ह्रासोन्मुख सनातन धर्मको पुनरूत्थान | Khabarhub Khabarhub

ह्रासोन्मुख सनातन धर्मको पुनरूत्थान



सनातन धर्म अति प्राचीन तथा विशिष्ट दर्शनमा अडिएको धर्म हो । दृश्य जगतको आविर्भावदेखि मानवोचित अनुशासन तथा कर्तव्यपालनका सन्देशहरू यहीँ समाविष्ट छन् ।

शाश्वत सत्यको खोजी र विश्लेषण गर्न सक्षम पूर्विय दर्शन पद्धतिहरू वेद, वेदाङ्ग एवं यसका उपाङ्गहरूमा आधारित छन् । सर्वोत्कृष्ट तथा प्राचीनतम् शब्द भण्डारबाट निःसृत आप्त प्रमाणहरूको आधारमा दर्शनहरूको सिर्जना भएको हो । यसैको शाश्वत संकेत तथा आदेश अङ्गीकार गर्नेहरू नै हिन्दु धर्मभित्र समावेश हुँदै गएका हुन् भन्न अलमलिनु पर्दैन ।

अपौरुषेय वेद र यसका अङ्गहरू (शिक्षा, कल्प, निरुक्त, ज्योतिष, छन्द तथा व्याकरण) उपवेद, स्मृति तथा पुराणहरू नै अथाह ज्ञानका भण्डार हुन् भन्ने कुरा स्वतः सिद्ध छ । प्राचीन ऋषिमुनिहरू भनिने महामानवहरूको चिन्तन तथा परिशीलनबाट विविध दर्शनहरूको परिकल्पना भएको छ ।

साङ्ख्य, योग, मीमांसा, वेदान्त, वैशेषिक तथा न्याय दर्शनले जीव र जगतको बृहत् र विशद प्रस्तुति गरेको छ । यिनै गहन दर्शनहरूको विचार समुद्रबाट जैन, चार्वाक तथा बौद्धजस्ता नास्तिक दर्शनको प्रकटीकरण भयो, समुद्र मन्थनबाट विष निस्के जसरी नै ।

दृश्य जगतको निर्माण, विकास र विनाशमात्र होइन, यिनका नियमहरू जीव र जगतको सामञ्जस्य तथा मानवोचित कर्तव्याकर्तव्यका अनुपम सन्देशहरू आआफ्नै तर्क, विश्लेषण एवं प्रमाणको आधारमा निर्माण भएका हुन् । दर्शनको प्रमाण भनेको वस्तुप्रतिको सूक्ष्म र विहङ्गम दृष्टिकोण हो जसको परीक्षण आधुनिक प्रयोगशालामा गर्नै मिल्दैन । दर्शनहरू बीचको विभेद स्वयंमा नभए पनि हाम्रो बुद्धि भेदले गर्दा त्यस्तो हुन जान्छ ।

वैशेषिक दर्शनका प्रणेता कणाद ऋषिले पूर्व मीमांसाका प्रणेता जैमिनी ऋषिसँग वा जैमिनी ऋषिले वेदान्तका सूत्रकार व्यास ऋषिसँग वा व्यास ऋषिले न्याय दर्शनका प्रणेता गौतम ऋषिसँग गोष्ठी वा बैठक गरेर दर्शन प्रतिपादन गरेका होइनन् ।

जसरी विभिन्न नामका नदीनालाहरू समुद्रमा विलीन भएपछि अनाम बन्दछन् त्यसैगरी सबै दर्शन शास्त्रको मर्म तथा भावको आन्तरिकीकरण वा आत्मसात् भएपछि विभेदको समाप्ति हुन्छ । यसको विवेचना रोमान्टिक सिनेमाको विवेचना गरेजस्तो सरल छैन । दीर्घकालीन सात्विक भाव, साधना, सत्सङ्ग र कुशल प्रशिक्षणबाट मात्र सम्भव छ ।

वैशेषिक दर्शनका प्रणेता कणाद ऋषिले पूर्व मीमांसाका प्रणेता जैमिनी ऋषिसँग वा जैमिनी ऋषिले वेदान्तका सूत्रकार व्यास ऋषिसँग वा व्यास ऋषिले न्याय दर्शनका प्रणेता गौतम ऋषिसँग गोष्ठी वा बैठक गरेर दर्शन प्रतिपादन गरेका होइनन् ।

सांख्य दर्शनका प्रणेता कपिल तथा योग दर्शनका पतञ्जलिले सल्लाह गरेर तत्तत् दर्शनको प्रतिपादन भएको होइन । दर्शन भनेको स्वानुभूति तथा प्रमाणका आधारमा प्रतिपादन गरिएका शाश्वत सिद्धान्त हुन् जसको मुख्य आधार तर्क नै हो ।

