रक्तदाता छन् तर रगतको व्यवस्थापन कमजोर छ « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

रक्तदाता छन् तर रगतको व्यवस्थापन कमजोर छ



‘रगत दिऔँ, जगत सुरक्षित राखौँ ।’

यो वाक्य विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले यस वर्षको ‘विश्व रक्तदाता दिवस’, जुन १४, को लागि तय गरेको विश्वव्यापी नारा हो । हरेक वर्ष फरकफरक विश्वव्यापी नारा तय गरेर संसारभर आजको दिन एकसाथ विश्व रक्तदाता दिवस मानाइन्छ । नेपालमा पनि आज ‘विश्व रक्तदाता दिवस’ मनाउने गरिएको छ । यो दिवसले आज अठारौँ वर्षको उत्सव मनाउँदै छ ।

स्वयंसेवी रक्तदाताहरूलाई सम्बोधन गर्न सन् २००४ मा शुरू गरिएको उत्सव हो विश्व रक्तदाता दिवस । आफ्नो शरीरको रगतले बिरामी व्यक्तिको ज्यान बचोस् र उसको स्वास्थ्यलाभ होओस् भन्ने हेतुलेस्वयंसेवी रक्तदाताहरूले आफ्नो शरीरको निर्विकल्प रगत निरन्तर दान गर्ने गरेका छन् । आजको दिन स्वयंसेवी रक्तदाताहरूका लागि महान उत्सव नै हो भन्दा कुनै अत्युक्ति हुने छैन ।

आज स्वयंसेवी रक्तदाताहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन गर्ने दिन पनि हो । विश्व स्वास्थ्य सङ्गठनले धेरैअघि यस्तो दिवस घोषणा गर्नुपथ्र्यो । ढिलै भए पनि घोषणा भयो, स्वयंसेवी रक्तदाताहरूको सम्मानमा एक कदम राम्रो काम भयो ।

यो दिन स्वयंसेवी रक्तदाताहरूको उत्साहका लागि कोसेढुङ्गा साबित भएको छ । यससँगै विश्व रक्तदाता दिवसलाई केवल दिवसको औपचारिकतामा सीमित राखियो कि साँच्चै विश्वव्यापीरूपमा उत्सव बनेर उपलब्धिमूलक भयो, यसको लेखाजोखा हुन पनि जरुरी छ ।

हाम्रो देशको सन्दर्भमा यो दिवसलाई अपेक्षितरूपमा परिणाममुखी बनाउन सकिएको छैन । फलस्वरूप समय समयमा रगत अभावका भोग्नुपरेको छ, रगत अभाव भयो भन्ने समाचार सुन्नु परेको छ । यसो हुनमा सम्बन्धित निकायहरूको कमजोरी जिम्मेवार छ । सक्षम जनशक्ति र गुणस्तरीय प्रविधि पर्याप्त नहुँदा रगत नपाएकै कारण कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ ।

उपचारका क्रममा रगतको अभाव भएर कसैले पनि प्राण त्याग्नु नपरोस् भनेर ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ ले आफ्ना सदस्यहरूको देशव्यापी सञ्जाल मार्फत रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू चाँडोभन्दा चाँडो उपलब्ध गराउने वातावरण सृजना गर्दै आएको छ । स्वयंसेवी तवरले निःस्वार्थभावका साथ आफ्नो शरीरको रगत दान गर्ने मनग्ये स्वयंसेवी रक्तदाताहरू हुँदाहुँदै प्राविधिक पक्षको लापरबाहीका कारण उपचारका क्रममा बिरामीले ज्यान गुमाउनुपरेको थुप्रै उदाहरण हामीसँग छ ।

उपचारका क्रममा चिकित्सकबाट माग भएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पु¥याउन सम्बन्धित निकायले उचित प्रबन्ध गर्न नसक्दा अधिकांश पीडित पक्ष (बिरामी र तिनका आफन्त) ले हाम्रो सञ्जालमा हारगुहार गर्दै सेवाको लागि सम्पर्क गर्ने गरेका छन् । वर्तमान अवस्थासम्म आइपुग्दा स्वयंसेवी रक्तदाताहरूको सक्रियतामा पीडितपक्षलाई खाली हात पठाउनु परेको छैन ।

शुरूवातको वर्षदेखि आजसम्म आइपुग्दा हाम्रो देशमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संसारमै स्वयंसेवी रक्तदाताहरूको संख्या क्रमिकरूपमा गुणात्मक वृद्धि हुँदै गएको देश नेपाल नै हो भन्दा अत्युक्ति नहोला ।

तर, रगत संकलन र वितरणमा समन्वय गर्न नसक्दा रगत र रगतबाट तयार पारिएका रक्ततत्व समयमै प्रयोग नहुने र नष्ट गर्नुपर्ने दुःखद् अवस्था पनि छ । यसो हुनु व्यवस्थापन पक्षको लागि निकै शोभनीय अवस्था हो । पीडित पक्ष र दाताका लागि दुःखद अवस्था हो ।

