हामी नेपालले जलवायु परिवर्तनको मुद्दामा नेतृत्व गरोस् भन्ने चाहन्छौँ  « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

हामी नेपालले जलवायु परिवर्तनको मुद्दामा नेतृत्व गरोस् भन्ने चाहन्छौँ 



नेपाल र संयुक्त अधिराज्य बेलायतबीचको सम्बन्ध शताब्दीऔँ पुरानो हो । बेलायत नेपालको एक प्रमुख दातृ मुलुक र विकास साझेदार पनि हो । दुई देशबीचको सहकार्यले दुई देशबीचको व्यापार अभिवृद्धि हुनुका साथै बजारसम्मको पहुँच बढाउन पनि मद्दत गर्छ । वैदेशिक लगानीको पनि वातावरण बनाउँछ । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाल–बेलायत सम्बन्ध लगायत धेरै विषयमा खबरहबका ईश्वरदेव खनालसँग कुरा गरेकी छन् । राजदूत पोलिटसँग गरिएको कुराकानीको सम्पादित अंश :

देश नै पूरै महामारीको चपेटामा परेको यस्तो अवस्थामा नेपालका लागि बेलायती राजदूतको हैसियतमा तपाईंको नेपाल बसाइ कस्तो हुँदैछ ?

कोभिड–१९ बाट प्रभावित नेपाल र नेपालीका लागि यो अत्यन्तै गाह्रो समय हो । म यो रोगबाट प्रभावित सम्पूर्णमा आफ्नो सद्भाव प्रकट गर्न चाहन्छु । कोभिडका कारण जसले आफ्नो प्रियजन गुमाएका छन्, जसले आफ्नो प्रियजनको हेरविचार गर्दैछन्, यस महामारीका कारण जसले आफ्नो जीवन यापनको माध्यम गुमाएका छन्, म ती सबैमा सहानुभूति प्रकट गर्न चाहन्छु ।

नेपालमा मेरो कार्यकाल महामारीको छायामा परेको छ । व्यक्तिगतरूपमा यो मेरा लागि पनि सहज अवस्था होइन । म मेरा कलिला बालबच्चासँग दुई पटक छुट्टिनुपरेको छ, उनीहरू बेलायतमा छन् । यद्यपि म र बेलायती दूतावासमा काम गर्ने मेरा सहकर्मीहरू यस विपतको समयमा नेपाल र नेपालीलाई सुरक्षित राख्ने काममा खटिएका छौँ । नेपालको पुरानो साथीका हैसियतले यो हाम्रो काम पनि हो, यसैका लागि हामी यहाँ छौँ ।

बेलायतले नेपाललाई कोभिड विरुद्ध लड्न सहयोग गरेको छ । हालैमात्र नेपालले तपाईंको देशबाट अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त गरेको छ । नेपालले आउने दिनमा पनि यस्तै प्रकारको स्वास्थ्य सामग्री प्राप्त गर्ने आशा गर्न सक्छ ?

गत वर्ष जब कोभिडले पहिलो पटक नेपालमा आक्रमण गर्‍यो, हामीले सम्पूर्ण कार्यक्रमबाट हाम्रो ध्यान कोभिडमा केन्द्रित ग¥यौँ । त्यस अन्तर्गत हामीले ४० मिलियन पाउन्ड स्टर्लिङ नेपाल सरकार र स्थानीय तहलाई कोभिड विरुद्ध लड्न सहयोग गरेका थियौँ ।

कोभिडको दोस्रो लहरसँग बेलायत सरकारको सहयोगमा प्राप्त स्वास्थ्य उपकरण भेन्टिलेटर नेपाल सरकारलाई हस्तान्तरण गर्न पाउँदा हामी निकै खुशी छौँ । हामीले अक्सिजन प्लान्ट सहयोग गरेका छौँ । पोखरा र भक्तपुरमा अतिरिक्त कोभिड वार्ड र कोभिड हटस्पटहरूमा अतिरिक्त स्वास्थ्य सामग्री वितरण गरेका छौँ ।

हाम्रो सहयोगमा सरकारले अत्यावश्यक सामग्रीको सूची बनाएको छ । हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा नेपालले ती सामग्री विश्वभरबाट प्राप्त गरोस् भन्ने दिशामा काम गरिरहेका छौँ ।

म तपाईंलाई २० वर्ष पछाडि लैजान्छु, जुन समयमा तपाईं नेपालमा हुनुहुन्थ्यो, त्यसबेला र अहिले के फरक पाउनुहुन्छ ?