उपर्युक्त दर्शनहरूको जन्म सयौँ वर्षको अन्तरालमा भएको हो । आस्तिक दर्शनका रूपमा चिनिने षड दर्शनकै जगमा सनातन धर्म अडिएको छ ।

जगतको प्राकृतिक संरचना विविधतापूर्ण छ । जीवहरूको बनौट रुचि तथा जीवनपद्धतिमा प्रकृतिगत भिन्नता छ । प्रत्येक वस्तुको आविर्भाव, अस्तित्व तथा विनाश निरन्तर चलिरहन्छ । मानवेत्तर प्राणीहरू पनि चेतन हुन् तर बुद्धिको अभाव छ । उही चैतन्य मानिसमा पनि छ तर ऊ बुद्धियुक्त छ ।

यही विचित्रता हाम्रा षड दर्शनले विभिन्न तरिकाले व्याख्या गर्दछन् विभिन्न सूत्र, गद्य तथा पद्यहरूको निर्माणबाट ।

संसार चिन्ने तथा जीव र जगतको सम्बन्धका रूपरेखा कोर्ने कार्यका लागि विभिन्न तर्क र विश्लेषण अनिवार्य हुन्छ । यो कुरा हाम्रा महानतम् पूर्वजबाट तयारी अवस्थामा हामीले प्राप्त गरेका छौँ ।

समय सापेक्ष किसिमले जगतसामु प्रस्तुत गर्न सकेको खण्डमा यिनै वैदिक वाङ्मय तथा दर्शनले विश्वगुरु बनाउने छ । विश्वगुरु बन्न गुरु हुने हैसियतकै उच्चतम् कार्य गर्नु जरुरी छ । तिनीहरू विशिष्ट अध्ययन, अनुसन्धान तथा अनुभूतिको अभिलेखीकरण हुन सक्तछन् ।

संस्कृत साहित्य सनातन धर्मको आधार स्तम्भ हो । विश्वकै प्राचीनतम् तथा विविध दार्शनिक सम्पदासहित संस्कृति एवं संस्कारयुक्त यो भाषा कुनै समयमा हालको अंग्रेजीकै स्थानमा रहेको तथ्य विविध साहित्यिक सामग्रीहरूबाट प्राप्त हुन्छ । ऋग्वैदिक साहित्यदेखि स्तुति साहित्यसम्म, कर्म, धर्म, विज्ञान, कला, दर्शन, शिक्षा, व्यवहार, नीति, अनुशासन आदि जस्ता विषयहरूले ओतप्रोत छ ।

श्रुति, स्मृति, सूत्र, महाकाव्य, उपनिषद, आरण्यक लगायत विभिन्न पुराणहरू, स्तुति साहित्यहरू तथा वेदाङ्गहरूले नै सनातन धर्मलाई धर्मसहिष्णु, अनुशासित, मोक्षमार्गी तथा ज्ञान र विज्ञानको सामञ्जस्यमा मानवलाई जिउन सिकाएको हो । वैचारिक भिन्नता देखिए पनि सूक्ष्म अवलोकनबाट एकाकार बोध गर्न सकिन्छ ।

हाम्रो प्राचीन सभ्यताको धरोहर दर्शन, साहित्य, कला, संस्कार, संस्कृति र सभ्यता ह्रासोन्मुख छ । विविधताभित्र एकताको शंखध्वनि गर्नसक्ने दर्शन पद्धति ओइलाएको छ । धर्म संस्कृति बरालिएको छ । शास्त्र र संस्कार सिकिस्त बिरामी छ । संस्कृत साहित्य तथा यसको ज्ञान भण्डार अँध्यारोमा थुनिएको छ । प्रखर व्याख्याताको अभावमा हाम्रा दर्शनशास्त्र अनाथ भएका छन ।

विदेशी भाषा, संस्कार र संस्कृतिले नयाँ पुस्तालाई सनातन पद्धतिबाट विस्थापित गर्दैछ । सनातन इतरका धर्महरू समाजभित्र सल्बलाएका छन् । धार्मिक सभ्यता र पहिचानको दृष्टिले हाम्रो सनातन धर्मको अवस्था जटिलतोन्मुख छ । यस्तै हो भने अबका केही दशकमा हाम्रो दार्शनिक परम्परा, धार्मिक पहिचान र मर्यादा गुम्नेछ ।

