काभ्रेका छत्रप्रसादको पोते कमाल « Khabarhub
Logo
४ माघ २०७८, मंगलबार

काभ्रेका छत्रप्रसादको पोते कमाल



काठमाडौँ– राजधानी काठमाडौँको इन्द्रचोक बजारमा शुक्रबार अपराह्न २ बजे पुग्दा टन्टलापुर घाम थियो । धेरैजसजोको मुखमा मास्क भए पनि भिडभाडले कोरोना संक्रमणको कुरा बिर्सेको थियो । मानिसहरू एक अर्कालाई धकेल्दै हिँडिरहेका जस्ता देखिन्थे ।

चोकबाट थोरै भित्र, परबाटै टलक्क टल्कने हरियो, पहेँलो र रातो रङका पोते झुन्डाइएका छन् । सडकमा भिडभाड भए पनि पसल सुनसान छ ।

सुनसान पसलका व्यापारीहरू मोबाइल फोन चलाएर बसेका छन् । कतिपय व्यापारी पोते उन्नमा व्यस्त छन् ।

साउन महिनामा नेपाली महिलाहरूले हरियो र पहेँलो पहिरनसँगै उस्तै रङको पोते लगाउने चलन छ । कोभिडका कारण यस वर्ष पनि साउनमा पोतेको व्यापार सुस्त रह्यो ।

एक जना व्यापारीसँग संवाद भयो ।
‘तपाईंको नाम के हो ?
‘छत्रप्रसाद तिमल्सिना ‘मेहताब’ ।’
‘कति वर्षको हुनुभयो ?
‘५२ वर्षको भएँ ।’
कति उमेरमा यो व्यवसाय थाल्नुभएको ?’
‘९ वर्षको उमेरमा यो बजारमा पसेको हुँ, आफैँले व्यवसाय शुरू गरेको २६ वर्ष भयो ।’
‘कमाइ कतिसम्म हुन्छ ?
‘पोतेको लागि सिजन चाहिन्छ, वैशाख र मंसिर हो व्यापार हुने सिजन तर २ वर्षदखि ठप्प छ ।’

विशेष गरी पोते व्यवसायीहरूका लागि दिनभन्दा पनि सिजनको महत्व हुन्छ । उनीहरू एउटै सिजनमा दैनिक लाखभन्दा माथिको व्यापार गर्छन् । बिहे हुने महिनाहरू वैशाख, मंसिर माघ र फागुनमा बढी व्यापार हुन्छ ।

छत्रले इन्द्रचोकमा मा ४३ वर्ष बिताइसेके । उनी ९ वर्षको उमेरमा घरबाट हिँडेका थिए ।

स्कुल जाने उमेरमा काठमाडौँ पसेका छत्रले उमेरसँगै अनेक भोगे । बाल्यकालका तीन दिन सम्झदै उनले भने, ‘घरबाट भागेर आफन्तको साथमा इन्द्रचोक आइपुगेँ, पसलमा बस्ने, ग्राहकसँग बोल्ने र व्यापार गर्ने बानी यहीँ विकास भयो ।’

करिब १२ वर्ष उनी पोते पसलमा कामदार भए । अनि २६ वर्षको उमेरमा एक जना आफन्तसँग ३० हजार रुपैयाँ ऋण लिएर आफैँ व्यवसाय शुरू गरे ।

पोतेले दियो थातबास

महिलाहरू पोते किन्न इन्द्रचोक नै पुग्थे । त्यतिबेला इन्द्रचोकको पोते बजारमा धेरै चहलपहल हुन्थ्यो, ग्राहकलाई पोते देखाउन भ्याई नभ्याई हुन्थ्यो ।

विस्तारै अन्त पनि बजार बिस्तार गयो । कस्मेटिक र सुन पसल खुल्दै गए । जताततै पोते पाउने भएपछि इन्द्रचोकको पोतेको महत्व घटेको उनको अनुभव छ ।

छत्र अन्तर्राष्ट्रिय बजारमा पनि पुगे । उनले डिजाइन गरेका पोतेको माग धेरै थियो । दश वर्षअघि गला, कान र हातमा लगाउने पोतेका डिजाइनहरू बनाएर फ्रान्स, बेलायत, थाइल्यान्ड लगायतका मुलुकमा पठाउँथे ।

‘पहिले विदेशमा पोते निर्यात गर्दा एउटै सिजनमा ७ लाखसम्म कमाउथेँ त्यो रकम जम्मा गर्थे,’ छत्रले भने, ‘यहाँ भएको व्यापारले घर खर्च पुग्थ्यो ।’

उनका अनुसार वर्षको ६ महिना उनले डिजाइन गरेका पोते विभिन्न मुलुकमा पुग्थे । विश्वबजारमा पोतेको निर्यात राम्रो भएपछि उनले काठमाडौँको ठमेलमा चार आना जग्गा किने । व्यापारबाट कमाएको पैसाले केही वर्षमा त्यहीँ घर बनाए ।

छत्र साँझबिहान नभनी काममा खटे । छोराछोरीले राम्रो शिक्षा पाऊन्, थातबासको राम्रो व्यवस्था होस् । उद्देश्य यही थियो । घर बनाएपछि केही कोठा भाडामा दिए । भाडामा उठेको पैसाले घर खर्च चल्न थाल्यो ।

‘एउटा छोरी र एउटा छोरालाई राम्रो विषय पढाउने सोच छ,’ छत्र भन्छन्, ‘मैले पढिनँ, छोराछोरीले जे पढ्छु भने पनि पढाउँछु ।’

अहिले उनकी छोरी स्नातक तहमा छिन्, छोराले भरखर माध्यमिक तह पार गरे ।

निर्यात खुम्चियो

विभिन्न मुलुकमा पोते निर्यात गर्ने छत्रको अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको छ । अहिले निर्यात फ्रान्समा मात्रै सीमित रहेको उनले बताए ।

छत्रका अनुसार चीनले विभिन्न डिजाइनका पोते बनाउन थाल्यो । अन्य देशहरूले चीनबाटै अर्डर गर्न थाले । यता छत्रको निर्यात घट्दै गयो र व्यापार सुस्ताउन थाल्यो ।

‘लकडाउन अघिसम्म फ्रान्समा मैले डिजाइन गरेको पोते गइरहेको थियो,’ छत्र भन्छन्, ‘अब सामान्य अवस्था भएपछि अर्डर आउँछ कि भन्ने आश छ ।’

लकडाउनको धराप

कोरोना भाइरस रोकथामका लागि सरकारले २०७६ साल चैतमा लकडाउन शुरू भएपछि व्यापा ठप्प छ । दिन बिताउने मेलो बाहेक केही छन् । कमाइ छैन, जेनतेन धान्नु परेको छ ।

‘लकडाउनमा अत्यावश्यक वस्तुमात्र खपत भएकाले हाम्रो व्यवसायको कुनै काम देखिएन,’ छत्र भन्छन्, ‘पोते भनेको फेसन जस्तो भयो, घरभित्र बसेका बेला कसले अर्डर गर्छ र ! लकडाउनले ठप्प भयो ।’

केही दिन लकडाउन खुकुलो भए पनि व्यापार नबढेको उनले बताए । ‘यो वर्ष वैशाखमा बिहेको लगन धेरै थियो, केही व्यापार होला कि भन्ने सोचेको तर फेरि लकडाउन भइदियो,’ उनले भने, ‘अहिले लकडाउन केही खुकुलो भएको छ तर व्यापारको सिजन होइन ।’

छत्र व्यापार बढ्ने आशमा इन्द्रचोकको पोते पसल कुरिरहेका छन् ।


भर्खर

0