नेपाल विश्वकै सुन्दर देशमध्येको एक हो र नेपाली जनता मैले हालसम्म भेटेका मध्ये सबैभन्दा बढी मिलनसार मानिसहरू हुन् । बीस वर्षअघि पनि यस्तै थियो, आज पनि यस्तै छ ।

सन् १९९९ मा अन्नपूर्ण पदमार्गमा जाँदाको ताजा स्मरण आज पनि छ, २० वर्षपछि यहाँ राजदूतको हैसियतमा आउँदा म अत्यन्तै खुशी छु । त्यो बेलादेखि अहिलेसम्मको अवस्थामा नेपालले धेरै विकास गरिसकेको छ । विद्युत, पानीको पाइप, बाटोको पहुँच धेरै स्थानमा पुगेको छ, पहिला काठमाडौँमै पनि यस्तो थिएन ।

अहिले काठमाडौँ क्याफे र रेस्टुरेन्टले भरिभराउ छ । यो आधुनिक शहरमा परिवर्तन हुँदैछ । यस्तो देख्दा धेरै खुशी लाग्छ । महिलालाई संसद र सार्वजनिक जीवनमा देख्न पाउँदा म धेरै खुशी छु । धेरै छात्राहरूले कम्तीमा पनि प्राथमिक तहको शिक्षाको अवसर पाएका छन् ।

हामीले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँग नीतिगत सहकार्य गर्न नजिकबाट काम गर्दैछौँ जसले नेपाललाई कार्बन तटस्थ देश बनाउने लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँछ ।

दुःखका साथ भन्नुपर्छ धेरै देशजस्तै नेपालमा पनि वायु प्रदूषणको मात्रा बढ्दै गएको छ, जलवायु परिवर्तनको असर सबै क्षेत्रमा देखिएको छ । यी कुराहरूको सामना गर्दै लैङ्गिक समानताको क्षेत्रमा प्राप्त भएको सफलतालाई अगाडि बढाउनु नेपालको सन्र्दभमा बेलायतको पहिलो प्राथमिकता हो ।

नेपाल र बेलायतबीचको सम्बन्ध शताब्दी अघिदेखिको हो । राजदूतको हैसियतमा नेपालमा तपाईंका प्राथमिकता के के हुन् ?

अहिलेको अवस्थामा कोभिड–१९ विरुद्ध लड्नुभन्दा अर्को कुनै प्रमुख प्राथमिकता छैन । हामीमाझ अन्य चुनौती र अवसर छन् जुन आउने दिनहरूमा महत्वपूर्ण हुन सक्नेछन् । त्यसमध्येमा जलवायु परिवर्तन एक हो । यो वर्षको अन्त्यमा हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ लाई बेलायतले महत्वका साथ लिएको छ ।

हामीले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँग नीतिगत सहकार्य गर्न नजिकबाट काम गर्दैछौँ जसले नेपाललाई कार्बन तटस्थ देश बनाउने लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउँछ । हरियाली विकासका लागि विकास साझेदारका हिसाबमा हामीले ७ दशमलव ४ पाउन्ड स्टर्लिको सहयोग गर्दैछौँ । यसले गर्दा जलवायु अनुकूल वातावरण विकास गर्दै देशबाहिरबाट लगानी ल्याउन सहयोग पुग्छ ।

शिक्षा क्षेत्रमा सहयोग गर्नु पनि हाम्रो प्राथमिकता हो । नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको देशका रूपमा विकास गर्न शिक्षा महत्वपूर्ण कडी हो । हामीलाई के पनि थाहा छ भने सीमान्तकृत समुदायका छात्राहरू महामारीका कारण शिक्षाबाट बञ्चित हुनु परेको छ । म महिला र छात्राहरूको अधिकार र अवसर प्राप्तिका लागि खासगरी शिक्षा, सिप र सशक्तीकरणका क्षेत्रमा दृढका साथ लागिपरेकी छु । बेलायत सरकारले यी सबै क्षेत्रमा नेपाललाई सहयोग गर्नु छ ।

नेपालको विकासमा बेलायतले अझै सहयोग गरोस् भनेर तपाईं दुई देशबीचको सम्बन्ध विस्तारका लागि कस्तो योजनासहित काम गर्दै हुनुहुन्छ ?