अर्थ व्यवस्थामा आमूल सुधारबाट पश्चिमा मुलुकहरूले छिटै देश र समाज समुन्नत तुल्याए । उत्पादनशीलता र रोजगारीको सम्भावना कम भएको ठानेर हाम्रो मुलुकबाट युवाहरू जोगरीका लागि पलायन भए । राज्य सञ्चालन पद्धिति र कानूनबाट भएन । विकासले गति लिन सकेन ।

हिन्दु सनातन धर्मले सबैलाई समेट्न सक्छ तर यसो गर्न अन्य धर्मको गुणदोषको आधारमा आफ्नो धर्मको क्षमता तर्कद्वारा सिद्ध गर्न सक्नुपर्छ । यसका लागि विशद अध्ययन र अनुसन्धान चाहिन्छ ।

यिनै कारणले आफ्नो देशप्रति आफ्नै नागरिकहरूको अनाकर्षण बढ्यो । यसबाट फरक धर्म र रीतिको अतिक्रमण बढ्यो । सनातन धर्म नजरमा देखिन पुग्यो । हाम्रो धर्म र संस्कृतिमाथि नकारात्मक र निष्क्रिय भाव पैदा हुन पुग्यो ।

हिन्दु सनातन धर्मले सबैलाई समेट्न सक्छ तर यसो गर्न अन्य धर्मको गुणदोषको आधारमा आफ्नो धर्मको क्षमता तर्कद्वारा सिद्ध गर्न सक्नुपर्छ । यसका लागि विशद अध्ययन र अनुसन्धान चाहिन्छ ।

दर्शन र तर्कको आधारमा मात्र धर्म र संस्कारको समयानुकूल व्याख्या वा परिभाषा गर्न सकिन्छ । धर्म, संस्कृति र चलनको नाममा तर्कले सिद्ध गर्न नसक्ने कुप्रथा हाम्रो सनातन धर्मको मूल पद्धति होइन तर बीचबीचमा धेरै घुसेका वा घुसाइएका छन् र अद्यापि प्रचलित छन् ।

छुवाछुत र वलि घुसाइएका प्रथा हुन् । यो सनातनि पद्धतिको कलंक भएर रहेको छ । सतीप्रथा कानूनले हटाएको हो, कुनै धर्माधिकारीको तर्क र शास्त्रप्रमाणले होइन । हाम्रा धर्माधिकारीको चेतनाले सामाजिक कुप्रथाप्रति लड्ने क्षमता बनाएको छैन । समग्रमा सनातन धर्मप्रति अनास्था पैदा गर्ने यी दोस्रा कारणहरू हुन् ।

ग्यालिलियोले दूरबिन बनाएर खगोलीय अध्ययन गर्नुभन्दा सैयौँ वर्षअघि हाम्रा पुर्खाले ज्योतिष पात्रो प्रचलनमा ल्याएका हुन् । यसमा खगोल, नक्षत्र र ग्रहस्थितिको विशद प्रयोग भएको छ ।

ग्रेगर मेन्डलको आनुवंशिक सिद्धान्तभन्दा सैयौँ मात्र होइन, हजारौँ वर्षअघिका हाम्रा शास्त्रमा वर्णशंकर, कृतिम जीव, उन्नत वीज तथा जीवको उत्परिवर्तन सम्बन्धमा उल्लेख भएको छ ।

अहिले र पहिलेमा कति कुरा अहिलेका असल होलान् त कति कुरा पहिलेका । दुवैको संयोजन गरेर मानवोचित तुल्याउनु नै आविष्कार हो, सिर्जना हो, विद्वता हो । पाइथागोरसको ज्यामितिभन्दा धेरै अघिद्ध ऋग्वैदिक कालमै रेखीय पद्धति र ज्यामिति प्रचलनमा थियो ।

हाम्रो ज्ञानसम्पदा हामीले चिनेनौँ र घरमा पाकेको पायस छाडेर भिक्षाटन गर्दैछौँ । हामी आफ्नै सम्पदा पहिचान गर्न नसकेर वेदादि भाष्यका लागि मेक्समुलर र यास्क जस्ता पश्चिमेली विद्वानको भर परेका छौँ । अन्य उदाहरण थुप्रै छन् ।

क्षमताले सिर्जनाको गर्नुको साटो पण्डागिरी गर्नाले धर्म व्यापारीकरण भयो । यो तेस्रो कारण हो ।

पूर्वीय दर्शनका दार्शनिकको नामभन्दा पश्चिमेली दार्शनिकको नाम कण्ठ छ थोरथार दर्शन पढेका युवापुस्तालाई । गौतम, वादरायण, कणाद, जैमिनी, कपिल, पतञ्जलि, शंकराचार्य आदिको सट्टा होमर, वर्कले, कान्ट, सुकरात, गेटे आदिमा अभ्यस्त छन् ।

