाउन चाहन्छौँ ।

नेपाल र श्रीलंका मिलेर काम गर्नसक्ने अन्य क्षेत्र पनि छन् । दुई पक्षीय सम्बन्धलाई अर्को तहमा पुर्‍याउन आर्थिक सम्बन्ध कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

यस विषयलाई दूतावासले प्राथमिकतामा राखेको छ । हामी एक सुदृढ आर्थिक सम्बन्ध स्थापना गर्न चाहन्छौँ । भविष्यमा आर्थिक सम्बन्धले नै हाम्रो दुई पक्षीय सम्बन्ध निर्धारण गर्ने छ ।

हामीले नेपालका निजी क्षेत्रसँग नजिकबाट काम गरिरहेका छौँ । ‘नेपाल श्रीलंका चेम्बर अफ कमर्स’ र व्यापारसँग सम्बन्धित अन्य सङ्गठनसँग मिलेर दुई देशबीचको आर्थिक सम्बन्ध अघि बढाउने विषयमा हामी काम गर्दैछौँ ।

सहकार्यका लागि व्यापार, शिक्षा, पर्यटन र जलविद्युत जस्ता अन्य सम्भावित क्षेत्र पनि छन् । के हामी यी क्षेत्रमा सँगै अघि बढ्न सक्छौँ ?

दुई देशबीचको व्यापार सम्बन्ध खास सन्तोषजनक छैन । यद्यपि, केही समययता केही सुधार भएको छ । सन् २०२० को पहिलो ६ महिनामा करिब ५ मिलियन अमेरिकी डलर बराबरको व्यापार भएको थियो । कोरोना महामारीबीच भएको यो व्यापारलाई राम्रो नै मान्नुपर्छ । सुधारको ठाउँ भने अझै छ ।

सामुद्रिक खाद्यान्न, सेरामिक्स, लाइट इन्जिनियरिङ लगायतका सामग्रीले नेपालमा बजार पाउन सक्छन् । नेपाल गेडागुडी र कागजका उत्पादनले श्रीलंकामा राम्रो बजार पाउन सक्छ ।

व्यापारिक क्षेत्र विस्तार गर्न सकिने अर्को क्षेत्र भनेको शैक्षिक क्षेत्र हो । तुलनात्मक रूपमा कम खर्चमा श्रीलंकाले नेपाली विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सक्छ । आपसी सहमतिमा हामीले एकअर्काका विद्यार्थीलाई भिसा शुल्क नलिने नीति लिएका छौँ । यस्ता नीतिले दुई देशबीचको शैक्षिक गतिविधि बढाउन मद्दत पुग्छ ।

श्रीलंकाले प्रत्येक वर्ष ५ जना नेपालीलाई राष्ट्रपति छात्रवृत्ति प्रदान गर्ने गरेको छ । हाम्रा केही निजी शैक्षिक संस्थाले जागिरको व्यवस्था गरिदिन्छन्, भने केहीले शिक्षण शुल्क लिँदैनन् । म नेपाली विद्यार्थीलाई यस्तो अवसरको थप जानकारी आवश्यक परेमा दूतावासको वेबसाइट हेर्न अनुरोध गर्न चाहन्छु । धेरै जसो नेपाली विद्यार्थी इन्जिनियरिङ, व्यवस्थापन र केही त कृषिको अध्ययनका लागि पनि श्रीलंका जाने गरेका छन् ।

दुवै देशका तर्फबाट विस्तार गर्न सकिने अर्को क्षेत्र भनेको पर्यटन हो ।

योसँगै दुवै देशको सम्बन्ध विस्तार र प्रवर्द्धनका लागि युवाको भूमिका महत्वपूर्ण हुन्छ । करिब एक सय सिंहाली विद्यार्थी हाल नेपालमा चिकित्साशास्त्र अध्ययन गर्दैछन् । उनीहरू नेपालका विषयमा धेरै ज्ञान लिएर फर्किनेछन् । श्रीलंकामा अध्ययन गर्दै गरेका नेपाली विद्यार्थीको अनुभव पनि त्यस्तै हुनेछ । यसले विद्यार्थी स्वयंको मात्रै विकास गर्दैन, दुई देशबीचको सम्बन्ध विस्तार गर्न पनि सहयोग पुग्छ ।

सोही कुरालाई ध्यानमा राख्दै सन् २०१८ मा हामीले युवा सक्रियताका लागि दुई देशबीच एक खालको सम्झौता गरेका छौँ । यी सब कुराका अतिरिक्त दुई देशबीच रक्षाका क्षेत्रमा पनि सहकार्य हुन्छ । दुवै देशका सेना सैन्य अभ्यासका लागि एकअर्काको देशमा जाने गरेका छन् । यसले दुई देशबीच आपसी सहकार्यका धेरै क्षेत्र रहेको देखाउँछ ।

लामो समयदेखि सार्कको गतिविधि रोकिएको छ । तपाईं यो क्षेत्रीय सङ्गठनको भविष्य कस्तो देख्नुहुन्छ ?

