कमरेड प्रचण्डमा जाग्दै गरेको वैराग्य « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

कमरेड प्रचण्डमा जाग्दै गरेको वैराग्य



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिनु परेको दृष्टान्त दिँदै आफूलाई पनि कहिलेकाहीँ केही वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको प्रचण्डको भनाइ छ । आइतबार काठमाडौँमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाहीँ त्यस्तो खालको चिन्तन आउने गरेको बताए । यसबारे मनन गरिदिन वाम बुद्धिजीवीहरूलाई आग्रह पनि गरे ।

विगत केही समयदेखि कमरेड प्रचण्डबाट आएका अभिव्यक्तिले उनको विरक्तिएको मानसिक अवस्था प्रतिविम्बित गर्छ । संसद पुनस्र्थापित भएपछि मन्त्रिपरिषद गठन गर्न लाग्दा आफ्नै दलभित्रको अराजक अवस्था विश्लेषण गर्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए । हुने भए त सबैलाई मन्त्री बनाउन हुन्थ्यो तर मिल्दैन भनेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कडारूपमा प्रस्तुत भएका प्रचण्ड सर्वोच्च अदालतबाट पुनस्र्थापन पछि निकै उत्साहित देखिएका थिए त्यसयता भने लामो समयका सहयात्रीहरूको व्यवहारबाट सम्भवतः उनी निराश हुँदै गएका छन् । यस्तो परिस्थिति बुझिदिन र सम्भाव्य बाटो पहिल्याउन सहयोगको अपेक्षासहित उनले बाम बुद्धिजीवीहरूलाई आग्रह गरेको देखिन्छ ।

यसमार्फत बाम एकताको मार्गचित्र कोर्न उनले इशारा गरेका हुनसक्छन् तर के वास्तवमा राजनीतिक प्रतिकूलतामात्रले माओवादी जनयुद्धका नेतृत्वकर्ता कमरेड प्रचण्डमा नैराश्य बढाउँदैछ ?

समकालीन नेपाली राजनीतिको सम्भवतः सर्वाधिक चर्चित पात्र हुन् प्रचण्ड । झण्डै १३ वर्ष भूमिगत जीवनपछि शान्ति सम्झौतामार्फत युद्ध मैदानबाट खुला राजनीतिमा प्रवेश गरेका प्रचण्ड २०५७ सालदेखि नेकपा माओवादीको अध्यक्ष छन् ।

अपेक्षाकृतरूपमा सहजतापूर्वक राजनीति गर्ने अवसर प्राप्त भएर पनि बेलाबखत उनीबाट आउने गरेका यस प्रकारका अभिव्यक्ति कतै वैराग्यउन्मुख चित्तको परिणति त होइन ? यो हिन्दु लोकाचारमा आधारित उमेरअनुसारको आश्रम व्यवस्थाबाट सिर्जित स्वाभाविक रूपान्तरणको प्रस्थान बिन्दु त होइन ?

हिन्दु धर्ममा व्यक्तिको जीवनलाई उमेरअनुसार चार भागमा विभाजन गरिएको छ– ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास । जन्मदेखि २५ वर्षसम्मको जीवनलाई ब्रह्मचर्य हो । यसमा अध्ययन एवं ज्ञान आर्जनतर्फ आफूलाई लगाउनुपर्छ । त्यसपछिको २५ वर्ष अर्थात् ५० वर्षसम्मको उमेर गृहस्थ हुन्छ । यस अवधिभित्र विवाह, सन्तानोत्पादन, तिनको भरणपोषण र उचित शिक्षा तथा सम्पत्ति आर्जन गर्नुपर्ने हुन्छ ।

गृहस्थ पछि ७५ वर्षको उमेरसम्म वानप्रस्थ हुन्छ । यस अवधिमा व्यक्तिलाई परिवारभित्रको सीमित अवस्था पार गर्दै आफूलाई समाजसँग आबद्ध गर्नुपर्छ । यसपछिको समयमा सन्यास धारण गर्नुपर्छ र ७५ वर्षपछि प्रत्येक व्यक्तिले आफूलाई ईश्वरसँग जोड्न प्रयास गर्नुपर्छ । सारा भोगविलास र इच्छाअकांक्षा त्यागेर सन्यासी बन्नुपर्छ ।