पश्चिमा दार्शनिकको अवमूल्यन गर्न खोजेको होइन, उनीहरू पनि हाम्रा लागि समान पथ प्रदर्शक छन् तर हाम्रा पनि कम छैनन् भन्ने कुरा हो ।

सबै दार्शनिकको समान महत्व छ । हाम्रो शिक्षा प्रणालीले हाम्रै सनातनी पद्धतिको विनाश हुने गरी आधुनिक शिक्षाको नाममा प्राचीन शास्त्र र संस्कारको अवमूल्यन गरेको छ । हाम्रा धर्माचार्य तथा मठाधीशहरू आफूलाई ईश्वरको अवतार मान्न पछि पर्दैनन् । केही अपवादबाहेक सन्यस्त भएका गेरुवस्त्रधारी धर्माचार्यहरू ठूला राजनीति कार्यकर्ता वा व्यापारी बनेका छन् ।

दर्शन र तर्कको आधारमा मात्र धर्म र संस्कारको समयानुकूल व्याख्या गर्न सकिन्छ । तर्कले सिद्ध गर्न नसक्ने कुप्रथा हाम्रो सनातन धर्मको मूल पद्धति होइन तर बीचबीचमा घुसेका वा घुसाइएका छन् र अद्यापि प्रचलित छन् ।

 

धर्मप्रति आस्था राख्ने जनसाधारणले गेरुवस्त्रभित्रको कुकृत्य खोज्दैन । यिनीहरूबाट तार्किक र विशिष्ट सोधकार्य हुँदैन । धर्ममा भीरुता तथा अन्धता बढ्नु, अनुसन्धान र समयानुकूल धार्मिक व्याख्यान हुन नसक्नु सनातन धर्ममा ह्रास गराउने चौथो कारण हो ।

कर्मकाण्डमा समयानुकुल सुधार गर्ने प्रयास भएको छैन । कर्मकाण्ड लेखिँदाको समय र अहिलेको समयको वस्तुस्थितिको तुलना गर्न मिल्दैन । परिस्थिति, शिक्षा, सञ्चार, व्यवसाय, विज्ञान आदिमा आमूल परिवर्तन छ ।

उक्त समयको कर्मकाण्ड तत्कालीन विद्वान पुरोहित वर्गबाटै निर्माण भएको हो । त्यसलाई आधुनिक विद्वत वर्गले परिमार्जन गरी सुधारसहित युग सुहाउँदो गरी अघि बढाउँदा हाम्रो परिपाटीलाई जोगाउन मद्दत पुग्छ । यसको शुरुवात भएको छैन । अर्कोतर्फ धर्म आडम्बरका रूपमा पनि विकास हुँदैछ ।

धार्मिक कृत्य विधिहीन हुनु हाम्रा लागि प्रत्युत्पादक हुनु हो । झारा टार्ने, गरेजस्तो गर्ने, पूजाविधि तथा मन्त्रोच्चारणमा तालमेल मिलाउन नसक्ने, दक्षिणा र दानप्रति मात्र आकर्षित हुने, अध्ययनशीलता नहुने आदि कारणले पुरोहित पेशा संकटापन्न छ । पुराण वाचनमा श्रोताहरू देखिन छाडेका छन् । पुराणहरूमा उल्लेखित दार्शनिक तत्व तथा परमार्थ तत्वप्रति श्रोतामा अभिरुचि नदेखेपछि पण्डितहरूले ज्ञान महायज्ञलाई डान्स महायज्ञमा परिणत गरेर शुल्क बटुल्न थालेका छन् ।

यस्ता गतिविधिहरूले धार्मिक निष्ठामा स्खलन ल्याउँछ । यस्ता क्रियाकलापहरू सनातन धर्म विस्तार तथा संरक्षणका पाँचौँ अवरोध हुन् ।

सनातन वैदिक धर्मको संरक्षण र संवर्द्धनका केही उपायहरू यहाँ प्रस्तुत गरेको छु ।

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।

तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोकवधीत् ।।

(हामीले हाम्रो रक्षाका लागि नै धर्मको रक्षा गर्नु अनिवार्य छ । हामीबाट रक्षित धर्मले मात्र हाम्रो रक्षा गर्न सक्तछ ।)

राजनीतिमा धार्मिक सम्प्रदायको चलखेल, साम्प्रदायिक द्वन्द्व, स्कुल/कलेजको पाठ्यक्रममा धर्मदर्शन नपर्नु नै धर्मका बारे अज्ञान उत्पन्न गराउने तत्वहरू हुन् । निम्न कार्य गर्न सकेमा वैदिक सनातन धर्मको रक्षा तथा विस्तार गर्न सकिने हुन्छ ।

