प्रधानमन्त्री ओली प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न चाहन्छन् कि नाइँ ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न चाहन्छन् कि नाइँ !



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीस दिन अर्थात जेठ २८ गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

तीस दिन म्याद हो, कुर्नै पर्ने होइन । संसदको बजेट अधिवेशन बोलाउन ढिलो भएको अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई तीस दिन कुर्ने समय छैन ।

संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान अर्थात बजेट पेश गर्नुपर्नेछ ।

बजेट पेश गर्नुअघि संसदमा प्रिबजेट छलफल गर्ने चलन छ । त्यसपछि संघीय संसदको संयुक्त बैठकमा सम्बोधनमार्फत राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममाथि संसदमा छलफल भई बहुमतले पारित भएपछि मात्रै बजेट प्रस्तुत हुन्छ ।

नीति तथा कार्यक्रम पारित हुनु भनेको प्रधानमन्त्रीको बहुमत सिद्ध हुनु हो । यसको अर्थ हो प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । विश्वासको मत नलिई नीति तथा कार्यक्रम प्रस्तुत भयो भने जेठ १५ अगावै प्रधानमन्त्रीको स्थिति प्रष्ट हुनेछ ।

प्रष्ट भएकै कुरा हो, प्रधानमन्त्री ओली प्रतिनिधिभा भङ्ग गरेर निर्वाचन गराउन चाहन्छन् । प्रतिनिधिसभाको गत अधिवेशनमा ९ वटा बैठक हुँदा उनी एक पटक पनि उपस्थित भएनन् । यसले वर्तमान प्रतिनिधिसभाप्रति उनको उपेक्षाभावको प्रष्ट चित्र देखाउँछ । उनले विश्वासको मत लिन हालै राखेको प्रस्ताव पनि चाँडो निर्वाचन गराउने रणनीति अन्तर्गत थियो भन्ने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीले बहुमत चाहेका छन् भने नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि नै उनले नेकपा एमालेका असन्तुष्ट नेताहरुसँग सरकारको पक्षमा सहमति बनाउने छन् र कम्तीमा जसपाको ठाकुर–महतो समूहको विश्वास हासिल गर्ने छन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा भङ्ग गराएर चाँडो निर्वाचनमा जान चाहन्छन् भने उनले विश्वासको मतका लागि राख्ने प्रस्ताव असफल हुनेछ अर्थात प्रधानमन्त्रीकै रणनीति अन्तर्गत असफल बनाइनेछ । यसपछि संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत हासिल गरेनन् भने प्रष्ट छ, संविधानको धारा ७६(५) अनुसार बहुमतको सरकार बन्नेछैन । विधि पुर्‍याउन राष्ट्रपतिबाट तीन दिन म्याद दिएर सरकार गठनका लागि आह्वान हुने तर कुनै चमत्कार नभए दाबी पुग्ने छैन । अन्ततः प्रधानमन्त्री ओलीको अल्पमतको वर्तमान सरकार निरन्तर हुनेछ ।

यसपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछन् र ६ महिनाभित्र निर्वाचन हुने गरी मिति तोकिने छ । यति प्रक्रिया बढीमा जेठ भरिमै पूरा हुनेछ ।

यसो भएमा बढीमा आगामी मंसिर मसान्तसम्ममा अर्को प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ । प्रधानमन्त्री ओलीमात्रै होइनन्, निर्वाचनमा जान मुख्य विपक्षी दल नेपाली कांग्रेस पनि इच्छुक छ ।

कोरोना भाइरस संक्रमणको अवस्था अनुमान गर्न नसकिएको अहिलेको परिस्थितिमा आगामी मंसिरमा निर्वाचन गराउने कुरा अन्योलपूर्ण हुनेछ । नियमित ढङ्गले संसद अधिवेशन हुृँदा २०८० वैशाखमा निर्वाचन गराउँदा पनि हुन्छ । यसो हुँदा कोरोना संक्रमणले धेरै असर नगर्ला भन्ने अपेक्षा गर्न सकिन्छ ।

आगामी मंसिरमै निर्वाचन गर्नु कोरोना संक्रमणका दृष्टिले निकै जोखिमपूर्ण हुन सक्नेछ । निर्वाचन घोषणा हुने तर सम्पन्न हुन नसक्ने अवस्था आयो भने अर्को अन्योल उत्पन्न हुनेछ ।

अग्रिम निर्वाचनमा जान चाहनेले २०८० वैशाखसम्म कोरोना रहने छैन भन्ने के निश्चित छ र भन्ने तर्क गर्न सक्छन् । हो, निश्चित छैन तर पद्धति र प्रक्रिया स्वाभाविक ढङ्गले अघि बढ्दा आइलाग्ने समस्यामा पनि स्वाभाविक ढङ्गले समाधान निस्कन्छ ।

अपेक्षा गरौँ ‘….प्रधानमन्त्री पदको कामकाज प्रचलित कानूनको अधिनमा रही मुलक र जनताको सोझो चिताई…. इमानदारिताका साथ गर्नेछु….’ भनेर शपथ लिएझैँ प्रधानमन्त्री ओलीले कोरोना भाइरसले निम्त्याउँदै गएको सामाजिक र आर्थिक सङ्कट समेत ख्याल राखेर उचित कदम चाल्नेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ३९ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