कांग्रेसमा गिर्दो सहिष्णुता र व्यक्तिगत मर्यादा « Khabarhub
Logo
३ जेष्ठ २०७८, सोमबार

कांग्रेसमा गिर्दो सहिष्णुता र व्यक्तिगत मर्यादा



गत चैत २७ गते सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिकरूपमा भएको घोचपेचलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले ज्यादै अप्रिय घटना माने । दुई शीर्ष नेताहरूबीच सत्ता समीकरण परिवर्तनको विषयमा घोचपेचको भएको थियो । घोचपेचभन्दा एक कदम अघि बढेर बाझाबाझ नै भएको थियो ।

नेता पौडेलले सभापति देउवाकै अकर्यमण्यताका कारण केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार टिकिरहेको आरोप लगाउँदै आएका छन् । देउवाले भने प्रतिनिधिसभाको अंक गणितका कारण ओली सरकार फाल्न नसकिएको भन्ने गरेका छन् ।

देउवा र नेता पौडेल आआफ्ना मन्तव्यपछि आशनमै बाझाबाझ गरेका थिए ।

एक आपसमा बाझाबाझ कांग्रेसको संस्कार होइन । पहिलो पुस्ताका नेताहरू पनि धेरै गम्भीर बिवादमा फँसेको इतिहास छ । पार्टी विभाजन भएको इतिहास छ तर नेताहरू एक आपसमा सार्वजनिकरूपमा बाझाबाझमा उत्रिएनन् ।

पहिलो पुस्ताका नेताहरू तर्कले आफ्नो मत पुष्टि गर्न सक्षम थिए । पार्टीभित्र तर्कलाई स्थान दिने वातावरण थियो । उनीहरू विचार प्रकट गर्न पाउने व्यक्तिको स्वतन्त्रताको सम्मान गर्थे ।

कांग्रेस कार्यकर्ताहरू अहिले कांग्रेसको प्राथमिकता महाधिवेशन हो, सरकार होइन भन्छन् । कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने भयो भने छाड्न नहुने तर अधिवेशन छाडेर सत्ता समीकरणको खेलमा लाग्न नहुने धेरैको धारणा सुनिन्छ ।

दोस्रो पुस्ताका नेताहरूमा तर्कले आफ्नो मत पुष्टि गर्ने सामथ्र्य देखिएन । पार्टीभित्र तर्कलाई प्रधानता दिने वातारण पनि बनेन । प्रतिनिधिसभामा ओली सरकारविरुद्ध बहुमत पुग्ने र कांग्रेसको नेतृत्वमा अर्को सरकार बन्न सक्ने भरपर्दो आधार पौडेलले प्रस्तुत गर्न सकेका छैनन् । देउवा अरूको तर्कवितर्क सुन्ने धर्य गुमाउँदै छन् ।

दोस्रो पुस्ताका नेताहरूमा तर्क, धैर्य र सहिष्णुताको कमी रहेकोमा बीपी कोइराला नै चिन्तित थिए भन्ने कुरा केही महीनाअघि दिवङ्गत भएका पुराना नेता श्यामलाल श्रेष्ठले आफ्नो संस्मरणमा लेखेका छन् । पौडेलका सन्दर्भमा जेलमा रहँदाको घटना र देउवाका सन्दर्भमा २०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा भएको घटना उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

श्रेष्ठका अनुसार जेलमा रहँदा कांग्रेसका राजबन्दीहरूले पैसा उठाएर कहिलेकाहीँ मासु किन्थे । एकपटक पैसा अलिक थोरै भएछ, खाने मान्छे धेरै । खसीको एक किलो मासुले २०-२५ जनालाई नपुग्ने भएपछि मार्शल जुलुम शाक्यले राँगाको मासु तीन किलो अर्डर गरेछन् ।

