फेरि सलबलाउँदै चोरी शिकारी « Khabarhub
Logo
२४ फाल्गुन २०७७, सोमबार

फेरि सलबलाउँदै चोरी शिकारी

चितवनमा ६ महीनामा मारिए ४ वटा गैँडा



काठमाडौँ– करिब चार वर्षअघि २०७३ चैत २५ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बेलहट्टा हरियाली सामुदायिक वनमा एउटा भाले गैँडा मारिएको अवस्थामा भेटिएको थियो । त्यसपछि करीब साढे तीन वर्षको शून्य शिकार (जिरो पोचिङ) को उत्साह चोरी शिकारीले कोरोना संक्रमण नियन्त्रणको बन्दाबन्दीमा तोडिदिए ।

४१ महीनापछि चितवनमा ४ वटा गैँडा मारिए । गत भदौ १७ गते बाँदरझुला आइल्यान्ड क्षेत्रमा शिकारीले करिब ३० वर्ष उमेरको भाले गैँडा गोली हानेर मारे । उनीहरूले त्यसको खाग र खुर लैजान भने पाएनन् । त्यसपछि कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको एउटा माउ र बच्चा मृत भेटिए । करिब २२ वर्षको पोथी गैँडा र त्यसको बच्चा गोली हानेर मारेको र खाग झिकिएको अवस्थामा फेला परेका थिए ।

यसपछि चितवन राष्ट्रिय निकुञ्जमै कात्तिक २१ गते खाग र खुर नभएको गैँडाको कंकाल भेटियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको थियो । बन्दाबन्दीयता मात्र चितवन राष्ट्रिय निकुञ्जमा एउटा बच्चासहित ४ वटा गैँडा मारिएका छन् ।

सुरक्षाकर्मीको ध्यान कोरोना भाइरस महामारीतिर केन्द्रित हुँदा तथा वन्यजन्तु तस्करी नियन्त्रणमा सक्रिय सामुदायिक संस्था र सुराकी सञ्जालजस्ता संयन्त्रहरू निष्क्रिय हुँदा वन्यजन्तुहरू असुरक्षित भएको विश्लेषकहरूको तर्क छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘वन्यजन्तु नियन्त्रका लागि खुलेका संयन्त्रको आपसी समन्वय र सक्रियताका कारण केही वर्ष तस्करीमा निकै कमी आएको थियो तर कोभिड–१९ महामारीसँगै त्यस्ता संयन्त्रको सक्रियतामा केही कमी आउँदा तस्करहरू सल्बलाएको देखिएको छ ।’

मल्ल कोभिडका समयमा केही सिकारीहरू जेलबाट छुटेकोले पनि जङ्गलका संरक्षित जनावर असुरक्षित बनेको बताउँछन् ।

तस्करीको आरोपमा १४ जना पक्राउ

राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाली सेना तथा वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको संयुक्त प्रयासबाट ४ वटा गैँडाको शिकार र खाग ओसारपसारमा संलग्नमध्ये अधिकांश व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेका १४ जनालाई हालै सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार उनीहरू काठमाडौँ, चितवन र बर्दिबासबाट पक्राउ परेका हुन् ।

उनीहरू यसअघि पनि चोरी शिकार, तस्करी लगायत अपराधमा जेल परेर छुटेका व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार त्यही समूहका थप ७ जना अझै फरार छन् ।

गैँडा तस्करीको आरोपमा पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरिँदै ।

सीआईबीका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार सीआईबीको वन्यजन्तु अपराध नियन्त्रणमा केन्द्रित पिलर ४ का विशेषज्ञहरू र अन्य सरोकारवाला निकायको अथक प्रयासपछि तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनले खबरहबसँग भने, ‘हाम्रो पिलर ४ का विशेषज्ञहरूले निकुञ्ज, स्थानीय प्रहरी, सेना, वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोजस्ता अन्य निकायसँगको समन्वयमा ठूलो संख्याका आरोपितहरू पक्राउ गर्न सफल भएको हो ।’

जिरो पोचिङको उत्साह लामो समय टिक्न नदिने गरी भएको गैँडाको शिकारमा संलग्नमध्ये मुख्य व्यक्तिहरू यसअघि पनि यस्तै अपराधमा जेल परेको डीआईजी थापाको भनाइ छ ।

उनले भने, ‘चितवनमा लगातार चार वटा गैँडा मारिएपछि हामी सबै सक्रिय भएर यसको अनुसन्धानमा लागेका थियौँ । धेरै निकायसँगको समन्वयबाट यो सफलता मिलेको छ । केहीलाई पक्राउ गर्न बाँकी छ । अहिले पक्राउ परेकाहरू गैँडा मार्ने, खाग बेच्ने, सुन तस्करी गर्ने लगायतका अपराधमा जेल सजाय भोगेकाहरू छन् ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करीब ११ वर्षमा वन्यजन्तु तस्करीविरुद्ध ३०८ वटा अभियान चलायो । ती अभियानबाट ७०० जना पक्राउ परे । जसमध्ये ६६९ जना पुरुष र ३१ जना महिला थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपलब्ध गराएको तथ्यांक

