सामाजिक पुँजीवाद « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

सामाजिक पुँजीवाद



कोभिड–१९ महामारीले भौतिक र मानवीय पुँजीलाई नै असर पुर्‍याएको छ । उद्योगहरूले आफ्नो लगानी योजना या त स्थगित गरेका छन् अथवा रद्द गरेका छन् ।

लामो समय काम नगरी बस्नुपर्दा श्रमिकहरूको काम गर्ने सिपमा पनि कमी आउन थालेको छ । यो संकटले आर्थिक विकासको प्रमुख स्रोतका रूपमा सामाजिक पुँजीको भूमिका थप बढाएको छ ।

सन् १९९० को दशकमा हार्वड विश्वविद्यालयका राजनीतिशास्त्रका वैज्ञानिक रोबर्ट पटनमले प्रख्यात बनाएको समाजिक पुँजीवादको अर्थ ‘सामाजिक सङ्गठनको विशेषता जस्तो कि नेटवर्क, मापदण्ड र विश्वासले पारस्परिक लाभका लागि सहयोग र सुविधा प्रदान गर्छ ।’

केही हदसम्म यो साझा मूल्यमान्यता समावेश गरिएको अस्पष्ट अवधारणा हो । यसका अनुसार व्यवहार, आपसी विश्वासको वातावरण र साझा पहिचानले समाजलाई अघि बढ्न मद्दत गर्छ । जति धेरै एउटा समाजसँग सामाजिक पुँजी हुन्छ त्यति नै धेरै सामूहिक उद्देश्य प्राप्तिका लागि सँगै अघि बढ्ने इच्छा र क्षमताको विकास हुन्छ ।

अर्को अर्थमा सामाजिक पुँजी एक प्रकारको गम हो जसले समाज र राष्ट्रलाई एकाकार गर्न सहयोग पुर्‍याउँछ । सही वातावरणमा बारम्बार र पारस्परिक सामाजिक अन्तरक्रियाले आर्थिक विकास, उत्तम स्वास्थ्य अवस्था र स्थिरता प्राप्त गर्न सहयोग पुग्छ ।

कोरोना महामारीका दौरान प्रतिरक्षाका उपाय भ्याक्सिन र स्वास्थ्य उपचार उपलब्ध नभएको अवस्थामा सामाजिक पुँजीले प्रतिरक्षाको काम गरेको थियो । यहाँ प्रत्येक व्यक्तिले रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि गरेको प्रयासले सार्वजनिक सम्पत्तिको काम गरेको थियो ।

एउटा समुदायले भाइरस संक्रमण हुन नदिन अपनाएको सचेतताले अर्को समुदायलाई संक्रमण हुनबाट जोगाएको थियो । अर्थशास्त्रीहरूको शब्दमा व्यक्तिहरूले आफ्नो गतिशीलता र सामाजिक अन्तरक्रिया कम गरे । त्यसले गर्दा समाजमा व्यापकरूपमा संक्रमण फैलिन पाएन । यदि उनीहरूले त्यस्तो कदम नचालेका भए त्यसले समाजलाई ठूलो क्षति गर्ने थियो ।

एक ठूलो समूहप्रतिको लगावका कारण व्यक्तिगत मूल्य र सहन गर्ने क्षमताको विकास हुन्छ । एकेडेमिक अनुसन्धानले नागरिक संस्कार विकास भएका ठाउँमा सामाजिक दूरी पालनामा स्वतः भएको देखाउँछ ।

अर्कोतर्फ सामाजिक पुँजीको विकास भएको स्थानको अर्थतन्त्रले जीवन्तता प्राप्त गरेको हुन्छ । त्यस्ता स्थानमा बस्ने मानिसको नागरिक संस्कार पनि तुलनात्मकरूपमा विकसित भएको पाइन्छ । घना जनसंख्या भएका शहर जस्तै पेरिस, न्यु र्योक, लन्डन, मिलान लगायतमा महामारी तीव्र गतिमा फैलिएको थियो ।

जब महामारीसँगै आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने अवस्था आयो तब नागरिक संस्कार विकसित भइसकेका ठाउँमा मानिसले सरकारले निषेधाज्ञा लगाउनुअघि नै समाजिक दूरी पालना गर्न थालिसकेका थिए । त्यस्ता मानिस राज्यको निर्देशन प्रभावकारीरूपमा पालना गरिरहेका देखिन्थे ।

महीनौँसम्म लकडाउन हुँदासमेत सामाजिक पुँजीले अर्थतन्त्रलाई टेवा पुर्‍याउने काम गर्‍यो । आधुनिक प्रविधिले मानिसलाई एकअर्कासँग जोडे पनि त्यो सामाजिक पुँजी नै थियो जसले मानिसलाई जीवित रहन सहयोग गर्‍यो ।

घरबाटै काम गरिरहेका कामदारहरू ऊर्जाशील हुनसके किनभने उनीहरूले आफ्नो सहकर्मीसँग एक प्रकारको पारस्परिक विश्वास, साझा पहिचान र साझा उद्देश्य विकास गरेका थिए । यसै आधारमा धेरै व्यक्तिहरू काम गर्ने शैली र तरिकामा अभ्यस्त भइरहेका छन् ।