राँगाको मासु पाकेपछि पौडेल क्रोधित भए । मार्शल जुलुमले धैर्य राख्न सकेनन्, उनले पौडेललाई चड्कन लगाए । दोस्रो पुस्ता भनेर भरोसा गरिएका शाक्य र पौडेलबीचको यस्तो घटना भएपछि बीपीले कांग्रेसको भविष्यमा विषयमा चिन्ता प्रकट गरेका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलन सम्झौतामा टुङ्ग्याएपछि गद्दार भन्दै आन्दोलनका नेता बलबहादुर केसी लगायत तीन जना ठेलामा राखेर मोसो दल्दै सडक घुमाइए ।

घटनामा देउवाको पनि हात छ भनेर कसैले केसीलाई सुनाइदियो । केसीको आक्रोशबाट देउवालाई जोगाउन बीपी नै सक्रिय हुनु परेको थियो । बीपीले नेवि संघको अध्यक्ष पदबाट देउवालाई हटाएर केसीलाई कार्यवहाक अध्यक्ष बनाए । यस घटनाले बीपी धेरै चिन्तित भएको कुरा श्रेष्ठले आफ्नो संस्मरणमा लेखेका छन् ।

पौडेलको स्वर नरम भए पनि स्वभाव खरो छ भन्छन् उनलाई नजिकबाट जान्नेहरू । देउवा चारपटक प्रधानमन्त्री भए, पार्टी सभापति भए । समकक्षी नेता पौडेल उपप्रधानमन्त्रीमा सीमित छन् ।

कांग्रेसमा पहिलो पुस्ताभन्दा दोस्रो पुस्ता नालायक र दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ता नालायक देखिएको भन्ने विश्लेषण यसै भइरहेको छैन । तेस्रो पुस्ताका नेताहरूमा आपसी सहिष्णुतामा अझै कम देखिन्छ । पहिलो पुस्ताका नेताहरू भनाभनमा कहिल्यै उत्रिएनन् । दोस्रो पुस्ताका नेताहरू आपसमा तँ तँ र म म गर्दैछन् । तेस्रो पुस्ताका नेताहरू अझै असहिष्णु देखापर्न थालेका छन् ।

कार्यकर्ताले सिक्ने अग्रजहरूबाट हो । विगतमा मातृका कोइराला र बीपीबीच पार्टी विभाजनसम्मको द्वन्द्व हुँदा पनि उनीहरूले मर्यादा नाघेनन् । आफ्नो भाइ नै भए पनि मातृका बीपीलाई सार्वजनिक मञ्चमा सधैँ ‘तपार्इं’ सम्बोधन गर्थे ।

२०५१ सालमा गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहबीच धेरै ठूलो द्वन्द्व भयो । हुँदा हुँदा गणेशमानले पार्टी नै परित्याग गरे तर दुवै नेताले एक अर्काको मर्यादा गरे ।

‘गिरिजा प्रवृत्ति’ विरुद्ध जेहाद छेड्ने भन्दै गणेशमान सिंहले देशव्यापी ‘जनजागरण अभियान’ पनि चलाए । अभियानकै क्रममा पनि उनले विराटनगरमा कोइराला निवासलाई आफ्नो मुकाम बनाए । एक साता कोइराला निवास बस्दा गणेशमानको सम्मानको निम्ति नोना कोइराला काठमाडौँबाट विराटनगर गएर बसिन् ।

२०५६ सालमा संस्थापक नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादबीच पनि ठूलो द्वन्द्व भयो । व्यक्तिगतरूपमा भने दुई नेताबीच अत्यन्त सौहार्दपूर्ण व्यवहार थियो । दुवै नेताले एक अर्कालाई दुर्वाच्य बोलेनन् ।

गिरिजाप्रसाद व्यक्तिगत भेटमा देउवालाई ‘तिमी’ सम्बोधन गर्थे । देउवाले पार्टी फुटाए तर सार्वजनिक मञ्चमा गिरिजाप्रसाद हार्दिकतापूर्वक व्यवहार गर्थे ।