श्रीलंका सार्क देशबीचको सहकार्यका लागि प्रतिबद्ध छ । निर्वाचनपछि अगस्टमा गठन भएको सरकारमा पहिलो पटक विदेश मन्त्रालयअन्तर्गत रहने गरी क्षेत्रीय सहकार्य राज्य मन्त्रालयको स्थापना भएको छ । यद्यपि, सदस्य देश जत्तिकै सार्क आफैँमा सवल हुन सक्थ्यो, त्यसो हुन सकेको छैन ।

सार्क अन्तर्गतका धेरै गतिविधि अहिले पनि सञ्चालनमा छन् । लामो समयदेखि कुनै पनि राजनीतिकस्तरमा कार्यक्रम र सम्मेलन आयोजना नहुँदा सार्क देशबीच कुनै गतिविधि नै नभएको जस्तो देखिएको मात्रै हो । सार्क क्रियाशील नभएको हालको अवस्थामा आपसी हितका अन्य क्षेत्रमा सहकार्य अघि बढाउन सकिन्छ । सङ्गठन क्रियाशील बनाउने कि नबनाउने भन्ने विषय सदस्य देशमा भर पर्ने कुरा हो ।

कोभिड सहायताका विषयमा पछिल्लो समय भएको क्रियाकलाप स्वागतयोग्य छन् । हामी एकअर्काको देशमा पर्यटन प्रवर्द्धन गर्न सक्छौँ । यस क्षेत्रलाई बुद्धिस्ट पर्यटन क्षेत्रका हिसाबमा प्रवर्द्धन गर्न सक्छौँ ।

सहकार्य गर्न सकिने अर्को क्षेत्र अन्तर क्षेत्रीय व्यापार हो । अन्तर क्षेत्रीय व्यापार प्रवर्द्धनका लागि साफ्टा एक उत्तम माध्यम हुनसक्छ ।

तपाईं नेपालको राजनीतिक अवस्थालाई कसरी नियाल्दै हुनुहुन्छ ?

सबै सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा छन् भन्ने कुरामा म निश्चिन्त छु । कूटनीतिज्ञको हैसियतमा हामी पनि सर्वोच्च अदालतको निर्णय के आउँछ भनेर प्रतीक्षा गरिहेका छौँ ।

लामो गृहयुद्धले आक्रान्त बनेको तपाईंको देशलाई पर्यटन गन्तव्यका रूपमा कसरी व्याख्या गर्न चाहनुहुन्छ ?

विगतदेखि नै श्रीलंकाले पर्यटक आकर्षित गर्दै आएको छ । कतिपय अवस्थामा यो हाम्रो अवस्थितिका कारण पनि हो । पर्यटन र सेवाभाव हामीमा स्वतः आउँछ । त्यसैले पनि हामी एक पर्यटन गन्तव्यका रूपमा परिचित छौँ ।

गृहयुद्ध, सन् २००४ को सुनामी र हालको महामारीले हाम्रो पर्यटन क्षेत्रलाई नराम्रो प्रभाव पारेको छ । तर, यो यस्तो लचिलो उद्योग हो जुन चाँडै आफ्नो पूर्ववत् अवस्थामा आउन सक्छ ।

सन् २०१९ मा लन्ली प्लानेटले श्रीलंकालाई एक उत्तम गन्तव्यका रूपमा उल्लेख गरेको थियो । विश्वका अन्य पर्यटन उद्योगबाट पनि हामीले धेरै प्रशंसा पाएका थियौँ । सिंहाली जनताको सेवाभाव र प्राकृतिक सौन्दर्य, ऐतिहासिक आकर्षणका अतिरिक्त हामीसँग अरू पनि धेरै कुरा छन्, जसले विश्वमाझ परिचित गराएको छ ।

युनेस्कोले सूचीकृत गरेका ७ वटा सम्पदा श्रीलंकामा छन् । सांस्कृतिक विविधता आकर्षणको प्रमुख केन्द्र हो । हामी कहाँ धेरै प्राकृतिक सौन्दर्ययुक्त स्थान छन् । वन्यजन्तु, सामुद्रिक जन्तु, संस्कृति, खान इत्यादिले मानिसलाई आकर्षित गर्छन् । म नेपाली जनतालाई श्रीलंका भ्रमण गर्न र त्यहाँको सैन्दर्यको अवलोकन गर्न आग्रह गर्छु ।

नेपालीहरूसँग केही भन्न चाहनुहुन्छ कि !

हामी छिट्टै सिधा हवाई मार्गबाट जोडिने अपेक्षा गर्न सक्छौँ । यसबाट पर्यटक, व्यवसायी र विद्यार्थीलाई एकअर्काको देशमा सहज हिसाबमा आवतजावत गर्न सहयोग पुग्नेछ । म संयुक्त आयोगको बैठक होस् भन्ने चाहन्छु । यी दुई घटनाले आपसी सम्बन्धमा धेरै फरक पार्नेछ ।

यस्तै शैक्षिक, पर्यटन र व्यापार सम्बन्धमा अझ धेरै आदानप्रदान होस् भन्ने मेरो इच्छा छ । हामीले कोरोना महामारीका दौरान बन्द गरेको पर्यटन क्षेत्र खोलिसकेका छौँ । त्यसैले, नेपालीहरूलाई श्रीलंका भ्रमण गर्न आग्रह गर्न चाहन्छु ।

हेरौँ अन्तर्वार्ताको यो भिडियो

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०