हिन्दु धर्मको यो व्यवस्था सम्पूर्णरूपमा व्यक्तिको शारीरिक एवं मानसिक अवस्थाको वैज्ञानिक विश्लेषणमा आधारित छ । बाल्यावस्थाको चञ्चलता, युवावस्थाको विद्रोही स्वभाव र प्रौढ उमेरको उदारता स्वाभाविक हुन्छ । यसैगरी ७५ वर्षमाथिको उमेरमा वैराग्य जाग्नु सन्तुलित विकासको परिचायक मानिन्छ । कुनै व्यक्तिमा यस्तो स्वभाव विकास हुँदैछ भने निजको जीवन सहज र व्यवस्थित हुँदै गएको बुझ्नुपर्छ ।

वर्तमान नेपालको राजनीतिक क्षेत्रमा शीर्ष नेतृत्व तहका धेरै नेताहरू आफ्नो उमेरको ७५औँ वसन्तको वरिपरि छन्, कतिले पार गरिसकेका छन् । यस उमेर समूहका व्यक्तिमा प्राकृतिरूपमा शारीरिक तथा मानसिक तीक्ष्णतामा कमी हुनसक्छ । अनुभवको कारणले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न सफल भए पनि कार्यक्षमताको कमजोरी व्यवस्थापन गर्न नसकेर निराशाको परिस्थिति उत्पन्न हुँदै जानु स्वाभाविक हुन्छ । अनि सोहीअनुसारको अभिव्यक्ति सार्वजनिक हुने गर्दछ ।

सम्भवतः माओवादी अध्यक्ष प्रचण्डलाई उमेरले वैराग्योन्मुख गराउन लागेर यस प्रकारको मनोभावयुक्त अभिव्यक्ति आउन थालेको हुनसक्छ ।

हिजो देशलाई विलक्षण परिणामहरू दिन सफल हाम्रा उनै नेताहरू आज औचित्यहीन बन्दै गएका छन् । यसको प्रमुख कारण उमेरअनुसारको आचरण नगर्नु नै हो, उमेरअनुसार हुने मानसिक परिवर्तन आत्मसात नगर्नु नै हो ।

कमोबेश यही अवस्था अन्य शीर्षस्थ नेताहरूमा पनि देख्न सकिन्छ । अभिव्यक्तिको तरिका फरक हुनसक्छ । शीर्ष नेताहरूको यस्तो अवस्थाको परिणामस्वरूप समाजमा एक प्रकारको निराशा बढ्दैछ । अहिले सञ्चार माध्यममार्फत प्रेषित अधिकांश विचारहरू विश्लेषण गर्दा नकारात्मक सन्देश प्रवाहित भएको पाइन्छ । यसको प्रमुख कारण नेतृत्वले अपेक्षित परिणाम दिन नसक्नु हो ।

हिजो उमेरको एउटा हदसम्म अत्यन्त सकारात्मक रहँदै देशलाई विलक्षण परिणामहरू दिन सफल हाम्रा उनै नेताहरू आज औचित्यहीन बन्दै गएका छन् । यसको प्रमुख कारण उमेर अनुसारको आचरण नगर्नु नै हो, उमेरअनुसार हुने मानसिक परिवर्तन आत्मसात नगर्नु नै हो ।

नेपालको संविधानमा षडयन्त्रपूर्वक प्रविष्ट गराइएको धर्मनिरपेक्षतालाई जसरी पनि तार्किक देखाउन विभिन्न प्रकारका उपक्रम अवलम्बन गरेको देखिन्छ । हजारौँ वर्षको अनुसन्धान र प्रयोगद्वारा स्थापित जीवन पद्धति अस्वीकार गर्नु सम्भव छैन । गर्छु भने पनि उक्त पद्धतिविपरीत परिणाम आउन सक्दैन ।

भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको ७९औँ जन्मदिनको शुभकामनासहित आफूलाई प्रस्तुत गर्नेहरू सामाजिक सञ्जालमा लामबद्ध देखिए । निस्सन्देह प्रधानमन्त्री देउवा शारीरिक रूपमा अस्वस्थ देखिएका छैनन् तथापि उनको स्फूर्ति र प्रभावकारितामा ह्रास आएको विषयमा प्रश्न उठ्न सक्नेछ ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदका सबैभन्दा प्रभावशाली मानिएका उम्मेदवार देउवालाई उनीभन्दा एक तह वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनौती दिएका छन् । यसले कालान्तरमा एउटा ऊर्जाशील पार्टीलाई रूग्ण बनाउनुबाहेक केही दिनेछैन । यही अवस्था नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पार्टीमा पनि छ ।

अनौठो त के छ भने यी सबै पार्टीभित्र ऊर्जावान्, योग्य र सक्षम युवापुस्ता तम्तयार अवस्थामा छ तर गणेश परिक्रमा गर्दै विद्यार्थी राजनीतिमार्फत दलको नेता बन्ने हैसियत प्राप्त गरेकाहरूलाई आफ्नै प्रभुका विरुद्ध उभिने आँट छैन । त्यसो हुन सम्भव पनि छैन । परिणामस्वरूप सबै दलमा निर्णयको सर्वाधिकार पार्टी अध्यक्षमा रहेको छ । लोकतन्त्रको यो रोचक मोडल सम्भवतः नेपालले मात्र अभ्यास गरेको हुनुपर्छ ।

जीवन नश्वर छ र यही नै प्रकृतिप्रदत्त समग्र व्यवस्थापन पनि हो । प्रत्येक व्यक्तिलाई आफ्नो उमेर विशेषले शारीरिक र मानसिक प्रभाव पारेकै हुन्छ । त्यसैले सोहीअनुरूपको आचरण हुन्छ र हुनुपर्छ भनिएको हो । कमरेड प्रचण्डका पछिल्ला विचारहरू स्वाभाविक छन् । वामपन्थी राजनीतिज्ञहरू पनि मानव नै हुन् र प्रकृतिको नैसर्गिक प्रभाव उनीहरूमाथि पनि उत्तिकै पर्छ । धर्मनिरपेक्षतावादीहरूले जति उपहास गरे पनि ढिलोचाँडो हुने यही नै हो ।

हिन्दुराष्ट्रको आह्वान कर्मकाण्ड र ज्योतिषमा सीमित छैन । यो जीवन पद्धति हो । नेपाललाई निराशायुक्त राजनीतिक वातावरणबाट ऊर्जाशील र ओजपूर्ण भविष्य निर्माण तिर बढाउनुपर्छ । यसका लागि हाम्रा शीर्षस्थ नेताहरूले विशाल हृदय र उदारताका साथ ऊर्जाशील उत्तराधिकारीलाई जिम्मेवारी सुम्पिने विधि बनाउनुपर्छ । उनीहरूले आफूलाई अभिभावक बनाउँदै आफ्नै संरक्षणमा सक्षम युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ ।

सबै दल यही समयको आसपासका छन् । नेपाली कांग्रेस महाधिवेशनको प्रक्रियामा छ । नेकपा (एमाले) पनि महाधिवेशनको तयारीमा अघि बढ्दैछ । नेकपा (माओवादी केन्द्र) पनि त्यही मार्गमा छ । सबैजसो दल नेतृत्व परिवर्तनको उपयुक्त समयमा छन् ।

सन्यास भनेको पलायन होइन । यो आफूले आर्जन गरेको समग्र अनुभव र ज्ञान भविष्यका कर्णधारलाई उपलब्ध गराउने समय हो । कमरेड प्रचण्डलाई जाग्दै वैराग्यको सन्देश पनि यही हो ।


भर्खर

0