पार्टी विभाजनपछि एकपटक एउटा कार्यक्रममा देउवाले ‘गिरिजाबाबु सामन्तीको छोरो’ भनेका थिए । कृष्णप्रसाद कोइराला कसरी सामन्ती भन्दै कार्यक्रममा हुटिङ भएपछि देउवाले आफ्नो भनाइ फिर्ता लिएका थिए ।

विमलेन्द्र निधि गृहमन्त्री भएका बेला आइजीपी प्रकरणले कांग्रेसमा तनाव भएको थियो । तनावका बीच संसदीय दलको बैठकमा सांसदहरूले देउवालाई स्पष्ट पार्न आग्रह गरे । देउवाले निधितिर देखाउँदै ‘यसैले गर्दा हो’ भने । निधिले पनि जुरुक्क उठेर औँलो ठड्याउँदै ‘तैँले नै गर्दा हो’ भने । यो तँ तँ र म म संसदीय दलमै समित रह्यो । दुवैले गल्ती स्वीकार गरे ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णित छ । जसपाका धेरै जसो नेता ओलीप्रति नै नरम देखिएका छन् । कांग्रेससँग प्रतिनिधिसभामा जम्मा २३ प्रतिशत स्थान छ । सरकार बनाउन कम्तीमा १३८ सदस्यको समर्थन चाहिन्छ ।

कांग्रेसमा पहिलो पुस्ताभन्दा दोस्रो पुस्ता नालायक र दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ता नालायक देखिएको भन्ने विश्लेषण यसै भइरहेको छैन । तेस्रो पुस्ताका नेताहरूमा आपसी सहिष्णुतामा अझै कम देखिन्छ । पहिलो पुस्ताका नेताहरू भनाभनमा कहिल्यै उत्रिएनन् । दोस्रो पुस्ताका नेताहरू आपसमा तँ तँ र म म गर्दैछन् । तेस्रो पुस्ताका नेताहरू अझै असहिष्णु देखापर्न थालेका छन् ।

कांग्रेस कार्यकर्ताहरू अहिले कांग्रेसको प्राथमिकता महाधिवेशन हो, सरकार होइन भन्छन् । कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने भयो भने छाड्न नहुने तर अधिवेशन छाडेर सत्ता समीकरणको खेलमा लाग्न नहुने धेरैको धारणा सुनिन्छ ।

देउवा निकटस्थ केन्द्रीय सदस्य रमेश लेखकका अनुसार कांग्रेसको प्राथमिकता ओली सरकार विस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार बनाउनु हो । लेखक भन्छन्, ‘प्रतिनिधि सभाले अर्को सरकार दिन नसक्ने अवस्थामा अनैतिक र नालायक सरकार बोकिराख्नु भन्दा जनतामा जानु उपयुक्त विकल्प हो ।’

आगामी भदौमा महाधिवेशन नगरी नहुने बाध्यात्मक अवस्थामा मंसिरमा आम निर्वाचन हुने भयो भने कांग्रेसले सक्छ ? पौडेलसँग कुस्ती खेल्नुको साटो महाधिवेशनको वातावरण बनाउनु देउवा स्वयंको पनि हितमा छ ।

आगामी भदौभित्र चौधौँ महाधिवेशन हुन सकेन भने देउवालाई लाग्ने कलंक २०५९ सालको प्रतिनिधिसभा विघटनभन्दा पनि चर्को हुनेछ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णित छ । जसपाका धेरै जसो नेता ओलीप्रति नै नरम देखिएका छन् । कांग्रेससँग प्रतिनिधिसभामा जम्मा २३ प्रतिशत स्थान छ । सरकार बनाउन कम्तीमा १३८ सदस्यको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि बहुमत पुग्दैन । अनि कांग्रेस नेताहरूबीच किन रडाको !


भर्खर

0