दुई देशका सरकारबीचको सहकार्यले दुई पक्षीय व्यापार वृद्धि हुन सक्छ, यसले बजारको पहुँच र वैदेशिक लगानीको अवसरमा वृद्धि हुन्छ । हामी नेपाललाई २०३० सम्म मध्यम आय भएको देशमा स्तरोन्नाति हुने लक्ष्यमा सहयोग गर्न चाहन्छौँ । त्यसका लागि हामी संघीयता प्रभावकारी बनाउन चाहन्छौँ, आर्थिक वृद्धिका लागि सहयोग गर्न चाहन्छौँ ।

हामी छात्रालाई स्कुल जाने वातावरण मात्रै होइन स्कूलमा १२ वर्षसम्म रहने अवस्था सिर्जना गर्न चाहन्छौँ । यस्तै हामी नेपालले जलवायु परिवर्तनको मुद्दामा नेतृत्व गरोस् भन्ने चाहन्छौँ ।

नेपालमा काम गर्दा तपाईंले कुनै प्रकारको चुनौतीको सामना गर्नुभएको छ ? छ भने कस्तो कुरामा चुनौती ?

कुनै पनि काम चुनौतीविनाको हुँदैन । महामारीका बेला यो अझ बढी हुन्छ । यस्तो अवस्थामा हाम्रो काम गर्न हामीले फरक उपाय अपनाउनुपर्छ । राजदूतको हैसियतमा मैले जनतासँग हेलमेल गर्ने अवसर गुमाएकी छु । सामान्य अवस्था हुन्थ्यो भने म देशका विभिन्न भागमा दैनिक यात्रा गर्दै फरक फरक मानिससँग भेट्न सक्थेँ ।

बेलायतले नेपालका महिला तथा बालिकाहरूलाई रोजगारी कार्यक्रम अन्तर्गत सिप विकास गर्ने अवसर प्रदान गरेको छ । यसरी उनीहरू पुरुषको दबदबा रहेको क्षेत्रमा काम गर्न सक्छन् ।

मसँग दूतावासमा यस्तो समूह छ जुन हरेक प्रकारले नेपालसँगको सम्बन्ध प्रगाढ राख्न सहयोग पु¥याउँछ, त्यो जुनसुकै प्रकारले किन नहोस् । त्यसैले हामीले यो चुनौती सामना गर्ने नयाँ तरिका पाएका छौँ ।

डीएफआईडी नेपालको एक प्रमुख दातृ संस्था हो । तपाईंको सरकारले यहाँ गरेको लगानी अनुरूपको नतिजा प्राप्त गरेको छ ?

बेलायत सरकारले गत वर्ष डीफआईडी र विदेश मन्त्रालयलाई एकअर्कामा समायोजन गर्‍यो । त्यसैले हामी अहिले बेलायती दूतावास अन्तर्गतको समूहमा रहेर काम गरिरहेका छौँ । समायोजनसँग हामीलाई थप प्रभावकारीरूपमा काम गर्न सहयोग मिल्नेछ ।

महामारीका कारण विश्वभर नै प्राप्त गर्नुपर्ने नतिजामा भने कमी आएको छ । मार्च २०२० मा नेपालमा लकडाउन घोषणा भएपछि बेलायतले महामारीको प्रभाव कम गर्ने दिशामा काम गर्न थाल्यो । त्यसका लागि हामीले ४ लाख नयाँ स्थानमा हात धुने ठाउँ बनायौँ, करिब ६० हजार असुरक्षित मानिसहरूलाई खाना र पैसाको व्यवस्था गर्‍यौँ । यहाँ मुख्य कुरा भनेको कार्यक्रम समायोजन गर्दै आवश्यकता सम्बोधन गर्नु हो ।

हालको अवस्थामा दुई देशका जनताको सम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

इतिहासदेखि नै हाम्रा जनताबीच बलियो सम्बन्ध छ । चाहे त्यो गोर्खा होओस्, हामीबीचको कूटनीतिक सम्बन्ध होओस्, शिक्षाको सम्बन्ध होओस् अथवा खानपानमा रहेको सम्बन्ध । यी सबै कुराले जनता–जनताबीचको सम्बन्धलाई झनझन बलियो बनाउँदै लगेको छ ।

बेलायतमा वृद्धि हुँदै गएको नेपाली डायस्पोरा समुदाय बेलायतका सबै क्षेत्रमा सहभागी छन् । कोभिडको प्रकोप नभएको हुुन्थ्यो भने अहिले धेरै संख्यामा बेलायती पर्यटक नेपाल आएका हुन्थे । म त्यो समयको प्रतिक्षामा छु, बेलायती पर्यटक नेपालमा आई यहाँको सौन्दर्यको अवलोकन गर्न सकून् ।

नेपालको सामाजिक क्षेत्रजस्तै शिक्षा र स्वास्थ्यमा बेलायतले गरेको सहयोगका विषयमा केही बताइदिनुहोस् न !

बेलायतले मातृ तथा बालस्वास्थ्यमा देशैभर सहयोग गरिरहेको छ । उदाहरणका लागि, महामारीका बाबजुद २०२० मा करिब २ लाख ८० हजार महिलालाई यातायात खर्च दिएर सुरक्षित स्थानमा बच्चा जन्माउन सहयोग गरेका थियौँ । हामीले सिजेरियन सेवा (२०२० मा ८७) सहित व्यापक आपतकालीन प्रसूति सेवा र नवजात शिशु स्याहार सुविधा क्रियाशील राख्न सहयोग गर्‍यौँ ।

बेलायतले संकट व्यवस्थापन केन्द्रलाई सहयोग गर्दै देशभर यौन दुर्व्यवहार व्यहोरेका महिला तथा बालबच्चालाई सहयोग पु¥यायो । शिक्षाका क्षेत्रमा हामीले धेरै अभिभावकलाई छोरीको शिक्षाका लागि सहयोग गरेका छौँ, विषेश गरी यो काम छात्रालाई शिक्षाबाट टाढा राखिएका समुदाय केन्द्रित थियो ।

अन्य कुरासँगै नेपाल र बेलायतबीच एउटा कुरा मिल्छ, दुवै देशमा महिला राष्ट्र प्रमुख छन् । नेपालजस्तो देशले आगामी दिनमा महिला राष्ट्र प्रमुख हुने वातावरण कसरी बनाउन सक्छ ?

यसको मुख्य आधारशीला नै शिक्षा हो जसले महिलालाई अवसर, विश्वास र निर्णय गर्ने क्षमता दिन्छ । यो महामारीको अन्त्य भएपछि छात्राहरू स्कूल जाने वातावरण बनाउनुपर्छ । बेलायत सरकार विश्वभर नै चार मिलियन छात्रालाई स्कुल पठाउने योजनामा प्रतिबद्धताका साथ लागि परेको छ ।

मलाई यस कामका लागि प्रेरणा स्रोत हुनु आवश्यक हुन्छ जस्तो लाग्छ । समाज परिवर्तन हुन समय लाग्छ । छोरीहरूले आफूजस्तै मानिसलाई नेतृत्वमा देख्छन् भने त्यसले उनीहरूलाई पनि चुनौतीको सामना गर्ने र अवसरको उपयोग गर्ने प्रेरणा दिन्छ ।

बेलायतले नेपालका महिला तथा बालिकाहरूलाई रोजगारी कार्यक्रम अन्तर्गत सिप विकास गर्ने अवसर प्रदान गरेको छ । यसरी उनीहरू पुरुषको दबदबा रहेको क्षेत्रमा काम गर्न सक्छन् । यस्ता काममा सफलता हासिल गर्न महिला पत्रकारहरूको सहयोग आवश्यक हुन्छ ।

बेलायत र उसका विकास साझेदारहरूले नेपालमा लैङ्गिक समानताका लागि कस्तो काम गर्दैछन् ?

बेलायत र उसका विकास साझेदारका लागि लैङ्गिक समानता प्राथमिकताको क्षेत्र हो । नेपालका लागि यो यस्तो मुद्दा हो जसमा बाह्य साझेदारले मात्रै सहयोग गर्न सक्छन् । हामी हाम्रो कार्यक्रममा लैङ्गिक समानता हासिल गर्न सकियोस् भन्ने हिसाबमा काम गर्छौं ।

त्यसैले हामी कुनै पनि कार्यक्रममा महिला सहभागीता कम नहोस् भन्ने विषयमा उचित ध्यान दिन्छौँ । हाम्रो कार्यक्रममा महिला र पुरुषलाई समान बेतनको व्यवस्था मिलाइएको हुन्छ । तर, नेपालको मित्र राष्ट्रका हैसियतमा नेपालका लागि ठीक हुने मूल्य मान्यता र लैङ्गिक समानताका लागि मात्रै अवाज उठाउँछौँ ।

नेपालको वर्तमान राजनीतिक विकासका सन्दर्भमा तपाईंलाई केही भन्नु छ ?

राजदूतको हैसियतमा नेपालको राजनीतिक विषयमा बोल्ने मेरो कुनै अधिकार छैन । अन्तर्राष्ट्रिय रूपमा मानव अधिकारको रक्षा गर्नु बेलायतको प्राथमिकताको सूचिभित्र पर्छ । हामी अभिव्यक्ति स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको रक्षामा केन्द्रित छौँ । हामी मिडिया स्वतन्त्रता र उदार प्रजातन्त्रको पक्षपोषक हौँ ।

 

 


भर्खर

0