आजको यो पुनीत दिनमा स्वयंसेवी रक्तदाताहरूलाई सम्मान र धन्यवाद मात्र दिएर पुग्दैन जस्तो लाग्छ । स्वयंसेवी रक्तदाताहरूले पीडित पक्षको स्वास्थ्य लाभका लागि दानमा उपलब्ध गराएको आफ्नो शरीरको अमूल्य रगत र त्यसबाट तयार पारिएका रक्ततत्वहरूको उचित व्यवस्थापन गर्नेछौँ र एक थोपा पनि नालीमा फाल्ने छैनौँ भनेर सम्बन्धित निकायले प्रतिबद्धता जनाउनु पर्छ । यसो भएमात्र रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको महत्व बढ्नेछ र यसको सदुपयोग भएको बोध हुनेछ ।

यस वर्ष नेपालमा विश्व रक्तदाता दिवस मनाइरहँदा इटालीको रोम शहरमा अन्तर्राष्ट्रिय कार्यक्रम भइरहेको छ । स्वयंसेवी रक्तदाताहरूको हौसला र उत्साह बढाउन नेपाल स्वयंसेवी रक्तदाता समाजले विविध कोणबाट आफ्ना जिल्ला शाखा, नगर समिति, गाउँ समिति र स्थानीय वडा समितिहरूबाट देशभर विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइरहेको छ ।

स्वयंसेवी रक्तदाताले बिरामीको ज्यान बचाउन दान गरेको अमूल्य रगत र त्यो रगतबाट तयार पारिएका रक्ततत्वको उचित व्यवस्थापन गर्नेछौँ, एक थोपा पनि नालीमा फाल्ने छैनौँ भनेर सम्बन्धित निकायले प्रतिबद्धता जनाउनु आवश्यक भएको छ ।

यस वर्ष कोभिड–१९ को दोस्रो लहरले विश्वव्यापी महामारीको रूप लिइएको दुःखद् अवस्था छ । कतिबेला कसलाई कुन रगत चाहिने हो, यो कसैको काबुको कुरा होइन । कोभिड–१९ ले रक्त व्यवस्थापनमा केही हदसम्म नकारात्मक प्रभाव परेको छ । यसका असरहरू न्यूनीकरण गर्दै शतप्रतिशत सेवा प्रदान गर्नु आजको आवश्यकता हो ।

एउटा स्मरण गर्न लायकको कुरा उल्लेख गर्न सान्दर्भिक ठानेको छु । कुरा के हो भने, विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा संसारभर अवैतनिक रक्तदाताहरूबाट मात्र रगत दान गराउने लक्ष्य लिई सोहीनुरूप संसारभर प्रचारप्रसार गरेर उत्प्रेरणा जगाउने कार्यक्रमहरू गर्दै आएको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा हासिल गर्ने भनेको लक्ष्य हाम्रो देश नेपाललले आजभन्दा २५ वर्षअघि नै हासिल गरिसकेको हो ।

बिडम्बना के भएको छ भने सम्बन्धित निकायको लाचारीले त्यो उपलव्धि संरक्षण गर्न सकिएन । फलस्वरूप आजको अवस्थामा रगत र रगतबाट तयार पारिने रक्ततत्वहरूको अभाव झेल्नुपरेको छ ।

तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताहरूको संख्यामा उत्साहजनक वृद्धि भएको हो । रक्त समूहअनुसार आवश्यकता हेरेर मात्र स्वयंसेवी रक्तदाताहरूबाट रक्तदान गराउने काम हुन्थ्यो । रक्त सञ्चार सेवा केन्द्रमा अत्यधिक मात्रामा मौजुदा रक्त समूहको रगत दान नगर्न अनुरोध गर्ने गरिएको थियो । कुनै समयमा त फलानो रक्त समूहको रगत दान नगर्नू भन्ने गरिएको थियो । अधिक मात्रामा मौजुदा समूहको रगतको बारेमा जानकारी दिन सूचना गरेरै रक्तदान नगर्न अनुरोध गर्ने गरिएको थियो ।

वर्तमानमा त्यस्तो गरिएको छैन । फेरि पनि हामी त्यो अवस्थाको पुनरागमन गराउने कोशिसमा छौँ । यसको लागि समूहगत र समर्पित इच्छा शक्ति जरुरी छ ।

स्वयंसेवी रक्तदाताहरूलाई स्वयंसेवी तवरले समयसापेक्ष नेतृत्व दिँदै रक्त व्यवस्थापनमा कर्मचारीतन्त्रलाई सेवामुखी बनाउन जरुरी छ । विश्व रक्तदाता दिवसले स्वयंसेवी रक्तदाताहरू मात्र नभई यस क्षेत्रमा खटेर लागेका कर्मचारीहरू समेतलाई उचित व्यवस्थापनमा समर्पित हुन उत्प्रेरित गराउन सक्नु पर्छ ।

(कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।)   


भर्खर

0