पूर्व डीआईजी मल्ल नेपालमा हुने चोरी शिकार नै वन्यजन्तु संरक्षणको मुख्य चुनौती ठान्छन् । उनका अनुसार अर्को चुनौती नेपालबाट वन्यजन्तुका अङ्ग (आखेटोपहार) को तस्करी हुनु पनि हो । ‘वन्यजन्तु संरक्षणको मामिलामा नेपालका लागि प्रमुख चुनौती चोरीशिकारी नै हो,’ मल्ल भन्छन्, ‘यसपछि यहाँबाट वन्यजन्तुका आखेटोपहार तस्करी हुने घटनाले पनि नेपालको चुनौती बढाएको छ ।’

नेपालमा लोपोन्मुख वन्यजन्तुको शिकारका साथै यहाँ ट्रान्जिट बनाएर आखेटोपहार तस्करी पनि हुने गरेको मल्लको भनाइ छ ।

यसकारण हुन्छ शिकार

विशेष गरी गैँडा, बाघ, चितुवा, भालु, हाब्रे सालक लगायत वन्यजन्तु तस्करहरूको निशानामा पर्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिन्छ । गैँडा खाग, खुर र छालाका लागि तस्करको निशानामा पर्ने गरेको छ । छाला र हड्डीका लागि बाघ, चितुवा, झारल, वन बिरालो, मलसाप्रो रातो लोखर्केलगायतको शिकार हुने गरेको छ ।

भालु पित्त र नङ्ग्राका लागि मारिन्छ । हाब्रे छालाको लागि, सालक खपटाको लागि, कस्तुरी विनाको लागि, हात्ती दाह्राको लागि, चिरु साहतुस (रौँ) का लागि शिकार हुने गरेको छ । अजिङ्गर पनि छालाको लागि मारिन्छ । हुचिल, लाटोसेरोको लगायतका चरा जीवितै तस्करी हुने गरेको छ ।

वन्यजन्तु तस्करीसम्बन्धी अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूका अनुसार नेपालमा वन्यजन्तुको शिकार कम र अङ्गको तस्करी बढी हुने गरेको छ । तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर आखेटोपहारको तस्करी गर्ने गरेका छन् । यसमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको उनीहरूको भनाइ छ ।

तस्करहरूले नेपाली भूमि प्रयोग गर्दै आखेटोपहारको व्यापक माग हुने देशहरू चीन, भियतनाम, जापान, कम्बोडिया लगायतका देशमा पुर्‍याउँछन् ।

सीआईबीका प्रमुख डीआईजी थापाका अनुसार चीरुको रौँ तिब्बतबाट अवैध निकासी गरी नेपालको बाटो हुँदै भारत पुर्‍याइन्छ । बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।

प्रहरीले सार्वजनिक गरेका केही घटनाको विश्लेषण गर्दा वन्यजन्तुसम्बन्धी अपराध नेपाल, भारत र चीनसँग अन्तरसम्बन्धित रहेको देखिन्छ । प्रहरीको अनुसन्धानअनुसार नेपालबाट बाहिर तस्करी हुने वन्यजन्तुको आखेटोपहारमध्ये २० प्रतिशत नेपालमै शिकार गरेर संकलन हुन्छ । बाँकी ८० प्रतिशत बाहिरी मुलुकबाट आउँछ ।

परम्परागत औषधि, सजावटका सामान, व्याग, पेटी, टाँक जस्ता सामान तथा सल, ज्याकेट लगायतका लुगा बनाउन आखेटोपहारको माग हुने गरेको छ ।

कानून र नियन्त्रण

नेपालमा संरिक्षत वन्यजन्तुको शिकार र तिनका अङ्गको ओसारपसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र साइटिस महासन्धि १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।

पूर्व डीआईजी मल्ल सरोकारवाला निकायबीच राम्रो सहकार्य भए हदसम्म वन्यजन्तुको शिकार र तस्करी नियन्त्रण गर्न सकिने बताउँछन् । स्थानीय समुदायको सहभागिता र उच्चतम प्रविधिको प्रयोग पनि उत्तिकै आवश्यक छ ।

नेपालले प्रकृति संरक्षण लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र तोकेको छ । राष्ट्रिय निकुञ्ज १२ वटा, शिकार आरक्ष एउटा, संरक्षण क्षेत्र ६५ वटा, मध्यवर्ती क्षेत्र १३ वटा र सिमसार १० वटा गरी कुल ३४ हजार ८५९ वर्ग किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित छ ।

संरक्षित क्षेत्रफल नेपालको कुल क्षेत्रफलको झन्डै २५ प्रतिशत छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले आसामी रातो बाँदर, सालक, हिमाली रातो भालु, हाब्रे, हुँडार, ध्वाँसे चितुवा, हिउँ चितुवा, बाघ, गैँडा, अर्ना, अर्ना, कृष्णसार लगायत २६ किसिमका स्तानपायीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

यसै गरी, ऐनले कालो स्टर्क, सेतो स्टर्क, चीर, डाँफे, मुनाल, ठूलो धनेश लगायत ९ किसिमका पन्छीलाई संरक्षित पन्छीको सूचीमा राखको छ । घस्रने जनावरमा अजिङ्गर, घडीयाल गोही र सुनगोहोरो संरक्षित सूचीमा छन् ।


भर्खर

0