धेरै जसो कम्पनीहरूले महामारीको अवस्थामा आफ्नो आन्तरिक पुँजीको विकास गरिसकेका थिए । आफ्नो कामदारलाई सिधा निगरानी राख्न नसके पनि कम्पनीले उनीहरूको क्षमता भने अभिवृद्धि गर्‍यो । काम गर्ने समयको व्यवस्थापन गर्न लचिलो हुँदा कामदारले आफ्नो दायित्व बढाउँदै लगे, उनीहरूबाट आउने नतिजामा पनि वृद्धि हुँदै गयो ।

बोस्टन समूहले गरेको अन्तरदेशीय अनुसन्धानका क्रममा ७५ प्रतिशत कामदारले महामारीका बाबजुद आफ्नो उत्पादनशीलता वृद्धि गरेको पाइएको छ ।

आजको हाइब्रिड कार्यस्थलमा सामाजिक पुँजी नै यस्तो चिज हो जसले हाम्रो क्षमता वृद्धिमा सहयोग पुर्‍याएको छ । उद्योगबाट उत्पादित भौतिक सामानजस्तो सामाजिक पुँजीमा ह्रास आउँदैन । प्रयोगले नै सामाजिक पुँजी बढ्छ । अन्य पुँजी जस्तै यसको पनि व्यवस्थापन र स्तरोन्नति गर्नुपर्छ । यसो गर्नु महामारीको अवस्थापछि झनै आवश्यक हुन्छ ।

सामान्य अवस्थामा हाम्रो नेटवर्क र सम्बन्ध समयक्रमसँगै विस्तार हुँदै बढ्छ । उपयुक्त उपायविना यदि हामीले हाम्रो सामाजिक सम्बन्ध सक्रिय बनाउन खोज्यौँ भने, महीनौँको लकडाउन र निषेधाज्ञापछि केही सम्बन्ध आफैँ समाप्त हुँदै जान सक्छ अथवा समूह नै छुट्ने अवस्था आउन सक्छ ।

पटनमले भनेको जस्तै ‘सामाजिक पुँजीको सम्बन्ध’ मा व्यक्तिले केही समूहसँग अति नै धेरै आशक्ति राख्न सक्छन् जसले गर्दा जातिवाद र समूहवादको अगाडि झुक्न विवश हुन्छन् । सत्य के पनि हो भने पपुलिजम र राष्ट्रवाद सामाजिक पुँजीकै एउटा पतित स्वरूप हो । केही स्थानमा यसलाई महामारीको अवस्थामा पुनःजागृत गर्ने प्रयास पनि भयो ।

सरकार र व्यापारिक संस्थाहरूले अब ‘सामाजिक पुँजीलाई जोड्ने’ प्रयास गर्नुपर्छ । कोभिड–१९ को संकटको समयमा विकसित गरेको जिम्मेदारी, एकता र परोपकारको भावना विकास गर्दै सामाजिक पुँजीलाई जोड्ने प्रयास गर्नुपर्छ ।

यस किसिमको सामाजिक पुँजीले धेरै क्षेत्रका मानिसलाई जोड्न सहयोग गर्छ । जसले गर्दा हामीलाई अर्को महामारीबाट बच्न सहयोग पुग्नुका साथै जलवायु परिवर्तनसँग पनि जुध्न सहयोग मिल्नसक्छ । नागरिक सचेतना मात्रै यसका लागि पर्याप्त हुँदैन । प्रत्येक व्यक्तिले आफूले गरेको कार्यका कारण पर्न सक्ने नकारात्मक प्रभावका विषयमा ध्यान दिन सक्नुपर्छ ।

सामाजिक पुँजी एक प्रकारको गम हो जसले समाज र राष्ट्रलाई एकाकार गर्न सहयोग पुर्‍याउँछ । सही वातावरणमा बारम्बार र पारस्परिक सामाजिक अन्तरक्रियाले आर्थिक विकास, उत्तम स्वास्थ्य अवस्था र स्थिरता प्राप्ति गर्न सहयोग पुग्छ ।

यही कुरालाई विचार गर्दै सरकारले आफ्नो जनतालाई अझै धेरै स्वायतत्ता प्रदान गर्नुपर्छ । सरकार नियन्त्रक र परिचालकका रूपमा मात्रै होइन, सहयोगीका रूपमा जनतामाझ आफूलाई प्रस्तुत हुनुपर्छ ।

व्यापारिक संस्थाहरूले आफ्नो तर्फबाट पारस्परिक विश्वासको वातावरण विकास गर्नुका साथै आधुनिक प्रविधिमा बढी लगानी गर्नुपर्छ । यसले गर्दा काम गर्ने तरिका थप व्यवस्थित गर्न सकिन्छ ।

यस दृष्टिकोणबाट कोभिड–१९ लाई हामी सकारात्मक हिसाबले हेर्न सक्छौँ । सामाजिक पुँजी मजबुत गर्न, जिम्मेवार परोपकारिता रेखांकित गर्न र आगामी चुनौतीको सामना गर्न पनि यसो गर्न आवश्यक हुन्छ ।

(एडोराडो क्याम्पेनेला युनिक्रेडिट बैंकका अर्थशास्त्री हुन् । उनी मेड्रिड विश्वविद्यालय अन्तर्गतका सेन्टर फर दि गभर्नेन्स अफ चेन्जका फेलो समेत हुन् । १२ अप्रिल २०२१ मा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0