१.  हिन्दुराज्यको घोषणा हुनेबित्तिकै सनातन पद्धति पुनर्स्थापन हुने होइन । राजनीतिक एजेन्डा वा नाराले धर्मको मर्म जनसमक्ष पुर्‍याउन सक्दैन ।

धर्मभित्र पक्ष र विपक्ष जन्मनु धर्मकै लागि घातक हुन्छ । सनातन हिन्दु धर्म विश्वगुरु बन्न अन्य धर्मसँग समन्वय र भाइचारा गर्न सक्नुपर्छ, दर्शनका विविध पक्ष एवं धार्मिक विषयमाथि तर्कले विजयी हुन सक्नुपर्छ । यसका लागि हाम्रो शास्त्र तथा दर्शनको विशिष्ट अध्ययन र अनुसन्धान हुनुपर्छ ।

२.  कर्मकाण्ड पद्धतिमा सुधार ल्याई समयसापेक्ष बनाउनुपर्छ । यसमा विश्व हिन्दु परिषद, नेपालले अगुवाइ गर्न सक्छ । राष्ट्रिय पुरोहित सम्मेलन गरेर कर्मकाण्ड पद्धति समयानुकूल नगर्ने हो भने कर्मकाण्डहरू विलुप्त हुनेछन् ।

३.  संस्कृत भाषासाहित्य, दर्शन, धर्मशास्त्र लगायतका अनुसन्धनात्मक विषयहरू पढाउने गुरुकुल व्यापकरूपमा चलाउनुपर्छ । स्कुल तहमा संस्कृत भाषा ऐच्छिक विषयका रूपमा समावेश गर्न सकिन्छ, तर अनिवार्य गर्नु हुँदैन । अनिवार्य गर्दा संस्कृतलाई बाहुनको भाषा भन्ने भ्रममा रहेको ठूलो समूहलाई द्वन्द्वमा निम्तो दिएजस्तो हुन्छ ।

४.  संस्कृत वाङ्मयका विविध दर्शन, अध्यात्म, विज्ञान, कला आदिको वैज्ञानिक अनुसन्धान गर्ने र त्यसको व्यापक प्रचार गर्ने काम कुनै विशिष्ट विश्वविद्यालय तहको गुरुकुल निर्माण गरेर जिम्मा दिनुपर्छ । यसका लागि आवश्यक आर्थिक स्रोत सरकारी र निजी दुवैतिर प्राप्त हुने परिपाटी विकास गर्नुपर्छ ।

५.  सनातन धर्मको मौलिक अङ्ग नभई सनातनताको आडमा प्रवेश गरेका आडम्बरी तथा पण्डागिरी क्रियाकलाप परास्त गर्न सक्नुपर्छ । झण्डा र डण्डाले हुँदैन, तर्क र प्रमाणहरू जनसमक्ष पुर्‍याउनु सक्नुपर्छ । यसो गर्न गुरुकुल शिक्षा नै सशक्त माध्यम बन्न सक्छ ।

मानवका लागि धर्म जीवनको परिचय हो । सहिष्णुता र उदारता हिन्दु सनातन धर्मको सबैभन्दा ठूलो गुण हो । यसैकारण अपव्याख्या पनि हुने गरेको छ । यही गुणको दुरूपयोग गरेर यसभित्र पण्डागिरी र आडम्बरी प्रवेश भएको हो ।

परापूर्वकालमा पनि धर्ममाथिको विकृति र आडम्बर अन्त्य गरेर वैदिक सनातन धर्म पुनर्स्थापित गर्न शंकराचार्य अवतरित हुनुपरेको थियो । अहिले फेरि यस्तै अवतरण आवश्यक छ । गुरुकुलबाट उत्पादित मेधावी विद्यार्थीहरूले अध्ययन अनुसन्धानबाट शंकराचार्यकै तरिकारले आडम्बर समाप्त गर्नुपर्ने हुन्छ । तबमात्र वैदिक सनातन धर्म विश्वगुरु बन्ने छ ।

यी कामहरू व्यक्तिगत तहबाट सम्भव हुँदैन, संस्थागत विकास अनिवार्य छ, सरकार तथा जनताको सहयोग अनिवार्य छ । बिल्कुल गैरराजनीतिक संस्था वा प्रतिष्ठान आवश्यक पर्छ ।

भनिएकै छ, संघे शक्ति कलियुगे ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ५५ बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन