अक्षय तृतीयाको अपार महिमा « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

अक्षय तृतीयाको अपार महिमा



यसपालिको अक्षय तृतीया यही वैशाख ३१ गते परेको छ । शिव पार्वतीको बिहेको दिनको रुपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीका रूपमा समेत हेरिने यो पर्वको विशेष महत्व छ ।

अक्षय तृतीया त्रेतायुग आरम्भको दिन मानिन्छ । हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष पर्वको रुपमा मान्ने चलन छ ।

वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्र्वमा गरिएको साना पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने विश्वास भएकाले अक्षय तृतीया भनिएको हो ।

यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुने र ब्रह्मा, विष्णु, शिव तीनै देवता प्रसन्न रहने विश्वास गरिन्छ । यस दिन तिल मिश्रित अन्न, जलघडा दानले स्वर्गीय पितृहरू बढी खुसी रहन्छन् र दातालाई अक्षय पुण्य प्राप्ति हुन्छ भन्ने मान्यता छ ।

यस दिन जौको सात्तु र सर्वतपानीको विशेष महत्व छ । श्रीविष्णुको विशेष पूजा हुन्छ । सार्वजनिक कार्य, दान, होम, जप, तप, योग, पूजा आदि सत्कर्म गरेर अक्षय पुण्य प्राप्ति गर्न चाहनेले वसन्त ऋतुको यो पर्व रुचाउँछन् ।

अक्षय तृतीयाको महत्वका बारेमा मत्स्यपुराणमा चर्चा गरिएको छ । वैशाख मासका सबै दिनहरू पावन छन्, विशेष दिनको रुपमा अक्षय तृतीय मानिएको छ ।

ईश्वरीय विधानमा सबै ऋतुहरू समान छन् तथापि शुष्ककण्ठ गृष्मको आरम्भ हुने बखत शरीरको तापमान सन्तुलन राख्न जौको सातु सेवन गरेर शरीरलाई निरोगी राख्न यस पर्वले प्रेरित गर्दछ ।

वसन्त ऋतुमा पर्ने चाड पर्वहरूले ती सबैको सन्तुलन ल्याउन सहयोग गर्छन् । ऋतुहरूमध्ये वसन्त एवं शरद ऋतुलाई काव्यकारहरूले विशेष प्राथमिकता दिएका छन् । शरदको उल्लास फूलहरूको सजावट र वसन्तको उल्लास पल्लवीहरूको उद्गारले नवजीवन, नवीन उत्साह, नवीनतम ऊर्जाबाट मानवजीवन परिपूर्णतम बन्न प्रेरित गर्छन् । जीवनको उद्देश्य सिर्जना र संरक्षण हो ।

पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित र सभ्य नागरिक समाजबाट देश प्रेम र ईश्वरीय चिन्तन हुन्छ ।

अरुलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीय दर्शनले परोपकारको अक्षुण्णतातर्फ संकेत गरेको छ । समयमा रहेका धार्मिक जनहरू, साधुसन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्माहरूलाई आफ्नो सेवाबाट, समयबाट, श्रमबाट र दानबाट खुसी गराउनु पर्ने कुरा शास्त्रहरूले बताएका छन् । मानवजीवन परोपकारका लागि मानिएको छ ।

दानमध्ये अन्न दान प्राण दान सरह हो । सबै प्राणीहरू जल, खाना र वायुमा निहित छन् । अक्षय तृतीयाले वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न जोड दिएको छ ।

हाम्रो मुलुक कृषिप्रधान हो । प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ पनि उत्पादन हुन्छ । भगवानको पूजा तिल र जौद्वारा हुने गर्छ । जौ र गहुँ शीतलताको प्रतीक मानिन्छन् । बिरामीहरूले जौ र चनाको सातु खानु राम्रो हुन्छ ।

जौ र गहुँमा हुने रेसादार वस्तुबाट पेटमा रहेका विकारहरू बाहिर निस्काशन हुन्छन् । जौ र गहुँमा रोग निरोधक शक्ति हुन्छ । यिनमा हुने रेसाले शरीर स्वस्थ बनाउँछ । शरीरमा मल रहन पाउँदैन । शरीरको प्रदूषण बाहिर निस्काशन गर्ने पदार्थहरू खाने बानी गर्नु राम्रो हुन्छ । यस अर्थमा जौ, गहुँ, मकैका च्याँख्ला, चना, भटमास जस्ता अन्नले मानव शरीर निरोगी राख्न मद्दत गर्छन् ।

नेपालमा अक्षय तृतीयाका दिन पशुपतिक्षेत्र, बूढानीलकण्ठक्षेत्र तथा अन्य धेरै मठ मन्दिरहरूमा विशेष पर्व, पूजा, मेला, जात्रा हुन्छ । काठमाडौँ उपत्यका, ललितपुरक्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरूलाई सख्खरपानी वितरण गर्ने चलन छ ।

अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्व छ । सम्पूर्ण सृष्टि जलमै भएको हो । संरक्षण पनि जल सहितको भूमिमा हुन्छ । जलबिना अन्न उत्पादन हुँदैन ।

जल जीवन मानिएको छ त्यसैले जलदान भन्नु जीवनदान हो । अक्षय तृतीयाका दिनको जलदान मानव जातिले हरदिन पानी पवित्र राख्नुपर्छ भन्ने सन्देश हो ।

जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घ्यू, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तीको प्रतीक जुत्ता दान गरिन्छ । यो कर्मले सम्पूर्ण जीवन अरुको हितमा प्रयोग गर्ने सन्देश प्राप्त हुन्छ ।

यो निस्वार्थ दान हो । मनुस्मृति, विष्णुधर्मोत्तर ग्रन्थ, विष्णुपुराण, गीता जस्ता पावन ग्रन्थ एवं महाभारतले जीवनदानका बारेमा विशद् चर्चा गरेका छन् ।

अक्षय तृतीयामा गरिएका दान, पुण्यले इहलौकिक जीवात्मा त खुसी हुन्छन् नै पारलौकिक पुण्यात्मा पितृहरू पनि खुसी हुन्छन्, तृप्त हुन्छन् भन्ने मानिएको छ ।

आफ्ना स्वजन, बन्धुबान्धव र पितृहरूलाई स्मरण गरिने यस पर्वको महत्व जति वर्णन गरे पनि कम हुन्छ ।

अक्षय तृतीया परशुराम जयन्तीका रूपमा पनि मानिन्छ । परशुराम अष्टचिरञ्जीवी मध्ये एक हुन् । वर्षवृद्धि हुने दिन जन्मोत्सव पर्वहरूमा आयु र आरोग्य वृद्धि गर्न अष्ट चिरञ्जीवीको विशेष आराधना गर्ने चलन छ । परशुराम श्रीविष्णुको १० अवतारमध्ये छैठौं अवतारमा लिइएका छन् ।

पितृआज्ञा पालन गर्ने परशुरामको जन्म जमदग्नि ऋषि र माता रेणुकाको गर्भबाट भएको हो । सूर्यास्तपछि तेस्रो प्रहरमा धर्तीमा अवतरित परशुरामले धर्तीमा रहेका निरंकुश राजाहरूको वध गरेर धर्मरक्षा गरे । एक्काइस पटक पृथ्वी परिक्रमा गरेर निरंकुशता समाप्त पारी वीर क्षत्रियहरूको तेजवृद्धि गराए ।

मत्स्येन्द्रनाथ सहकालका देवता र अन्नबाली संरक्षकका रूपमा मानिन्छन् । हिउँदेबाली जौ भुटेर सातु बनाई नयाँ अन्नको रूपमा देवतालाई चढाउने र आफूले पनि ग्रहण चलन छ । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि जौ विशेष खानाका रूपमा मानिन्छ ।

परशुराम भगवानको क्रोध, आवेश अवतारको रुपमा पनि मानिन्छन् । भूमिप्रति अत्याचार गर्ने, साधुसन्तप्रति रोष गर्ने, शास्त्रप्रति अनादर गर्ने जो कोहीप्रति पनि भगवान् सन्तुष्ट रहन्नन् ।

माता रेणुकाबाट असन्तुष्ट भएका जमदग्नी ऋषिले परशुरामलाई आमाको हत्या गर्न आदेश दिए । पछि आदेश पालनबाट खुसी भएका परशुरामलाई वरदान माग्न भन्दा आफूबाट वध भएकी माता र दाजुहरूलाई पुनः जियाएर त्यो दोष आफूलाई नलाग्ने वरदान माग गर्दा पिता जमदग्निले वरदान दिए । वरदान सिद्ध पनि भयो ।

शस्त्रविद्यामा निपुण परशुरामबाट कर्ण, भीम आदिले शस्त्रविद्या सिकेका थिए । त्रेतायुगमा श्रीविष्णुले मर्यादा स्थापित गराउने क्रममा सौम्यअवतार, रामअवतार लिइसकेको बुझेर रौद्ररुप परशुराम आफ्नो शस्त्र विद्या छोडी सामान्य ऋषिका रूपमा स्थापित भए ।

भारतको आसाम पूर्वोत्तर भागमा परशुराम कुण्ड रहेको छ । त्यहाँ पर्व विशेषमा मेला लाग्छ । भारतका चारधाममध्ये बद्रीनाथ धामको ढोका अक्षय तृतीयाकै दिन खुल्छ ।

नेपालमा अक्षय तृतीयाका दिन पशुपतिक्षेत्र, बूढानीलकण्ठक्षेत्र तथा अन्य धेरै मठ मन्दिरहरूमा विशेष पर्व, पूजा, मेला, जात्रा हुन्छ । काठमाडौँ उपत्यका, ललितपुरक्षेत्र पुल्चोकमा भगवान् मत्स्येन्द्रनाथका तर्फबाट पथिकहरूलाई सख्खरपानी वितरण गर्ने चलन छ ।

मत्स्येन्द्रनाथ सहकालका देवता र अन्नबाली संरक्षकका रूपमा मानिन्छन् । हिउँदेबाली जौ भुटेर सातु बनाई नयाँ अन्नको रूपमा देवतालाई चढाउने र आफूले पनि ग्रहण चलन छ । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि जौ विशेष खानाका रूपमा मानिन्छ ।


भर्खर

0